प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार

२०८३-०४-२२

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ । साक्षात्कारको क्रममा उहाँले सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक काफ्लेले गत आर्थिक वर्ष २०८२ साउन १ गतेदेखि २०८३ असार मसान्तसम्मको एक वर्षको अवधिमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभयो । 

सो क्रममा उहाँले मानवस्रोत तथा अन्य स्रोत व्यवस्थापनतर्फ प्रहरी जनशक्ति अन्तर्गत कुल दरबन्दी, कार्यरत संख्या र दर्जागत संख्या बारे जानकारी दिनुभयो । प्रहरीको इकाईगत संख्या, अन्य निकायको समन्वयमा परिचालित प्रहरी इकाईहरू, नेपाल प्रहरीको भौतिक संरचनाहरूको संख्यात्मक विवरण तथा हालको अवस्था र अस्थायी पोष्टमा कार्यरत एवम् नयाँ स्तरवृद्धिको लागि माग भएका इकाईहरूको बारेमा उहाँले संख्यागत विवरण प्रस्तुत गर्नुभयो । 

यसैगरी उक्त अवधिमा उहाँले नयाँ नियुक्ति/पदस्थापन, सरूवा, बढुवा, कारबाही तथा पुरस्कारको साथै प्रशिक्षण सम्बन्धी विवरण प्रस्तुत गर्नुभयो । एक वर्षको अवधिको अपराध अनुसन्धान तथ्याङ्क प्रस्तुतीकरण गर्नुको साथै अपराध तथ्याङ्क विश्लेषण, गम्भीर तथा जघन्य प्रकृतिका अपराध दर्ताको त्रिवर्षीय तुलनात्मक विवरण, प्रदेशगत कसुर दर्ता, लागूऔषध बरामद, मुद्दा दर्ता तथा पक्राउ विवरण, बरामद लागूऔषधको परिमाण, मानव बेचबिखन, साइबर ब्यूरोमा दर्ता भएका उजुरीको आधारमा अपराधको वर्गिकरण, घरेलु हिंसा, सम्पत्ति शुद्धीकरण, फैसला कार्यान्वयन र हराएका तथा फेला परेका मानिसहरूको विवरण सम्बन्धी तथ्याङ्क समेत उहाँले प्रस्तुत गर्नुभयो ।

प्रहरी नायव महानिरीक्षक काफ्लेले सो अवधिमा भएका चर्चित अपराधको अनुसन्धान सम्बन्धी विवरण, अन्तर्राष्ट्रिय समन्वय तथा सहायता एवम् एनसिबि काठमाडौंले सम्पादन गरेका कार्यहरूको विवरण बारे जानकारी दिनुभयो । यसैगरी प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापनतर्फ सवारी दुर्घटना सम्बन्धी तथ्याङ्क, ट्राफिक कारबाही सम्बन्धी विवरण, शान्ति सुरक्षाको अवस्था, समुदाय प्रहरी साझेदारी मार्फत अपराध न्यूनीकरणका प्रयासहरू, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता, विपद् व्यवस्थापन, नागरिकसँगको सम्बन्ध, सूचना प्रवाह र प्रहरी सेवा, सूचना प्रविधिको प्रयोग, नेपाल प्रहरी मोबाइल एपमा प्राप्त गुनासोहरूको सम्बोधन, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको पदवहाली पश्चात हासिल गरेका मुख्य उपलब्धिहरूको बारेमा समेत उहाँले उपस्थित सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो । 

साथै उहाँले नेपाल प्रहरीको भावी स्वरूप, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको परियोजना, नेपाल प्रहरी अस्पतालबाट प्रदान गरिएको स्वास्थ्य सेवा लगायतका विषयहरूमा समेत विस्तृत रूपमा जानकारी दिनुभयो । 

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक काफ्लेले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै नेपाल प्रहरी सेवाग्राही प्रति केन्द्रीत रहेर नागरिकमैत्री सेवा प्रवाहमा सदैव कटिवद्ध रहँदै आएको बताउनुभयो  । नेपाल प्रहरीले शान्ति सुरक्षामा गरेको महत्वपूर्ण प्रयासहरूले आपराधिक क्रियाकलापहरूमा कमी हुनुका साथै विगतको भन्दा शान्ति सुरक्षा चुस्त, सुदृढ, भरपर्दो एवम् व्यवस्थित भएको बताउनुभयो । अत्याधुनिक प्रविधिको प्रयोग र दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखी समग्र प्रहरी कर्मचारीहरूको मनोवल वृद्धि गर्न विभिन्न किसिमका कल्याणकारी योजनाहरू समेत लागु गरी अगाडि बढ्ने उहाँले उल्लेख गर्नुभयो । 

