प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्राफिक नियन्त्रण तथा रेखाचित्रण दोस्रो समूहको तालिम सञ्चालन

२०८३-०४-०४

  • A
  • A-
  • A+
Share

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा ट्राफिक नियन्त्रण तथा रेखाचित्रण (जु.प्र.अ देखि प्र.ज) दोस्रो समूहको तालिम सञ्चालन भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सोमबार आयोजित एक कार्यक्रममा सोही कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले तालिम उद्‍घाटन गर्दै सवारी दुर्घटनाको अनुसन्धानको सिलसिलामा सवारी दुर्घटनासँग सम्बन्धित विभिन्न किसिमका प्रमाणहरूलाई रेखाचित्रणको माध्यमबाट देखाउन सके अनुसन्धान सहज हुने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक शैलेन्द्र भट्टले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी वरिष्ठ नायव निरीक्षक ७ जना, प्रहरी नायव निरीक्षक ५ जना, प्रहरी सहायक निरीक्षक २ जना, प्रहरी वरिष्ठ हवल्दार २ जना, प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ११ जना र प्रहरी जवान १६ जना गरी कुल ४५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

सम्बन्धित समाचार
५० जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
२०८३-०४-०५

काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १५६औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले तालिमका दौरानमा हासिल गरेका ज्ञान सीपलाई कार्यक्षेत्रमा ईमानदारीपूर्वक कार्यान्वयन गर्दै प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गरी नागरिकलाई सहज र सुरक्षित ट्राफिक व्यवस्थापनको महशुस गराउनुपर्नेमा जोड  दिनुभयो ।   कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत जेठ ४ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार १८ जना र प्रहरी जवान ३२ जना गरी कुल ५० जना प्रशिक्षार्थीहरूले तालिम हासिल गरेको जानकारी दिनुभयो । 

UNCOPS समिटमा सहभागी भई प्रहरी महानिरीक्षक दान बहादुर कार्की स्वदेश फिर्ता
२०८३-०३-३१

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्की संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा असार २३ देखि २४ गतेसम्म संचालन भएको पाँचौं United Nations Chiefs of Police Summit (UNCOPS)  मा नेपालको तर्फबाट सहभागी भई बुधबार स्वदेश फर्कनुभएको छ । प्रहरी महानिरीक्षक कार्कीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो ।समिटको दौरानमा नेपालको तर्फबाट प्रहरी महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संयुक्त राष्ट्रसंघ तथा मित्रराष्ट्रहरूका विभिन्न उच्चपदस्थ अधिकारीहरूसँग द्विपक्षीय भेटघाट गर्नुभएको थियो ।उक्त समिटमा Reflection on the future of UN Police, Leveraging new technologies, Strengthening International cooperation, Strengthening UN Peace Keeping through Language Training, High Level Network on Gender Responsive Policing लगायतका एजेण्डामा छलफल भएको थियो ।  समिटमा सहभागी हुन प्रहरी महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल गत असार २१ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । 

