प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : गृह मन्त्रालय कार्यक्रम
गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०८-२९

काठमाडौं, गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा सोमबार आयोजित कार्यक्रमबीच एक दिवसीय गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ कास्कीको पोखरामा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।उक्त अवसरमा गृहमन्त्री अर्यालले सुशासन र भ्रष्टाचार निर्मूल गर्ने एवम् तोकिएको समयमा निर्वाचन सम्पन्न गरी जनतालाई नयाँ नेतृत्व प्रदान गर्नु वर्तमान सरकारको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै उक्त पूर्वनिर्धारित कार्य पुरा गर्न आवश्यक सुरक्षा व्यवस्थापनको कार्य भइरहेको बताउनुभयो । स्वच्छ निर्वाचननै लोकतन्त्रको प्रमुख मर्म रहेकोले यसका लागि आवश्यक छलफलको लागि सरकार सदैव तयार रहेको बताउँदै गृहमन्त्री अर्यालले सुरक्षा चुनौतीलाई मध्यनजर गरी जेनजी आन्दोलनमा लुटिएका हतियारहरू फिर्ता गर्न र कारागारबाट भागेका कैदीबन्दीहरूलाई फिर्ता गर्न मन्त्रालयले विशेष अपरेशन चलाइरहेको बताउनुभयो ।सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेरिएको राजनीतिक परिस्थिति र थपिएको सुरक्षा चुनौतीलाई सम्बोधन गर्न सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउँदै प्रभावकारी सुरक्षा योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा शान्ति सुरक्षा कायम गर्नुका साथै अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रहरीले न्यून साधनस्रोतका वावजुद उच्च मनोबलका साथ कार्यसम्पादन गर्दै आइरहेको बताउनुभयो । समाजमा देखापरेका सुरक्षा चुनौतीहरूको सामना गर्न प्रहरी सदैव तयार रहेको बताउँदै गोष्ठीबाट प्राप्त भएका निर्देशन तथा पृष्ठपोषणको उच्चतम सदुपयोग गरी प्रदेश अन्तर्गत प्रभावकारी सुरक्षा व्यवस्थापन र आसन्न निर्वाचन सुरक्षामा प्रदेशस्तरीय निकायहरूबीच प्रभावकारी सहकार्य तथा समन्वयका साथ कार्यसम्पदान गर्ने उहाँले बताउनुभयो । नेपाली सेनाका रथी गणेश कुमार श्रेष्ठ, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव गोविन्द रिजाल, गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे लगायतले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा गण्डकी प्रदेश अन्तर्गत ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा गण्डकी प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव रामेश्वर दंगालले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा गण्डकी प्रदेश अन्तर्गत ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०८-१६

काठमाडौं, गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा मंगलबार आयोजित कार्यक्रमबीच एक दिवसीय सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ कैलालीको धनगढीमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।उक्त अवसरमा गृहमन्त्री अर्यालले जनताहरूलाई सुरक्षाको अनुभूति दिन, प्रभावकारी सेवा प्रवाह र सुशासन स्थापित गर्न यो गोष्ठी सफल हुने विश्वास व्यक्त गर्नुभयो । विधिको शासन र भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई अबलम्बन गर्दै आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सरकारको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै देखिएका सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायहरूबीचको सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनुपर्ने उहाँले बताउनुभयो । सीमित स्रोत र साधनको बाबजुद सुरक्षा निकायहरूले निर्वाह गरेका कार्यहरू प्रशंसनीय रहेको चर्चा गर्दै सुरक्षा निकायहरूलाई अझ व्यावसायिक र साधन स्रोत सम्पन्न बनाउन आफ्नो साथ र सहयोग निरन्तर रहि रहने समेत उहाँले बताउनुभयो । सो अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की र सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव बैकुण्ठ प्रसाद अर्यालले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभयो ।गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रदेशको वर्तमान सुरक्षा अवस्था र अपराध सम्बन्धी प्रमुख समस्या तथा चुनौतीहरूको पहिचान गरी ती चुनौतीहरूको सम्बोधनको लागि उपयुक्त रणनीति तर्जुमा गर्न गोष्ठी उपलब्धीमूलक भएको बताउनुभयो । गोष्ठीबाट प्राप्त भएको निर्देशन तथा पृष्ठपोषणको उच्चतम सदुपयोग गर्दै प्रदेश अन्तर्गत प्रभावकारी सुरक्षा व्यवस्थापन गर्न तथा आसन्न निर्वाचन सुरक्षामा प्रदेशस्तरीय निकायहरूबीच प्रभावकारी सहकार्य तथा समन्वय गरी कार्यसम्पदान गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।  नेपाली सेनाका रथी प्रदीप जंग केसी, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव आनन्द काफ्लेले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा गृह मन्त्रालयका सहसचिव काली प्रसाद पराजुलीले स्वागत मन्तव्य सहित कार्यक्रमको उदेश्य बारे प्रकाश पार्नुभएको थियो । गोष्ठीमा सुदूरपश्चिम प्रदेश अन्तर्गत ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा सुदूरपश्चिम प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव रामेश्वर दंगालले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा सुदूरपश्चिम प्रदेश अन्तर्गत ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०८-०९

काठमाडौं, गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा मंगलबार आयोजित कार्यक्रमबीच एक दिवसीय लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ रूपन्देहीको भैरहवामा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।उक्त अवसरमा गृहमन्त्री अर्यालले गोष्ठी परिणाममुखी हुनुपर्नेमा जोड दिँदै गोष्ठीले प्रदेशको शान्ति सुरक्षाको स्थिति विश्लेषण गरेर प्रत्येक जिल्लामा शान्ति सुरक्षामा देखा परेका चुनौतीहरूलाई सम्बोधन गर्दै प्रदेशमा शान्ति सुरक्षाको स्थितिलाई पूर्णरूपले सुनिश्चित गर्ने विश्वास व्यक्त गर्नुभयो । राजश्व चुहावट नियन्त्रणमा शुन्य सहनशीलताको नीति अबलम्बन गरी व्यावसायिक ढंगले कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै आसन्न चुनावलाई निष्पक्ष र शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गर्न आवश्यक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउनुपर्ने उहाँले बताउनुभयो ।सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद काप्रीले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभयो ।गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रदेशमा देखिएका सुरक्षा चुनौतीहरूको पहिचान गरी उपयुक्त रणनीतिको तर्जुमा गर्दै ती चुनौतीहरूको सम्बोधन गर्न तथा एकीकृत र समन्वयात्मक रूपमा काम गर्नको लागि आयोजना गरिएको यस गोष्ठी महत्वपूर्ण र उपलब्धिमुलक भएको बताउनुभयो । सीमा अपराध, साइबर अपराध, वित्तीय अपराध, आत्महत्या, सवारी दुर्घटना र विपतजन्य घटनाहरू लगायत विभिन्न सामाजिक अपराधहरू चुनौतीको रूपमा देखा परेको हुँदा त्यस्ता चुनौतीहरूलाई न्यूनीकरण तथा नियन्त्रण गर्न सचेतना, समायानुकुल प्रविधिको विकास, स्रोतसाधन र क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । प्रदेशस्तरीय निकायहरूबीच प्रभावकारी समन्वय र सहकार्य गरी प्रदेशको समग्र सुरक्षा व्यवस्था मजबुत पार्न तथा आसन्न निर्वाचनलाई लक्षित गरी प्रभावकारी सुरक्षा व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सो अवसरमा नेपाली सेनाका रथी प्रदीप जंग केसी, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव आनन्द काफ्लेले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा लुम्बिनी प्रदेश अन्तर्गत १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा लुम्बिनी प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव रामेश्वर दंगालले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा लुम्बिनी प्रदेश अन्तर्गत १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

गृह मन्त्रालयद्वारा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गको बिदाइ
२०८२-०७-२६

