प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

२०८१-०१-१७

  • A
  • A-
  • A+
Share

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त म्याग्दी साविक कुहु गाविस-५ घर भएका ४७ वर्षीय समर बहादुर सार्कीलाई ९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।  

काठमाडौं तौथलीस्थित कुष्टरोग आरोग्य आश्रमको शौचालयभित्र म्याग्दी स्थायी वतन भएकी २३ वर्षीया सुनमाया किसान (सार्की) को २०७१ कात्तिक १ गते हत्या गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चान्लाखेलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ । 


सम्बन्धित समाचार
डाँका चोरीमा संलग्न दुई जना पक्राउ
२०८१-०२-०१

बाँके, डाँका चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश बहराईच थाना खैरीघाट नमावङगला बस्ने ५५ वर्षीय मनेश्‍वर गोडिया र ५२ वर्षीय कुलेराज कुर्मी रहेका छन् ।  जानकी गाउँपालिका-४ जानकीनगरस्थित दुर्गा कुमारी दमाईको घरमा रहेको पसलबाट सामान चाहियो भनि अपरिचित ७/८ जना व्यक्तिहरूले गत चैत २६ गते राति ढोका खोल्न लगाई जबरजस्ती घरभित्र पसी बन्दुक तथा धारिलो हतियार देखाई घरमा रहेका ३ जनालाई बाँधेर सुनका गरगहना, मोबाइल, पसलमा रहेका सामान र नगद समेत लुटपाट गरी फरार भएका थिए । घटनापश्चात जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले विस्तृत अनुसन्धान पश्चात घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरू उपर जिल्ला अदालत बाँकेबाट ३ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको छ । 

अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न महिला पक्राउ
२०८१-०२-०१

काठमाडौं, अनलाईन मार्फत ठगी गरेको अभियोगमा गोरखा गण्डकी गाउँपालिका-८ घर भई काठमाडौं कुलेश्वर हाईट बस्ने २८ वर्षीया सुनिता गुरूङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक सञ्जाल फेसबुक आईडी फ्लावर सप नागयाको म्यासेन्जरबाट कुराकानी गर्दै वैदेशिक रोजगारीको लागि जापानमा चप्पल कारखाना, माछा प्याकिङ र कलम फ्याक्ट्रीमा आकर्षक तलब रहेको भनी विश्वास दिलाई भिषा प्रोसेसिङको लागि भनी ४७ लाख ६८ हजार ७ सय १६ रूपैयाँ रकम ठगी गरेको खुल्न आएपछि गुरूङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं कुलेश्वर हाईटबाट पक्राउ गरेको हो ।  उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ । 

स्ट्रिप च्याट मार्फत अश्‍लिल यौनजन्य क्रियाकलापमा संलग्न गराउने महिला पक्राउ
२०८१-०२-०१

काठमाडौं, स्ट्रिप च्याट मार्फत बालबालिकाहरूलाई अश्‍लिल यौनजन्य क्रियाकलापमा संलग्न गराएको अभियोगमा  सिन्धुपलाचोक पाँचपोखरी गाउँपालिका-६ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ माकलबारी बस्ने १९ वर्षीया अंजली अधिकारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनलाई ‘स्ट्रिप च्याट’मा प्रयोग गरेका ल्यापटप, मोबाइल, वेब क्यामेरा र पारदर्शी कपडासहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । अधिकारीले बालबालिकाहरूलाई आर्थिक प्रलोभनमा पारी अनलाई टाइपिङको रोजगारी उपलब्ध गराई दिने भन्दै सामाजिक संजालमा विभिन्न एकाउन्टहरू खोली सोही एकाउन्ट मार्फत अश्‍लिल कुराकानी गर्न लगाउने र अश्‍लिल यौनजन्य क्रियाकलापमा संलग्न गराई अश्‍लिल सामग्री निर्माणमा प्रयोग गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनलाई बालबालिका सम्बन्धी ऐन, २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसूर मुद्दामा आवश्यक कारावाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