Digital Action Dialogue परिसंवाद कार्यक्रम सम्पन्न
२०८३-०३-१९

काठमाडौं, समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘अपराध अनुसन्धानमा डिजिटल प्रविधिको प्रयोग’ लाई प्रभावकारिता प्रदान गर्ने उद्देश्यले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित Digital Action Dialogue,2026 परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले यस संवाद नेपालमा सुरक्षित, विश्वसनीय र उत्तरदायी डिजिटल वातावरण निर्माण गर्ने दिशामा कोसेढुङ्गो सावित हुनेछ र कार्यक्रमबाट ठोस व्यावहारिक तथा कार्यान्वयन योग्य निष्कर्षहरूले नेपालको साइबर सेक्युरिटी इकोसिस्टम तथा नेपाल प्रहरीको डिजिटल इन्भेस्टिगेसन क्षमतालाई अझ प्रभावकारी, उत्तरदायी  र प्रमाणमुखी बनाउनलाई महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । नागरिकको विश्वास नै प्रहरी संगठनको सबैभन्दा ठूलो पूँजी रहेको चर्चा गर्दै डिजिटल युगमा नागरिकको विश्वास कायम राख्न प्रविधिमैत्री, पारदर्शी, जवाफदेही र नागरिकमैत्री सेवा प्रवाहलाई प्रहरीले निरन्तर परिष्कृत गर्दै लगिरहेको बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले साइबर अपराध विरूद्धको लडाई कुनै एक निकायको एकल प्रयासबाट मात्रै सम्भव नहुने, बैंकिङ तथा भुक्तानी प्रणालीको तथ्याङ्क समयमै प्राप्त नहुँदा शंकास्पद कारोबार तत्काल रोक्का हुन नसक्दा र भरपर्दो एवम् छरितो सूचनाको आदान प्रदानको अभावमा अपेक्षित परिणाम हासिल गर्न नसकिने उल्लेख गर्दै वित्तीय संस्था तथा भुक्तानी सेवासँग समयमै तथ्याङ्क आदान प्रदान, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकसँग समन्वय एवम् नियामक निकायहरूसँग हुने नीतिगत समन्वयको सुदृढ खाका निर्माण नै आजको प्रमुख आवश्यकता रहेको बताउनुभयो । साइबर सुरक्षा विज्ञ, अनुसन्धानकर्ता र प्राज्ञिक क्षेत्रसँगको सहकार्यले विश्वव्यापी असल अभ्यास र थ्रेट इन्टेलिजेन्समा पहुँच दिलाउने समेत उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले सार्वजनिक-निजी साझेदारी नै सुरक्षित डिजिटल नेपालको आधारशिला भएको चर्चा गर्दै आजको छलफल समस्याको वर्णनमा सीमित नभई व्यावसायिक, व्यावहारिक, समाधान, अनुसन्धानको आधुनिकीकरण, क्षमताको अभिवृद्धि, कानुनी तथा नीतिगत सुधारका सम्भावित दिशाहरू र सार्वजनिक-निजी सहकार्यलाई थप सुदृढ बनाउने बताउनुभयो । छलफलका निष्कर्षहरूले चुनौतीहरूको पहिचान गर्नुका साथसाथै अल्पकालीन, मध्यकालीन एवम् दीर्घकालीन प्राथमिकता सहितको कार्ययोजना, सरोकारवालाहरूको प्रतिबद्धता र संस्थागत समन्वय संयन्त्रको स्पष्ट मार्गचित्र प्रस्तुत गर्ने विश्वास लिएको उहाँले बताउनुभयो । साथै यस दस्तावेज औपचारिकतामा मात्र सीमित नभई हामी सबैले अपनत्व गर्ने, कार्यान्वयन गर्ने साझा प्रतिबद्धताको दस्तावेज हुनेछ र नेपाल प्रहरी आफ्नो तर्फबाट आवश्यक संरचनागत, प्रविधिगत र व्यवस्थापकीय सुधारका लागि सदैव तत्पर एवम् प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयो । नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले धन्यवाद सहित समापन मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सूचना प्रविधि निर्देशनालयका प्रहरी नायव महानिरीक्षक अरूण कुमार भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै परिसंवादको उद्देश्य बारे जानकारी दिनुभएको थियो ।   कार्यक्रममा राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक राज कुमार महर्जनले National Cyber policy, Opportunities and Limitations सम्बन्धी, Cryptogen Nepal प्रालिका Chief Technology Officer निर्मल दाहालले Private Sector Perspectives Towards Emerging Cyber Threats सम्बन्धी, साइबर ब्यूरोका प्रहरी नायव उपरीक्षक उमेश प्रसाद साहले साइबर अपराधको वर्तमान अवस्था, देखिएको चुनौतीहरू तथा नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयका प्रहरी नायव उपरीक्षक जित नारायण यादवले Strengthening Enterprise Cyber Resillence सम्बन्धी आ-आफनो प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा अनलाइन ठगी बढ्नुको कारण अनुसन्धानमा प्रहरीले भोगेका चुनौतीहरू, अनुसन्धान सहज गर्न आवश्यक अप्रेश्‍नल डेटा लगायत कानुनी र नीतिगत उपाय तथा समाधानका सम्बन्ध लगायतका विषयमा वृहत्त छलफल समेत भएको थियो । उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, केन्द्रीय प्रहरी प्रवक्ता लगायत प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागका प्रतिनिधिहरू, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, भुक्तानी सेवा प्रदायक, टेलिकम सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक, डाटा सेन्टर सेवा प्रदायकका प्रतिनिधिहरू, साइबर सुरक्षा विज्ञहरू, विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू एवम् मातहत मुद्दा चल्ने प्रहरी इकाईहरूका प्रमुख एवम् प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।  बढ्दो साइबर अपराध, अनलाइन ठगी, प्रविधिको दुरूपयोगबाट भइरहेको विभिन्न आपराधिक क्रियाकलापहरूको पहिचान र रोकथामको लागि नेपाल प्रहरी लगायत अन्य सरोकारवाला निकायहरूको समेत साथ र सहयोग आवश्यकता रहेको सन्दर्भमा समुदाय-प्रहरी साझेदारी अवधारणालाई आत्मसात् गर्दै कानुन कार्यान्वयन गर्ने निकायहरू, नियामक निकायहरू, अनलाइन सेवा प्रदायकहरू, बैंकिङ तथा वित्तीय संस्था लगायत अनलाइन पेमेन्ट सेवा प्रदायकहरू, सञ्चार सेवा प्रदायकहरू बिच राम्रो समन्वय र प्रगाढ सम्बन्ध बनाउनु र व्यावहारिक समाधानहरू पहिचान गर्नुका साथै प्रविधिजन्य अपराध नियन्त्रण तथा अनुसन्धानको लागि क्षमता अभिवृद्धि गर्नु यस कार्यक्रमको उद्देश्य रहेको छ । 

