अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८३-०६-०८
- A
- A-
- A+
बर्दिया, बढैयाताल गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका-२ बस्ने २१ वर्षीय बिनोद थारू र ३० वर्षीय बाल कुमार थारू रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ४० मिलिग्राम र नगद ३३ हजार ५ सय ४० रूपैयाँ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-८ बस्ने ३१ वर्षीय मुख्तार अहमद खाँ र सोही गाउँपालिका-७ बस्ने ४० वर्षीय मोहमद वासिम खाँ रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ६ सय २० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-१० बस्ने ४३ वर्षीय शिवराज राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका-४ सुकुमबासी बस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ५६ मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाह्रदर्शी गाउँपालिका-६ बस्ने ३८ वर्षीय घनश्याम अधिकारी र अर्जुनधारा नगरपालिका-११ किरात टोल बस्ने पाँचथर फिदिम नगरपालिका-११ नाङगिन सिडगिनटार घर भएका ४३ वर्षीय राजु कुमार मेयोङबा रहेका छन् । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।