प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको नगद सहित चार जना पक्राउ

२०७९-०३-१७

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका-१७ ड्यामसाइडस्थित भर्जु ईन होटलबाट स्रोत नखुलेको ४५ लाख ९७ हजार १ सय ८० रूपैयाँ नगद सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका-७ घर भएका २३ वर्षीय सुमन तामाङ र चिनियाँ नागरिक राहदानी नम्बर ईजी४४८७०८७ यीन यिङ्बो सहित ४ जना रहेका छन् । उक्त होटलमा सुमनको नाममा दर्ता भएको डाईमण्ड टेक्नोलोजी प्रालि सञ्चालन भएकोमा स्रोत नखुलेको नगद राखेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले तलासी गर्दा होटलको कोठा नम्बर ४०८ बाट उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उक्त स्थानबाट उनीहरूको ४ थान मोबाईल फोन, विभिन्न कम्पनीका ९७ थान ल्यापटप, ९ थान डेक्सटप र विभिन्न कम्पनीका अन्य २ सय २८ थान मोबाईल फोन समेत बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।


सम्बन्धित समाचार
गण्डकी प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न
२०७९-०४-२३

कास्की, गण्डकी प्रदेश सरकार आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माको प्रमुख आतिथ्यमा गण्डकी प्रदेशस्तरीय एक दिवसीय अपराध अनुसन्धान समीक्षा गोष्ठी आइतबार पोखरामा सम्पन्न भएको छ । उक्त अवसरमा मन्त्री विश्वकर्माले गोष्ठीको उद्‌घाटन गर्दै पछिल्लो समय अपराधका स्वरूप फरक-फरक ढंगले अघि बढेको सन्दर्भमा प्रहरीले पनि सोही अनुसार रणनीति बनाई अपराध अनुसन्धानमा लाग्नुपर्ने बताउनुभयो । समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले फौजदारी न्याय प्रणालीका तीन खम्बा नेपाल प्रहरी, सरकारी वकिल र अदालतबीच आपसी सहयोग, समन्वय र विश्वास आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तीनवटै निकायबीच आपसी समन्वय, सहयोग र विश्वास भएमा मात्र दोषीलाई कारबाही र पीडितलाई न्याय दिन सकिन्छ ।’प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीको मुख्य दायित्व अपराध अनुसन्धान रहेको र यसलाई अझ बढी निखार्दै अघि बढ्ने विषयमा प्रहरी सधैं दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभयो । मंसिरमा हुन लागेको संघ र प्रदेशको निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र तरिकाले सम्पन्न गर्ने वातावरण बनाउने प्रहरीको मुख्य दायित्व रहेकाले सोही अनुसार काम गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका जिल्ला प्रहरी कार्यालय प्रमुखहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । साथै उहाँले गोष्ठीले गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण मुद्दा चल्ने प्रहरी कार्यालयबीच आपसी समन्वय बढाएर अपराध अनुसन्धानमा दक्ष बनाउने विश्वास समेत व्यक्त गर्नुभयो ।उक्त अवसरमा मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहित राज बाँस्तोलाले गोष्ठीका उपलब्धीलाई कार्यान्वयन गर्न सके प्रहरीले अझै धेरै सफलता हासिल गर्न सक्ने बताउनुभयो ।सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले अपराध अनुसन्धानलाई भरपर्दो, पारदर्शी र विश्वासिलो बनाउन गोष्ठीको आयोजना गरिएको बताउनुभयो । गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशी र जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले समेत आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र गण्डकी प्रदेश प्रहरी कार्यालयद्वारा संयुक्त रूपमा आयोजित उक्त गोष्ठीमा गण्डकी प्रदेश मातहतका ११ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले आ-आफ्नो कार्यालयमा दर्ता भएका मुद्दाको अनुसन्धानमा गरिएका नविन प्रयोगहरूको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो भने अनुसन्धानको विद्यमान अवस्थाको समीक्षा र अनुसन्धान सम्बन्धी नविन कानुनी व्यवस्था र अभ्यास लगाएतका विषयमा सहभागीहरूबीच छलफल भएको थियो । 

