प्रतिबन्धि भारतीय रूपैयाँ सहित तीन जना पक्राउ
२०७९-१०-२५
- A
- A-
- A+
काठमाडौं, नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरको ४ सय ४० थान गरी जम्मा २ लाख २० हजार सहित २ जनालाई काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारतीय नागरिक ४३ वर्षीय बसारूद्दीन कामरूद्दीन अन्सारी र सुनसरी इनरुवा नगरपालिका-३ ठेगाना भएका २९ वर्षीय मधुकर सेठ साह रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित क्यान्टिन नजिकै उनीहरूले उक्त भारतीय रूपैयाँ लेनदेन गरी कारोबार गरिरहेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरको ४ सय ५६ थान गरी जम्मा २ लाख २८ हजार सहित अमेरिकी नागरिक ६२ वर्षीय काल्साङ वाङचुकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट दिल्ली जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनको हाते झोलाभित्र उक्त भारतीय रुपैयाँ फेला परेको हो ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।