अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८३-०१-११
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४७ ग्राम सहित बर्दिया गुलरिया नगरपालिका-१ बस्ने २४ वर्षीय निकलेश गोडियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै गरेको भे.१ ख ४१६० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
तनहुँ, देवघाट गाउँपालिका-५ सेतीभतेरी टोल बस्ने ३६ वर्षीय रोहित भन्ने कृष्ण तामाङलाई अवैध लागूऔषध गाँजा २ सय ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ४८ ट्याब्लेट सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय देवघाटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनको घरबाट जरायोको सिङ्ग जस्तो देखिने वस्तु २ थान र गैंडाको छाला जस्तो देखिने वस्तु १ थान समेत बरामद गरेको छ ।
झापा, हल्दीबारी गाउँपालिका-३ बाङ्गे बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय प्रतीक तामाङ समेत ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जलथलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।