अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८३-०६-३०
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ४८ ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-१ बस्ने ३२ वर्षीय गोबिन्द तामाङ र मकवानपुर मनहरी गाउँपालिका-३ लामिटार बस्ने २४ वर्षीय सफल बिक्रम राणा रहेका छन् । बागमती प्रदेश प्रहरी गण हेटौंडा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-१८ वाइवाई चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १८ ट्याब्लेट सहित ललितपुर चुनिखेल बस्ने धादिङ निलकण्ठ नगरपालिका-५ घर भएका २२ वर्षीय नविन आले मगर समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुंगमतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
उदयपुर, बेलका नगरपालिका-८ कोठुबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ८० ट्याब्लेट सहित सोही नगरपालिका-४ प्रगति टोल बस्ने २१ वर्षीय सरोज बर्देवालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-१ फटैया खल्लाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पुनर्वास नगरपालिका-११ डोकेबजार बस्ने ३० वर्षीय बिशाल विक र कैलाली जोशीपुर गाउँपालिका-९ घर भएका २२ वर्षीय कुशल चौधरी रहेका छन् । प्रहरी चौकी फटैया समेतबाट खटिएको प्रहरीले से.२ प ९६९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ४ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने ३९ वर्षीय मिलन मेचे समेत ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका-१ हलगडा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र डाइक्लोमाइन २ सय ट्याब्लेट सहित सुन्दरहरैँचा नगरपालिका-५ सिक्किमे चोक बस्ने ३१ वर्षीय पर्शुराम गुरूङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले इटहरी उपमहानगरपालिका-२ बरगाछीबाट सोही ठाउँ बस्ने २८ वर्षीय उज्ज्वल बुढाथोकीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट र डाइक्लोमाइन ३० ट्याब्लेट सहित पक्राउ गरेको छ । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश १-०२-०५३ प ५१ नम्बर र बा.२३ प २४७३ नम्बरको मोटरसाइकलहरू समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।