काठमाडौं, गृहमन्त्री ओम प्रकाश अर्यालले बुधबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रममा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गलाई शुभकामना सहित बिदाइ गर्नुभयो । उक्त अवसरमा गृहमन्त्री अर्यालले ३० वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक खापुङ्गलाई बधाई दिँदै सेवा निवृत्त पछिको व्यावसायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक खापुङ्गले अवकाश पछिको दिनमा पनि प्रहरी संगठनलाई सुदृढ गर्न एवम् देशको आन्तरिक सुरक्षालाई सुदृढ गर्नको लागि योगदान दिनुहुनेछ भन्ने अपेक्षा रहेको उहाँले उल्लेख गर्नुभयो ।   कार्यक्रममा गृहसचिव रामेश्वर दंगालले सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक खापुङ्गले ३० वर्ष प्रहरी सेवामा रहेर नेपाल र नेपाली जनतालाई पुर्‍याउनु भएको अमुल्य योगदानको प्रशंसा गर्नुभयो । आगामी दिनमा मुलुकमा शान्ति सुरक्षा कायम गर्न प्रहरी महानिरीक्षक खापुङ्गले प्राप्त गरेका अनुभव समेत प्राप्त भइरहने अपेक्षा रहेको बताउँदै सेवा निवृत्त जीवन अझ बढि स्वस्थ, रचनात्मक र क्रियाशील रहोस् भन्ने शुभकामना समेत उहाँले दिनुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले प्रहरी सेवामा रहँदा आफ्नो अनुभव सहितको मन्तव्य व्यक्त गर्दै नेपाल सरकार, गृहमन्त्रालयबाट प्राप्त भएको अभिभावकत्व, हौसला र मार्गनिर्देशनका साथै मन्त्रालयबाट भएको समन्वय, सहकार्य र सद्‌भाव प्रति कृतज्ञता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।

हर चुनौतीलाई अवसरमा बदल्न सक्ने सक्षम प्रहरी नै आजको आवश्यकता - गृहमन्त्री ओमप्रकाश अर्याल
२०८२-०६-३०

काठमाडौं, ३१ असोज, गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रति जनताको अपेक्षाको बढोत्तरी सँगै हर चुनौतीलाई अवसरमा बदल्न सक्ने सक्षम प्रहरी नै आजको आवश्यकता रहेको बताउनुभएको छ । साथै उहाँले उक्त आवश्यकता पूर्तिको लागि परम्परागत पद्धतिलाई अक्षुण राख्दै आधुनिक प्रविधिसँग प्रभावकारी मिश्रण गरी छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड समेत दिनुभयो । ७०औं प्रहरी दिवसको अवसरमा शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले उक्त कुरा बताउनुभएको हो ।  समारोहमा गृहमन्त्री अर्यालले अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक कृष्ण बहादुर रानालाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गर्नुभयो । साथै उहाँले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टलाई ‘पूर्ण शान्ति पुरस्कार’, नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीलाई ‘मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ र नेपाल प्रहरी अनाश्रित गुल्म डिल्लीबजारका प्रहरी निरीक्षक दुर्गा राईलाई ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’ प्रदान गर्नुभयो । सो अवसरमा गृहमन्त्री अर्यालले सुनसरी इनरूवा नगरपालिका-१ का अमर प्रहरी स्वर्गीय प्रहरी हवल्दार बेदराज भण्डारीकी छोरी वेनिका भण्डारी र मोरङ रतुवामाई नगरपालिका-५ का अमर प्रहरी स्वर्गीय प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको छोरा निखिल ठाकुरलाई अच्युत-मिना अमर प्रहरी पुरस्कार तथा बैतडी शिवनाथ गाँउपालिका-२ का अमर प्रहरी जवान शेर सिंह साउदको छोरा अनिल साउद र अछाम बान्नीगढी जयगढ गाँउपालिका-५ का अमर प्रहरी जवान राम बहादुर साउदको छोरी नविना साउदलाई अच्युत-मिना अमर प्रहरी छात्रवृत्ति प्रदान गर्नुभयो । साथै उहाँले नुवाकोट विदुर नगरपालिका-११ का अशक्त प्रहरी नायव निरीक्षक हित बहादुर तामाङकी छोरी आशिका लामा र सर्लाही विष्णु गाउँपालिका-६ का अमर प्रहरी जवान विन्देश्वर साहको छोरा अनजय कुमार साहलाई मोति कला मिथिला अमर प्रहरी छात्रवृत्ति प्रदान गर्नुभयो ।   