प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्घाटन
२०८३-०५-१०
- A
- A-
- A+
बागलुङ, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय बागलुङको परिसरमा नवनिर्मित कार्यालय भवन, ब्यारेक, मेस लगायतका भवनहरूको बुधबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवन केवल भौतिक संरचना मात्र नभई आम नागरिकको प्रहरी प्रतिको जीवन्त अपेक्षा रहेको बताउँदै नागरिकमैत्री सेवा प्रवाहमा प्रहरी सदैव केन्द्रीत हुनुपर्ने बताउनुभयो । शून्य सहनशीलताको नीतिलाई आत्मसात् गरी सिमान्तकृत एवम् पीडितवर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गर्न समेत उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा प्राविधिक प्रहरी नायव उपरीक्षक ई.चिरन्जिवी प्रताप महतोले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कुल ९ करोड ७१ लाख ९३ हजार ५ सय १८ रूपैयाँको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।
उद्घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्मी, संचारकर्मी एवम् स्थानीयबासीहरूको उपस्थिति रहेको थियो ।