प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ

२०८१-०७-०९

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी उदयपुर त्रियुगा नगरपालिका-१० ठेगाना भएका सुजन आचार्य पक्राउ परेका छन् । NCB PHNOM-PENH कम्बोडियाको समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ शुक्रबार नेपाल फिर्ता ल्याइएको छ । 

वैदेशिक रोजगारीमा सिंगापुर पठाईदिन्छु भनि ४० जना भन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरी फरार भएका प्रतिवादीहरू सुजन आचार्य र बिनु शाक्यलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएपश्‍चात २०८० माघ १९ गते उनीहरू विरुद्ध रेड नोटिस जारी भएको थियो ।

साथै सुजन विरूद्द २०७९ जेठ १३ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा विद्युतीय कारोवार सम्बन्धी कसूर मुद्दा दर्ता भएको र २०८० वैशाख २५ गते प्रहरी वृत्त महाराजगंजमा ठगी तथा अपराधिक लाभ सम्बन्धी कसूर मुद्दा समेत दर्ता भएको भन्ने अनुसन्धानको क्रममा खुल्न आएपश्चात निजहरूलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गरी नेपाल फिर्ता ल्याई सम्बन्धित कसूरमा कानूनी कारवाही गराउनको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाबाट इन्टरपोलका सम्पूर्ण सदस्य राष्ट्रहरूलाई पत्राचार गरिएकोमा २०८१ असोज १ गते कम्बोडियाबाट दुवै जनालाई पक्राउ गरिएको र पक्राउमध्ये सुजनलाई नेपाल ल्याइएको हो । 

उनलाई सम्बन्धित कसूरहरूमा कानून बमोजिम कारवाही गराउने प्रयोजनार्थ जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।

सम्बन्धित समाचार
हत्या गरेको अभियोगमा दुई जना पक्राउ
२०८२-०३-०१

कञ्चनपुर, आफ्नै श्रीमती ४८ वर्षीया जुना देवी सुनारको हत्या गरेको अभियोगमा शुक्लाफाँटा नगरपालिका-१० मुक्तिटोल बस्ने ५० वर्षीय कालु सुनारलाई गए राति प्रहरीले पक्राउ गरेको छ । घरायसी झै-झगडा हुँदा कालुले जुना देवीको घाँटी च्याप्दा गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोकबाट फेला पारी उनलाई पक्राउ गरेको हो ।अर्घाखाँची, आफ्नै श्रीमान ३८ वर्षीय रामु कुमालको हत्या गरेको अभियोगमा छत्रदेव गाउँपालिका-३ शिख्र बस्ने २७ वर्षीया मेखमाया कुमाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरायसी विषयमा झै-झगडा हुँदा मेखमायाले धारिलो हतियार प्रहार गर्दा रामुको गए राति घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी बल्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अमेरिका र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०२-३१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने नुवाकोट विदुर नगरपालिका-४ घर भएका ५१ वर्षीय राज कुमार मानन्धर र काठमाडौं महानगरपालिका-१४ बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका-२ घर भएका ४० वर्षीय ओम बहादुर खत्री रहेका छन् ।  पक्राउ मध्ये राज कुमारले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३५ लाख ६९ हजार रूपैयाँ र ओम बहादुरले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राज कुमारलाई काठमाडौं महानगरपालिका-१६ बाट बिहीबार र ओम बहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट शुक्रबार पक्राउ गरेको हो ।  पक्राउ मध्ये राज कुमारलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र ओम बहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अपराधिक लाभ र विद्युतीय अपराधमा संलग्न दुई जना पक्राउ
२०८२-०२-३१

संखुवासभा, अपराधिक लाभ र विद्युतीय अपराधमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर षडानन्द नगरपालिका-१ घर भएका २९ वर्षीय सुजन भुजेल र २१ वर्षीय बिपल राई रहेका छन् । पीडितको व्यक्तिगत एवम् गोपनीयताका विषयमा फोटो/भिडियो बनाई पीडितको आफन्त तथा साथीहरूलाई पठाई चरित्र हत्या गरेको र फोटो/भिडियो सार्वजनिक गरी दिने धम्की दिई डर, त्रास देखाई रकम माग गरेको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई खाँदबारी नगरपालिका-१ बाट पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत संखुवासभा चैनपुरबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब २ करोड रूपैयाँ बराबरका विभिन्न गरगहना सहित चार जना पक्राउ
२०८२-०२-२९

काठमाडौं, काठमाडौं महानगरपालिका-२२ प्युखाबाट करिब २ करोड १ लाख ७८ हजार ३ सय ६० रूपैयाँ बराबरको बिल भरपाई बिनाका सुन, हिरा तथा पत्थरका गहनाहरू सहित ४ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२२ बस्ने भारत कलकत्ता घर भएका ४३ वर्षीय हविवुल सेख, ३९ वर्षीय सुर्यजित दास, ४० वर्षीय तमल साद्रा र १६ वर्षीय बालक रहेका छन् ।काठमाडौं महानगरपालिका-२२ प्युखा कृष्णचोकस्थित हविवुलले सञ्चालन गरेको मुन्ना जेम एण्ड ज्वेलर्समा बिल भरपाई नभएका सुन, हिरा तथा पत्थरका गरगहनाहरू बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त जनसेवाबाट संयुक्त रूपमा खटिएको प्रहरीले उक्त ज्वेलर्स तलासी गर्दा बिल भरपाई बिनाका उक्त रकम बराबरको गहनाहरू फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग पठाईएको छ । 

हत्या गरेको अभियोगमा दुई जना पक्राउ
२०८२-०२-२९

दैलेख, भैरवी गाउँपालिका-६ हमाल टोल बस्ने ४९ वर्षीय राम बहादुर हमालको हत्या गरेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४७ वर्षीय कुल बहादुर सिंह र २१ वर्षीय सुरेन्द्र सिंह रहेका छन् ।  उनीहरूले जग्गा सम्बन्धी विषयलाई लिएर गए राति कुटपिट गर्दा गम्भीर घाइते भएका राम बहादुरको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा थप उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पानीपोखरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।