प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सुन जस्तो देखिने पहेलो धातु सहित एक जना पक्राउ

२०७९-०९-२९

  • A
  • A-
  • A+
Share

सप्तरी,शम्भुनाथ नगरपालिका-३ स्थित सडकबाट ALETIAHAD GOLD DUBAI-UAE 1 KILO GOLD 999.9 MELTER ASSAYER D010478 लेखिएको सुन जस्तो देखिने पहेलो धातु सहित कैलाली गोदावरी नगरपालिका-३ बस्ने ३१ वर्षीय बसन्त पाललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय कल्याणपुर र प्रहरी चौकी कठौनाबाट खटिएको टोलीले उक्त सडक छेउमा रोकी राखेको बिएए ३१६४ नम्बरको कारलाई जाँच गर्न खोज्दा कारमा सवार ४/५ जना व्यक्ति फरार भएकोमा कार चालक पाललाई नियन्त्रणमा लिई तलासी गर्दा कारको डयासबोर्डको डिकीमा उक्त धातु फेला परेको हो । 

हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषधसहित पक्राउ
२०७९-१२-१२

कास्की, पोखरा महानगरपालिका-१७ तिनकुने चोक बस्ने १८ वर्षीय किशोर समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम र नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय १८ ट्याब्लेटसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती किशोरको कोठामा लागूऔषध लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  कञ्चनपुर, शुक्लाफाटा नगरपालिका-१२ जाई जाने भित्री बाटोबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ११ मिलिग्रामसहित सोही नगरपालिका-१० बस्ने २१ वर्षीय कृष्ण राना समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बन्साह र ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको संयुक्त गस्ती टोलीले से.२ प ५५१३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । मकवानपुर, मनहरी गाउँपालिका-६ खयरघारीबाट अवैध लागूऔषध गाँजा ४ किलोग्रामसहित सोही गाउँपालिका सुनाचुरी बस्ने २६ वर्षीय सरोज गौतमलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर दर्ज्यानी चिन्हबाट सुशोभित
२०७९-१२-१२

काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत १० गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका बसन्त बहादुर कुँवर दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा आइतबार आयोजित विशेष समारोहबीच गृहसचिव विनोद प्रकाश सिंहले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभएको हो ।  सुशोभन समारोहमा गृहसचिव सिंहले नेपाल सरकार गृह मन्त्रालयकोतर्फबाट प्रहरी महानिरीक्षक कुँवरलाई बधाई तथा कार्यकाल सफलताको कामना गर्नुका साथै उहाँको कार्यकालमा नेपाल प्रहरीमा गुणात्मक सुधार हुने, प्रहरी संगठन उच्च मनोबलका साथ काम गर्नसक्ने र नेपाल सरकारले प्रहरी संगठनमाथि थप गर्व गर्नसक्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । कानूनी राज्यको मूल अवधारणालाई अंगिकार गर्दै प्रभावकारी अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने विषयहरू, मानवअधिकारको संरक्षण एवम् प्रवर्द्धन लगायत समाजमा शान्ति सुरक्षा व्यवस्थापनमा प्रहरी संगठनको उद्देश्यमा सबै सरोकारवाला निकायको सहयोग हुने र प्रहरी महानिरीक्षक कुँवरले सकारात्मक रूपमा नेतृत्व प्रदान गर्नसक्ने विश्वास समेत गृहसचिव सिंहले व्यक्त गर्नुभयो । संगठनको उद्देश्य पूरा गर्न सबै प्रहरी कर्माचारीहरू एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  प्रहरी संगठन जनताले विश्वास गर्ने र संरक्षकको रूपमा आशा गर्ने संगठन भएको चर्चा गर्दै गृहसचिव सिंहले प्रहरीले प्रवाह गर्ने सेवालाई अझ बढी सशक्त रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । गृहसचिव सिंहले सीमित स्रोत साधनका वावजूद पनि नेपाल प्रहरीले निर्वाह गरेको जिम्मेवारी प्रशंसनीय रहेको चर्चा गर्दै प्रहरीलाई आवश्यकता अनुसार स्रोत साधन उपलब्धता प्रति मन्त्रालयले आवश्यक समन्वय गर्ने बताउनुभयो । प्रहरीका हरेक सुधारका कार्यहरूलाई पूर्ण रूपमा सहयोग, साथ र समन्वय गर्न गृह मन्त्रालय प्रतिवद्ध रहेको बताउँदै उहाँले प्रहरी संगठनभित्र भएका नराम्रा कुराहरू हटाउन र राम्रा कुरालाई अगाडि बढाउन समेत मन्त्रालयले समन्वय तथा सहजीकरण गर्ने बताउनुभयो । पदस्थापना र सरूवाका मापदण्डको अक्षरस पालना गर्नेतर्फ प्रहरी महानिरीक्षक कुँवरले आवश्यक कदम चाल्नुहुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।  गृहसचिव सिंहले प्रहरीले सबैभन्दा बढी जनतासँग नजिक भएर प्रभावकारी एवम् उत्तरदायी भई काम गर्नुपर्ने तथा प्रहरी संगठनको समस्या तथा संगठनलाई सुधार गर्नुपर्ने विषयहरू सबैलाई बढी चासोका विषय भएको उल्लेख गर्दै नवनियुक्त प्रहरी महानिरीक्षकबाट संगठनको आन्तरिक सुदृढिकरणको लागि भएका प्रतिबद्धताको कार्यान्वयनप्रति आशावादी रहेको बताउनुभयो ।   उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले व्यावसायिक निष्ठाकासाथ राष्ट्र सेवामा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गर्नुभयो । नेपाल सरकार तथा गृह मन्त्रालयले सुम्पेको जिम्मेवारी आफ्ना सहकर्मी एवम् मातहतका प्रहरी कर्मचारीहरू प्रति कुनै पनि पूर्वाग्रहको भावनाबाट मुक्त रही निष्पक्षतका साथ निर्वाह गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।  नेपालको संविधानले मार्ग निर्देशित गरेको संघीय स्वरुपमार्फत विधिको शासन र मानवअधिकारको प्रत्याभूति, आर्थिक, सामाजिक रुपान्तरणद्वारा सुशासन, सामाजिक न्याय र सद्‍भावको सुनिश्चितता गर्न नेपाल प्रहरी निष्ठापूर्वक उच्च मनोबलका साथ कर्तव्यनिष्ठ रहेको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘कार्यक्षमताको उचित मुल्याङ्कन, नेतृत्व क्षमता विकास गर्ने अवसरको निष्पक्ष उपलब्धता, तत्काल सजाय र पुरस्कारमार्फत नेकीबेदीको अभिलेखिकरणलाई वृत्ति विकासको एक महत्वपूर्ण पक्षको रुपमा संस्थागत गर्दै प्रहरीको आन्तरिक शुद्धिकरण मेरो भिष्मप्रतिज्ञा हो र यसबाट म किंचित पनि डगमगिने छैन ।’   नागरिकप्रति उत्तरदायी र कानूनको शासनमा आधारित भएर क्रियाशील रहन सकेमा मात्र नेपाल प्रहरीलाई नागगरिकमैत्री र सेवाग्राही संस्थाको रूपमा स्थापित गराउन सकिने हुँदा हाम्रो कार्यप्रति सेवाग्राहीको सन्तुष्टि नै नेपाल प्रहरीको अभिष्ट रहेको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले अपराध, आपराधिक प्रवृत्ति, अनुचित प्रभाव र दवावहरूको सामु कहिल्यै कुनै पनि प्रकारको सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । समाजमा शान्ति सुव्यवस्था कायम राख्न नेपाल प्रहरीको एकल प्रायस मात्र पर्याप्त नहुने र यस किसिमको दायित्व निर्वाह गर्न आम नागरिक, सुरक्षासँग सम्बद्ध सरोकारवाला निकायहरुबाट सहयोग र सहकार्यको अपेक्षा रहेको उहाँले बताउनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागसँगको निरन्तर समन्वय सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाई नागरिकको मनमा अमन चयन र कानूनी प्रत्याभूति दिलाउन नेपाल प्रहरीको कर्मेच्छा र क्रियाशिलतामा गुनासो आउने अवसर नदिइने उहाँले उल्लेख गर्नुभयो ।  