अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८३-०७-११
- A
- A-
- A+
काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय २२ ग्राम ३ सय मिलिग्राम सहित भारत बिहार भोजपुर घर भएका ३१ वर्षीय विवेक कुमारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज २०२३ नम्बरको सुमोमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
धनुषा, सबैला नगरपालिका-१३ किरतपुर बस्ने ४५ वर्षीया फुलो देवी ठाकुरलाई अवैध लागूऔषध गाँजा करिब २ किलो ७ सय ८० ग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले फुलो देवीको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका-१ सालमाराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० ग्राम १ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय नसिम अक्तर मिया र ३० वर्षीय सलमान मिया रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काकँरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३७ एए ५३८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ पिपल चौताराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय सुबिन सिंह र बाँके कोहलपुर नगरपालिका-२ बस्ने ३३ वर्षीय प्रसान्त मल्ल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-४ बसपार्कस्थित न्यू खप्तड सैपाल होटलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ४ किलो ३ सय २४ ग्राम सहित बझाङ छबिसपाथीभेरा गाउँपालिका-६ बस्ने ३५ वर्षीय सुरेन्द्र बहादुर बुढालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली समेतबाट खटिएको प्रहरीले होटलको १०३ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।