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद
२०७९-०४-२२

बारा, निजगढ नगरपालिका-११ रतनपुरबाट करिब २ किलोग्राम अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका-१२ बस्ने ३० वर्षीय विजय तामाङ समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्र.३-०३-००१ प २१०५ नम्बरको मोटरसाइकललाई अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-६ बैशाखाबाट करिब १८ ग्राम ४९ मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित शुक्लाफाँटा नगरपालिका-१० झलारी बस्ने २४ वर्षीय दिपेन्द्र सिंह बिष्ट समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । म.१ प ३९७८ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको लेगार्डमा लुकाई ल्याएको उक्त खैरो हेरोईन सहित उनीहरूलाई फेला पारी पक्राउ गरेको हो ।   सिरहा, गोलबजार नगरपालिका-६ स्थित मैनाबती पुल नजिकबाट करिब ७ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरहा नगरपालिका-१७ बस्ने ३४ वर्षीय महाजन पासमान, ३३ वर्षीय अनिल पासमान र भारत घर भएका ३० वर्षीय अनिल कुमार सिंह रहेका छन् । ईलाका प्रहरी कार्यालय  गोलबजारबाट खटिएको प्रहरीले प्रदेश २-०१-००१ प ७४९७ नम्बरको मोटरसाइकलमा सवार महाजन र बीआर ३२ एम् ९१७४ नम्बरको मोटरसाइकलमा सवार अनिल कुमार र अनिललाई जाँच गर्दा महाजनको साथबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । मोरङ, जहदा गाउँपालिका-३ ठुलोहातिबन्दा बस्ने ४० वर्षीय भुसाराम राजबंशीको घर पछाडि कटेरोबाट करिब ३८ किलोग्राम अवैध लागूऔषध गाँजा शनिबार साँझ प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उक्त कटेरो खानतलासी गर्दा बोरामा प्याक गरी लुकाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी बरामद गरेको हो । गाँजा लुकाई राख्ने हाल फरार रहेका व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध रूपमा लैजान लागेको विभिन्न देशको मुद्रा सहित पक्राउ
२०७९-०४-२२

काठमाडौं, अबैधरुपमा लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न देशका मुद्राहरू सहित भारतीय नागरिक राहदानी नम्बर जेड५५६५७१५ बाहक ४३ वर्षीय अंकुर घनसे पटेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उनको साथबाट प्रहरीले ३ हजार ६ सय अमेरिकी डलर, २ हजार १ सय ३० पाउण्ड स्टर्लिङ, ३ हजार २ सय यूरो, ४ हजार ४ सय ६५ यूएई दिराम र ४ हजार ६ सय ५० केन्याको स्टर्लिङ बरामद गरेको छ । फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स-रे मेसिनमा जाँच गर्दा झोलामा अवैध रूपमा लुकाई लैजान लागेको उक्त मुद्राहरू फेला पारी प्रहरीले पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सडक सुरक्षाका लागि ट्राफिक स्वयंसेवक प्रशिक्षण तथा परिचालन कार्यक्रम उद्‌घाटन
२०७९-०४-२२

काठमाडौं, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सडक सुरक्षाका लागि ट्राफिक स्वयंसेवक प्रशिक्षण तथा परिचालन कार्यक्रमको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित एक समारोहबीच उद्‌घाटन गर्नुभएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजना र काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस, कान्तिपुर डेण्टल कलेज तथा अस्पतालसँगको सहकार्यमा आगामी १५ दिनसम्म संचालन गरिने उक्त कार्यक्रमको काठमाडौं महानगरपालिका प्रमुख शाहले पद्मकन्या कलेज सामाजिक कार्य विभागका प्रमुख स्वीकृता राईलाई ट्राफिक स्वयंसेवक ज्याकेट तथा काठमाडौं महानगरपालिकाबाट प्राप्त स्टिकर लगायतका सामग्री हस्तान्तरण गरी उक्त कार्यक्रम शुभारम्भ गर्नुभएको हो । सो अवसरमा काठमाडौं महानगरपालिका प्रमुख शाहले सवारी साधनको हर्नले अशान्ति फैलाउनुको साथै मानसिक स्वास्थ्यमा असर गर्ने तथा ट्राफिक प्रहरीको कार्यमा समेत अवरोध पुर्‍याउने बताउनुभयो । साथै उहाँले सवारीसाधन चालकले धैर्य गरी विस्तारै चलाउँदा सुरक्षित तवरले गन्तव्यमा पुग्न सकिन्छ भन्ने चेतना फैलाउन कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्दै पहिलेदेखि नै लागू भएको ‘नो हर्न’को अभ्यासलाई थप प्रभावकारी बनाउन ‘नो हर्न’ को स्टिकर र यस सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम संचालन गरिएको उल्लेख गर्नुभयो ।  पद्मकन्या बहुमुखी क्याम्पस बागबजारका प्राध्यापक राजु मल्लले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम अन्तर्गत पद्मकन्या बहुमुखी क्याम्पस बागबजारमा सोसल वर्क संकायको पहिलो र दोस्रो सेमेस्टरमा अध्ययनरत छात्राहरूलाई ट्राफिक स्वयंसेवकको रूपमा थापाथली, पुतलीसडक, कालिमाटी, बानेश्वर लगायत १७ ठाउँमा कार्यक्रम अवधिभर परिचालन गरिने उक्त अवसरमा जानकारी दिइयो ।उद्‍घाटन कार्यक्रम पश्चात काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरी लगायत उपस्थित ट्राफिक स्वयंसेवकहरूले सिंहदरबार चोकमा गुडिरहेका सवारी साधनहरूमा ‘नो हर्न’ लेखिएको स्टिकरहरू टाँस समेत गर्नुभयो ।