Digital Action Dialogue परिसंवाद कार्यक्रम सम्पन्न
२०८३-०३-१९
- A
- A-
- A+
काठमाडौं, समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘अपराध अनुसन्धानमा डिजिटल प्रविधिको प्रयोग’ लाई प्रभावकारिता प्रदान गर्ने उद्देश्यले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित Digital Action Dialogue,2026 परिसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले यस संवाद नेपालमा सुरक्षित, विश्वसनीय र उत्तरदायी डिजिटल वातावरण निर्माण गर्ने दिशामा कोसेढुङ्गो सावित हुनेछ र कार्यक्रमबाट ठोस व्यावहारिक तथा कार्यान्वयन योग्य निष्कर्षहरूले नेपालको साइबर सेक्युरिटी इकोसिस्टम तथा नेपाल प्रहरीको डिजिटल इन्भेस्टिगेसन क्षमतालाई अझ प्रभावकारी, उत्तरदायी र प्रमाणमुखी बनाउनलाई महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । नागरिकको विश्वास नै प्रहरी संगठनको सबैभन्दा ठूलो पूँजी रहेको चर्चा गर्दै डिजिटल युगमा नागरिकको विश्वास कायम राख्न प्रविधिमैत्री, पारदर्शी, जवाफदेही र नागरिकमैत्री सेवा प्रवाहलाई प्रहरीले निरन्तर परिष्कृत गर्दै लगिरहेको बताउनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले साइबर अपराध विरूद्धको लडाई कुनै एक निकायको एकल प्रयासबाट मात्रै सम्भव नहुने, बैंकिङ तथा भुक्तानी प्रणालीको तथ्याङ्क समयमै प्राप्त नहुँदा शंकास्पद कारोबार तत्काल रोक्का हुन नसक्दा र भरपर्दो एवम् छरितो सूचनाको आदान प्रदानको अभावमा अपेक्षित परिणाम हासिल गर्न नसकिने उल्लेख गर्दै वित्तीय संस्था तथा भुक्तानी सेवासँग समयमै तथ्याङ्क आदान प्रदान, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकसँग समन्वय एवम् नियामक निकायहरूसँग हुने नीतिगत समन्वयको सुदृढ खाका निर्माण नै आजको प्रमुख आवश्यकता रहेको बताउनुभयो । साइबर सुरक्षा विज्ञ, अनुसन्धानकर्ता र प्राज्ञिक क्षेत्रसँगको सहकार्यले विश्वव्यापी असल अभ्यास र थ्रेट इन्टेलिजेन्समा पहुँच दिलाउने समेत उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले सार्वजनिक-निजी साझेदारी नै सुरक्षित डिजिटल नेपालको आधारशिला भएको चर्चा गर्दै आजको छलफल समस्याको वर्णनमा सीमित नभई व्यावसायिक, व्यावहारिक, समाधान, अनुसन्धानको आधुनिकीकरण, क्षमताको अभिवृद्धि, कानुनी तथा नीतिगत सुधारका सम्भावित दिशाहरू र सार्वजनिक-निजी सहकार्यलाई थप सुदृढ बनाउने बताउनुभयो । छलफलका निष्कर्षहरूले चुनौतीहरूको पहिचान गर्नुका साथसाथै अल्पकालीन, मध्यकालीन एवम् दीर्घकालीन प्राथमिकता सहितको कार्ययोजना, सरोकारवालाहरूको प्रतिबद्धता र संस्थागत समन्वय संयन्त्रको स्पष्ट मार्गचित्र प्रस्तुत गर्ने विश्वास लिएको उहाँले बताउनुभयो । साथै यस दस्तावेज औपचारिकतामा मात्र सीमित नभई हामी सबैले अपनत्व गर्ने, कार्यान्वयन गर्ने साझा प्रतिबद्धताको दस्तावेज हुनेछ र नेपाल प्रहरी आफ्नो तर्फबाट आवश्यक संरचनागत, प्रविधिगत र व्यवस्थापकीय सुधारका लागि सदैव तत्पर एवम् प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयो ।
नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले धन्यवाद सहित समापन मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सूचना प्रविधि निर्देशनालयका प्रहरी नायव महानिरीक्षक अरूण कुमार भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै परिसंवादको उद्देश्य बारे जानकारी दिनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक राज कुमार महर्जनले National Cyber policy, Opportunities and Limitations सम्बन्धी, Cryptogen Nepal प्रालिका Chief Technology Officer निर्मल दाहालले Private Sector Perspectives Towards Emerging Cyber Threats सम्बन्धी, साइबर ब्यूरोका प्रहरी नायव उपरीक्षक उमेश प्रसाद साहले साइबर अपराधको वर्तमान अवस्था, देखिएको चुनौतीहरू तथा नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयका प्रहरी नायव उपरीक्षक जित नारायण यादवले Strengthening Enterprise Cyber Resillence सम्बन्धी आ-आफनो प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा अनलाइन ठगी बढ्नुको कारण अनुसन्धानमा प्रहरीले भोगेका चुनौतीहरू, अनुसन्धान सहज गर्न आवश्यक अप्रेश्नल डेटा लगायत कानुनी र नीतिगत उपाय तथा समाधानका सम्बन्ध लगायतका विषयमा वृहत्त छलफल समेत भएको थियो ।
उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, केन्द्रीय प्रहरी प्रवक्ता लगायत प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागका प्रतिनिधिहरू, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, भुक्तानी सेवा प्रदायक, टेलिकम सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक, डाटा सेन्टर सेवा प्रदायकका प्रतिनिधिहरू, साइबर सुरक्षा विज्ञहरू, विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू एवम् मातहत मुद्दा चल्ने प्रहरी इकाईहरूका प्रमुख एवम् प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।
बढ्दो साइबर अपराध, अनलाइन ठगी, प्रविधिको दुरूपयोगबाट भइरहेको विभिन्न आपराधिक क्रियाकलापहरूको पहिचान र रोकथामको लागि नेपाल प्रहरी लगायत अन्य सरोकारवाला निकायहरूको समेत साथ र सहयोग आवश्यकता रहेको सन्दर्भमा समुदाय-प्रहरी साझेदारी अवधारणालाई आत्मसात् गर्दै कानुन कार्यान्वयन गर्ने निकायहरू, नियामक निकायहरू, अनलाइन सेवा प्रदायकहरू, बैंकिङ तथा वित्तीय संस्था लगायत अनलाइन पेमेन्ट सेवा प्रदायकहरू, सञ्चार सेवा प्रदायकहरू बिच राम्रो समन्वय र प्रगाढ सम्बन्ध बनाउनु र व्यावहारिक समाधानहरू पहिचान गर्नुका साथै प्रविधिजन्य अपराध नियन्त्रण तथा अनुसन्धानको लागि क्षमता अभिवृद्धि गर्नु यस कार्यक्रमको उद्देश्य रहेको छ ।