प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मकालु हिमालमा फहराइएको ट्राफिक सन्देशमूलक ब्यानर हस्तान्तरण

२०८२-०२-२१

  • A
  • A-
  • A+
Share

काठमाडौं, विश्वको पाँचौं सर्वोच्च शिखर मकालु हिमालमा फहराइएको “ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट आफू बचौं र अरूलाई पनि बचाऔं” भन्ने नारा अंकित सन्देशमूलक ब्यानर काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको छ । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई मकालु हिमाल आरोही दोलखा गौरीशङ्कर गाउँपालिका-९ बस्ने दाबुटी शेर्पाले उक्त ब्यानर हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले मकालु हिमालको सफतलापूर्वक आरोहण गरी सडक सुरक्षा र ट्राफिक नियमको पालना सम्बन्धी सन्देश विश्व सामु पुर्‍याउनु भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । यस्ता प्रयासले सडक सुरक्षाको महत्वलाई प्रचार गर्नुका साथै ट्राफिक नियमको पालना गर्न र दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्‍याउने विचार उहाँले व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङ लगायत उपस्थित प्रहरी अधिकृतहरूले आरोही दाबुटीलाई खादा ओढाई सम्मान समेत गर्नुभएको थियो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा आरोही दाबुटी शेर्पाले आरोहणका क्रममा भोगेका अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा आरोही दाबुटीको जिवनी र हिमाल आरोहण सम्बन्धी वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रदान गरेको उक्त सन्देशमूलक ब्यानर शेर्पाले सन् २०२५ मे २९ मा मकालु हिमालको सफलतापूर्वक आरोहरण गरी शिखरमा फहराउनु भएको थियो । 

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवान एवम् सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।   


सम्बन्धित समाचार
आन्तरिक खेलकुद प्रतियोगिता समापन कार्यक्रम सम्पन्न
२०८३-०३-१०

काठमाडौं, “लागूऔषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस 26 June 2026” को अवसरमा आसरा सुधार केन्द्र रानीबारीमा आयोजित आन्तरिक खेलकुद प्रतियोगिता समापन कार्यक्रम सम्पन्न भएको छ ।आसरा सुधार केन्द्रकी अध्यक्ष श्रीमती नबिना खत्री कार्कीले केन्द्रमा बुधबार आयोजित कार्यक्रममा खेलकुद प्रतियोगिता अन्तर्गत बास्केटबल, क्यारिम बोर्ड, बुसे, क्रिकेट, संगीत, नृत्य, लेख रचना, टेबल टेनिस र चेसतर्फ विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा केन्द्रकी अध्यक्ष कार्कीले केन्द्रमा उपचाररत सदस्यहरू बीच आपसी भाइचारा तथा सदभाव कायम गरी मनोबल उच्च राख्न स्वस्थ प्रतिस्पर्धा गराई संचालन गरिएको आन्तरिक खेलकुद प्रतियोगितामा आफ्नो प्रतिभा देखाई विजयी भएका उपचाररत सदस्य खेलाडीहरूलाई बधाई दिनुभयो । केन्द्रकी अध्यक्ष कार्कीले ‘लागूऔषधको चुनौती चिनौं: सामाजिक समाधानको बाटो खोजौं’ भन्ने राष्ट्रिय नारालाई नारामा मात्र सीमित नराखी व्यवहारमा लागू गर्नुपर्ने आवश्कता रहेको बताउनुभयो । साथै यस केन्द्रमा उपचाररत सदस्यहरूले केन्द्रको बसाईको क्रममा प्राप्त गरेका असल शिक्षा र ज्ञानलाई आत्मसात गरी आफ्नो श्रीवृद्धिमा खर्चिनु पर्नेमा उहाँले जोड दिनुभयो ।केन्द्रकी सचिव श्रीमती रोजी तुलाधर अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरूद्वारा गीत संगीत, नृत्य एवम् कविता वाचन लगायत विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, केन्द्रका पदाधिकारीहरू, परामर्शदाताहरू, प्रहरी अधिकृतहरू समेतको उपस्थिति रहेको थियो । 

३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम प्रदान
२०८३-०३-०९

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम १७ औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । तालिम समापनको अवसरमा सोही महाशाखामा मंगलबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक बिनोद सिलवालले प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक सिलवालले तालिमबाट प्राप्त व्यावसायिक ज्ञान र सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत वैशाख २८  गतेबाट संचालित ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी सहायक हवल्दार १३ जना र प्रहरी जवान १६ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान
२०८३-०३-०४

काठमाडौं, नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीले ३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा ३९ औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । उक्त तालिम समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा उहाँले विपद् उद्दारकर्मीको रूपमा खटिँदा संवेदनशील, साहसी र अग्रसर भई आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने उल्लेख गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक गणेश बहादुर बरालले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै वैशाख ३ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक ४ जना, प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान २३ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा लागूऔषध विरूद्धको महाअभियान शुभारम्भ
२०८३-०२-१०