ट्राफिक जरिवाना संगठनको प्राथमिकता नभएको उल्लेख गर्दै प्रहरी नायव महानिरीक्षक काफ्लेले भन्नुभयो ‘ट्राफिक नियम सबैले पालना गर्ने हो भने हामीले ट्राफिक कारबाही वा जरिवाना गर्नुपर्छ भन्ने छैन् । हाम्रो मुख्य लक्ष्य भनेको दुर्घटना न्यूनीकरण र दुर्घटनाबाट हुने जनधनको क्षति कमी गरी सकेसम्म शून्यमा झार्ने हो ।’ दुर्घटना न्यूनीकरण गर्न सचेतना कार्यक्रमहरूलाई अझ वृद्धि गर्दै प्रहरी सक्रियतामा समेत वृद्धि गर्दै जाने उहाँले बताउनुभयो । जस्तो सुकै परिस्थितमा पनि कानुन कार्यान्वयनमा नेपाल प्रहरी सदैव दृढ रहेको बताउँदै उहाँले सांगठनिक हित एवम् सुदृढीकरण, प्रहरी कर्मचारीको व्यावसायिकता एवम् नागरिक प्रतिको जवाफदेहीताको लागि सञ्चारकर्मीहरूबाट प्राप्त उपयोगी राय सुझाव प्रति आभार व्यक्त गर्दै प्रहरी र सञ्चारकर्मीहरू बिच सहकार्य र समन्वयलाई अझ राम्रो र प्रगाढ बनाउँदै लैजाने बताउनुभयो ।   

विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरू तथा प्रहरी अधिकृतहरूको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रवक्ताहरू तथा जिल्ला प्रहरी कार्यालयहरूका सूचना अधिकारीहरूको भर्चुअल उपस्थिति रहेको थियो ।   


सम्बन्धित समाचार
हलुका सवारी चालक उन्नत तालिम शुरू
२०८३-०४-२५

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा ३२ औं समूहको हलुका सवारी चालक उन्नत तालिम संचालन भएको छ ।उक्त तालिमको सोही महाशाखाका प्रहरी उपरीक्षक अनुप श्रेष्ठले महाशाखामा सोमबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । प्रहरी निरीक्षक मिन प्रसाद खत्रीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ८ जना र प्रहरी जवान २० जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । 

५० जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
२०८३-०४-०५

काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १५६औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले तालिमका दौरानमा हासिल गरेका ज्ञान सीपलाई कार्यक्षेत्रमा ईमानदारीपूर्वक कार्यान्वयन गर्दै प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गरी नागरिकलाई सहज र सुरक्षित ट्राफिक व्यवस्थापनको महशुस गराउनुपर्नेमा जोड  दिनुभयो ।   कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत जेठ ४ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार १८ जना र प्रहरी जवान ३२ जना गरी कुल ५० जना प्रशिक्षार्थीहरूले तालिम हासिल गरेको जानकारी दिनुभयो । 

ट्राफिक नियन्त्रण तथा रेखाचित्रण दोस्रो समूहको तालिम सञ्चालन
२०८३-०४-०४

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा ट्राफिक नियन्त्रण तथा रेखाचित्रण (जु.प्र.अ देखि प्र.ज) दोस्रो समूहको तालिम सञ्चालन भएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सोमबार आयोजित एक कार्यक्रममा सोही कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले तालिम उद्‍घाटन गर्दै सवारी दुर्घटनाको अनुसन्धानको सिलसिलामा सवारी दुर्घटनासँग सम्बन्धित विभिन्न किसिमका प्रमाणहरूलाई रेखाचित्रणको माध्यमबाट देखाउन सके अनुसन्धान सहज हुने विचार व्यक्त गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक शैलेन्द्र भट्टले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी वरिष्ठ नायव निरीक्षक ७ जना, प्रहरी नायव निरीक्षक ५ जना, प्रहरी सहायक निरीक्षक २ जना, प्रहरी वरिष्ठ हवल्दार २ जना, प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ११ जना र प्रहरी जवान १६ जना गरी कुल ४५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

UNCOPS समिटमा सहभागी भई प्रहरी महानिरीक्षक दान बहादुर कार्की स्वदेश फिर्ता
२०८३-०३-३१

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्की संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा असार २३ देखि २४ गतेसम्म संचालन भएको पाँचौं United Nations Chiefs of Police Summit (UNCOPS)  मा नेपालको तर्फबाट सहभागी भई बुधबार स्वदेश फर्कनुभएको छ । प्रहरी महानिरीक्षक कार्कीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो ।समिटको दौरानमा नेपालको तर्फबाट प्रहरी महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संयुक्त राष्ट्रसंघ तथा मित्रराष्ट्रहरूका विभिन्न उच्चपदस्थ अधिकारीहरूसँग द्विपक्षीय भेटघाट गर्नुभएको थियो ।उक्त समिटमा Reflection on the future of UN Police, Leveraging new technologies, Strengthening International cooperation, Strengthening UN Peace Keeping through Language Training, High Level Network on Gender Responsive Policing लगायतका एजेण्डामा छलफल भएको थियो ।  समिटमा सहभागी हुन प्रहरी महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल गत असार २१ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । 