आन्तरिक खेलकुद प्रतियोगिता समापन कार्यक्रम सम्पन्न
२०८३-०३-१०

काठमाडौं, “लागूऔषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस 26 June 2026” को अवसरमा आसरा सुधार केन्द्र रानीबारीमा आयोजित आन्तरिक खेलकुद प्रतियोगिता समापन कार्यक्रम सम्पन्न भएको छ ।आसरा सुधार केन्द्रकी अध्यक्ष श्रीमती नबिना खत्री कार्कीले केन्द्रमा बुधबार आयोजित कार्यक्रममा खेलकुद प्रतियोगिता अन्तर्गत बास्केटबल, क्यारिम बोर्ड, बुसे, क्रिकेट, संगीत, नृत्य, लेख रचना, टेबल टेनिस र चेसतर्फ विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा केन्द्रकी अध्यक्ष कार्कीले केन्द्रमा उपचाररत सदस्यहरू बीच आपसी भाइचारा तथा सदभाव कायम गरी मनोबल उच्च राख्न स्वस्थ प्रतिस्पर्धा गराई संचालन गरिएको आन्तरिक खेलकुद प्रतियोगितामा आफ्नो प्रतिभा देखाई विजयी भएका उपचाररत सदस्य खेलाडीहरूलाई बधाई दिनुभयो । केन्द्रकी अध्यक्ष कार्कीले ‘लागूऔषधको चुनौती चिनौं: सामाजिक समाधानको बाटो खोजौं’ भन्ने राष्ट्रिय नारालाई नारामा मात्र सीमित नराखी व्यवहारमा लागू गर्नुपर्ने आवश्कता रहेको बताउनुभयो । साथै यस केन्द्रमा उपचाररत सदस्यहरूले केन्द्रको बसाईको क्रममा प्राप्त गरेका असल शिक्षा र ज्ञानलाई आत्मसात गरी आफ्नो श्रीवृद्धिमा खर्चिनु पर्नेमा उहाँले जोड दिनुभयो ।केन्द्रकी सचिव श्रीमती रोजी तुलाधर अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरूद्वारा गीत संगीत, नृत्य एवम् कविता वाचन लगायत विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, केन्द्रका पदाधिकारीहरू, परामर्शदाताहरू, प्रहरी अधिकृतहरू समेतको उपस्थिति रहेको थियो । 

३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम प्रदान
२०८३-०३-०९

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम १७ औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । तालिम समापनको अवसरमा सोही महाशाखामा मंगलबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक बिनोद सिलवालले प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक सिलवालले तालिमबाट प्राप्त व्यावसायिक ज्ञान र सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत वैशाख २८  गतेबाट संचालित ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी सहायक हवल्दार १३ जना र प्रहरी जवान १६ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान
२०८३-०३-०४

काठमाडौं, नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीले ३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा ३९ औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । उक्त तालिम समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा उहाँले विपद् उद्दारकर्मीको रूपमा खटिँदा संवेदनशील, साहसी र अग्रसर भई आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने उल्लेख गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक गणेश बहादुर बरालले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै वैशाख ३ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक ४ जना, प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान २३ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।