अवैध लागूऔषध सहित आठ जना पक्राउ
२०८२-०१-११
- A
- A-
- A+
कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ५० मिलिग्राम सहित बेदकोट नगरपालिका-६ लालपुर बस्ने २६ वर्षीय अबिशेक धामीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सल्लेघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय मिलिग्राम सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय बादल बादी, २५ वर्षीय मदन बादी र २७ वर्षीय यन बहादुर बादी रहेका छन् । प्रहरी चौकी सुब्बाकुना र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएका प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५७ हजार ५ सय ट्याब्लेट सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा पचरौता नगरपालिका-७ बेनौली बस्ने २४ वर्षीय जयनाथ पासवान र २३ वर्षीय सुनिल पटेल रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बारा सिम्रौनगढबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०२-००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडीलाई जाँच गर्ने क्रममा गाडीको बर्नटमा लुकाई छिपाई ल्याएको उक्त लागूऔषध फेला पारी गाडीका चालक पासवान र सहचालक पटेललाई पक्राउ गरेको हो ।
रूकुम पश्चिम, सानीभेरी गाउँपालिका-३ भलाचौरस्थित सडकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब २ किलोग्राम र नगद ७८ हजार ३ सय ५ रूपैयाँ सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७२ वर्षीय अनन्ते पुन र कैलाली घर भएका ३६ वर्षीय कमल थापा रहेका छन् । प्रहरी चौकी सिम्लिबाट खटिएको प्रहरीले रा.४ प १११० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।