अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०५-०८
- A
- A-
- A+
सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्कचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय २० मिलिग्राम सहित मोरङ रंगेली नगरपालिका-३ घर भएका ३१ वर्षीय आषिश राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले को.३१ प ९९८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-७ बालग्रामबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४८ ग्राम र नगद ७६ हजार १ सय रूपैयाँ सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने रामधुनी नगरपालिका-६ घर भएका २८ वर्षीय विप्लब चौधरी र इलाम फाकफोकथुम गाउँपालिका-६ घर भएकी २७ वर्षीया सुस्मा राई रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले उनीहरूको डेरा कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-१० पाथिभरा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४० मिलिग्राम र नगद २ हजार ९ सय २० रूपैयाँ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय संन्दिप लिम्बु र २४ वर्षीय अर्जुन सुब्बा रहेका छन् । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-५ शुभ बिहानी टोल बस्ने ३३ वर्षीय सुरज गुरूङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको प्र.१-०१-०१२ प १०४६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-१० गड्डाचौकी ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-९ बस्ने २३ वर्षीय दिवाकर सिंह पन्त समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युके ३६ एडी ५५६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सिराहा, मिर्चैया नगरपालिका-६ कटारी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित उदयपुर कटारी नगरपालिका-२ खोक्सा टोल बस्ने २८ वर्षीय चेत बहादुर पौडेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-२ मैनाबगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-११ श्रीरामटोल बस्ने ३७ वर्षीय अमग राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जितगढी किल्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-११ मझुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय रमेश साहानीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जितगढी किल्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-१२ चप्परगौडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम र नगद ७ हजार रूपैयाँ सहित सोही नगरपालिका-१३ बस्ने २३ वर्षीय मोतिराम बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट चप्परगौडी र इलाका प्रहरी कार्यालय कोहलपुबाट खटिएको प्रहरीले भे.९ प ७१९७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-४ चिप्लेढुङ्गाबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ३५ ट्याब्लेट सहित सोही महानगरपालिका-११ फुलवारी बस्ने ३० वर्षीय अर्जुन शाहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।