बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०७९-०५-०१
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बस्ने रामेछाप मन्थली नगरपालिका-७ घर भएका ३९ वर्षीय निरज बुढाथोकीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ पुस १९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ८ दिन कैद र ४२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजंगजबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो । बुढाथोकीले सेन्चुरी वैंक लिमिटेड शाखा कार्यालय कोटेश्वर काठमाडौंमा रहेको वैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।
यसैगरी बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर गठ्ठाघर बस्ने स्याङजा विरूवा गाउँपालिका-६ घर भएका २७ वर्षीय सन्जोग लम्साललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरको २०७९ गत असार ६ गतेको फैसलाले ६ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।