अवैध लागूऔषध सहित आठ जना पक्राउ
२०८२-०५-३१
- A
- A-
- A+
सप्तरी, सुरूङ्गा नगरपालिका-३ बाट नियन्त्रित लागूऔषध फेनारगन ३० एम्पुल, डाईजेपाम ३० एम्पुल र सिरिन्ज ३ थान सहित उदयपुर त्रियुगा नगरपालिका-४ बस्ने २३ वर्षीय बिमल तामाङ समेत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लक्ष्मीपुरबाट खटिएको प्रहरीले लहानबाट गाईघाटतर्फ जाँदै गरेको प्र.२-०१-००१ ज ००६७ नम्बरको म्याजिकमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
रूपन्देही, सियारी गाउँपालिका-२ भगदरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय २० मिलिग्राम, नगद ५ हजार रूपैयाँ र मोबाइल २ थान सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ अमारी बस्ने २९ वर्षीय सुरेन्द्र चमार र २४ वर्षीय अजय कुर्मी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१२ क्यानमटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ ग्राम ८ सय १० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय उमेश भन्ने युरेन लामा र हेटौंडा उपमहानगरपालिका-१३ गुरूङटोल बस्ने २९ वर्षीय विनोद गुरूङ रहेका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरीले युरेनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।