अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८३-०६-२४
- A
- A-
- A+
काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय २६ ट्याब्लेट र नाइट्राजेपाम ३ हजार ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जीतपुरसिमरा उपमहानगरपालिका-१४ घर भएका २२ वर्षीय अनन्त चौधरी र नुवाकोट तादी गाउँपालिका-४ घर भएकी २२ वर्षीया ईसिका थापा रहेका छन् । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ३६१९ नम्बरको सुमोलाई जाँच गर्नेक्रमा सुमोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, काठमाडौं महानगरपालिका-३१ संगम चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय १० मिलिग्राम सहित सोही महानगरपालिका-२९ मैतिदेवी बस्ने कैलाली टिकापुर नगरपालिका-१ घर भएका २१ वर्षीय अमन स्वार समेत ४ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ३० मिलिग्राम सहित लेटाङ नगरपालिका-५ बस्ने ३० वर्षीय विशेष मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३१ प २४७७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, रंगेली नगरपालिका-८ झमनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम १ सय मिलिग्राम सहित कानेपोखरी गाउँपालिका-७ बस्ने २१ वर्षीय अर्पन जोगी समेत ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले रंगेलीबाट कानेपोखरीतर्फ जाँदै गरेको को.२ ह ४१८२ नम्बरको सिटी सफारी जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक अर्पन समेत अटोमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८६ मिलिग्राम सहित मोरङ केराबारी गाउँपालिका-३ बस्ने २४ वर्षीय सुमन राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ४० मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय भविन प्रधान, ३० वर्षीय रबिन कुमार प्रधान र सोही उपमहानगरपालिका-३ बस्ने ३१ वर्षीय मुकेन्द्र कुमार राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर बाइपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट छेडागाड नगरपालिका-१० घर भएका २२ वर्षीय कृष्ण जंग शाह र सुर्खेत भेरीगंगा नगरपालिका-४ घर भएका २७ वर्षीय पुरन बुढा मगर रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम र नगद १२ हजार ५ सय रूपैयाँ सहित सोही उपमहानगपालिका-१२ पदमपोखरी बस्ने २८ वर्षीय सुदास लोप्चनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
ललितपुर, महालक्ष्मी नगरपालिका-६ सानागाउँबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७२ ट्याब्लेट सहित सोही ठाउँ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ घर भएका २४ वर्षीय सुजन सुनारलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।