प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गोली प्रहार गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

२०८०-०४-१८

  • A
  • A-
  • A+
Share

सुनसरी, ईटहरी उपमहानगरपालिका-२० सेउती पुलमा मोरङ बिराटनगर महानगरपालिका-५ कोचाखाल बस्ने २८ बर्षीय रोहित चौधरीको गोली प्रहार गरी हत्या गरेको अभियोगमा २ जनालाई अटोमेटिक चाईनिज पेस्तोल १ थान, गोली ९ राउण्ड, म्यागजिन २ थान,  खुकुरी २ थान, औठी १ थान र गोलीको खोका १ थानसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका-१ का ३५ बर्षीय दिपक तिमिल्सिना र सुनसरी धरान उपमहानगरपालिका-१० का  ३४ बर्षीय अनसन राई रहेका छन् । उनीहरूले उक्त पुलमा धरानबाट ईटहरीतर्फ जाँदै गरेको को.३२ प १७९६ नम्बरको मोटरसाइकल चालक रोहित र मोटरसाइकलमा सवार विराटनगर महानगरपालिका-३ की सुमना खत्रीलाई साउन ५ गते साँझ पेस्तोल तथा खुकुरी देखाई जबरजस्ती लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा चौधरीलाई गोली प्रहार गरी फरार भएका थिए । गम्भीर घाइते भएका चौधरीको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको थप अनुसन्धानको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, नेपाल प्रहरी प्रदेश कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी, ईलाका प्रहरी कार्यालय ईटहरी समेतबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनीहरूलाई धरान पुतली लाइनबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा असार ८, २३ र ३१ गते धरानको छुट्टाछुट्टै स्थानमा भएका श्रृङखलाबद्ध लुटपाटमा समेत उनीहरूको संलग्नता रहेको खुल्न आएको छ । पक्राउ परेकामध्ये तिमिल्सिना जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद भुक्तान गरी २ महिना अगाडि छुटेको र तामाङ लागूऔषध मुद्दामा ६ महिना कैद भुक्तान गरी २ वर्ष अगाडि छुटेको तथा दुवै जना लागूऔषध दुर्व्यसनी रहेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ । 

उनीहरू उपर १० दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । 


सम्बन्धित समाचार
अपहरण सम्बन्धी कसुर मुद्दाका प्रतिवादी पक्राउ
२०८३-०२-२०

महोत्तरी, अपहरण सम्बन्धी कसुर मुद्दाका प्रतिवादी रौतहट गढीमाई नगरपालिका-७ बस्ने २३ वर्षीय नवराज अधिकारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । महोत्तरीबाट गत जेठ ७ गते दिउँसो अन्दाजी ८ वर्षीय बालकलाई ना.६४ प ७९९० नम्बरको मोटरसाइकलमा राखी अपहरण गरी लैजाँदै गरेको अवस्थामा स्थानीयले देखेपछी मोटरसाइकलमा सवार व्यक्तिहरूले बालकलाई सोही स्थानमा छाडी फरार भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा घटनामा संलग्न मध्ये अधिकारीलाई रौतहट गौर नगरपालिका-५ हस्पिटल चोकबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत महोत्तरीबाट ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८३-०२-२०

बागलुङ, लमजुङ क्वहोलासोथार गाउँपालिका-९ घर भएका ६२ वर्षीय देउ बहादुर सार्कीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देउ बहादुरको श्रीमती तनहुँ माग्दे गाउँपालिका-७ पहेर घर भएकी २६ वर्षीया लक्ष्मी नेपाली, कास्की पोखरा महानगरपालिका-२६ जलधारे घर भएका ३८ वर्षीय राम आकाश विश्वकर्मा र कास्की मादी गाउँपालिका-३ याङ्गजाकोट घर भएका ५६ वर्षीय दमाई भनि चिनिने आसपुरे कामी रहेका छन् । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले जैमिनी नगरपालिका-१० राङखानी हाडीकोट सामुदायिक वनस्थित प्रतिक्षालयमा देउ बहादुरलाई ढुङ्गा प्रहार गरी हत्या गरेको खुल्न आएको छ । उनीहरू उपर जिल्ला अदालत बागलुङबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८३-०२-२०

भक्तपुर, होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने कार्यमा संलग्न रहेको अभियोगमा काभ्रेपलाञ्चोक बुडोल बस्ने ओखलढुंगा लिखु गाउँपालिका-७ घर भएका ३८ वर्षीय कुल बहादुर बस्नेतलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । मध्यपुर थिमी एरियामा रहेका विभिन्न होटल तथा बर्गर हाउसमा आफूले खाएको विलको पैसा नतिरी व्यवसायीहरूलाई धाकधम्की दिई ठगी गर्न खोज्ने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले मध्यपुर थिमी नगरपालिका-१ मनोहरापुलबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