मोरङ, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा विराटनगर महानगरपालिका-४ स्थित होटल मनास्लु इनमा आइतबार आयोजित समारोहबीच लागूऔषध विरूद्धको महाअभियान (Mega Campaign Against  Narcotics-Mega CAN ) २०८३ कार्यक्रम शुभारम्भ भएको छ । मुख्यमन्त्री कार्कीले पानसमा दीप प्रज्जवलन गरी उक्त महाअभियानको शुभारम्भ गर्नुभएको हो ।  जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आयोजित उक्त कार्यक्रमको सुरूमा लागूऔषध दुर्व्यसन मुक्त समाज निर्माण गर्ने साझा उद्देश्यका साथ लागूऔषध विरूद्धको सचेतनामुलक प्लेकार्ड सहित विराटनगरको महेन्द्र चोकबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, विभिन्न सरकारी कार्यालय, विभिन्न संघसंस्था, संचारकर्मी, स्काउट, विद्यार्थी, युवा वर्ग सहितको प्रभातफेरी र्‍याली जलजला चोक, गोल्छामोड हुँदै रंगशालामा पुगेर सम्पन्न भएको थियो । कार्यक्रममा मुख्यमन्त्री कार्कीले लागूऔषध दुर्व्यसन समाजका लागि गम्भीर समस्या बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, अभिभावक तथा युवाहरूको सामुहिक प्रयास आवश्यक रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय मोरङद्वारा सञ्चालित लागूऔषध विरूद्धको महाअभियानले समाजमा सकारात्मक सन्देश तथा चेतना फैल्याई युवापुस्तालाई कुलतबाट जोगाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै यस्तो अभियानमा प्रदेश सरकारको निरन्तर साथ, सहयोग र प्रतिबद्धता रहने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्र मणि पराजुली, प्रतिनिधि सभाका सांसद सन्तोष राजबंशी, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला, नेपाल सरकार गृह मन्त्रालय निति, योजना अनुगमन तथा मुल्याङकन महाशाखाका सहसचिव एवम् लागूऔषध नियन्त्रक सुमन घिमिरे, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सल्लाहकार लीलावल्भ घिमिरे, एबिसी नेपाल कोशी प्रदेश प्रमुख विष्णु शर्मा लगायतले लागूऔषध विरूद्धको ऐक्यबद्धता सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सुरक्षित समाज र उज्ज्वल भविष्यको निम्ति जिल्ला प्रहरी कार्यालय मोरङले लागूऔषध मुक्त जिल्ला बनाउन सबैको सहकार्यका साथ सुरूवात गरेको यस महाअभियान लागूऔषध विरूद्ध सक्रिय हुँदै देशव्यापीरूपमा अघि बढ्न सफल हुने बताउनुभयो । समाजलाई अन्धकारतर्फ धकेल्दै आएको लागूऔषधको जालोलाई तोड्न यस अभियान महत्वपूर्ण हुने उल्लेख गर्दै लागूऔषध नियन्त्रण केवल प्रहरीको मात्रै दायित्व नभई परिवार, विद्यालय, स्थानीय तह, सञ्चार माध्यम तथा सम्पूर्ण समुदायको साझा जिम्मेवारी भएको बताउँदै सबै पक्षको सहकार्यबाट मात्रै स्वस्थ, सुरक्षित र समुन्नत समाज निर्माण सम्भव हुने उहाँले बताउनुभयो । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक कबित कटवालले महाअभियानको औचित्य, उद्देश्य तथा मोरङ जिल्लामा लागूऔषध दुर्ब्यसनको वर्तमान अवस्था र चुनौतीबारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा कोशी अस्पतालकी डा.अजिता पौडेलले लागूऔषध दुर्ब्यसनका कारण मानव स्वास्थ्यमा पर्ने असरको बारेमा सचेतना प्रदान गर्नुभएको थियो । कार्यक्रममा अन्धकारबाट उज्यालोतर्फ शीर्षकमा नाटक सहित लागूऔषध विरूद्ध सचेतनामुलक सांगीतिक प्रस्तुतिहरूका साथै लागूऔषध दुर्व्यसन र प्रभाव सम्बन्धी वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई, कोशी प्रदेशका प्रमुख सचिव, जिल्लास्थित नगरपालिकाका प्रमुखहरू, गाउँपालिकाका प्रमुखहरू, पूर्वी पृतना हेड क्वाटर इटहरीका उपरथी, उच्च अदालत विराटनगरका  न्यायाधीशहरू, प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, उद्योग वाणिज्य संघका प्रमुख तथा प्रतिनिधिहरू, बैंक, वित्तीय संस्था, बिमा कम्पनीका प्रमुख तथा प्रतिनिधिहरू, सरकारी कार्यालय, संघसंस्था, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, खेलाडी, नागरिक समाज, बुद्दिजिवी लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

१० जना नगर प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान
२०८३-०१-३०

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले काठमाडौं महानगरपालिका, महानगर प्रहरी बलका १० जना नगर प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान गरेको छ । तालिम समापनको अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमबाट प्राप्त व्यावसायिक ज्ञान र सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा १० जना नगर प्रहरीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम शुरू
२०८३-०१-२८

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा १७ औं समूहको सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम संचालन भएको छ ।उक्त तालिमको सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले महाशाखामा सोमबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । प्रहरी नायव उपरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ३० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी सहायक हवल्दार ९ जना र प्रहरी जवान २० जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।