अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८३-०२-१७
- A
- A-
- A+
काठमाडौं, काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ४ सय ४० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय अर्जुन बहादुर भुजेल र सोही महानगरपालिका-२६ लैनचौर घर भएका २७ वर्षीय संजय गुरूङ रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले अर्जुनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-६ रामहिटीबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ४० एम्पुल, बुप्रेनोर्फिन १ सय ९ एम्पुल, फेनारगन १ सय ३४ एम्पुल र नगद १७ हजार ७ सय रूपैयाँ सहित कागेश्वरी मनोहरा नगरपालिका-५ थली बस्ने सिन्धुली घर भएका २९ वर्षीय सुजन लामालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बा.प्र०२-०२८ प ४४७७ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
दाङ, लमही नगरपालिका-३ टिकुलिगढ बस्ने ३२ वर्षीय विष्णु चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमही समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१५ त्रिशुल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय ऋतिक साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भिष्वागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने ३१ वर्षीय दिनेश शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, भजनी नगरपालिका-६ विस्नापुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित जानकी गाउँपालिका-४ मुनुवा बस्ने २० वर्षीय प्रासिस रावत समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्राम सहित सोही नगरपालिका-७ बैद्य टोल बस्ने २१ वर्षीय खप्पु भन्ने खकेन्द्र साउदलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ अत्तरीयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २० ग्राम २ सय ४० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका-६ घर भएका ४३ वर्षीय धर्मानन्द भट्ट समेत ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले धर्मानन्दको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, लालझाडी गाउँपालिका-६ चन्देवबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैतडी पुर्चौडी नगरपालिका-८ बस्ने ३२ वर्षीय अर्जुन धानुक र कञ्चनपुर पुनर्वास नगरपालिका-२ मोतिबस्ती बस्ने २२ वर्षीय आशिष साउद रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरी समेतबाट खटिएको प्रहरीले से.६ प ७५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-७ लक्ष्मी चोक बस्ने २७ वर्षीय कालु भन्ने सुब बहादुर दाहाललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ६ सय ९० ट्याब्लेट र नगद २७ हजार ५ सय रूपैयाँ सहित भारत अररिया बेलाहा बस्ने २० वर्षीय दयानन्द यादवलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले बिआर ३८ एएफ २६४६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, बैजनाथ गाउँपालिका-१ च्यामाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम सहित ३ जनालाइ शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने ३१ वर्षीय याम बहादुर राना, सोही नगरपालिका-१ चिसापानी बस्ने ३६ वर्षीय महेन्द्र मल्ल र २४ वर्षीय प्रदिप राना क्षेत्री रहेका छन् । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।