लुटपाटमा संलग्न तीन जना पक्राउ
२०८३-०६-२२
- A
- A-
- A+
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी तथा हातहतियार देखाई सुनका गरगहना लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं कलंकी ढुङ्गेअड्डा बस्ने सिन्धुली मरिण गाउँपालिका-५ घर भएका २६ वर्षीय आयन माझी, भक्तपुर मध्यपुर थिमि नगरपालिका-४ बस्ने मकवानपुर बकैया गाउँपालिका-७ घर भएका ३६ वर्षीय मनोज कुमार मोक्तान र ३४ वर्षीय राकेश थिङ रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले आयनलाई काठमाडौं महानगरपालिका-३२ स्थित जडीबुटी पुल नजिकबाट तथा मनोज कुमार र राकेशलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-४ बाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले अल्फाबेट नखुलेको ५७६३ नम्बरको मोटरसाइकलमा सवार भई गत असोज १३ गते राति काठमाडौं महानगरपालिका-१५ डल्लु चौतारास्थित सडक खण्डमा बागमती प्रदेश ०१-०२९ च ९०६० नम्बरको कारमा बसिरहेका पीडितको साढे तीन तोलाको सिक्री लुटपाट गरेको र गत असोज १४ गते राति काठमाडौं बौद्ध गेट नम्बर २ नजिकबाट तरकारी किन्न जान लागेका पीडितको नगद २ लाख रूपैयाँ समेत लुटपाट गरेको खुल्न आएको छ । यसैगरी उनीहरूले बिहानको समयमा सर्वसाधारणहरूसँग ठेगाना सोध्ने बहाना बनाई सिक्री लुटपाट गर्ने गरेको, इनड्राइभ तथा पठाओको बहाना गरी राति र बिहान अध्यारोको समयमा एक्लै मर्निङ्ग वाक हिँड्ने तथा तरकारी किन्न जाने महिला तथा पुरूषहरूलाई लक्षित गरी लुटपाट गर्ने गरेको तथा लुटपाट गर्न चोरी गरेका मोटरसाइकलहरूको प्रयोग गर्ने गरेको समेत खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।