प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रेष्टुरेन्ट संचालक पक्राउ

२०८१-०१-२६

  • A
  • A-
  • A+
Share

कास्की, ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेका पोखरा महानगरपालिका-२७ तालचोकस्थित सातताल दोहोरी साँझ तथा रेष्टुरेन्टका संचालक सोही महानगरपालिका-३२ बडहरे घर भएका ३२ वर्षीय सुनिल बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

उक्त रेष्टुरेन्टमा वैशाख २२ गते राति आएका एक व्यक्तिलाई बस्नेतले कुटपिट गरी गम्भीर घाइते बनाई फरार रहेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरीले उनलाई तालचोकबाट पक्राउ गरेको हो । 

 उनी उपर कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा ८ दिन म्याद थप अनुमति लिई गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 


सम्बन्धित समाचार
प्रहरी जवानको हत्यामा संलग्न सात जना पक्राउ
२०८१-०२-०६

काठमाडौं, टोखा नगरपालिका-१० गोंगबु बस्ने खोटाङ मजुवागढि नगरपालिका-१ घर भई नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय युवराज घिमिरेको हत्यामा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौंको बालाजु, जरंखु, मनमैजु लगायतका सडक पेटी तथा निर्माणाधीन घरहरूमा आश्रय बनाई बस्दै आएका भक्तपुर चाँगुनारायण घर भएका २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर घर भएकी १८ वर्षीया किशोरी, स्याङ्जा आधीखोला घर भएकी २१ वर्षीया बिपना/बसन्ती भन्ने बसुन्धारा कार्की तथा ५६ वर्षीया नुनमाया कार्की, नुवाकोट ताती घर भएका २१ वर्षीय बुद्द लामा तामाङ, सिन्धुपाल्चोक ईन्द्रावती घर भएका ३० वर्षीय दोर्जे भन्ने अमृत तामाङ र उदयपुर घर भएका १३ वर्षीय नाबालक रहेका छन् ।  प्रहरी जवान घिमिरेको काठमाडौं तारकेश्वर नगरपालिका-९ मनमैजु बासुकी नाग टोलस्थित निर्माणाधीन घरमा शव फेला परेपश्चात प्राविधिक विश्‍लेषण तथा अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले हत्यामा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका-१६ स्थित बाईस धारा जंगलबाट पक्राउ गरेको हो । ड्युटी सकेर घर जाने क्रममा तारकेश्वर नगरपालिका-११ स्थित खाजा घरमा भेट भएका पूर्व परिचित सचिन र १८ वर्षीया किशोरीले बिरामी भएकोले आश्रयस्थल पुर्‍याईदिने बहानामा घटनास्थलमा लगी अन्य अभियुक्तहरूको सहयोगमा रड, इँटा समेतको प्रयोग गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । लुटपाट तथा महिलासँगको विवाद लगायतका कारण हत्या भएको हुन सक्नेतर्फ अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

ज्यान मार्ने उद्योग, हातहतियार खरखजना तथा संगठित अपराध कसूरका फरार प्रतिवादी पक्राउ
२०८१-०२-०४

काठमाडौं, ज्यान मार्ने उद्योग, हातहतियार खरखजना तथा संगठित अपराध कसूरका फरार प्रतिवादी सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१ घर भई भक्तपुर सूर्यविनायक बस्ने ३३ वर्षीय सन्तोष गिरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१ गैरीचोक बस्ने ३७ वर्षीय पुरूषलाई लक्षित गरी २०८० फागुन १२ गते राति गोली प्रहार गरेको घटनामा संलग्न रही वारदात पश्चात फरार रहेका गिरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायकबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०२-०४

धनुषा, धनुषाधाम नगरपालिका-९ क्वाटर टोल बस्ने लालबाबु कापरकी छोरी १२ वर्षीया ललिता कुमारी कापरको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय प्रेम बहादुर तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।ललिताले आफ्नै फुपुको बारीमा फोहोरको थुप्रोमा आगो बालेको विषयमा प्रेम बहादुरले बैशाख २७ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी ललिताको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय यज्ञभूमिबाट खटिएको प्रहरीले प्रेम बहादुरलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०२-०४

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सर्लाही ईश्वरपुर नगरपालिका-१२ घर भएका ४१ वर्षीय अजय कुमार चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरको २०७९ कात्तिक ४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ लाख रूपैयाँ जरिवाना, ३ दिन कैद र २८ हजार रूपैयाँ क्षतिपूर्ति शुल्क भराउने गरी फैसला भई फरार रहेका चौधरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ गैह्रीगाउँबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जना फरार व्यक्तिहरू युएईबाट पक्राउ
२०८१-०२-०४

काठमाडौं, ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका २ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका-३ ठेगाना भएका ४१ वर्षीय बल बहादुर लिम्बु र नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका-१३ ठेगाना भएका २३ वर्षीय सन्तोष न्यौपाने रहेका छन् । एनसिबि अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ । पक्राउ परेकामध्ये ज्यान सम्बन्धी कसूर मुद्दामा बल बहादुर उपर जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भई वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका खुल्न आएपछि उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि इलाका प्रहरी कार्यालय लेटाङ मोरङबाट अनुरोध भएपश्‍चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२४ फेब्रुअरी ७ मा रेड नोटिस जारी भएको थियो ।यसैगरी विद्युतीय कारोवार कसूर सम्बन्धी मुद्दामा सन्तोष उपर जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भई वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका खुल्न आएपछि उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि साइबर ब्यूरोबाट अनुरोध भएपश्‍चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ जुलाई १० मा रेड नोटिस जारी भएको थियो ।बल बहादुरलाई इलाका प्रहरी कार्यालय लेटाङ मोरङ र सन्तोषलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।