प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ

२०८२-०३-०६

  • A
  • A-
  • A+
Share

तनहुँ, देवघाट गाउँपालिका-५ बद्रीमुक्ती टोल बस्ने ३२ वर्षीय प्रकाश पौडेलको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने पाल्पा तानसेन नगरपालिका-८ नयाँपाटी घर भएका २८ वर्षीय बुद्ध सारू मगर र मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ हटिया घर भएका ४३ वर्षीय राम लामा रहेका छन् । बिहीबार बिहान आफ्नै घर नजिकै सडकमा प्रकाशलाई लडिरहेको अवस्थामा देखि स्थानीयहरूले उपचारको लागि भरतपुर सरकारी अस्तपाल चितवन लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको अनुसन्धानको क्रममा राम, बुद्ध र हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६५ वर्षीय जोगी भनि बोलाउने पुरूषले प्रकाशलाई कुटपिट गरेको भन्ने खुल्न आएपश्चात इलाका प्रहरी कार्यालय आँबुखैरेनी र इलाका प्रहरी कार्यालय देवघाटबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न मध्ये राम र बुद्धलाई पक्राउ गरेको हो । घटनामा संलग्न हाल फरार १ जनाको प्रहरीले खोजी गरिरहेको छ । 

मकवानपुर, थाहा नगरपालिका-१ कुन्छाल बस्ने ५० वर्षीया तुलमाया गोपालीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय बिमलमान गोपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिमलमानले धारिलो हतियार खुकुरी प्रहार गर्दा तुलमायाको घटनास्थलमै मृत्यु भएको भन्न खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पालुङ, इलाका प्रहरी कार्यालय भिमफेदी समेतबाट खटिएको प्रहरीले उनलाई थाहा नगरपालिका-३ थानाबजारबाट पक्राउ गरेको हो । 

झापा, कमल गाउँपालिका-४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्य बिक्रम लिम्बुको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३७ वर्षीय देबेन्द्र लावतीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । देबेन्द्रले विवादको क्रममा बिहीबार साँझ ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका सूर्य बिक्रमको न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
शिक्षा ऐन अन्तर्गत कसुरमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ
२०८३-०४-११

काठमाडौं, शिक्षा ऐन, २०२८ अन्तर्गत कसुरमा संलग्न रहेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ बस्ने कैलाली घोडाघोडी नगरपालिका-११ घर भएका ३३ वर्षीय संदिप सिंहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले उनलाई मध्यपुर थिमी नगरपालिका-१ बाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले गत ८ गते त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायतर्फको एमबिएस प्रथम सेमेष्टरको MGT 515: Organizational Behaviour विषय परीक्षाको प्रश्नपत्र विभिन्न वाट्सएप समुहहरूमा साझा गरेको खुल्न आएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अनलाइन स्क्याम गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
२०८३-०४-०९

कास्की, अनलाइन स्क्याम गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी कञ्चनपुर नगरपालिका-१२ बस्ने २६ वर्षीय विवेक रेग्मी र भारत कर्नाटक महेश्वर शान्तिनगर बस्ने ३० वर्षीय Mohammed Yasheer रहेका छन् ।  पोखरा महानगरपालिका-५ प्रस्याङस्थित घर भाडामा लिई भारतीय नागरिक सहितका व्यक्तिहरूले एसिया र युरोप महादेशका देशहरूमा घुम्न लैजाने भन्दै स्क्याम गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले Oasis Tourism International नामको संस्था स्थापना गरी १५ जना युवायुवतीहरूलाई समेत खटाई अनलाइन माध्यमबाट र फोनबाट विभिन्न व्यक्तिहरूलाई सम्पर्क गरी 3N/4D Holiday voucher fill & win register & win assured gift लेखिएको coupon भर्न लगाई रकम उठाउने गरेको र हालसम्म ३० जना व्यक्तिहरूलाई एसिया र युरोप महादेशका विभिन्न देशमा visit गराउने भन्ने प्रलोभनमा पारी उक्त coupon भर्न लगाई ९ लाख ६५ हजार रूपैयाँ ठगी गरिसकेको समेत खुल्न आएको छ । साथै प्रहरीले उनीहरूको साथबाट कम्प्युटर २ थान, विभिन्न रजिष्टर तथा रेकर्ड बुक ८ थान, कुपन रसिद ६ थान, स्ट्याम्प छाप ४ थान र विभिन्न व्यक्तिहरूको नाममा काटिएका कुपनहरूको अर्धकट्टी समेत बरामद गरेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लुटपाटमा संलग्न व्यक्ति पक्राउ
२०८३-०४-०९

काठमाडौं, लुटपाटमा संलग्न रहेको अभियोगमा काभ्रे पनौती नगरपालिका-५ बस्ने ओखलढुंगा घर भएकी ४७ वर्षीया संगिता तामाङ कार्कीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलस्थित जग्गा हेर्न भनि बोलाई एक होटलमा खाजा खाने क्रममा पीडितलाई फ्रुटीमा नसालु पदार्थ मिसावट गरी सेवन गराई बेहोस बनाई सुनको औँठी, नगद र मोबाइल समेत लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय बनेपाको समन्वयमा उक्त कार्यमा संलग्न उनलाई काभ्रे पनौती नगरपालिका-५ चौकोटबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।  

न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०४-०९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-१० बस्ने रूपन्देही घर भएका ५१ वर्षीय राज कुमार भण्डारी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ बस्ने ओखलढुंगा घर भएका २९ वर्षीय सुरेश घिमिरे रहेका छन् । पक्राउ मध्ये राज कुमारले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रूपैयाँ र सुरेशले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राज कुमारलाई काठमाडौं तारकेश्वर नगरपालिका-१० बाट र सुरेशलाई काठमाडौं महानगरपालिका-७ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ ।   

आयुर्वेदिक औषधिहरू गैरकानुनी रूपमा उत्पादन तथा बिक्री वितरण गर्ने पाँच जना पक्राउ
२०८३-०४-०८

काठमाडौं, आयुर्वेदिक औषधिहरू गैरकानुनी रूपमा उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा संलग्न रहेको अभियोगमा ५ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौ कीर्तिपुर नगरपालिका-१ अमृतनगर बस्ने प्युठान घर भएका २६ वर्षीय राम प्रसाद पोख्रेल, ललितपुर महालक्ष्मी नगरपालिका-५ ‍टिकाथली बस्ने ताप्लेजुङ घर भएका २९ वर्षीय आईतमान ताम्लिङ लिम्बु, ३३ वर्षीय उज्वल लिम्बु, ललितपुर महानगरपालिका-७ घर भएका ४२ वर्षीय सन्दिप महर्जन र काठमाडौं टोखा बस्ने नुवाकोट घर भएका ४१ वर्षीय गोकर्ण अर्याल रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौंबाट खटिएको प्रहरी उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट Silver 6 WARM THERAPY OIL, JAIPHAL MIXED OIL, ALOEVERA SKIN SERUM, GOLDEN XXX CAMANDO POWER क्याप्सुल लगायतका विभिन्न आयुर्वेदिक औषधिहरू बरामद गरेको छ ।प्रहरीले उनीहरूलाई आवश्यक कारबाहीको लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पठाइएको छ ।