अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २९ जना पक्राउ
२०८३-०६-१५
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-७ सतुगंलबाट अवैध लागूऔषध खैरो हेरोइन २८ ग्राम ५ सय मिलिग्राम र नगद ७ लाख रूपैयाँ सहित लमजुङ बेसीशहर नगरपालिका-२ घर भएका २७ वर्षीय विक्रम गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागुऔषध बिक्री गर्ने भारत पश्चिम बंगाल घर भएकी ५० वर्षीया प्रिया भुजेललाई समेत प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन १ सय ८२ ग्राम सहित चन्द्रागिरी नगरपालिका-१२ बाट पक्राउ गरेको छ ।
यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ३ सय ६० मिलिग्राम सहित काठमाडौं बल्खु बस्ने बारा कलैया उपमहानगरपालिका-४ घर भएका १९ वर्षीय रोहित गुप्तालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०८८६ नम्बरको ईभी गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, उर्लाबारी नगरपालिका-४ बानडाँडा बस्ने १९ वर्षीय सुमन तोलाङ्गी समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले सुमनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-१ लक्ष्मीझारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय निशान श्रेष्ठलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध अफिम (चोप) २ किलो ९ सय ७० ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट चन्द्रपुर नगरपालिका-३ घर भएका ४५ वर्षीय आईत सिंह जिम्बा र उनकै श्रीमती ४५ वर्षीया रोशनी राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेडौंडा उपमहानगरपालिका-९ शान्तिटोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१३ पदमपोखरी घर भएका २४ वर्षीय अजय गोले समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम ५६ मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ४२ ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले अजयको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर, मनहरी गाउँपालिका-९ रजैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८४ मिलिग्राम सहित हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानी बस्ने ३० वर्षीय अभिषेक थिङ समेत ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ बस्ने मनहरी गाउँपालिका-४ शान्ति टोल घर भएका ३३ वर्षीय उमेश थिङ समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ११ हजार रूपैयाँ सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उमेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ना. ४१ प ६८४४ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका-७ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय अभिसेक रानालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय गणेश बहादुर पाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, भजनी नगरपालिका-५ कुटीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने २२ वर्षीय अमित चौधरी समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-८ सागुनघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला कनकासुन्दरी गाउँपालिका-८ घर भएका ३२ वर्षीय निरजंग शाही र सोही गाउँपालिका-४ घर भएका २४ वर्षीय जानस कामी रहेका छन् । प्रहरी चौकी कालिका समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
ललितपुर, गोदावरी नगरपालिका-१३ झरूवारासीबाट अवैध लागूऔषध पोलेन २ किलो ६ सय २७ ग्राम, गाँजा १ किलो ९२ ग्राम र डिजिटल तराजु १ थान सहित कोन्ज्योसोम गाउँपालिका-५ भारदेउ घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँके, बैजानाथ गाउँपालिका-१ च्यामाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय खिम बहादुर सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध कारोबारमा सोही ठाउँ बस्ने २० वर्षीय अजय मल्लको समेत संलग्नता रहेको खुल्ना आएपश्चात प्रहरीले अजयलाई सोही गाउँपालिका-१ हरियाली चोकबाट पक्राउ गरेको हो ।
भक्तपुर, भक्तपुर नगरपालिका-७ गोल्मढीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २७ ट्याब्लेट सहित भक्तपुर सूर्यबिनायक बस्ने काभ्रे खानीखोला गाउँपालिका-१ घर भएका २० वर्षीय बिनोद तामाङ समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र.०२-०१९ प ८१२६ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।
सुनसरी, धरान उपमहानगरपालिका-१५ बस्ने २६ वर्षीय रोहित श्रेष्ठ समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट र स्पास्पेन ६० ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले रोहितको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।