प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हवाई टिकट मिलाई दिन्छु भनि ठगी गर्ने महिला पक्राउ

२०८१-०१-१७

  • A
  • A-
  • A+
Share

काठमाडौं, सामाजिक सञ्जाल फेसबुक मार्फत सम्पर्क गरी हवाई टिकट मिलाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा तारकेश्वर नगरपालिका-५ बस्ने २९ वर्षीया सुनिता लामिछानेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त ठगी गर्ने कार्यमा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा काठमाडौं महानगरपालिका-२८ बागबजारस्थित ज्वाइन्ट भिजन ट्राभल एण्ड टुर्स प्रालि सञ्चालन गरी बस्ने सुनितालाई गोकर्णेश्वर नमुना बस्तिबाट पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा सुनिताले नक्कली हवाई टिकट बनाउने गरेको, बैंकिङ कसूर सम्बन्धी मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौंमा ३ जनाको निवेदन रहेको तथा हालसम्म ८ जनाले ठगी सम्बन्धी कसुरमा जाहेरी दिएको समेत खुल्न आएको छ । 

उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 


सम्बन्धित समाचार
सहकारी संस्था ठगी सम्बन्धी कसूरमा आठ जना पक्राउ
२०८१-०२-०२

कास्की, पोखरा महानगरपालिका-४ गैह्रापाटनस्थित प्राईम बहुउद्देश्यीय सहकारी संस्था ठगी सम्बन्धी कसूरमा ८ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा गैह्रापाटन बस्ने संस्थाका पूर्व अध्यक्ष ६६ वर्षीय निदेश प्रसाद कोइराला, पोखरा चाउथे बस्ने संस्थाका अध्यक्ष ४३ वर्षीय शंकर कार्की, पोखरा रानीपौवा बस्ने सहकारी व्यवस्थापक ३६ वर्षीया निरू थापा केसी, पोखरा अर्चले बस्ने कर्मचारी प्रमुख ३७ वर्षीय सुरेन्द्र मणी पौडेल, पोखरा आर्वा घर भएका कानुनी सल्लाहकार ५३ वर्षीय ईन्द्र प्रसाद बराल, पोखरा शिशुवा बस्ने पूर्व कोषाध्यक्ष ५२ वर्षीय कुलदिप भट्टराई, पोखरा शिशुवा बस्ने कर्जा अधिकृत ३० वर्षीय सुनिल थापा र पोखरा नयाँबजार बस्ने शेयर सदस्य एवम् सल्लाहकार ६९ वर्षीय मान बहादुर गुरूङ रहेका छन् । उक्त सहकारी संस्थाका संचालक समितिका पदाधिकारीहरू समेतले कुल बिगो १ अर्ब ५४ करोड १५ लाख ८ हजार १ सय ४२ रूपैयाँ ८५ पैसा रकम अपचलन तथा हिनामिना गरेको भन्ने सहकारी रजिष्ट्रारको कार्यालय पोखराबाट प्राप्त उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पोखरा महानगरपालिकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

गाडी चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८१-०२-०२

ललितपुर, ललितपुरका विभिन्न स्थानहरूमा पार्किङ गरी राखेका बा.१५ च ९८२५, बा.१२ च ४७०६ र बा.७ च ७७० नम्बरका ३ वटा पिकअप गाडीहरू श्रृखलावद्ध रूपमा चोरी भएको घटना संलग्न रहेको अभियोगमा रामेछाप दोरम्वा गाउँपालिका-५ घर भई ललितपुर सानेपा वस्ने २९ वर्षीय गणेश वहादुर गौतमलाई प्रहरीले पक्राउ गरेको छ । उक्त गाडीहरू चोरी भएको घटनाको अनुसन्धान तथा खोजतलास गर्ने क्रममा बा.१५ च ९८२५ नम्बर र बा.१२ च ४७०६ नम्बरको गाडीहरूको ब्याट्री नभएको अवस्थामा नैकाप र सतुङ्गलबाट फेला परेको थियो । साथै बा.७ च ७७० नम्बरको पिकअप गाडी इलाका प्रहरी कार्यालय खानीखोला धादिङसँगको समन्वयमा खानिखोलाबाट नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेसँगको समन्वयमा गौतमलाई काभ्रे भुम्लु गाउँपालिका-१० दोलालघाटबाट पक्राउ गरेको हो । उनलाई ललितपुर जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न महिला पक्राउ
२०८१-०२-०१

काठमाडौं, अनलाईन मार्फत ठगी गरेको अभियोगमा गोरखा गण्डकी गाउँपालिका-८ घर भई काठमाडौं कुलेश्वर हाईट बस्ने २८ वर्षीया सुनिता गुरूङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक सञ्जाल फेसबुक आईडी फ्लावर सप नागयाको म्यासेन्जरबाट कुराकानी गर्दै वैदेशिक रोजगारीको लागि जापानमा चप्पल कारखाना, माछा प्याकिङ र कलम फ्याक्ट्रीमा आकर्षक तलब रहेको भनी विश्वास दिलाई भिषा प्रोसेसिङको लागि भनी ४७ लाख ६८ हजार ७ सय १६ रूपैयाँ रकम ठगी गरेको खुल्न आएपछि गुरूङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं कुलेश्वर हाईटबाट पक्राउ गरेको हो ।  उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ । 