सो अवसरमा गृहमन्त्री अर्यालले नेपाल प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुको साथै कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका आश्रित परिवारहरूलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले “प्रहरी दर्पण २०८२” को लोकार्पण एवम् नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषहरूको विवरण समेटिएको “प्रहरी स्मारिका, २०८२” को लोकार्पण समेत गर्नुभयो । ‍  समारोहलाई सम्बोधनको क्रममा गृहमन्त्री अर्यालले अभाव, प्रभाव र दबाबको बाबजुद हरेक विषम परिस्थितिलाई प्रहरी संगठनले दृढतापूर्वक सामना गर्दै राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक वहन गर्दै आएको चर्चा गर्दै आमनागरिक र राज्यले सामना गरेका हरेक विषम परिस्थितिमा निस्वार्थ सेवाभावका साथ प्रभावकारी कार्यसम्पादन गरेको बताउनुभयो । निष्पक्ष अनुसन्धान र प्रचलित कानुनको कार्यान्वयन कानुनी राज्यका आधार भएको र निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिलाउनको साथै राज्यमा दण्डहीनताको अन्त्य समेत गर्ने उल्लेख गर्दै नेपाल प्रहरीले कुनै स्वार्थ तथा शक्तिको प्रभाव र दबाबमा नपरी आचरण, व्यवहार र सेवा प्रवाहका विविध पक्षमा सुधार गर्दै निष्पक्ष अनुसन्धानमा केन्द्रीत हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । गृहमन्त्री अर्यालले वर्तमान विश्वमा भएका नवीनतम आविष्कारहरू, प्रविधिमा देखिएको द्रुत विकास र यसको बढ्दो प्रयोगले नयाँ प्रकृतिका अपराधहरू बढ्दै गएको र अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको उल्लेख गर्दै त्यस्ता अपराधहरूको नियन्त्रण, रोकथाम तथा सफल अनुसन्धान गर्न नेपाल प्रहरी हरदम तयार हुनुपर्ने बताउनुभयो । साथै बदलिएको परिस्थितिलाई मध्यनजर गर्दै नागरिकको चाहना अनुरूप उच्च मनोबलका साथ प्रभावकारी कार्यसम्पादन गर्न उहाँले प्रहरी कर्मचारीलाई निर्देशन समेत दिनुभयो । नेपाल प्रहरीलाई साधन स्रोतले सुसज्जित बनाई सुरक्षा व्यवस्था सुदृढ बनाउन गृह मन्त्रालय सदैव कटिवद्ध रहेको उहाँले बताउनुभयो । प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी परिवारलाई शुभकामना दिँदै गृहमन्त्री अर्यालले शहादत प्राप्त अमर प्रहरी कर्मचारीहरूको योगदानलाई स्मरण गर्दै ती सपुतहरूप्रति श्रद्धासुमन अर्पण गर्नुका साथै घाइते प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।  सोही अवसरमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग र नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङ्गले अमर प्रहरीका परिवारहरूलाई सद्‍भाव सहयोग प्रदान गर्नुभयो ।   समारोहमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक जय बहादुर चन्द, पूर्व आयुक्त एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक केशव बराल, गृहसचिव रामेश्वर दंगाल, सशस्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, अवकास प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष तथा पदाधिकारीहरू, अमर प्रहरीका परिवारहरू, अन्य बिशिष्ट अतिथि महानुभावहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवम् उपस्थित प्रहरी अधिकृत तथा जवानहरूले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभयो ।  समारोहमा धन्यवाद ज्ञापन गर्नुहुँदै प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी नेपालको संविधान प्रचलित ऐन कानुन र मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको आफ्नो कर्तव्य र उत्तरदायित्व प्रति सांगठनिक रूपमा पूर्णत निष्ठावान रहदै आएको बताउनुभयो । हालको राजनीतिक परिवर्तनको परिस्थिति र आगामी दिनहरूमा समेत उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र असहज परिस्थितिहरूको सामना गर्दै आमनागरिकलाई शान्ति सुरक्षा र अमन चयनको प्रत्याभूति दिलाई नागरिक भरोसाको केन्द्र बिन्दुमा रहन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम तथा प्रतिबद्ध रहेको बताउनुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले राज्यले निर्देशित गरेका नीति तथा आफ्नो आधारभूत दायित्वबाट नेपाल प्रहरी कहिले विमुख नभएको र विमुख हुने कल्पना समेत गर्न नसकिने उल्लेख गर्दै सांगठनिक सुदृढीकरण, आधुनिकीकरण र स्रोत साधनको उपलब्धता प्रहरीको मनोबल र सशक्तिकरणसँग जोडिएको हुँदा यी विषयहरू नेपाल सरकार र तालुक गृह मन्त्रालयबाट उच्च प्राथमिकता साथ सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरीलाई आजको स्थिति सम्म आइपुग्न हाम्रा सत् प्रयासहरूमा प्रत्यक्ष वा परोक्ष रूपबाट सहयोग पुर्‍याउनुहुने अग्रज प्रहरी कर्मचारीहरू, विभिन्न संघ संस्थाहरू तथा सर्वसाधारण नागरिकहरू प्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा समेत निरन्तर साथ र सहयोगको अपेक्षा रहेको उहाँले बताउनुभयो । 