शंकास्पद गतिविधिमा संलग्न दुई जना चिनियाँ नागरिकहरू पक्राउ
२०८३-०२-२०

काठमाडौं, शंकास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा २ जना चिनियाँ नागरिकहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१ बस्ने चीन फुजियान घर भएका ३३ वर्षीय WANG WEND र CHEN SHUANGGUI रहेका छन् ।  काठमाडौं महानगरपालिका-१ नक्साल नारायणचौर एरियामा चिनियाँ नागरिकहरू भिजिट भिषामा नेपाल आई भिषाको उद्देश्य विपरित शंकास्पद गतिविधि गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले काठमाडौं नक्साल नारायणचौरस्थित आरआर बिल्डिङ एन्ट्रो टेक्नोलोजी नामक कार्यालय खोली अवैध रूपमा विदेशी मोडल तथा युवतीहरूको लाईभ हब एपमार्फत एकाउन्ट खोली विदेशी र भारतीय नागरिकहरूलाई साथी बनाई कुराकानी गरी पैसा माग्ने गरेको समेत खुल्न आएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि अध्यागमन विभाग कालिकास्थान काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ९ जना पक्राउ
२०८३-०२-२०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ बस्ने बर्दिया मधुवन नगरपालिका-७ घर भएका ४२ वर्षीय राजेश क्षेत्री, काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ बस्ने मकवानपुर बकैया गाउँपालिका-२ घर भएका ३८ वर्षीय तिर्थमान भोलन, काठमाडौं तारकेश्वर नगरपालिका-९ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-३ घर भएका ३९ वर्षीय गोवर्धन नेपाली, काठमाडौं नागार्जुन नगरपालिका-२ बस्ने गोरखा पालुङटार नगरपालिका-६ घर भएका ३१ वर्षीय रोशन बाबु मल्ल, काठमाडौं महानगरपालिका-६ बस्ने नुवाकोट विदुर नगरपालिका-१३ घर भएका ४४ वर्षीय उपेन्द्र तामाङ, सुनसरी इटहरी उपमहानगरपालिका-१ घर भएका ४५ वर्षीय उज्वल थापा मगर, बर्दिया बढैयाताल गाउँपालिका-९ घर भएका ३२ वर्षीय प्रकाश सिंखडा, काठमाडौं महानगरपालिका-३ बस्ने लमजुङ दुधपोखरी गाउँपालिका-५ घर भएका २३ वर्षीया ज्योती गुरूङ र काठमाडौं महानगरपालिका-१० बस्ने पाल्पा पूर्वखोला गाउँपालिका-३ घर भएका ४५ वर्षीय राजिव न्यौपाने रहेका छन् । पक्राउ मध्ये राजेशले मौरिसस र सेसेल्स पठाइदिन्छु भन्दै ३१ जना पीडितहरूबाट १ करोड ४१ लाख ५१ हजार रूपैयाँ, तिर्थमान र गोवर्धनले सेसेल्स पठाइदिन्छु भन्दै ३१ जना पीडितहरूबाट १ करोड ४१ लाख ५१ हजार रूपैयाँ, रोशनले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ, उपेन्द्रले मौरिसर पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, उज्वलले  क्यानडा पठादिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५७ हजार रूपैयाँ, प्रकाशले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ, ज्योतीले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ र राजिवले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजेशलाई काठमाडौं महानगरपालिका-६ बाट, तिर्थमान र गोवर्धनलाई काठमाडौं महानगरपालिका-६ बौद्धबाट, उज्वललाई ललितपुर महालक्ष्मी नगरपालिका-४ बाट र प्रकाशलाई बाँके नेपालगंज उपमहानगरपालिका-१ बाट सोमबार तथा रोशनलाई काठमाडौं महानगरपालिका-१० बाट, उपेन्द्रलाई काठमाडौं महानगरपालिका-१२ बाट, ज्योतीलाई काठमाडौं महानगरपालिका-३ बाट र राजिवलाई काठमाडौं महानगरपालिका-२८ बाट मंगलबार पक्राउ गरेको हो । पक्राउ मध्ये राजेश, तिर्थमान र गोवर्धनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने रोशन, उपेन्द्र, उज्वल, प्रकाश, ज्योती र राजिवलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।