अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
२०८३-०४-०२
- A
- A-
- A+
काठमाडौं, टोखा नगरपालिका-९ कुलान्त मार्ग बस्ने नुवाकोट ककनी गाउँपालिका-२ घर भएका ३५ वर्षीय नविन घिमिरे समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ७० मिलिग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले नविनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कैलाली, गोदावरी नगरपालिका-१ अनामनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय १० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने ३३ वर्षीय हरिष वडु र गोदावरी नगरपालिका-२ तेघरी बस्ने २६ वर्षीय सुरेन्द्र भट्ट रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-९ बक्राकटनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६३ मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ बस्ने २२ वर्षीय प्रकाश राना समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले से.२ प ६१३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
गोरखा, शहिद लखन गाउँपालिका-७ लाखेडाँडाबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम सहित गोरखा नगरपालिका-४ फिनाम बस्ने ३० वर्षीय अमृत बयलकोटी समेत ४ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बुङकोटबाट खटिएको प्रहरीले नामजुङबाट गोरखा बजारतर्फ आउँदै गरेको ग.४ च २४२८ नम्बरको कारमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
महोत्तरी, बर्दिबास नगरपालिका-१ पूर्व बस काउन्टर अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ६० मिलिग्राम सहित धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका-४ बस्ने ३५ वर्षीय सुनिल कुमार साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-२ शक्तिनगर बस्ने २६ वर्षीय बिक्की कार्की भन्ने मान बहादुर कार्की समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ७० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले मान बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-५ स्थित देउराली होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३१ ग्राम १ सय ७० मिलिग्राम सहित भारत पश्चिम बंगाल दार्जिलिङ खोरिबारी ग्रामथान पंचायत बस्ने ३४ वर्षीय कमल बर्मनलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले होटलको ४०४ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
धनुषा, मिथिला बिहारी नगरपालिका-५ बाट अवैध लागूऔषध गाँजा करिब १९ किलो १९ ग्राम सहित हंसपुर नगरपालिका-३ मलहिनिया टोल बस्ने ६५ वर्षीय कोरघुबिर दासलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ललियाबाट खटिएको प्रहरीले बिरेन्द्र बजारबाट हंसपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२-००१ स ३१९९ नम्बरको अटोमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार अटो चालकको खोजी गरिरहेको छ ।
उदयपुर, चौदण्डीगढी नगरपालिका-२ चारघरे बस्ने ३० वर्षीय गोपाल खड्कालाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५९ ट्याब्लेट सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-५ बिशालचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २७ ट्याब्लेट र स्पास्पेन २७ ट्याब्लेट सहित सोही नगरपालिका-४ बस्ने ३० वर्षीय बिक्रम विश्वकर्मा समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले प्र.०१-०२-०४६ प २३३३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बर्दिया, गुलरिया नगरपालिका-६ भन्सार रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय सरिफ अहम्मद ईदरिसीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।