केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार
२०८३-०१-२५
- A
- A-
- A+
काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनमा शुक्रबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ ।
प्रहरी नायव महानिरीक्षक काफ्लेले साक्षात्कारको क्रममा सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो । प्रहरी नायव महानिरीक्षक काफ्लेले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै संगठनको हित एवम् सुदृढीकरण, प्रहरी कर्मचारीको व्यावसायिकता एवम् नागरिक प्रतिको जवाफदेहीताको लागि सञ्चारकर्मीहरूबाट प्राप्त उपयोगी राय सुझाव प्रति आभार व्यक्त गर्दै प्रहरी र सञ्चारकर्मीहरू बिच सहकार्य र समन्वयलाई अझ राम्रो र प्रगाढ बनाउँदै लैजाने बताउनुभयो । साथै उपलब्ध साधनस्रोतको उच्चतम प्रयोग गर्दै विपद्बाट हुन सक्ने जोखिमहरू न्यूनीकरण गर्न नेपाल प्रहरी तयारी हालतमा रहेको समेत उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक काफ्ले र सञ्चारकर्मीहरू बीच नव वर्ष २०८३ को शुभकामना आदान प्रदान समेत भएको थियो । सो अवसरमा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलको टोलीले आईए ड्रिल, हतियार खोल जोड अभ्यास तथा बन्धक बनाइएका व्यक्तिहरूको उद्धारको नमुना अभ्यास प्रदर्शन गरेको थियो भने नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रको टोलीले अग्नी नियन्त्रण तथा उद्धार अभ्यास, विपद् सामाग्रीहरूको प्रदर्शनी तथा विपद् तयारी सम्बन्धमा जानकारी प्रदान गरेको थियो ।
विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरू तथा प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।