कार्यक्रममा नेपाली सेनाका रथी सिताराम खड्का, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, प्रहरी नायव महानिरीक्षकहरू एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो । दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले आइतबारै आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको छ । प्रहरी महानिरीक्षक कुँवर नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले हार्दिक स्वागत गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुकासाथै नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको सङ्क्षिप्त जीवनीः प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर नेपाल प्रहरीको ३०औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत १० गतेको निर्णयअनुसार उहाँ नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ तुम्कोटमा पिता भिम बहादुर कुँवर र माता नम कुमारी कुँवरको कोखबाट वि.सं. २०२६ चैत १५ गते जन्मनु भएका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरका श्रीमती लक्ष्मी पाराजुली कुँवर र २ छोरा हुनुहुन्छ । प्रहरी महानिरीक्षक कुँवरले वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गर्नुभएको हो । प्रहरी सेवामा साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाउनुभएका प्रहरी महानिरीक्षक कुँवर २०६३ भदौ ८ गते प्रहरी नायव उपरीक्षक, २०७१ फागुन १० गते प्रहरी उपरीक्षक, २०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षक र २०७९ चैत ६ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको थियो । त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर शैक्षिक योग्यता हासिल गर्नुभएका प्रहरी महानिरीक्षक कुँवरले अन्तर प्रदेश प्रहरी कार्यदक्षता मुल्याङ्कन २०७३ तर्फ सर्वोत्कृष्ट हुन सफल भई पुलिस व्याटन प्राप्त गर्नुभएको थियो । उहाँ प्रहरी सेवाको क्रममा सुप्रबल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, दैवीप्रकोप पीडितोद्वार पदकलगायतका विभूषणबाट विभूषित हुनुहुन्छ । यसैगरी उहाँ तोकिएको जिम्मेवारी अनुशासित भएर उत्कृष्ट ढंगले वहन गरी व्यावसायिक कार्य सम्पादन गरेबापत ग्रेड थप तथा विभिन्न समयमा १७ पटक नगद पुरस्कार प्राप्त गर्नुको साथै विभिन्न प्रशंसापत्रद्वारा सम्मानित हुनुभएको छ । साथै उहाँले प्रहरी निरीक्षक आधारभूत तालिम, मानव अधिकार प्रशिक्षक प्रशिक्षण तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, अपराध अनुसन्धान तालिम, प्रशिक्षक प्रशिक्षण तालिम, ईन्भेस्टिगेटिभ ईन्टरभ्यु ट्रेनिङ कोर्ष, जमीनमुनीको विष्फोटक पदार्थ र अन्य विष्फोटन सामग्रीको सामान्य जानकारी, कोर्ष अन ह्युमेनराइट्स एण्ड ल इन्फोर्समेन्ट, स्थानीय संस्थाहरूको लागि क्षमता निर्माण, अपराधिक अनुसन्धान विधि तालिम, ट्रेनिङ अफ ट्रेनर्स अन प्रिभेन्सन अफ जेण्डर बेस्ड भ्वायलेन्स एण्ड एचआईभि एड्स, प्रजातान्त्रिक प्रहरी र मानवाधिकार तालिम, महिला तथा बालबालिकासम्बन्धी अपराध अनुसन्धान माष्टर प्रशिक्षक प्रशिक्षण तालिम, करप्सन एण्ड फाईनान्सियल ईन्भेष्टिगेसन मेथोडोलोजी ट्रेनिङ वर्कसप फर सिआईएए नेपाल, अपराध व्यवस्थापन कोर्ष, द्वन्द्व व्यवस्थापन तालिम र रेजनल सिनियर मिसन लिडर्स कोर्सलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुभएको छ । आफू र मातहतमा निष्ठावान भए संगठन बलियो हुन्छ भन्ने मान्यता राख्दै काम गर्ने अब्बल एवम् कुशल नेतृत्त्वदायी भूमिकामा रहने प्रहरी महानिरीक्षक कुँवरले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा गुल्मी, सुनसरी, सिन्धुली, मोरङ, दाङ, रोल्पा, काठमाडौं, नवलपरासी, गोरखा, डोटी, मनाङ, ललितपुर र धादिङ जिल्लाहरू तथा मातहत युनिटमा खटिएर जिम्मेवारी पूरा गर्नुभएको थियो । प्रहरी उपरीक्षक भएपछि चितवन र नुवाकोट जिल्लाको कमाण्ड गर्नुभएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक भएपछि उहाँले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । साथै उहाँसँग काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी युक्ति तालिम महाविद्यालय नवलपरासीमा समेत काम गरेको अनुभव छ । प्रहरी नायव महानिरीक्षकमा मधेश प्रदेश प्रहरी कार्यालयको कमाण्डको साथै नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागको अनुभव गर्नुभएका कुँवर २०७९ चैत ६ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । कार्य कुशलताका हिसावले अब्बल प्रहरी अधिकृत प्रहरी महानिरीक्षक कुँवरले हरेक पदमा रहँदा आफ्नो कार्यकुशलता प्रस्तुत गर्दै आउनुभएको छ । असहज परिस्थितिमा पनि सहज तरीकाले काम गर्न सक्ने क्षमता भएका कुँवरले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड सम्हालेको बखत धरै अभियुक्तहरू पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल हुनुभएको थियो । साथै समाजमा बढ्दो अपराधलाई नियन्त्रणमा ल्याउन ठूलै चुनौती सामना गरी प्रहरीको पोजिसनलाई मजबुद बनाउन र अपराध अनुसन्धानमा रचनात्मक कार्य गरी उत्कृष्ट कार्य सम्पादन गर्न कुँवरको भूमिका अब्बल रहेको छ । आफू खटिएका हरेक प्रहरी कार्यालयमा काम गर्दा आइपर्ने चुनौतीलाई संयमित भई काम गरी एउटा उत्कृष्ट प्रणालीको विकास गर्ने परिपाटी उहाँले बसाउनु भएको छ । राष्ट्र र राष्ट्रियताको रक्षा खाँतिर अहोरात्र खटिने प्रहरी महानिरीक्षक कुँवर देशमा मात्र होइन संयुक्त राष्ट्र संघीय मिसन सुडान र लाइबेरियामा कार्यरत रहँदा व्यावसायिक क्षमताको उच्च प्रदर्शन गरी काम गर्दै विश्व जगतमा नेपाल प्रहरीको छवि र नेपालको शिर उँचो राख्न आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । जनशक्ति उत्पादन गर्ने प्रशिक्षण संस्थामा कार्यरत रहँदा उहाँले प्रशिक्षण विधिलाई आधुनिकीकरण गर्न निर्वाह गरेको भूमिका सराहनीय छ ।   