Digital Action Dialogue परिसंवाद कार्यक्रम सम्पन्न
२०८३-०३-१९

काठमाडौं, समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘अपराध अनुसन्धानमा डिजिटल प्रविधिको प्रयोग’ लाई प्रभावकारिता प्रदान गर्ने उद्देश्यले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित Digital Action Dialogue,2026 परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले यस संवाद नेपालमा सुरक्षित, विश्वसनीय र उत्तरदायी डिजिटल वातावरण निर्माण गर्ने दिशामा कोसेढुङ्गो सावित हुनेछ र कार्यक्रमबाट ठोस व्यावहारिक तथा कार्यान्वयन योग्य निष्कर्षहरूले नेपालको साइबर सेक्युरिटी इकोसिस्टम तथा नेपाल प्रहरीको डिजिटल इन्भेस्टिगेसन क्षमतालाई अझ प्रभावकारी, उत्तरदायी  र प्रमाणमुखी बनाउनलाई महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । नागरिकको विश्वास नै प्रहरी संगठनको सबैभन्दा ठूलो पूँजी रहेको चर्चा गर्दै डिजिटल युगमा नागरिकको विश्वास कायम राख्न प्रविधिमैत्री, पारदर्शी, जवाफदेही र नागरिकमैत्री सेवा प्रवाहलाई प्रहरीले निरन्तर परिष्कृत गर्दै लगिरहेको बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले साइबर अपराध विरूद्धको लडाई कुनै एक निकायको एकल प्रयासबाट मात्रै सम्भव नहुने, बैंकिङ तथा भुक्तानी प्रणालीको तथ्याङ्क समयमै प्राप्त नहुँदा शंकास्पद कारोबार तत्काल रोक्का हुन नसक्दा र भरपर्दो एवम् छरितो सूचनाको आदान प्रदानको अभावमा अपेक्षित परिणाम हासिल गर्न नसकिने उल्लेख गर्दै वित्तीय संस्था तथा भुक्तानी सेवासँग समयमै तथ्याङ्क आदान प्रदान, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकसँग समन्वय एवम् नियामक निकायहरूसँग हुने नीतिगत समन्वयको सुदृढ खाका निर्माण नै आजको प्रमुख आवश्यकता रहेको बताउनुभयो । साइबर सुरक्षा विज्ञ, अनुसन्धानकर्ता र प्राज्ञिक क्षेत्रसँगको सहकार्यले विश्वव्यापी असल अभ्यास र थ्रेट इन्टेलिजेन्समा पहुँच दिलाउने समेत उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले सार्वजनिक-निजी साझेदारी नै सुरक्षित डिजिटल नेपालको आधारशिला भएको चर्चा गर्दै आजको छलफल समस्याको वर्णनमा सीमित नभई व्यावसायिक, व्यावहारिक, समाधान, अनुसन्धानको आधुनिकीकरण, क्षमताको अभिवृद्धि, कानुनी तथा नीतिगत सुधारका सम्भावित दिशाहरू र सार्वजनिक-निजी सहकार्यलाई थप सुदृढ बनाउने बताउनुभयो । छलफलका निष्कर्षहरूले चुनौतीहरूको पहिचान गर्नुका साथसाथै अल्पकालीन, मध्यकालीन एवम् दीर्घकालीन प्राथमिकता सहितको कार्ययोजना, सरोकारवालाहरूको प्रतिबद्धता र संस्थागत समन्वय संयन्त्रको स्पष्ट मार्गचित्र प्रस्तुत गर्ने विश्वास लिएको उहाँले बताउनुभयो । साथै यस दस्तावेज औपचारिकतामा मात्र सीमित नभई हामी सबैले अपनत्व गर्ने, कार्यान्वयन गर्ने साझा प्रतिबद्धताको दस्तावेज हुनेछ र नेपाल प्रहरी आफ्नो तर्फबाट आवश्यक संरचनागत, प्रविधिगत र व्यवस्थापकीय सुधारका लागि सदैव तत्पर एवम् प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयो । नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले धन्यवाद सहित समापन मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सूचना प्रविधि निर्देशनालयका प्रहरी नायव महानिरीक्षक अरूण कुमार भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै परिसंवादको उद्देश्य बारे जानकारी दिनुभएको थियो ।   कार्यक्रममा राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक राज कुमार महर्जनले National Cyber policy, Opportunities and Limitations सम्बन्धी, Cryptogen Nepal प्रालिका Chief Technology Officer निर्मल दाहालले Private Sector Perspectives Towards Emerging Cyber Threats सम्बन्धी, साइबर ब्यूरोका प्रहरी नायव उपरीक्षक उमेश प्रसाद साहले साइबर अपराधको वर्तमान अवस्था, देखिएको चुनौतीहरू तथा नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयका प्रहरी नायव उपरीक्षक जित नारायण यादवले Strengthening Enterprise Cyber Resillence सम्बन्धी आ-आफनो प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा अनलाइन ठगी बढ्नुको कारण अनुसन्धानमा प्रहरीले भोगेका चुनौतीहरू, अनुसन्धान सहज गर्न आवश्यक अप्रेश्‍नल डेटा लगायत कानुनी र नीतिगत उपाय तथा समाधानका सम्बन्ध लगायतका विषयमा वृहत्त छलफल समेत भएको थियो । उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, केन्द्रीय प्रहरी प्रवक्ता लगायत प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागका प्रतिनिधिहरू, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, भुक्तानी सेवा प्रदायक, टेलिकम सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक, डाटा सेन्टर सेवा प्रदायकका प्रतिनिधिहरू, साइबर सुरक्षा विज्ञहरू, विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू एवम् मातहत मुद्दा चल्ने प्रहरी इकाईहरूका प्रमुख एवम् प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।  बढ्दो साइबर अपराध, अनलाइन ठगी, प्रविधिको दुरूपयोगबाट भइरहेको विभिन्न आपराधिक क्रियाकलापहरूको पहिचान र रोकथामको लागि नेपाल प्रहरी लगायत अन्य सरोकारवाला निकायहरूको समेत साथ र सहयोग आवश्यकता रहेको सन्दर्भमा समुदाय-प्रहरी साझेदारी अवधारणालाई आत्मसात् गर्दै कानुन कार्यान्वयन गर्ने निकायहरू, नियामक निकायहरू, अनलाइन सेवा प्रदायकहरू, बैंकिङ तथा वित्तीय संस्था लगायत अनलाइन पेमेन्ट सेवा प्रदायकहरू, सञ्चार सेवा प्रदायकहरू बिच राम्रो समन्वय र प्रगाढ सम्बन्ध बनाउनु र व्यावहारिक समाधानहरू पहिचान गर्नुका साथै प्रविधिजन्य अपराध नियन्त्रण तथा अनुसन्धानको लागि क्षमता अभिवृद्धि गर्नु यस कार्यक्रमको उद्देश्य रहेको छ । 

