प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नगद ठगी गरी फरार एक जना पक्राउ

२०७९-०३-०७

  • A
  • A-
  • A+
Share

काठमाडौं, डलर साटिदिन्छु भन्दै डलरको आकारमा काटिएका कागजका टुक्राहरु राखेर दिई झुक्काई नगद ८ लाख रुपैयाँ ठगी गरी फरार रहेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका-९ स्युचाटार बस्ने ३३ वर्षीय कुमार श्रेष्ठलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित सीता पेट्रोल पम्प नजिक ललितपुर महानगरपालिका-१८ नख्खु बस्ने ६२ वर्षीय पुरुषलाई अपरिचित व्यक्तिले आफ्नो आमा गम्भीर बिरामी भई अस्पतालमा भर्ना भएको र उपचारको लागि पैसाको अत्यन्तै अभाव रहेकोले डलरका केही नोटहरु साटिदिन अनुरोध गरी उक्त नगद ठगी गरी फरार भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले सुक्ष्म अनुसन्धान गरी ठगी गर्ने व्यक्ति कुमार श्रेष्ठ रहेको खुल्न आएपछि प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरीले काठमाडौं कलंकीबाट उनलाई पक्राउ गरेको हो । 

कुमार उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति प्राप्त गरी प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान भइरहेको छ । 

सम्बन्धित समाचार
सुनजस्तो देखिने चार किलोग्राम पहेलो धातुसहित पाँच जना पक्राउ
२०८०-०६-१२

दोलखा, सुन जस्तो देखिने पहेलो धातु ४ किलोग्रामसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिगु गाउँपालिका-१ बस्ने २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङ रहेका छन् ।  बिगु गाउँपालिका-३ जामुने डेरा गरी बस्ने केशर तामाङसमेतले अवैध रूपमा तस्करी गरी ल्याएको सुन लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दोलखा र ईलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको प्रहरी टोलीले केशर बहादुर तामाङको कोठा तलासी गर्ने क्रममा उक्त परिमाणको धातु बरामद गरी घटनास्थल वरपरबाट केशर, पेम्बा र माधवलाई बुधबार पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा संलग्नता खुल्न आएका नुर्वु छिरीङ र सुनमालालाई भिमेश्वर नगरपालिका-६ स्थित शुभकामना होटलबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो ।   उनीहरुलाई भन्सार ऐन, २०६४ तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत मुद्दामा जिल्ला अदालत दोलखाबाट ८ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

मोटरसाइकलमा आगजनी गरेको अभियोगमा पक्राउ
२०८०-०६-१०

घोराही उपमहानगरपालिका-१८ पुष्पाञ्जली टोल बस्ने बिराज चौधरीको रा.२ प १५९३ नम्बरको मोटरसाइकलमा आगजानी गरेको अभियोगमा सोही उपमहानगरपालिका-१० सौडिकुला बस्ने ३२ वर्षीया मिना चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लेनदेनको बिषयलाई लिएर चौधरीले उक्त मोटरसाइकलमा आगो लगाएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले स्थानीयबासी र दमकलको सहयोगमा मोटरसाइकलमा लागेको आगो नियन्त्रणमा लिएको थियो । आगजनीबाट मोटरसाइकल जलेर नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुन किन्ने बहानामा चोरी गर्ने चार जना पक्राउ
२०८०-०६-१०

काठमाडौं, सुनका गरगहना किन्ने बहानामा सुन पसलमा गई चोरी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-९ घर भई काठमाडौं ढुङ्गेधारा बस्ने ३३ वर्षीया रत्न महर्जन, तार्केश्वर नगरपालिका-४ पुरानो गुहेश्वरी बस्ने २२ वर्षीय सुमन पुतुवार, नुवाकोट बेलकोटगढी नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१६  नयाँबजार बस्ने ३६ वर्षीय वीरेन्द्र बिक र भारत महाराष्ट्र घर भई काठमाडौं माछापोखरी बस्ने ३७ वर्षीय हनुमन्त फाँडे रहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न ७ भन्दा बढी स्थानहरुमा स्कुटरको प्रयोग गरी सुन पसलमा गई सुनका गरगहना किन्ने बहाना बनाई चोरी गरी फरार रहेको घटना अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चोरीमा संलग्न रत्न र सुमनलाई गत शुक्रबार पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा अन्य २ जनालाई सोमबार पक्राउ गरेको हो । उनीहरूमध्ये रत्न चोरी गर्ने, सुमन स्कुटर चालक र वीरेन्द्र तथा हनुमन्त चोरी गरेको सुनका गहना खदिद गर्ने व्यक्ति रहेको खुल्न आएको छ । उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ
२०८०-०६-१०

सप्तरी, कञ्चनरुप नगरपालिका-७ बलुवा बस्ने २५ वर्षीय राहुल कुमार चौधरीको हत्यामा संलग्न रहेको अभियोगमा सोही नगरपालिका-६ बस्ने पशुपति रामलाई असोज ४ गते प्रहरीले पक्राउ गरेको छ । कञ्चनरुप नगरपालिका-९ स्थित सुन्दरी खोलाको पुल नजिक भदौ २१ गते राहुलको शव शंकास्पद अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा उक्त दिन राहुल र पशुपति सँगै रहेको अवस्थामा घडी र मोबाईल तथा आर्थिक प्रलोभनमा परी भारतबाट लागूऔषध खरिद गरी अत्यधिक मात्रामा लागूऔषध सेवन गराई बेहोस अवस्थामा हत्या गरी राहुलको साथमा रहेको मोबाइल र घडी लुटेर पशुपति घरतर्फ गएको खुल्न आएको छ । उनी उपर जिल्ला अदालत सप्तरीबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

टर्की पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०६-०९

काठमाडौं, वैदेशिक रोजगारको लागि टर्की पठाइ दिन्छु भन्दै ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-५ लेखनाथ टोल बस्ने ३२ वर्षीया सुरूची भुजेललाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  सोही टोल ठेगाना भएका ४२ वर्षीय विनोद श्रेष्ठ समेतले ३० जनालाई वैदेशिक रोजगारका लागि टर्की पठाई टर्कीमा गएको भूकम्प पश्चात पुन: निर्माणको लागि युएनले सहयोग गर्ने उद्देश्यले मासिक १४ सय अमेरिकी डलर तलब दिने भनी प्रलोभनमा पारी पीडितहरुबाट १ करोड १५ लाख ९९ हजार ८ सय रूपैयाँ ठगी गरेकोले आवश्यक कारवाहीका लागि  वैदेशिक रोजगार विभागबाट जाहेरी दरखास्त प्राप्त भएपछि केन्द्रीय अनुसन्धान व्यूरो महराजंगजबाट खटिएको प्रहरीले उनलाई पोखरा कास्कीबाट पक्राउ गरेको हो ।  उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ । 

पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०६-०८

काठमाडौं, पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका-६ घर भई काठमाडौं महागरपालिका-३ बसुन्धरा बस्ने ४२ वर्षीय रविन्द्र अधिकारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अधिकारीले ४ जनालाई वैदेशिक रोजगारका लागि पोल्याण्ड पठाई प्रतिष्ठित फुड प्याकिङमा मासिक १ लाख  रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी २७ लाख २५ हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।