स्ट्रिप च्याट मार्फत अश्‍लिल यौनजन्य क्रियाकलापमा संलग्न गराउने महिला पक्राउ
२०८१-०२-०१

काठमाडौं, स्ट्रिप च्याट मार्फत बालबालिकाहरूलाई अश्‍लिल यौनजन्य क्रियाकलापमा संलग्न गराएको अभियोगमा  सिन्धुपलाचोक पाँचपोखरी गाउँपालिका-६ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ माकलबारी बस्ने १९ वर्षीया अंजली अधिकारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनलाई ‘स्ट्रिप च्याट’मा प्रयोग गरेका ल्यापटप, मोबाइल, वेब क्यामेरा र पारदर्शी कपडासहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । अधिकारीले बालबालिकाहरूलाई आर्थिक प्रलोभनमा पारी अनलाई टाइपिङको रोजगारी उपलब्ध गराई दिने भन्दै सामाजिक संजालमा विभिन्न एकाउन्टहरू खोली सोही एकाउन्ट मार्फत अश्‍लिल कुराकानी गर्न लगाउने र अश्‍लिल यौनजन्य क्रियाकलापमा संलग्न गराई अश्‍लिल सामग्री निर्माणमा प्रयोग गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनलाई बालबालिका सम्बन्धी ऐन, २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसूर मुद्दामा आवश्यक कारावाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

डाँका चोरीमा संलग्न दुई जना पक्राउ
२०८१-०२-०१

बाँके, डाँका चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश बहराईच थाना खैरीघाट नमावङगला बस्ने ५५ वर्षीय मनेश्‍वर गोडिया र ५२ वर्षीय कुलेराज कुर्मी रहेका छन् ।  जानकी गाउँपालिका-४ जानकीनगरस्थित दुर्गा कुमारी दमाईको घरमा रहेको पसलबाट सामान चाहियो भनि अपरिचित ७/८ जना व्यक्तिहरूले गत चैत २६ गते राति ढोका खोल्न लगाई जबरजस्ती घरभित्र पसी बन्दुक तथा धारिलो हतियार देखाई घरमा रहेका ३ जनालाई बाँधेर सुनका गरगहना, मोबाइल, पसलमा रहेका सामान र नगद समेत लुटपाट गरी फरार भएका थिए । घटनापश्चात जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले विस्तृत अनुसन्धान पश्चात घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरू उपर जिल्ला अदालत बाँकेबाट ३ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको छ । 

अमेरिका तथा क्यानडा लैजाने भन्दै ठगी गरेको अभियोगमा तीन जना पक्राउ
२०८१-०१-३१

काठमाडौं, अमेरिका तथा क्यानडा लैजाने भन्दै मानव तस्करी गरी ठगी गरेको अभियोगमा तीन जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-२ बस्ने ४८ वर्षीय जगत बहादुर तामाङ, तनहुँ ऋषिङ्ग गाउँपालिका-२ बस्ने ४८ वर्षीय जंग बहादुर विक (बराल) र ४६ वर्षीय बिष्णु बहादुर बराली रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई कञ्चनपुर गड्डाचौकी नजिकबाट पक्राउ गरेको हो । अमेरिका, क्यानडा लगायतका मुलुकहरूमा पठाइदिन्छौं भन्दै १० जना व्यक्तिहरूबाट ५ करोड ५० लाख रूपैयाँ ठगी गरेको अभियोगमा यसअघि सिन्धुपाल्चोकका टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पालाई प्रहरीले पक्राउ गरेको थियो । टासी, ङिमबुटी र निमालाई एजेन्टको रूपमा राखि जगत बहादुर समेत ३ जना भारतको नयाँ दिल्लीमा बसेर संगठित रूपमा मानव तस्करी एवम् ठगी गरेको खुल्न आएको छ ।  उनीहरूले अमेरिका लैजाँदा दुबई ट्रान्जिट बनाएर केन्या र युगान्डा लगेर राहदानी तथा डलर खोसी ६ देखि ९ महिनासम्म अलपत्र पारी राखेको, केन्या र युगान्डामा सम्बन्धित देशको नागरिक समेतलाई एजेन्ट राख्ने गरेको, पीडितहरू अमेरिका प्रवेश गरे पश्चात जेलमा पर्ने र आफ्ना मानिसहरूले कानुन व्यवसायीहरू प्रयोग गरी जेलबाट मुक्त गरी रोजगारीमा लगाउने भनि पहिले नै काउन्सेलिङ गरी विश्वास दिलाउने गरेको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । साथै उनीहरूमध्ये जगत बहादुरविरुद्ध वैदेशिक रोजगारी विभागबाट पक्राउ पुर्जी समेत जारी भएकोले उनलाई वैदेशिक रोजगार विभाग पठाइने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।