प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गर्ने सात जना चिनियाँ नागरिक पक्राउ

२०८२-०९-३०

  • A
  • A-
  • A+
Share

काठमाडौं, गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (VOIP) संचालन गरेको अभियोगमा ७ जना चिनियाँ नागरिकहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ३३ वर्षीय LIU PAN, ३१ वर्षीय GAO ZHIKUN, ४१ वर्षीय LIU JIANWEI, ४१ वर्षीय DU SHUANGSHENG, ३८ वर्षीय PENG KANG, ४९ वर्षीय CHAI ZHIXIN र ४२ वर्षीय ZHANG HAO रहेका छन् । 

अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले नेपाल टेलिकम र एनसेल प्रालि समेतको प्राविधिक सहयोग तथा समन्वयमा काठमाडौं महानगरपालिका-२७ ज्याठास्थित LIU PAN ले संचालन गरेको रेष्टुरेण्टमा कल बाईपास गरिरहेको अवस्थामा उनीहरूलाई कल बाईपासमा प्रयोग भएका उपकरणहरू सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
सामाजिक सञ्जाल मार्फत विदेशी महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८३-०६-०१

काठमाडौं, सामाजिक सञ्जाल मार्फत विदेशी महिलाको चरित्र हत्या गरेको अभियोगमा बाँके नेपालगंज उपमहानगरपालिका-१ बस्ने २३ वर्षीय प्रशान्त जयसवाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल मार्फत विदेशी महिलासँग चिनजान गरी साथी बनि प्रेम सम्बन्धमा रहेको अवस्थामा खिचिएका तस्विरहरू पीडित महिलाका आफन्त तथा परिवारजनका सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा पक्राउ गरेको   हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा ५ दिन  म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्धका सामग्री प्रकाशन/प्रसारण गरी घृणा द्वेष फैलाउने व्यक्ति पक्राउ
२०८३-०५-२८

काठमाडौं, सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्धका सामग्री प्रकाशन/प्रसारण गरी घृणा द्वेष फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा टोखा नगरपालिका-८ बानियाटार बस्ने रूकुम पश्चिम आठविसकोट नगरपालिका-१२ घर भएका २७ वर्षीय जनक परियारलाई प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक सञ्जालहरूमा विपद्को अति संवेदनशील समयमा खोज, उद्दार तथा व्यवस्थापनमा अहोरात्र खटिएका सुरक्षा निकाय तथा राष्ट्रसेवकहरूका बारेमा सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्धका सामग्री विद्युतीय स्वरूपमा प्रकाशन गरी सुरक्षा निकाय तथा राष्ट्र सेवकहरू प्रति घृणा द्वेष फैलाई नागरिक र सुरक्षा निकाय बीचको सुमधुर सम्बन्धमा खलल पुर्‍याउने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं अनामनगरबाट पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८३-०५-०५

काठमाडौं, नाबालिकाको चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको अभियोगमा नुवाकोट शिवपुरी गाउँपालिका-७ बस्ने १९ वर्षीय सुदिप कटुवाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा नाबालिकासँग साथी बनेर प्रलोभनमा पारी अश्लिल सामाग्री सामाजिक सञ्जालमा पोष्ट गरी चरित्र हत्या गर्ने र रकम समेत माग गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सामाजिक सञ्जाल मार्फत भ्रामक सूचना सम्प्रेषण गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८३-०४-१८

काठमाडौं, सामाजिक सञ्जाल मार्फत भ्रामक सूचना सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा अर्घाखाँची सन्धिखर्क नगरपालिका-९ घर भएका रूपन्देही बुटवल उपमहानगरपालिका-१३ बस्ने ३९ वर्षीय जनक भुसाललाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक सञ्जालमा राज्यको विद्यमान परिवेशलाई प्रत्यक्ष असर पार्ने तवरबाट युट्युब च्यानल नेपाली खबर टिभी मार्फत भ्रामक सूचना प्रवाह गर्ने भिडियो सामाग्री तयार पारी, अफवाह फैलाई जातीय तथा धार्मिक हिंसात्मक तथा ध्वंसात्मक गतिविधिहरूमा संलग्न व्यक्ति तथा समूहलाई थप उत्तेजित र आक्रमक बनाउने, साथै कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनि रोक लगाएका सामाग्रीहरू वा कसै प्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन, प्रदर्शन र प्रसारण गर्ने कार्यमा संलग्न रहेका उनलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा बुटवलबाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय कारोबार ऐन,२०६३ को कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८३-०३-१८

काठमाडौं, सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं बत्तीसपुतली बस्ने रूपन्देही गैडहवा गाउँपालिका-८ घर भएका २० वर्षीय पवन निसादलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पीडित महिलासँग सम्बन्धमा रहँदा खिचेका अश्लिल भिडियो/तस्विर दुरूपयोग गरी ब्ल्याकमेल गर्नुका साथै दुःख हैरानी दिई अनुचित लाभका लागि बारम्बार दबाब समेत दिई उक्त भिडियो तथा तस्विर सामाजिक सञ्जाल ह्वाट्सएपमा पीडितका परिवारलाई पठाएको भन्ने उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई टोखा नगरपालिका-७ बाट पक्राउ  गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गर्ने दुई जना पक्राउ
२०८३-०३-०३

झापा, सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं माछापोखरी बस्ने स्याङ्जा भीरकोट नगरपालिका-२ लुगाडाँडा घर भएका ३९ वर्षीय संजिव नेपाली र काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-१२ घर भएकी ३३ वर्षीया अनुष्का भन्ने सरिता पराजुली रहेका छन् ।आफू अमेरिकामा रहेको नेपाली बोल्न नआउने भनि अंग्रेजी भाषामा बोली प्रिन्स तमाङ नाम बताउने टिकटक आइडीबाट आफ्नो अनुहार समेत नदेखाई कुराकानी गरी पीडितलाई विवाह गरी अमेरिका लाने प्रलोभन/आश्वासन देखाई पटक पटक गरी      १५ लाख १० हजार ५ सय रूपैयाँ ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर विद्युतीय माध्यम सम्वद्ध ठगी अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।