प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८३-०३-२६

  • A
  • A-
  • A+
Share

काठमाडौं, लागूऔषध मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-४ बस्ने सिन्धुपाल्चोलक त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका ३० वर्षीय भिमसेन वैजु र २३ वर्षीय विश्‍व वैजु रहेका छन् ।

जिल्ला अदालत काठमाडौंबाट २०८१ पुस ११ गते उक्त मुद्दामा २ वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना तथा थप ३ महिना कैद र १० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका भिमसेनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका-४ सितापाईलाबाट पक्राउ गरेको हो । साथै जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा २ वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना फैसला ठहर भई केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका विश्‍वलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरबाट पक्राउ गरेको हो ।

पक्राउ मध्ये विश्‍वलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौं पठाइएको छ भने भिमसेनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको छ ।


सम्बन्धित समाचार
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न तीन जना पक्राउ
२०८३-०५-२६

झापा, अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-४ बस्ने ४१ वर्षीय किरण कान्दङवा, ३८ वर्षीय हेक्की श्रेष्ठ र २७ वर्षीय उज्जवल गुरागाँई रहेका छन् ।  बिर्तामोड नगरपालिका-४ स्थित वृक्ष क्याफेको परिसरमा अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरू उपर जिल्ला अदालत झापाबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुन तथा चाँदीका गरगहना चोरी गर्ने तथा खरिद गर्ने चार जना पक्राउ
२०८३-०५-२५

काठमाडौं, सुन तथा चाँदीका गरगहना चोरी गर्ने तथा खरिद गर्ने कार्यमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ जडिबुटी बस्ने महोत्तरी गौशाला नगरपालिका-५ घर भएका २९ वर्षीया सावन कुशवाहा, तेह्रथुम आठराई गाउँपालिका-८ घर भएकी ३६ वर्षीया पबित्रा लिम्बु, दोलखा गौरीशंकर गाउँपालिका-५ घर भएका २५ वर्षीय श्रीकृष्ण विश्वकर्मा र काठमाडौ महानगरपालिका-३२ नरेफाँट बस्ने भोजपुर भोजपुर नगरपालिका-५ बोखिम घर भएका ४३ वर्षीया रमिला विक रहेका छन् । उनीहरू मध्ये उक्त गरगहना चोरी गर्ने सावन तथा गरगहना खरिद गर्ने पबित्रा, श्रीकृष्ण र रमिला रहेको खुल्न आएको छ ।  काठमाडौं महानगरपालिका-३२ नरेफाँटस्थित घरबाट गत साउन १८ गते सुन तथा चाँदीका गरगहनाहरू चोरी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहना समेत बरामद गरेको छ ।    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०५-२५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका लोकन्थली बस्ने सप्तरी सुरङ्गा नगरपालिका-५ घर भएका  २४ वर्षीय मोहमद नुरूलालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । महोमदले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर लोकन्थलीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।