गृहमन्त्री ओमप्रकाश अर्यालद्वारा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयको निरीक्षण तथा निर्देशन
२०८२-०६-१७

काठमाडौं, गृह एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अर्यालले विपद् सम्बन्धी कृत्रिम घटना उद्दार अभ्यास प्रदर्शन एवम् विपद् उद्दार सामाग्री भण्डार, Police Disaster Response Team को अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो । निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले सीमित स्रोत साधन र तालिमको कमिका बाबजुद पनि नेपाल प्रहरीले विपद् व्यवस्थापनमा निर्वाह गर्दै आएको कार्य प्रशंसनीय रहेको चर्चा गर्नुभयो । सम्भावित विपद्को जोखिमबाट हुनसक्ने जनधनको क्षति नियन्त्रण एवम् न्यूनीकरण गर्न कर्तव्यनिष्ठ भई उच्च मनोबलका साथ जुनसुकै बेला पनि तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन उहाँले उपस्थित कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।   नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष कुमार भट्टराईले विपद् घटना तथा प्रहरी परिचालन, मनसुन पूर्वतयारी तथा विपद् प्रतिकार्य योजना, प्रभावकारी प्रतिकार्यका आवश्कता र भावी योजना लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

गृहमन्त्री ओमप्रकाश अर्यालद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा निर्देशन
२०८२-०६-०२

काठमाडौं, गृह एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । गृहमन्त्री अर्याललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो ।निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरीले स्थापना कालदेखि देशमा भएका विभिन्न द्वन्द्व, उतार चढाव, राजनीतिक परिवर्तन र संक्रमणकालहरूमा अविचलित रहँदै देश र जनताको स्वार्थ र आकांक्षालाई केन्द्रबिन्दुमा राखेर आफ्नो कर्तव्य प्रभावकारी रूपमा निर्वाह गर्दै आइरहेको बताउनुभयो ।गृहमन्त्री अर्यालले विगत १० दिनदेखि नेपाली समाजको नवीनतम् र चेतनशील पुस्ता जेन-जी ले गरेको ऐतिहासिक आन्दोलनलाई नेपाल प्रहरीले सम्मान गर्ने र यसका उपलब्धीहरूको संरक्षणका लागि रचनात्मक योगदान पुर्‍याउने कुरामा आफू र नेपाल सरकार विश्वस्त रहेको बताउनुभयो । अत्यन्त सीमित स्रोत साधनहरूको उपलब्धताका बीच नेपाल प्रहरीले पनि हालैको आन्दोलनलाई सापेक्षित रूपमा अत्यन्त संवेदनशील र संयमित भएर सम्बोधन गरेको उल्लेख गर्दै गृहमन्त्री अर्यालले भन्नुभयो, ‘ आन्दोलनको क्रममा नेपाल प्रहरीले निरन्तर बल प्रयोग र दमनको नीति अवलम्बन गरेको भए संकट अझै बढ्ने र राज्यले अझ ठूलो र अकल्पनीय क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने सम्भावना रहेको थियो । म यस ऐतिहासिक घडिमा नेपाल प्रहरीका सकल दर्जाहरूबाट प्रदर्शित संयमता र सहनशीलताको उच्च कदर र सम्मान गर्दछु । आन्तरिक सुरक्षामा नेपाल प्रहरीको प्रमुख दायित्व नै जनधनको सुरक्षा गर्नु हो । पूर्व सरकारविरूद्धको जनआक्रोशका बीच कानुन कार्यान्वयन र शान्ति सुव्यवस्था कायम गर्ने निकायको रूपमा नेपाल प्रहरीका सकल दर्जाहरूबाट प्रदर्शित संयमतापूर्ण व्यवहारले राज्य, नागरिक र निकायहरूमा हुन सक्ने ठूलो क्षतिलाई न्यूनीकरण गरेको मैले महसुस गरेको छु । यसका लागि नेपाल प्रहरीका कुनै पनि कर्मचारीले ग्लानि महसुस गर्नुपर्ने कुनै कारण छैन । यहाँहरू सदैव जनताको मनमा हुनुहुन्छ, ढुकढुकीमा हुनुहुन्छ र आफ्नो जिम्मेवारीलाई अझ दृढ रूपमा निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’गृहमन्त्री अर्यालले नेपाल प्रहरीको अनुपस्थिति वा कमजोर