प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८१-०१-१८

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ६ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा धादिङ धुनिवेशी नगरपालिका-४  घर भएका  जीवा गौतम भन्ने रमेश बयालकोटी, कालिकोट ठेगाना भएका २७ वर्षीय दर्शन नेपाली, काठमाडौं महानगरपालिका-४ चन्डोल बस्ने मन्जु राना मगर, काभ्रेपलान्चोक पाँचखाल नगरपालिका-११ बस्ने २३ वर्षीय सहदेव रिजाल, दोलखा भिमेश्वर नगरपालिका-९ बस्ने ३२ वर्षीय रबिन तामाङ र ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-४ बस्ने ३८ वर्षीया तिर्थ माया कार्की रहेका छन् । 

पक्राउमध्ये रमेश बयालकोटी र दर्शन नेपालीले बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया, क्रोएसिया समेतका देशहरूमा पठाईदिन्छु भन्दै ४ सय २२ जनाबाट ३ करोड भन्दा बढि रकम ठगी गरेको खुल्न आएको छ । आफ्नो नक्कली नाम बताई झुक्यानमा पारी भिसा प्लस प्रालि नामक कन्सलटेन्सी दर्ता गरेको, सामाजिक सञ्जालहरूमा विदेश जानको लागि अवसर रहेको भनि विज्ञापन पोष्ट गरी कन्सलटेन्सीमा बोलाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । प्रहरीले महाराजगंजस्थित उक्त  कन्सलटेन्सी, जडिबुटिस्थित दर्शनको कोठा र ललितपुर एकान्तकुनास्थित रमेशको कोठाबाट ८४ राहदानी लगायत १ सय ८२ जनाको रेकर्ड फाइलहरू बरामद गरेको छ । 

यसैगरी पक्राउमध्ये मन्जु रानाले सर्भिया र चेक रिपब्लिकको पठाईदिन्छु भन्दै २१ जना पीडितहरूबाट १ करोड ६० लाख रूपैयाँ ठगी गरेको, सहदेवले क्यानडा पठाईदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ ठगी गरेको, रबिनले अफ्रिका पठाईदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ ठगी गरेको र तिर्थ मायाले चेक रिपब्लिकको पठाईदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ४० हजार ठगी गरेको खुल्न आएको छ । 

पक्राउ परेकामध्ये रमेश बयालकोटी र दर्शन नेपालीलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइने र अन्य व्यक्तिहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 


सम्बन्धित समाचार
सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-३०

काठमाडौं, सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका-३ आदर्श टोल बस्ने ६१ वर्षीय क्रोडी फ्रेच क्षेत्री भन्ने फरदिनान्द भ्यालेन्टाईन फेट्जलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  आफ्नै छोरीको कक्षा ११ र १२ पास भएको नक्कली ट्रान्सक्रिप्ट लगायतका कागजात बनाई सरकारी छाप दस्तखत कीर्ते गरेको मुद्दामा जिल्ला अदालत भक्तपुरको २०८२ वैशाख ३ गतेको फैसलाले १ वर्ष  कैद सजाय र ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ तिलगंगाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८३-०१-३०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने झापा दमक नगरपालिका-२ घर भएका ३७ वर्षीय सागर गौतम, काठमाडौं टोखा नगरपालिका-१ बस्ने दाङ घोराही उपमहानगरपालिका-१० घर भएका ३२ वर्षीय सम्भु गौतम र काठमाडौं महानगरपालिका-२९ बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-४ घर भएका ३७ वर्षीय सनम गुरूङ रहेका छन् ।पक्राउ मध्ये सागरले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५८ हजार रूपैयाँ, सम्भुले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १५ लाख ९० हजार रूपैयाँ र सनमले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सागरलाई काठमाडौं टोखा नगरपालिका-३ बाट सोमबार तथा सम्भुलाई टोखा नगरपालिका-२ बाट र सनमलाई काठमाडौं महानगरपालिका-१२ बाट मंगलबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८३-०१-३०

काठमाडौं, ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. का प्रमुख कार्यकारी अधिकृत ललितपुर महानगरपालिका-५ मानभवन बस्ने काठमाडौं महानगरपालिका-१८ रक्तकाली घर भएका ६३ वर्षीय ज्योति प्रकाश पाण्डेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा सिन्धुली कमलामाई नगरपालिका-६ बसपार्क नजिकबाट पक्राउ गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरण जमल काठमाडौंबाट २०७० वैशाख २ गते दूरसञ्चार सेवा सञ्चालन गर्न आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र लिई सञ्चालन भएको स्मार्ट टेलिकम प्रालिले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेको कारणबाट २०८० वैशाख ३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएको थियो । दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएकोमा नेपाल सरकारको सम्पत्ति बेइमानी पूर्वक नेपाल सरकारको हक टुटाउने उदेश्यका साथ कार्य गरी/गराई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात कसुरमा लोन रिकभरी कमिटिको अध्यक्ष समेतको हैसियतमा उक्त लिलामी प्रक्रियामा उनको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ  । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०१-३०

पर्सा, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरू वीरगंज महानगरपालिका-२७ बस्ने ५० वर्षीया जगमती देवी कोईरी र ३२ वर्षीय जितेन्द्र प्रसाद कुशवाहालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।वीरगंज महानगरपालिका-२७ जसौली बस्ने ७० वर्षीय महिन्द्र महतो कोईरीको २०७६ साउन ३१ गते हत्या गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३-०१-२९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-९ बस्ने नवलपरासी पश्चिम रामग्राम नगरपालिका-७ घर भएका ४७ वर्षीय शैलेन्द्र पाण्डे, काठमाडौं महानगरपालिका-४ बस्ने टोखा नगरपालिका-९ घर भएका ३० वर्षीया सुमना अर्याल, काठमाडौं महानगरपालिका-९ बस्ने खोटाङ घर भएका ३० वर्षीय विकास सुनार, काठमाडौं महानगरपालिका-३० बस्ने नवलपरासी पूर्व घर भएका ५३ वर्षीय बासुदेव श्रेष्ठ, काठमाडौं महानगरपालिका-९ बस्ने पाँचथर घर भएका ४७ वर्षीय धन बहादुर योङहाङ र नवलपरासी पूर्व देवचुली नगरपालिका-८ घर भएकी ३३ वर्षीया नौ माया आले मगर रहेका छन् । पक्राउ मध्ये शैलेन्द्रले सर्विया, स्लोभाकिया लगायतका देश पठाइदिन्छु भन्दै १३ जना पीडितहरूबाट ३५ लाख ७० हजार रूपैयाँ, सुमनाले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८२ हजार रूपैयाँ, विकासले स्पेन पठाइदिन्छु भन्दै १० जना पीडितहरूबाट १० लाख रूपैयाँ, बासुदेवले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ, धन बहादुरले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र नौ मायाले साइप्रस पठाइदिन्छु भन्दै ६ लाख ४ हजार ५ सय रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शैलेन्द्रलाई काठमाडौं नागार्जुन नगरपालिका-९ बाट बिहीबार, सुमना र बासुदेवलाई काठमाडौं महानगरपालिका-४ तथा विकासलाई काठमाडौं महानगरपालिका-७ बाट शुक्रबार, धन बहादुरलाई काठमाडौं महानगरपालिका-२६ बाट र नौ मायालाई नवलपरासी पूर्व देवचुली नगरपालिका-८ बाट सोमबार पक्राउ गरेको हो । पक्राउ मध्ये शैलेन्द्र, सुमना, विकास, बासुदेव र धन बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ भने नौ मायालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