प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लुकाई छिपाई अवैध रुपमा लैजान लागेको सुन सहित ५ जना पक्राउ

२०७९-०१-१६

  • A
  • A-
  • A+
Share

काठमाडौं, लुकाई छिपाई अवैध रुपमा लैजान लागेको २ किलो ३ सय ३२ ग्राम सुन सहित ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा पाँचथर याङवरक गाउँपालिका-४ स्थायी वतन भएका २८ वर्षीय भिम कुमार माबो, नुवाकोट तादी गाउँपालिका-५ स्थायी वतन भएका २७ वर्षीय सुमन तामाङ, उदयपुर लिम्चुङबुङ गाउँपालिका-२ स्थायी वतन भएका २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका-२ स्थायी वतन भएका ट्याक्सी चालक ४१ वर्षीय हेम बहादुर थापा र सप्तरी सुरुङ्गा नगरपालिका-४ स्थायी वतन भएका ३६ वर्षीय ताराकान्त चौधरी रहेका छन् । 

दुबईबाट काठमाडौं आएको हिमालय एयरको बिमानभित्र सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रालि मार्फत सरसफाई गर्न खटिएका भिम कुमारले विमानको शौचालयभित्रबाट फोहरसँगै सुनको विस्कुटहरु बाहिर ल्याई उनीसँगै काम गर्ने सुमनसँग बाँडेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्कने क्रममा भिम कुमारको पर्सभित्र १० थान र सुमनको पर्सभित्र १० थान गरी उक्त तौल बराबरको सुन बरामद भएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले राजेशले भने बमोजिम उक्त कार्य गरेको खुल्न आएपछि राजेशलाई समेत विमानस्थलको आन्तरिक पार्किङ एरियाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । साथै राजेशलाई दुबईमा बस्ने रमेश उप्रेती भन्ने व्यक्तिले सुन पठाउने गरेको र उक्त सुन राजेशले भिम कुमार मार्फत संकलन गरी ट्याक्सी चालक हेम बहादुरलाई जिम्मा लगाउने गरेको खुल्न आएपछि हेम बहादुरलाई समेत विमानस्थल नजिकबाट प्रहरीले पक्राउ गरेको हो । हेम बहादुरले उक्त सुन राजेशबाट लिएर रमेश उप्रेतीले भने बमोजिमको हुलिया भएको व्यक्तिलाई बुझाउने गरेको र सो बापत उनीहरूले केही रकम पाउँदै आएको खुल्न आएको छ । 

            साथै, सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रालि मार्फत विमानभित्र सरसफाई गर्ने/गराउने भनी सुपरभाईजरको रुपमा खटिएका ताराकान्त चौधरीको समेत मिलेमतोमा भिम कुमार र सुमनले अनुकूल वातावरण मिलाई गैह्रकानूनी रुपमा सुन चोरी पैठारी गर्दै आएको खुल्न आएको छ । 

उनीहरूलाई बरामद सुन सहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

सम्बन्धित समाचार
चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०१-०४

सुनसरी, इटहरी उपमहानगरपालिका-४ स्थित मुक्तिघाटमा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय बिनोद तामाङको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-४ गैरीगाउँबाट बस्ने ३७ वर्षीय उमेश तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इटहरी उपमहानगरपालिका-४ गैरीगाउँबाट मलामी आएका उमेश र धरानका ३० वर्षीय अनिल तामाङले चिर्पट प्रहार तथा कुटपिट समेत गर्दा गम्भीर घाइते भएका बिनोदको बेदान्त हस्पिटल इटहरीमा उपचारको क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले घटनामा संलग्न उमेशलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार अनिल तामाङको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना महिला पक्राउ
२०८१-०१-०४

काठमाडौं, नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा, झापा गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-७ चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पाकी संचालक ३४ वर्षीया पुजा लोवा र चितवन वीरेन्द्रनगर घर भई हाल काठमाडौं महानगरपालिका-७ गंगाहिटी बस्ने ४३ वर्षीया पुजा मगर भन्ने ओम कुमारी पुन रहेका छन् । नवलपरासी पूर्वस्थित एक रेष्टुरेन्ट तथा काठमाडौं चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पामा नाबालिकालाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पुजा लोवालाई काठमाडौं चावहिल तथा ओम कुमारी पुनलाई काठमाडौं ज्ञानेश्वरबाट पक्राउ गरेको हो । साथै पीडित बालिकालाई उद्दार गरी हाल सुरक्षित आवासमा राखिएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा नाबालिकालाई वेटरको काममा लगाईदिने भनि ओम कुमारीले नवलपरासी पूर्वस्थित एक रेष्टुरेन्टमा पठाई रेष्टुरेन्ट संचालकद्वारा ललाई फकाई तथा धाकधम्की दिई वेश्यावृत्तिमा लगाएको, तत्पश्चात निज नाबालिकालाई काठमाडौं चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पामा लगि काममा लगाएको र उक्त स्पाकी संचालक पुजा लोवाले नाबालिकालाई विभिन्न प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाएको अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै ओम कुमारीले निज नाबालिकालाई रातीको समयमा ग्राहकहरूको अनुरोधमा विभिन्न होटल तथा गेष्ट हाउसहरूमा पठाओ प्रयोग गरि पठाई वेश्यावृत्तिमा समेत लगाउने गरेको खुल्न आएको हो । उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।