वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०२-२९
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने सुर्खेत घर भएका ३४ वर्षीय सुनिल पौडेल, भक्तपुर नगरपालिका-१ बस्ने सिन्धुपाल्चोक घर भएका २२ वर्षीय अनुप भण्डारी, ललितपुर महानगरपालिका-१५ बस्ने जाजरकोट घर भएकी ३४ वर्षीया कबिता सिंह र काठमाडौं चन्द्रागिरी नगरपालिका-११ बस्ने धादिङ घर भएका २५ वर्षीय बिशु राई रहेका छन् ।
पक्राउ मध्ये सुनिलले पोल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २४ लाख १७ हजार रूपैयाँ, अनुपले कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३५ लाख ५० हजार रूपैयाँ, कबिताले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७२ हजार रूपैयाँ र बिशुले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनिललाई बुढानिलकण्ठ नगरपालिका-९ र अनुपलाई काठमाडौं महानगरपालिका-११ बाट बिहीबार तथा कबितालाई ललितपुर महानगरपालिका-१५ बाट र बिशुलाई काठमाडौं महानगरपालिका-१२ बाट शुक्रबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।