अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०६-२५
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-१८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५२ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य अररिया जोगबनी कुश्मा-७ बस्ने १९ वर्षीय राजेश कुमार राय र ३५ वर्षीय राधा कृष्ण राय रहेका छन् । इलाका प्रहरी कार्यलाय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, कानेपोखरी गाउँपालिका-७ कानेपोखरीबाट अवैध लागूऔषध गाँजा करिब १ किलो १८ ग्राम सहित धनकुटा सहिदभूमि गाउँपालिका-२ बस्ने २२ वर्षीय मुस्कान राईलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१३ तल्लो गैसारबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय २६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २७ वर्षीय सुनिल सरदारलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खनारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-९ हाटखोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय रिकेश चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-२५ सिर्सियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही महानगरपालिका-३ बस्ने २९ वर्षीय फैयाज अन्सारी समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छप्कैया समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका मधेश प्रदेश ०३-०४१ प ४०२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय १० मिलिग्राम सहित सोही महानगरपालिका-१५ बस्ने १९ वर्षीय सिधान्त सिंह समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छपकैयाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.१६ प ४०३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ८० मिलिग्राम सहित मकवानपुर हेटौंडा उमहानगरपालिका-२ संगमचोक बस्ने २० वर्षीय राजु मानन्धरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, रोहिणी गाउँपालिका-५ तकडीहवाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५ सय एम्पुल, बुप्रेनोर्फिन ५ सय एम्पुल र फेनारगन ५ सय एम्पुल सहित भारत उत्तर प्रदेश महारजगंज नौतन्वा पर्सा थाना बस्ने १७ वर्षीय किशोरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय २० मिलिग्राम सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ शान्ति टोल बस्ने २३ वर्षीय कर्ण मर्स्याङ्दी मगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, गुलरिया नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-१० बस्ने २५ वर्षीय दिपेश चौधरीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको भे.९ प ४७५४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
चितवन, रत्ननगर नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३६ ट्याब्लेट र अवैध लागूऔषध गाँजा करिब १ सय ३४ ग्राम सहित सोही नगरपालिका-२ बस्ने २९ वर्षीय डेभिड खड्कालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।