अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८३-०१-१२
- A
- A-
- A+
काठमाडौं, काठमाडौं महानगरपालिका-३२ जडीबुटीस्थित मनहरा किनार नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३० ट्याब्लेट र नगद ६८ हजार २ सय रूपैयाँ सहित काठमाडौं जडीबुटी बस्ने दोलखा मेलुङ गाउँपालिका-४ घर भएका १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-१ ब्लक नम्बर १२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय बिशाल कुँवरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-८ सिम्ताली चोकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ७ सय ३८ ग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने जाजरकोट घर भएका १८ वर्षीय किशोरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरी उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी प्रहरीले सोही नगरपालिका-४ भैरवस्थान बस्ने २० वर्षीय विपिन शाहीको घर तलासी गर्दा चरेस जस्तो देखिने पदार्थ ५ ग्राम १० मिलिग्राम फेला पारी उनलाई समेत पक्राउ गरेको छ ।
कपिलवस्तु, बुद्धभुमि नगरपालिका-९ सातबास बस्ने ४२ वर्षीय कृष्ण विकलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १८ किलो २ सय ५५ ग्राम सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोरूसिंगेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ६० मिलिग्राम र नगद ११ हजार ८ सय २० रूपैयाँ सहित दुहवी नगरपालिका-९ छाताबेली बस्ने ३४ वर्षीय मो. साविर मियालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले को.६ प ७७८२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपलिका-१५ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ५० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोल्पा, रोल्पा नगरपालिका-२ खलीबाङ बस्ने २० वर्षीय भास्कर कुँवर र २३ वर्षीय भरत डाँगी रहेका छन् । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।