प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ठगी कसूरका फरार प्रतिवादी पक्राउ

२०७८-१०-०३

  • A
  • A-
  • A+
Share

काठमाडौं, ठगी कसूरका फरार प्रतिवादी दाङ घोराही उपमहानगरपालिका-१५ लालीगुराँस टोल वतन भएका ४१ वर्षीय विकाश पुनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

  ठगी कसूर अन्तर्गत मुद्दा दर्ता भई फरार रहेका विकास काठमाडौंका विभिन्न स्थानहरूमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित होटल भ्यू ग्लोबलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । साथै उनले प्रयोग गर्दै आएको प्रदेश ३-०१-०२२ च ०११८ नम्बरको गाडी समेत प्रहरीले बरामद गरेको छ ।

विभिन्न मितिमा ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजना, डाँका चोरी र कुटपिट कसूरमा समेत संलग्न रहेको खुल्न आएका उनलाई आवश्यक कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय दाङ पठाईएको उक्त ब्यूरोले जनाएको छ । 


सम्बन्धित समाचार
नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना महिला पक्राउ
२०८१-०१-०४

काठमाडौं, नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा, झापा गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-७ चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पाकी संचालक ३४ वर्षीया पुजा लोवा र चितवन वीरेन्द्रनगर घर भई हाल काठमाडौं महानगरपालिका-७ गंगाहिटी बस्ने ४३ वर्षीया पुजा मगर भन्ने ओम कुमारी पुन रहेका छन् । नवलपरासी पूर्वस्थित एक रेष्टुरेन्ट तथा काठमाडौं चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पामा नाबालिकालाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पुजा लोवालाई काठमाडौं चावहिल तथा ओम कुमारी पुनलाई काठमाडौं ज्ञानेश्वरबाट पक्राउ गरेको हो । साथै पीडित बालिकालाई उद्दार गरी हाल सुरक्षित आवासमा राखिएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा नाबालिकालाई वेटरको काममा लगाईदिने भनि ओम कुमारीले नवलपरासी पूर्वस्थित एक रेष्टुरेन्टमा पठाई रेष्टुरेन्ट संचालकद्वारा ललाई फकाई तथा धाकधम्की दिई वेश्यावृत्तिमा लगाएको, तत्पश्चात निज नाबालिकालाई काठमाडौं चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पामा लगि काममा लगाएको र उक्त स्पाकी संचालक पुजा लोवाले नाबालिकालाई विभिन्न प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाएको अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै ओम कुमारीले निज नाबालिकालाई रातीको समयमा ग्राहकहरूको अनुरोधमा विभिन्न होटल तथा गेष्ट हाउसहरूमा पठाओ प्रयोग गरि पठाई वेश्यावृत्तिमा समेत लगाउने गरेको खुल्न आएको हो । उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०१-०४

सुनसरी, इटहरी उपमहानगरपालिका-४ स्थित मुक्तिघाटमा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय बिनोद तामाङको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-४ गैरीगाउँबाट बस्ने ३७ वर्षीय उमेश तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इटहरी उपमहानगरपालिका-४ गैरीगाउँबाट मलामी आएका उमेश र धरानका ३० वर्षीय अनिल तामाङले चिर्पट प्रहार तथा कुटपिट समेत गर्दा गम्भीर घाइते भएका बिनोदको बेदान्त हस्पिटल इटहरीमा उपचारको क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले घटनामा संलग्न उमेशलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार अनिल तामाङको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

वान एक्स बेटिङ कारोबारमा संलग्न तीन जना पक्राउ
२०८१-०१-०३

काठमाडौं, वान एक्स बेटिङ कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही मलंगवा नगरपालिका-९ बस्ने ३१ वर्षीय संञ्जय कुमार साह, १९ वर्षीय रामजी साह र सोही नगरपालिका-१० बस्ने ३० वर्षीय राकेश चौधरी रहेका छन् । विश्वमा संचालन हुने विभिन्न खेलहरूमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एपलिकेसन वान एक्स बेट मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने, गराउने कार्य गर्ने, क्रिप्टो करेन्सी ट्रेड गर्ने सक्रिय एजेन्टहरू रहेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई सर्लाहीको विभिन्न स्थानबाट पक्राउ गरेको   हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले विभिन्न मोबाइल नम्बरहरूबाट २१ वटा कनेक्ट आइपिएस एकाउन्ट खोली ९८ वटा बैंकका खाताहरू लिंकअप गरी हालसम्म ५७ करोड ४१ लाख ५७ हजार १ सय ४७ रूपैयाँ बराबरको कारोबार गरेको खुल्न आएको छ । उनीहरूको साथबाट विभिन्न कम्पनीका मोबाइल सेट ९ थान, सिमकार्ड २१ थान, ल्यापटप २ थान, सिपियू १ थान, नगद ६२ हजार रूपैयाँ, विभिन्न सहकारीको पासबुक ११ थान, बैंकको चेकबुक १६ थान र डिपोजिट भौचर ११ थान समेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई उपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ (सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकता विरुद्धको कसुर) अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।