उपस्थितिले आम जनताको दैनिकीमा अत्यन्त ठूलो र नकारात्मक प्रभाव पर्नुका साथै समाजमा अराजकता मौलाउने अवसर प्राप्त हुने बताउनुहुँदै कानुन बमोजिम कर्तव्य पालनाको क्रममा उच्च मनोबल बनाउनुपर्ने तथा कार्यक्षेत्रमा भएका कमी कमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । आम जनताहरूमा प्रहरी सेवाको आवश्यकता र महत्व कति रहेको भन्ने कुरा हालै भएको आगजनी र तोडफोड भएका प्रहरी इकाइहरूको पुनर्स्थापना, प्रहरी कर्मचारीहरूको सम्मान र मनोबल बढाउनका लागि समुदायले लिएको अग्रसरताबाट पुष्टि भएको बताउँदै नेपाल सरकार एवम् गृहमन्त्रालयबाट नेपाल प्रहरी संगठनको सुदृढिकरण र प्रहरी कर्मचारीहरूको मनोबल बढाउनुका लागि ठोस प्रयासहरू हुने उहाँले उल्लेख गर्नुभयो । प्रहरीप्रति राज्य र नागरिकहरूका असीमित अपेक्षा रहेको र प्रहरीले साधनस्रोतहरूको सीमितताबाट नागरिकहरूका असीमित आकांक्षाहरू सम्बोधन गर्दै आइरहेको तथा आगामी दिनमा सांगठनिक सुधारका लागि प्रहरीको नेतृत्व एवम् सबै प्रहरी कर्मचारीहरूको पहलकदमी हुनेछ भन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।         कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले जस्तो सुकै कठिन परिस्थितिहरूका बीचपनि नेपाल प्रहरीका कर्मठ सदस्यहरूले आम जनजीवन, राज्यको सम्पत्ति र लोकतान्त्रिक मूल्यहरूको संरक्षणमा दृढतापूर्वक आफ्नो कर्तव्य पुरा गर्दै आएको बताउनुभयो । गृहमन्त्रीज्यूबाट व्यक्त भएका सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशनले नेपाल प्रहरी प्रधान कार्यालय तथा देश भरी छरिएर रहेका प्रहरी इकाइहरूमा कार्यरत प्रहरी कर्मचारीहरूको मनोबल र उत्साह वृद्धि हुनुका साथै आगामी कार्यदिशा थप प्रभावकारी र परिणाममूखी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले हालको स्थिति र आगामी दिनहरूमा समेत उत्पन्न हुने सुरक्षा चुनौतीहरू एवम् असहज परिस्थितिहरूको सामना गर्दै आम नागरिकहरूलाई शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभूति दिलाउँदै नागरिक भरोसाको केन्द्रबिन्दुमा रहन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम तथा प्रतिवद्ध रहेको बताउनुभयो । नेपालको संविधान, प्रचलित ऐन कानुन तथा मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको काम कर्तव्य र दायित्व प्रति नेपाल प्रहरी पूर्णत निष्ठावान रहि आफ्नो जिम्मेवारी बहन गर्दै आएको बताउँदै नेपालको फौजदारी कानुनी प्रणालीमा आधारित रहि अपराध अनुसन्धानलाई परिणाममूखी र वैज्ञानिक बनाई न्यायिक प्रकृयामा निष्पक्ष र पूर्ण व्यावसायिक रहि कार्यसम्पादन गर्न नेपाल प्रहरी प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले देशको राजधानी लगायत ठुला शहर तथा महानगरहरूमा अर्बान पुलिसिङ्का लागि दक्ष जनशक्ति, आधुनिक प्रविधि तथा उपकरण र केही कानुनी अधिकारहरूले सुसज्जित हुन नितान्त जरूरी रहेको उल्लेख गर्दै समग्र नेपाल प्रहरीको आधुनिकीकरणमा हुने विलम्बले आम नागरिकमा राज्यका संरचनाहरू प्रतिको भरोसा प्रभावित हुने र देशको आन्तरिक सुरक्षाको मेरूदण्ड कमजोर हुने बताउनुभयो । राज्यले सुम्पेको जिम्मेवारी बहन गर्ने आफ्नो मूलभूत दायित्वबाट नेपाल प्रहरी कहिलै बिमुख नभएको एवम् जनअपेक्षा अनुरूपको सेवा प्रवाहको लागि आवश्यक भौतिक स्रोत साधन र पूर्वाधार तथा नवीनतम् प्रविधिका साथसाथै वर्तमान परिपेक्षमा प्रहरी कर्मचारीहरूको हौसला र मनोबल अभिवृद्धिलाई अत्यन्त महत्वका साथ सम्बोधन गर्नुपर्ने संवेदशील घडीलाई तालुक मन्त्रालयबाट उच्च प्राथमिकताका साथ सम्बोधन हुने अपेक्षा राखेका उहाँले बताउनुभयो । युवा पुस्ताले चाहना गरेको परिवर्तनको लहरमा आफ्नो स्वार्थ सिद्ध गर्न, राज्यको ऐतिहासिक धरोहरहरू, महत्वपूर्ण प्रतिष्ठानहरू, निजि तथा सार्वजनिक सम्पत्तिहरू, व्यापारीक प्रतिष्ठानहरू लगायतमा पुर्‍याइएको क्षतिमा संलग्नहरूको पहिचान एवम् अनुसन्धान गरी कानुन बमोजिम कारवाहीको दायरामा ल्याई आम नागरिकको मनमा कानूनी राज्य र कानूनको शासनको प्रत्याभूति दिलाउन हामी सफल हुनेछौ भन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री अर्याल समक्ष प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार केसीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना एवम् विकासक्रम, प्रहरी जनशक्ति, प्रहरीको इकाईगत सङ्ख्या, नेपाल प्रहरीको भौतिक संरचनाहरू, सख्यात्मक विवरण तथा हालको अवस्था, अस्थायी पोष्टमा कार्यरत र नयाँ स्थापना तथा स्तरवृद्धिको लागि माग भएका इकाईहरू, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय र सहायता, प्रहरी मनोबल, प्रहरी कारबाही तथा परिचालनमा देखिएका चुनौती र समस्याहरू, आगामी कार्यदिशा र अपेक्षा लगायतका विषयमा नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू तथा मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग दर्ज्यानी चिन्हबाट सुशोभित
२०८२-०५-१९

काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ भदौ १३ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका चन्द्र कुबेर खापुङ्ग दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । गृह मन्त्रालय सिंहदरबारमा बिहीबार आयोजित विशेष समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गलाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभएको हो । सुशोभन समारोहमा गृहसचिव दुवाडीले नेपाल सरकारले कार्यक्षमता, कार्यदक्षता, जेष्ठता लगायतका आधारमा उच्च मुल्याङ्कन गर्दै नेपाल प्रहरी संगठनको प्रमुखको रूपमा नियुक्त गरी प्रहरी महानिरीक्षक खापुङ्गलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खापुङ्गको कार्यकालमा सरकारले राखेको अपेक्षा पुरा हुने विश्वास व्यक्त गर्दै कार्यकाल पूर्ण सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।गृहसचिव दुवाडीले मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन तथा सुशासन कायम गर्न, अपराध नियन्त्रण गर्न एवम् सामाजिक न्याय कायम गर्न प्रहरीको अहम भूमिका रहेको चर्चा गर्दै आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउनु नै हामी सबैको कर्तव्य रहेकोले प्रहरी महानिरीक्षकले आफ्नो कार्यकालमा नेपाल प्रहरीको श्रीवृद्धि गराउँदै आम नागरिकमा अझ राम्रो छाप बसाल्न तथा सकल दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाई संगठनको लक्ष्य एवम् उद्देश्य हासिल गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।  समाजको गतिशीलता र प्रविधिको विकास सँगै आपराधिक गतिविधिमा पनि नयाँ नयाँ ढंगको प्रवृत्ति बढिरहेको अवस्थामा ती सबै आपराधिक गतिविधिलाई नियन्त्रण गरी समाजमा न्याय स्थापना गर्नु जरूरी रहेको बताउँदै गृहसचिव दुवाडीले भन्नुभयो, ‘ यसको लागि कुशल, दक्ष, सक्षम, उन्नत र गतिशील प्रहरीको आवश्यकता पर्दछ । तपाईको कार्यकालमा उल्लेखित विशेषतामा बढोत्तरी कायम गर्न तपाई र तपाईको सम्पूर्ण टिम सफल हुनुहोस् । अपराध अनुसन्धानमा कुशलता देखाउन सफल हुनुहोस् । भनसुन, चलखेल र पक्षपात हुन्छ भन्ने भाष्यलाई चिर्न सफल हुनुहोस् र नेपाल प्रहरी भनेको निष्पक्ष, पारदर्शी, विश्वासिलो, कानूनको पूर्ण परिपालना गर्ने व्यावसायिक संगठन हो भन्ने भावना जागृत गर्दै नतिजा देखिने गरी काम गर्न तपाई र तपाईको टिम सफल हुनुहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु’ । उपलब्ध भएका सीमित स्रोतसाधन, जनशक्ति र प्रविधिको उच्चतम प्रयोग गरेर सीमिततालाई अवसरको रूपमा बदल्न समेत प्रहरी महानिरीक्षक सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।    गृहसचिव दुवाडीले साइबर अपराध, वित्तीय अपराध, आत्महत्या, सवारी दुर्घटना लगायतका विभिन्न सामाजिक अपराधहरू चुनौतिको रूपमा देखा परेको हुँदा त्यस्ता चुनौतिहरूलाई न्यूनीकरण तथा नियन्त्रण गरेर सभ्य समाज निर्माण गर्न जरूरी रहेको र यसका लागि चुस्त दुरूस्त सुरक्षाको प्रत्याभूति गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्रालयले प्रहरी संगठनको कार्यसम्पादनमा सदैव अभिभावकीय भूमिका निर्वाह गर्नुका साथै सदैव समन्वय, सहजीकरण र सहयोग गरिरहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । गृह प्रशासन सदैव नीति, विधि र पद्धति बमोजिम संचालित रहेको र गृह मन्त्रालय अन्तर्गत मातहत निकायहरूले नीति, विधि र पद्धति अन्तर्गत निर्वाह गरेका हरेक कामको गृह मन्त्रालयले अपनत्व लिने र त्यही अनुसार सबै निकाय संचालित होस् भन्ने अपेक्षा र विश्वास लिएको उहाँले बताउनुभयो ।   