प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ

२०८२-०४-०५

  • A
  • A-
  • A+
Share

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपलिका-३० बस्ने ४९ वर्षीया लता गुरूङ श्रेष्ठ र काठमाडौं महानगरपालिका-२९ बस्ने खोटाङ ऐसेलुखर्क गाउँपालिका-५ घर भएका ४९ वर्षीय वृहस्पति राई रहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंको २०८१ मंसिर १६ गतेको फैसलाले उक्त मुद्दामा २ लाख २२ हजार रूपैयाँ जरिवाना, १ दिन कैद र क्षतिपूर्ती बापत शुल्क ८ हजार ८ सय ८० रूपैयाँ पीडित राहत कोषमा बुझाउने पर्ने सजाय ठहर भई फरार रहेकी लतालाई काठमाडौं सितापाईलाबाट सोमबार पक्राउ गरेको हो । 

साथै सोही मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७९ असार २८ गतेको फैसलाले २० लाख रूपैयाँ जरिवाना, ४ दिन कैद र क्षतिपूर्ती बापत शुल्क ८० हजार रूपैयाँ पीडित राहत कोषमा बुझाउने पर्ने सजाय ठहर भई फरार रहेका वृहस्पतिलाई काठमाडौं शंखमुलबाट आइतबार प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 


सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८३-०१-०५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने दोलखा घर भएका २४ वर्षीय आङ मिङमार शेर्पा, काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने काभ्रे घर भएकी ४२ वर्षीया सुनिता सिङतान (लामा) र काठमाडौं महानगरपालिका-४ बस्ने सिन्धुली घर भएकी ३३ वर्षीया बाल कुमारी माझी रहेका छन् ।पक्राउ मध्ये आङ मिङमारले लक्जम्बर्ग पठाइदिन्छु भन्दै १ जना पीडितबाट १९ लाख रूपैयाँ, सुनिताले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख ७६ हजार रूपैयाँ र बाल कुमारीले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले आङ मिङमारलाई काठमाडौं महानगरपालिका-२ बाट, सुनितालाई काठमाडौं महानगरपालिका-२८ बाट र बाल कुमारीलाई काठमाडौं महानगरपालिका-४ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

कर्तव्य ज्यान सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-०५

काठमाडौं, कर्तव्य ज्यान सम्बन्धी मुद्दाका फरार २ जना प्रतिवादीहरू प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-२८ हरिसिद्धी बस्ने मकवानपुर घर भएका ४२ वर्षीय सन्तोष भन्ने यज्ञकुमार सापकोटा र महालक्ष्मी नगरपालिका-२ बालकुमारी बस्ने सोलुखुम्बु घर भएका ३५ वर्षीय होम बहादुर राई रहेका छन् । जिल्ला अदालत काठमाडौंको २०७८ भदौ २९ गतेको फैसलाले उक्त मुद्दामा यज्ञकुमारलाई जन्मकैद सजाय ठहर भएको तथा जिल्ला अदालत सोलुखुम्बुको २०७८ असार २२ गतेको फैसलाले उक्त मुद्दामा होम बहादुरलाई जन्मकैद सजाय ठहर भई दुबै जना केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा कैद भुक्तानको क्रममा रहेकोमा २०८२ भदौ २४ गते कारागारबाट भागी फरार भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले यज्ञकुमारलाई ललितपुर महानगरपालिका-२८ हरिसिद्धिबाट बिहीबार र होम बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-२ बालकुमारीबाट शुक्रबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको छ । 

ठगीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८३-०१-०४

काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ जडीबुटी बस्ने सिन्धुपाल्लोक घर भएका ६० वर्षीय पालसङ तामाङ र काठमाडौं मुलपानी बस्ने सिन्धुपाल्चोक घर भएका ४७ वर्षीय पदम लाल श्रेष्ठ रहेका छन् । अमेरिकन डलर देखाई सस्तो दरमा सट्टा गरिदिने भनि प्रलोभनमा पारी पीडितलाई भक्तपुर चाँगुनारायण नगरपालिका-४ चाँगुनारायण मन्दिर नजिक जंगलमा नगद १० लाख रूपैयाँ लिएर आउन भनि सम्पर्क गरेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई चाँगुनारायण नगरपालिका-४ बाट  पक्राउ गरेको हो । उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

डाँका चोरीमा संलग्न चार जना पक्राउ
२०८३-०१-०४

काठमाडौं, डाँका चोरीमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट घर भई काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने ३४ वर्षीय शंकर बहादुर तामाङ, तारकेश्वर नगरपालिका-८ गैरीगाउँ बस्ने ५० वर्षीय राजु तामाङ, तारकेश्वर नगरपालिका-४ बस्ने ३३ वर्षीय गुणराज खनाल र तारकेश्वर नगरपालिका-५ बस्ने ४३ वर्षीय प्रेम तामाङ रहेका छन् । तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने पीडित महिलालाई कुटपिट गरी कानमा लगाएको सुनको रिङ तानेको घटनामा संलग्न रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।