अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८२-०१-१९
- A
- A-
- A+
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र ब्रुप्रेनोर्फिन ५० एम्पुल सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्याग्दी घर भएका २० वर्षीय सुजल छन्त्याल र २० वर्षीय मिस्सल पुन रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ४० मिलिग्राम सहित सुन्दरहरैंचा नगरपालिका-८ बस्ने २९ वर्षीय विकेश भट्टराईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-८ साघुनघारीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-२८ माझ्ठाना बस्ने २८ वर्षीय महेश तिवारी र तनहुँ ब्यास नगरपालिका-६ दमौली बस्ने ३० वर्षीय बिपिन अधिकारी रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय सुवास शाही, १८ वर्षीया किशोरी र जानकी गाउँपालिका-४ बस्ने २६ वर्षीय तिला राम कठरिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।