अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
२०८३-०४-२३
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-३२ कोटेश्वर चोक नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९२ मिलिग्राम र नगद २४ हजार रूपैयाँ सहित भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ घर भएका ३१ वर्षीय अशिम श्रेष्ठ समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित जाजरकोट नलगाड नगरपालिका-७ बस्ने २० वर्षीय सर्जन परियारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन ५३ ग्राम ४ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ बस्ने २३ वर्षीय सोमनाथ राजवंशी र मोरङ पथरी शनिश्चरे नगरपालिका-५ बस्ने २४ वर्षीय गणेश चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले प्र.१-०१-००२ ह ३५६९ नम्बरको सिटीसफारीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ मिलिग्राम सहित कमल गाउँपालिका-४ बस्ने २७ वर्षीय रिङ्वाङ लिम्बुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ सुनसरी आयल्स ट्रेडर्स अगाडिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम २ सय ७० मिलिग्राम सहित भारत बिहार अररिया थाना जोगवनी बस्ने २२ वर्षीय साहिल पाण्डे समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले प्र.१-०२-०५३ प २६७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ मण्ठा पोखरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ग्राम ६ सय मिलिग्राम सहित सोही महानगरपालिका-१५ बस्ने ३१ वर्षीय मोहमद हुसेनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, पुनर्वास नगरपालिका-१० चकमेली बजार नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय १० मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राजेपाम २६ ट्याब्लेट र स्पास्मो ४ ट्याब्लेट सहित धनगढी उपमहानगरपालिका-३ बडरा बस्ने ३० वर्षीय बिरेन्द्र चौधरी समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-२ स्थित होटल राइनसबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३२ एम्पुल, बुप्रेनोर्फिन ३२ एम्पुल, फेनारगन ३२ एम्पुल र नगद ६५ हजार ७ सय रूपैयाँ सहित उदयपुर घर बताउने ३२ वर्षीय दिनेश परियारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.६५ प १३१७ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-१२ स्थित सुकुमबासी टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६१ ट्याब्लेट र भोमिन ७० ट्याब्लेट सहित मकवानपुर घर भएका ३० वर्षीय रामलामा वाईवालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोन्द्राङ समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सिराहा, सखुवानान्कारकट्टी गाउँपालिका-४ सिमरास्थित बलान खोला नजिबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ९१ किलो २५ ग्राम सहित भगवानपुर गाउँपालिका-४ जमुवा टोल बस्ने ४३ वर्षीय मोहन साहलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशवारी र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीलाई देख्नासाथ ५ जना अपरचित व्यक्तिहरूले प्लाष्टिकको ५ वटा बोरा फाली भाग्ने क्रममा उनीहरू मध्ये मोहनलाई प्रहरीले उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले हाल फरार ४ जनाको खोजी गरिरहेको छ ।
पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय १० मिलिग्राम सहित सोही महानगरपालिका-१३ बस्ने १९ वर्षीय राहुल यादव समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.११ प ५०२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, इनरूवा नगरपालिका-३ गुद्री लाइनबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ७ सय ट्याब्लेट सहित सोही नगरपालिका-९ बस्ने २६ वर्षीय मनोज उराव समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुसनरी, धरान उपमहानगरपालिका-११ रिटिङ टोल बस्ने कृष्ण राईको घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१६ जोरसखुवा टोल बस्ने २४ वर्षीया स्वास्तिका गुरूङ समेत ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । प्रहरी हाल फरार कृष्णको खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।