प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नक्कली नोट सहित पक्राउ

२०७९-०८-२६

  • A
  • A-
  • A+
Share

कैलाली, धनगढी उपमहानगरपालिका-१ पशुपती टोलबाट ५ सय रुपैयाँ दरको ९ थान नक्कली नोट सहित भारत पलिया बस्ने ३६ वर्षीय ब्रिजेस गुप्तालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पशुपति टोलस्थित जय श्री चण्डिका ट्रेडस एण्ड सप्लायर्समा रक्सी खरिद गर्न भनि आएका उनले उक्त नक्कली नोट ल्याएको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१२-०८

 बर्दिया, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बाँसगढी नगरपालिका-६ बस्ने अमर सिंह थारुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बर्दियाको २०७९ कात्तिक २९ गतेको फैसालाले कर्तव्य ज्यान मुद्दामा १२ वर्ष कैद, १ लाख रुपैयाँ जरिवाना र २५ हजार रुपैयाँ क्षतिपुर्ति सजाय ठहर भई फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले बाँसगढी नगरपालिका-६ मोतिपुरबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बर्दियामा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दिया पठाइएको छ ।   

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०७९-१२-०८

काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत ६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनु भएका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरुको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनको सफलताको शुभकामना दिँदै पदोन्नति भएका मध्यबाटै संगठन प्रमुख हुने भएकोले आगामी दिन संगठन प्रमुखको रुपमा प्राप्त हुने जिम्मेवारी बहन गर्नका लागि तयार रहन निर्देशन दिनुभयो ।   प्रहरी महानिरीक्षक सिंहले लामो समयपछि पदोन्नति सुचारू भएकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै संगठनको उच्च तहमा रहने प्रहरी अधिकृतहरुलाई चौतर्फी रुपमा चुनौतीको सामना गर्नु पर्ने भएकोले उक्त चुनौती  र जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो । प्रहरी महानिरीक्षक सिंहले संगठनको नेतृत्वसँगै नेपाल प्रहरीलाई कसरी गतिशिल र चलायमान बनाउन सकिन्छ भन्ने बारेमा योजना बनाउनु पर्ने बताउँदै संगठनको आगामी नेतृत्व अव्बल व्यक्तिको हातमा जाने विश्वाससमेत व्यक्त गर्नुभयो ।  उक्त अवसरमा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी महानिरीक्षकलगायत बढुवा प्रकियामा सहभागी सम्पूर्णप्रति आभार व्यक्त गर्दै पदोन्नतिसँगै गहन जिम्मेवारीको बढोत्तरी हुने हुँदा प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । संगठनप्रति बफादार रहि संगठनको श्रीवृद्धि गर्न दृढ संकल्पित रहने बताउनु हुँदै उहाँले समग्र सुरक्षा र अपराध अनुसन्धानको जिम्मेवारी बोकेको प्रहरी संगठनमा संगठनप्रति व्यवसायिक र निष्ठावान रहि जिम्मेवारी बहन गर्ने कार्यमा सबैको सत्प्रयास अपरिहार्य रहेको विचार व्यक्त गर्नुभयो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषधसहित ११ जना पक्राउ
२०७९-१२-०८

 मकवानपुर, थाहा नगरपालिका-८ चौतराबाट अवैध लागूऔषध गाँजा करिब ४५ केजीसहित सोही ठाउँ बस्ने ५७ वर्षीय लाल बहादुर घलानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै घरमा लागूऔषध गाँजा विक्री वितरण गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले तलासी गर्दा उनको घरबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । साथै उनकै भाइ शेर बहादुरको घरबाट करिब ६३ केजी अवैध लागूऔषध गाँजा पारी प्रहरीले बरामद गरेको छ । हाल फरार शेर बहादुरको प्रहरीले खोजी गरिरहेको  छ ।   दाङ, गढवा गाउँपालिका-४ स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १० ग्रामसहित घोराही उपमहानगरपालिका-१५ बस्ने १९ वर्षीय त्रिशक्ति बर्तौलासमेत ५ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ रहेको खाली घरमा लागूऔषध सेवन गरिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ६८ मिलिग्रामसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-११ बस्ने २० वर्षीय बिनायक शर्मा र २३ वर्षीय अमर कुमार साह रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको को.८ प ७६२ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्राम ५० मिलिग्रामसहित  २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी धरान उपमहानगरपालिका-१६ बस्ने २१ वर्षीय मोहन श्रेष्ठ र तेह्रथुम लालीगुँरास नगरपालिका-७ बस्ने २८ वर्षीय राजेन्द्र भण्डारी रहेका छन् ।  लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले शंका लागि भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषसहित फेला पारी पक्राउ गरेको हो । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४ सय ६३ ट्याव्लेटसहित सर्लाही लालबन्दी नगरपालिका-१५ बस्ने २४ वर्षीय संजय कुमार स्याङतानलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले ना.५ ख ७९४३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित ९ जना पक्राउ
२०७९-१२-०८

 झापा, दमक नगरपालिका-१ हवल्दार चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित मंलगबार राति ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २८ वर्षीय मुना राई, २४ वर्षीय संन्जय राई,  सोही नगरपालिका-९ बस्ने २८ वर्षीय रविन धिमाल र १९ वर्षीय निशान नेपाली रहेका छन् । चोकमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र प्रहरी पोष्ट फागुनन्दबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले उक्त पदार्थ निशान नेपालीबाट खरिद गरी ल्याएको भने अनुसन्धानको क्रममा खुल्न आएपश्चात निशानलाई समेत प्रहरीले पक्राउ गरेको हो । धादिङ, गजुरी नगरपालिका-६ आदमघाटबाट अवैध लागूऔषध गाँजा करिब ४ केजीसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रुपन्देही ओमसतिया  गाउँपालिका-४ बस्ने १९ वर्षीय मोहमद सरिफ खान र रुहणी गाउँपालिका-१ बस्ने २३ वर्षीय ईरफान खान रहेका छन् । अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले पैदल हिडीरहेका उनीहरुलाई शंका लागी जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको छ ।  मोरङ, कानेपोखरी गाउँपालिका-५ भौसावारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ६० मिलीग्रामसहित उर्लाबारी नगरपालिका-२ बस्ने २९ वर्षीय मिलन ढकाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले मे. ८ प ९५०७  नम्बरको मोटरसाइकलमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । मकवानपुर, हेटौडा उपमहानगरपालिका-३ लेवटबाट अवैध लागूऔषध गाँजा करिब ४ केजीसहित सोही उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने २४ वर्षीय पासाङ दोर्जेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लेवटबाट खटिएको प्रहरीले ना.२८ प २८४७ नम्बरको मोटरसाइकलमा सवार दोर्जेललाई उक्त लागूऔषधसहित पक्राउ गरेको   हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । सिरहा,  धनगढीमाई नगरपालिका-८ कसहा बस्ने ७४ वर्षीय चौधरी महतोलाई अवैध लागूऔषध गाँजा ५ केजी ३ सय ग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा लुकाई छिपाई गाँजा विक्री वितरण गरेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो सिरहा, ईलाका प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट कसहाबाट संयुक्त रुपमा खटिएको प्रहरीले तलासी गर्ने क्रममा उनकै सुत्ने कोठाबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।