वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०२-१८
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने ४६ वर्षीय कृष्ण कुमार खड्का, ललितपुर महालक्ष्मी नगरपालिका-२ बस्ने सिन्धुली घर भएका ४० वर्षीय भागिरथी (पराजुली) गौतम, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ बस्ने सुनसरी घर भएका ३० वर्षीय प्रवेश पराजुली, काठमाडौं महानगरपालिका-६ बस्ने ३९ वर्षीय प्रज्वल आचार्य र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने झापा घर भएकी ४७ वर्षीया निसा सिवा रहेका छन् ।
पक्राउ मध्ये कृष्ण कुमार र भागिरथीले क्रोएशिया, ग्रीस लगायतका देशहरू पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट ५८ लाख ६८ हजार रूपैयाँ, प्रवेशले सर्बिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १८ लाख ९० हजार रूपैयाँ, प्रज्वलले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३१ लाख रूपैयाँ र निसाले कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कृष्ण कुमार र भागिरथीलाई ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोलबाट सोमबार तथा प्रवेशलाई ललितपुर महानगरपालिका-१० बाट, प्रज्वललाई काठमाडौं महानगरपालिका-७ बाट र निसालाई काठमाडौं महानगरपालिका-१६ बाट शुक्रबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।