प्रहरी संगठनको आन्तरिक शुद्धिकरण पहिलो र मुल प्राथमिकता- प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०७९-१२-१२

काठमाडौं,  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी संगठनको आन्तरिक शुद्धिकरण आफ्नो कार्यकालको पहिलो र मुल प्राथमिकता रहेको बताउनुभएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा बताउनुभएको हो । अहिले संगठनका सामु समस्याका चाङहरू रहेको, संगठनको दुर्बल र सबल पक्षहरूलाई सामूहिक रूपमा पहिचान गरी त्यसका  निदानका उपायहरू अवलम्बन गर्नुको टङकारो आवश्यकता रहेको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले नेतृत्वको एक प्रयासले मात्र समस्याहरूको हल हुन नसक्ने र यसका लागि सामूहिक प्रयास एवम् सामूहिक प्रतिबद्धता जरूरी रहेको बताउनुभयो । व्यावसायिकता, पारदर्शिता एवम् आर्थिक अनुशासन कायम राख्दै सभ्य तथा शिष्ट तवरबाट नागरिकलाई प्रहरी सेवा प्रदान गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू संकल्पित हुनुपर्ने उहाँले बताउनुभयो ।  नेपाल प्रहरी नागरिक प्रशासनको सबै भन्दा संवेदनशील संस्था भएको, संगठन सदैव जनमुखी, पारदर्शी र कानूनले निर्देशित गरेको मूल्य मान्यताका आधारमा संचालित हुनुको अर्को विकल्प नभएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले मानवअधिकारको सम्मान, विधिको शासन र नागरिक सर्वोच्चताको अवधारणा अनुरूप नेपालको संविधान, प्रचलित ऐन-कानूनहरु र नेपाल सरकारको नीति निर्देशनबमोजिम परिचालित हुनु नेपाल प्रहरीको मूल दायित्व रहेको बताउनुभयो ।   क्षमता गुमेपछि आत्मविश्वास गुम्छ, आत्मविश्वास गुमाएपछि त्यो संगठनमा आवद्ध व्यक्तिहरूको स्वाभिमान गुम्छ भन्ने कुरा सबैले मनन गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘म यो संगठनको स्वाभिमान र साख गुम्न नदिन यहाँहरू सबैसँग आ-आफ्नो क्षेत्रबाट रचनात्मक क्रियाशिलताको अपेक्षा गर्दछु । संगठनको हित प्रति केन्द्रीत यहाँहरूको प्रयास र योजनाका लागि मेरो ढोका सदैव खुला रहने विश्वास दिलाउन चाहन्छु ।’  गैर व्यावसायिक आचरण र व्यवहार कुनै हालतमा सह्य नहुने बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘अपराधीहरूलाई कानूनको दायरामा ल्याउने लगायतका जिम्मेवारी बहनको सिलसिलामा प्रहरी कर्मचारीबाट अकर्मण्यता, लापरवाही र उदासिनता भएमा त्यो कुनै पनि हालतमा क्षम्य हुनेछैन ।’ साथै उहाँले सहकर्मी अधिकृतहरूलाई कुनै पनि पूर्वाग्रह र स्वार्थ बिना एकै साथ मिलेर, एक ढिक्का भएर संगठनको गरिमालाई थप उचाईमा पुर्‍याउन एकमतको सांगठनिक दूरदृष्टि बनाएर हरेक कदमसँगै हिँड्न समेत अनुरोध गर्नुभयो । संगठनमा रहेका मातहत दर्जाका प्रहरी कर्मचारीहरूको भलाईका लागि गर्न सकिने सम्पूर्ण प्रयास गर्ने र जुनसुकै प्रहरी कर्मचारीले बिना हिच्किचाहट र व्यवधानका साथ आफ्नो वास्तविकता संगठन प्रमुख समक्ष राख्न सक्ने मैत्रीपूर्ण व्यवहार र वातावरणको सुनिश्चतता हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।   समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुको उपस्थितिको साथै प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरू, शिक्षालयका प्राचार्यहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरूको समेत भर्चुअल रूपमा उपस्थिति रहेको थियो ।  

सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलगायत वरिष्ठ प्रहरी अधिकृतहरुको बिदाइ
२०७९-१२-१०

काठमाडौं, तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शुभकामनासहित हार्दिक बिदाइ गर्नुभएको हो । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिनुभएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरप्रति हार्दिक आभार प्रकट गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले नवनियुक्त प्रहरी महानिरीक्षक ज्यादै व्यावसायिक, कर्तव्यनिष्ठ र दूरदर्शी व्यक्तित्व रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा उहाँले संगठनलाई थप नयाँ उचाई दिने विश्वास व्यक्त गर्नुभयो । संगठनमा देखिएका यावत् बाह्य तथा आन्तरिक चुनौतिहरूलाई चिरेर जानुपर्ने सुझाव दिँदै संगठनको यश वृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षकलाई रचनात्मक सहयोग गर्न सबै प्रहरी कर्मचारीलाई उहाँले निर्देशन समेत दिनुभयो । प्रहरी महानिरीक्षक सिंहले आफ्नो नेतृत्व कार्यकालमा सहयोग पुर्‍याउने सबै सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरू प्रति आभार समेत प्रकट गर्नुभयो ।  समारोहमा प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई हस्तान्तरण गर्नुभयो । साथै नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गर्नुभयो । उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सेवानिवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र, नागरिक र संगठनप्रति पुर्‍याउनु भएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । संगठनको दिशानिर्देश गर्ने सम्बन्धमा प्रहरी महानिरीक्षक सिंहबाट बिदाइ सम्बोधनको क्रममा व्यक्त गर्नुभएका शब्द र त्यसका भावनाहरूलाई हृदयङ्गम गरी संगठनलाई मन, वचन र कर्मले नेतृत्व प्रदान गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो । सामूहिक नेतृत्वको अवधारणा अनुरूप एकढिक्का भई सबैले अपनत्व ग्रहण गर्नसक्ने संगठनको निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने उहाँले उल्लेख गर्नुभयो ।  प्रणालीगत र पद्दतीगत विकासले संगठनको सुदृढिकरण सुनिश्चित भई बाह्‍य हस्तक्षेप निरुत्साहित हुने बताउँदै नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले संगठनमा विगतमा प्रारम्भ भएका असल अभ्यासको निरन्तरता आफ्नो नेतृत्वकालको प्रस्थान विन्दु रहने बताउनुभयो  । प्रहरी संगठनमार्फत आफ्नो सम्पूर्ण उर्जा तथा सिर्जनशीलता देश र नागरिकका लागि समर्पित गरेर बिदाइ हुन लाग्नु भएका वरिष्ठ अधिकृतहरू प्रति नेपाल प्रहरी र तमाम सदस्यहरू सदैव कृतज्ञ रहने बताउँदै नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी संगठनको हितका सवालमा सेवा निवृत्त वरिष्ठ अधिकृतबाट जिवनपर्यन्त अमूल्य सुझाव एवं मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।  समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुमलता सिंहलाई समेत बिदाइ गरियो । उहाँलाई श्रीमती लक्ष्मी कुँवर पराजुलीले सम्मान गर्नुभयो ।    प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहसँगै सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी वरिष्ठ अधिकृतहरुमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु सहकुल बहादुर थापा, उत्तम राज सुवेदी र दिवेश लोहनी, प्रहरी नायब महानिरीक्षकहरू नल प्रसाद उपाध्याय, मोहन कुमार आचार्य र मसाउद आलम खाँ तथा प्रहरी वरिष्ठ उपरीक्षकद्वय उमाशंकर पन्जियार र जनक राज पाण्डे रहनुभएको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरुले समेत सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलगायत प्रहरी वरिष्ठ अधिकृतहरुलाई शुभकामनासहित हार्दिक बिदाइ गर्नुभएको थियो ।