अमेरिका तथा क्यानडा लैजाने भन्दै ठगी गरेको अभियोगमा तीन जना पक्राउ
२०८१-०१-३१

काठमाडौं, अमेरिका तथा क्यानडा लैजाने भन्दै मानव तस्करी गरी ठगी गरेको अभियोगमा तीन जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-२ बस्ने ४८ वर्षीय जगत बहादुर तामाङ, तनहुँ ऋषिङ्ग गाउँपालिका-२ बस्ने ४८ वर्षीय जंग बहादुर विक (बराल) र ४६ वर्षीय बिष्णु बहादुर बराली रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई कञ्चनपुर गड्डाचौकी नजिकबाट पक्राउ गरेको हो । अमेरिका, क्यानडा लगायतका मुलुकहरूमा पठाइदिन्छौं भन्दै १० जना व्यक्तिहरूबाट ५ करोड ५० लाख रूपैयाँ ठगी गरेको अभियोगमा यसअघि सिन्धुपाल्चोकका टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पालाई प्रहरीले पक्राउ गरेको थियो । टासी, ङिमबुटी र निमालाई एजेन्टको रूपमा राखि जगत बहादुर समेत ३ जना भारतको नयाँ दिल्लीमा बसेर संगठित रूपमा मानव तस्करी एवम् ठगी गरेको खुल्न आएको छ ।  उनीहरूले अमेरिका लैजाँदा दुबई ट्रान्जिट बनाएर केन्या र युगान्डा लगेर राहदानी तथा डलर खोसी ६ देखि ९ महिनासम्म अलपत्र पारी राखेको, केन्या र युगान्डामा सम्बन्धित देशको नागरिक समेतलाई एजेन्ट राख्ने गरेको, पीडितहरू अमेरिका प्रवेश गरे पश्चात जेलमा पर्ने र आफ्ना मानिसहरूले कानुन व्यवसायीहरू प्रयोग गरी जेलबाट मुक्त गरी रोजगारीमा लगाउने भनि पहिले नै काउन्सेलिङ गरी विश्वास दिलाउने गरेको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । साथै उनीहरूमध्ये जगत बहादुरविरुद्ध वैदेशिक रोजगारी विभागबाट पक्राउ पुर्जी समेत जारी भएकोले उनलाई वैदेशिक रोजगार विभाग पठाइने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।  

वैदेशिक रोजगारमा टर्की पठाउने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०१-३१

काठमाडौं, वैदेशिक रोजगारीमा टर्की पठाउने भन्दै १ सय २४ जना ब्यक्तिहरूबाट ४ करोड ३४ लाख रूपैयाँ ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने ४२ वर्षीय विनोद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।  टर्कीको युएन मिसन कार्यालयमा वोर्क पर्मिटमा कामदार पठाउने, त्यहाँ गएपछि आकर्षक तलब हुने, युएनको भवन निर्माणको काममा मासिक १ हजार ४ सय ५० डलर कमाई हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरूबाट उक्त रकम लिई सम्पर्क विहिन भई फरार रहेका श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चावहिलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सट्टाबाजी गर्ने/गराउनेमा संलग्न एक जना पक्राउ
२०८१-०१-३१

काठमाडौं, विभिन्न खेलहरूमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एप्लिकेशन वानएक्स बेट, जुवा ३६५, क्रिप्टो मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने/ गराउनेमा संलग्न रहेको अभियोगमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-८ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने २४ वर्षीय अनिल ढुंगानालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।ढुंगानाले विभिन्न ब्यक्तिहरूको नाममा रहेका मोबाइल नम्बरहरूबाट ११ वटा कनेक्ट आइपिएस एकाउन्ट, १५ वटा इसेवा वालेट एकाउन्ट लगायतका एकाउन्टहरूमा लिंक अप भएका ५६ वटा बैंक खाताबाट हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार १ सय २ रूपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । सट्टेबाजी गर्न/गराउन प्रयोग भएका ल्यापटप १ थान, मोबाइल ६ थान, वाइफाइ राउटर १ थान, सिमकार्ड ३८ थान, एटिएम कार्ड ५ थान, चेकबुक १६ थान, भारतीय आधारकार्ड १ थान,  भारतीय प्यान कार्ड १ थान लगायत अन्य कागजातहरू समेत प्रहरीले बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको छ ।