आन्तरिक खेलकुद प्रतियोगिता समापन कार्यक्रम सम्पन्न
२०८३-०३-१०

काठमाडौं, “लागूऔषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस 26 June 2026” को अवसरमा आसरा सुधार केन्द्र रानीबारीमा आयोजित आन्तरिक खेलकुद प्रतियोगिता समापन कार्यक्रम सम्पन्न भएको छ ।आसरा सुधार केन्द्रकी अध्यक्ष श्रीमती नबिना खत्री कार्कीले केन्द्रमा बुधबार आयोजित कार्यक्रममा खेलकुद प्रतियोगिता अन्तर्गत बास्केटबल, क्यारिम बोर्ड, बुसे, क्रिकेट, संगीत, नृत्य, लेख रचना, टेबल टेनिस र चेसतर्फ विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा केन्द्रकी अध्यक्ष कार्कीले केन्द्रमा उपचाररत सदस्यहरू बीच आपसी भाइचारा तथा सदभाव कायम गरी मनोबल उच्च राख्न स्वस्थ प्रतिस्पर्धा गराई संचालन गरिएको आन्तरिक खेलकुद प्रतियोगितामा आफ्नो प्रतिभा देखाई विजयी भएका उपचाररत सदस्य खेलाडीहरूलाई बधाई दिनुभयो । केन्द्रकी अध्यक्ष कार्कीले ‘लागूऔषधको चुनौती चिनौं: सामाजिक समाधानको बाटो खोजौं’ भन्ने राष्ट्रिय नारालाई नारामा मात्र सीमित नराखी व्यवहारमा लागू गर्नुपर्ने आवश्कता रहेको बताउनुभयो । साथै यस केन्द्रमा उपचाररत सदस्यहरूले केन्द्रको बसाईको क्रममा प्राप्त गरेका असल शिक्षा र ज्ञानलाई आत्मसात गरी आफ्नो श्रीवृद्धिमा खर्चिनु पर्नेमा उहाँले जोड दिनुभयो ।केन्द्रकी सचिव श्रीमती रोजी तुलाधर अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरूद्वारा गीत संगीत, नृत्य एवम् कविता वाचन लगायत विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, केन्द्रका पदाधिकारीहरू, परामर्शदाताहरू, प्रहरी अधिकृतहरू समेतको उपस्थिति रहेको थियो ।