प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ

२०८१-१०-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपालमा गैरकानूनी रहेको अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को संगठित रूपमा कारोबार तथा अनलाईन स्क्याममा संलग्न रहेको अभियोगमा ७ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा कैलाली वर्दगोरीया गाउँपालिका-६ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ गैरीगाउँ बस्ने २२ वर्षीय माइकल डंगौरा, कैलाली वर्दगोरीया गाउँपालिका-६ घर भएका २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने २१ वर्षीय पियुष श्रेष्ठ, दोलखा भिमेश्वर नगरपालिका-४ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ तेजविनायक चोक बस्ने १९ वर्षीय आश्विन चौलागाई, रौतहट गौर नगरपालिका-९ घर भई काठमाडौं वानेश्वर बस्ने २२ वर्षीय सत्यम कुमार सहनी, भारत प्रतापपट्टी साहेवगंज बिहार घर भई काठमाडौं महानगरपालिका-२५ बस्ने २७ वर्षीय रेशन कुमार र भारत पूर्वी चम्पास बिहार घर भई काठमाडौं महानगरपालिका-९ बस्ने ३६ वर्षीय मुन्ना कुमार रहेका छन् । उनीहरूको साथबाट नगद ५ लाख ५० हजार रूपैयाँ, कम्प्युटर २ थान, मोबाइल १३ थान र विभिन्न बैंकको चेक १९ थान प्रहरीले बरामद गरेको छ । 

उनीहरूले विभिन्न व्यक्तिहरूलाई संगठित रूपमा परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोवार गर्ने गरेको, विभिन्न बैंक तथा डिजिटल वालेटहरूका प्रयोगकर्ताहरूलाई झुक्याई बैंक तथा वालेटहरूको आधिकारीक व्यक्ति भनि निजहरूको ओटिपि/पिन माग गरी अनाधिकृत रूपमा बैंक तथा डिजिटल वालेटमा पहुँच पुर्‍याई रकम ठगी गर्ने गरेको, विभिन्न सामाजिक संजालमा अनलाईन जब, अनलाईन ग्याम्बलिङ आदी जस्ता आकर्षक विज्ञापनहरू विभिन्न लिंकहरूबाट पठाई साइबर फिसिङ गरी प्रयोगकर्ताहरूको बैंक तथा वालेटमा पहुँच पुर्‍याई निजहरूको रकम अन्यत्र खातामा ट्रान्सफर गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । यसैगरी ठगी गरेको रकम विभिन्न व्यक्तिहरूको बैंक तथा डिजिटल वालेटहरूमा ट्रान्सफर गर्ने, विभिन्न माध्यमबाट मानिसहरूलाई प्रलोभनमा पारी उनीहरुको नागरिकता, फोन नम्बर प्रयोग गरी विभिन्न बैंक तथा डिजिटल वालेटहरूमा खाता खोल्न लगाई उक्त खाता आफुले प्रयोग गर्ने र प्रयोग गरे बापत निश्चित रकम दिने गरेको र यस्ता खाताहरूमा अनलाईन ठगी बाट आर्जित रकम जम्मा गर्ने, क्रिप्टोकरेन्सी खरीद बिक्री गर्ने तथा हुण्डी कारोबार गर्न समेत प्रयोग गर्ने गरेको खुल्न आएको छ । हालसम्म उनीहरूले ३ अर्ब भन्दा बढी रकम ठगी गरेको समेत खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०२-०५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा मोरङ कटहरी गाउँपालिका-६ घर भएका ३७ वर्षीय नारायण जोशी, सुर्खेत बराहाताल गाउँपालिका-२ घर भएका ४३ वर्षीय गोपाल बिक्रम राना, भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ घर भएका ३२ वर्षीय नवराज पौड्याल र मनाङ नासोँ गाउँपालिका-६ घर भएका ५८ वर्षीय ङवाङ लामा रहेका छन् । पक्राउ मध्ये नारायणले कतार पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट ४८ लाख रूपैयाँ, गोपालले इराक पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २० लाख रूपैयाँ, नवराजले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र ङवाङले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नारायणलाई धनुषा जनकपुरधाम उपमहानगरपालिका-४ बाट आइतबार, गोपाललाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट र नवराजलाई काठमाडौं पुतलीसडकबाट सोमबार तथा ङवाङलाई काठमाडौं नागार्जुन नगरपालिका-८ बाट शनिबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र डाँका चोरी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-०४

काठमाडौं, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र डाँका चोरी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी नुवाकोट किस्पाङ गाउँपालिका-१३ बस्ने २५ वर्षीया सपना तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत रसुवाबाट उक्त मुद्दामा जन्म कैद सजाय फैसला भई केन्द्रिय कारागार कार्यालय जगन्नाथदेवलस्थित महिला बन्दी सुधार गृहमा दाखिला भई कैद भुक्तान गरिरहेकी उनी गत शुक्रबार राति कारागार कार्यालयको महिला बन्दी सुधार गृहको कम्पाउण्डको पछाडी पट्टिको पर्खाल नाघी फरार भएकी थिइन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र नेपाल प्रहरी अनाश्रित गुल्म जगनाथदेवल सुन्धारा समेतको सहयोगमा उनलाई काठमाडौं असन चोकबाट पक्राउ गरेको हो । साथै उनलाई कारागारबाट भागे पश्चात लुकाई छिपाई राख्न सहयोग गर्ने काठमाडौं असन बस्ने भोजपुर, भोजपुर नगरपालिका-११ घर भएका ५५ वर्षीय मिन कुमार श्रेष्ठ र २७ वर्षीय समिर भन्ने सुवास श्रेष्ठलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ मध्ये सपनालाई कैद भुक्तानको लागि केन्द्रिय कारागार कार्यालय जगन्नाथदेवल पठाइएको छ भने मिन कुमार र सुवासलाई आवश्यक अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०२-०३

काठमाडौं, चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोट डेरा गरी बस्ने महोत्तरी घर भएका २० वर्षीय जाकिर मन्सुरीको हत्या गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-३ खरिबोट बस्ने महोत्तरी घर भएका ३८ वर्षीय समि अहमदलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । समिले घरायसी विवादको क्रममा धारिलो हतियार चक्कु प्रहार गर्दा जाकिर गम्भीर घाइते भएका भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका जाकिरको मेडपोइन्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-०३

काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी नवलपरासी पूर्व कावासोती नगरपालिका-३ घर भएका २४ वर्षीय निशान तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत भक्तपुरबाट २०७९ पुस १ गतेको फैसलाले उक्त मुद्दामा जन्मकैद र सात लाख रूपैयाँ जरिवाना सजाय भई केन्द्रीय कारागार भद्रबन्दी गृह सुन्धारामा कैद भुक्तान गरिरहेकामा २०८२ भदौ २४ गते आन्दोलनको क्रममा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंबाट खटिएको प्रहरीले महोत्तरी बर्दिबास नगरपालिका-५ बाट पक्राउ गरेको  हो । उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको छ ।