प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

युके पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

२०८२-०९-२१

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ राप्ती गाउँपालिका-१ बस्ने प्युठान, प्युठान नगरपालिका-९ घर भएका ३९ वर्षीय इन्द्र बहादुर केसी, काठमाडौं स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका-५ घर भएका ४० वर्षीय आईते तामाङ र काठमाडौं महानगरपालिका-१५ बस्ने ३४ वर्षीय बिजय गुरूङ रहेका छन् । 

पक्राउ मध्ये इन्द्र र आईतेले युके पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट १३ लाख रूपैयाँ र बिजयले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले इन्द्र र आईतेलाई काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट बिहीबार तथा बिजयलाई काठमाडौं महानगरपालिका-१४ बाट आइतबार पक्राउ गरेको हो । 

पक्राउ मध्ये इन्द्र र आईतेलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं तथा बिजयलाई वैदशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

सम्बन्धित समाचार
बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०१-१५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने रौतहट राजपुर नगरपालिका-६ घर भएका २४ वर्षीय दिपक कुमार जयसवाल र सर्लाही हरिपुर नगरपालिका-२ बस्ने ३५ वर्षीय मोहन कुमार थापा रहेका छन् ।  पक्राउ मध्ये दिपकले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ र मोहनले बुल्गेरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपकलाई काठमाडौं नागार्जुन नगरपालिका-८ बाट सोमबार र मोहनलाई काठमाडौं महानगरपालिका-६ बाट आइतबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८३-०१-१५

काठमाडौं, सस्तो दरमा अमेरिकी डलर सट्टा गरिदिने भन्दै ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा गोकर्णेश्वर नगरपालिका-८ बेसीगाउँ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपलिका-३ घर भएका ३८ वर्षीय सञ्जय बहादुर तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  भक्तपुर चाँगुनारायण नगरपालिका-४ स्थित चिहानडाँडामा गत वैशाख ४ गते पीडितलाई बोलाई सस्तो दरमा अमेरिकन डलर सट्टा गरिदिने भनि प्रलोभनमा पारी ३ लाख १० हजार रूपैयाँ ठगी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई  काठमाडौं महानगरपलिका-४ महाराजगंजबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । 

मृगको छाला सहित दुई जना पक्राउ
२०८३-०१-१५

काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट अवैध वन्यजन्तु मृगको जस्तो देखिने छाला ३ थान सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका भैरवी महांकाल बस्ने झापा मेचीनगर नगरपालिका-११ धाइजन घर भएका २८ वर्षीय बिजय उप्रेती र २७ वर्षीय बिशाल उप्रेती रहेका छन् ।  काठमाडौं सिनामंगलस्थित वन्यजन्तुको छाला समेतका सामग्रीहरू बिक्रीवितरण भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त छाला सहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ ।

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ
२०८३-०१-१५

काठमाडौं, नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गरेको अभियोगमा ६ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा बस्ने उदयपुर घर भएका ३८ वर्षीय मिलन कुमार तामाङ, काठमाडौं दक्षिणकाली नगरपालिका-७ बस्ने २६ वर्षीय योग बहादुर तामाङ, ३६ वर्षीय भविन्द्र कुमार तामाङ, चितवन रत्ननगर गाउँपालिका-५ बस्ने ३४ वर्षीय प्रबिन महतो, रौतहट गुजरा नगरपालिका-१ बस्ने २८ वर्षीया मुना धामी र चितवन कालिका नगरपालिका-५ बस्ने ३८ वर्षीय सत्य नारायण चौधरी रहेका छन् ।  काठमाडौंको विभिन्न स्थानमा वडा एरियामा केही व्यक्तिहरुले सक्कली जस्तै देखिने नक्कली मुद्रा सजिलै साट्न/प्रयोग गर्न सकिने भनी विश्वासमा पारी सक्कली मुद्रा भन्दा दुई गुणा बढी मुद्रामा सटही गरिदिने भनि पीडितलाई झुक्यानमा पारी ठगी गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई कीर्तिपुर नगरपालिका-६ पाण्डेछापबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।