अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८२-०१-०५
- A
- A-
- A+
कपिलवस्तु, वाणगंगा नगरपालिका-४ दरखास्तबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १ ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया गुलरीया नगरपालिका-५ बस्ने ३१ वर्षीय विशाल गुप्ता र भारत उत्तर प्रदेश बराईज घर भएका ३२ वर्षीय अमित पटवाल रहेका छन् । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको भे.१२ प १७८७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
सुनसरी, कोशी गाउँपालिका-१ पुरीटोल र भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३४ ग्राम ५७ मिलिग्राम सहित रामधुनी नगरपालिका-५ झुम्का बस्ने २० वर्षीय करण चौधरी समेत ११ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-११ वानडाँडास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेट सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय रोशन राई र ३७ वर्षीय मिमाहाङ लिम्बु रहेका छन् । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
पर्सा, जिराभवानी गाउँपालिका-६ नौका चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ८ सय ८६ ट्याब्लेट सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ बस्ने २५ वर्षीय दिलिप प्रसाद राम र २२ वर्षीय राज बिद्या प्रसाद खाँ थारू रहेका छन् । इलाका प्रहरी कार्यालय सेढवा र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले ना.१२ प २१०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका-९ बस्ने २३ वर्षीय टेक बहादुर पुन र २३ वर्षीय अमित सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भारतको बलईगाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ बस्ने ३० वर्षीय अभिषेक शाह र कैलारी गाउँपालिका-७ बस्ने ४२ वर्षीय श्याम बहादुर चौधरी रहेका छन् । वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१० प ८९४८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।