उक्त अवसरमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले मुलुक प्रति निर्वाह गरेको निष्ठापूर्ण सेवा, कार्यक्षमता र व्यावसायिकताको कदर गर्दै नेपाल सरकारले आफूलाई प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गर्नुभयो । नेपाल सरकार तथा गृह मन्त्रालयले सुम्पेको जिम्मेवारी पूर्ण निष्ठा, पेशागत अनुशासन, पारदर्शीता र सेवा भावका साथ निर्वाह गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।प्रहरी महानिरीक्षक खापुङ्गले प्रहरी महानिरीक्षक पद व्यक्ति नभई संस्था भएको उल्लेख गर्दै व्यक्तिगत रूपमा सफल हुने भन्दा पनि संस्था सफल हुनु अपरिहार्य रहेको र त्यसले राष्ट्र, संगठन र समग्र प्रहरीका लागि हित गर्ने बताउनुभयो । समग्र नेपाल प्रहरी संगठनको श्रीवृद्धि गर्दै नागरिकमैत्री प्रहरी सेवालाई संस्थागत गर्न समर्पित रहनुका साथै आफ्नो कार्यकालमा संगठन र आवद्ध सकल दर्जाका प्रहरी कर्मचारीहरूको हितका खातिर समर्पित हुने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । हेरक नागरिकले पेशागत व्यावसायिक, प्रभावकारी, नागरिकमैत्री र सेवामूलक नेपाल प्रहरीको अपेक्षा राखेको उल्लेख गर्दै आम नागरिकको सुझाव, सहकार्य र पृष्ठपोषणलाई आत्मसाथ गरी राज्य प्रतिको भरोसा र विश्वासमा अभिवृद्धि गर्दै लोककल्याणकारी राज्यको अनुभुति गराउन नेपाल प्रहरीले उच्च व्यावसायिक निष्ठा सहित आफ्नो जिम्मेवारी वहन गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले नेपालको संविधानको मर्म अनुरूप प्रभावकारी कानून कार्यान्वयन, विधिको सासन र आम नागरिकका संवैधानिक हक तथा अधिकारको प्रत्याभूति, सुरक्षा, सुशासन, सामाजिक न्याय र सद्‍भावको सुनिश्चितता गर्न नेपाल प्रहरी निष्ठापूर्वक उच्च मनोबलका साथ कर्तव्यनिष्ठ रहेको बताउनुभयो । अपराधमा बढ्ढो प्रविधिको प्रयोगले नयाँ नयाँ चुनौति देखा परेको र यसको सामना गर्न परम्परागत शैलीले भन्दा अपराध अनुसन्धानमा क्षमताको अभिवृद्धि गर्नुपर्ने जरूरी रहेको उहाँले बताउनुभयो । संगठनमा विधि र पद्धतिको पालना आफ्नो मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै उहाँले यस संकल्पमा तालुक गृह मन्त्रालय र सहकर्मीहरूबाट साथ एवम् सहयोगको अपेक्षा समेत गर्नुभयो ।  कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवम् संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।  दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक खापुङ्गले बिहीबार आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको छ । प्रहरी महानिरीक्षक खापुङ्ग नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू तथा जवानहरूले हार्दिक स्वागत गर्नुभयो ।  प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुकासाथै नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गको सङ्क्षिप्त जीवनी :  प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग नेपाल प्रहरीको ३२औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ भदौ १३ गतेको निर्णयअनुसार उहाँ नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । तेह्रथुम जिल्लाको साविक मोराहाङ-५ हाल मेन्छयायेम गाउँपालिका वडा नम्बर ६ मा पिता ललित बहादुर खापुङ्ग र माता गंगामाया खापुङ्गको कोखबाट वि.सं. २०२७ मंसिर २३ गते जन्मनु भएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गका श्रीमती भावना श्रेष्ठ खापुङ्ग र २ छोराहरू हुनुहुन्छ । प्रहरी महानिरीक्षक खापुङ्गले वि.सं. २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गर्नुभएको हो । प्रहरी सेवामा साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाउनुभएका प्रहरी महानिरीक्षक खापुङ्ग २०६४ साउन १ गते प्रहरी नायव उपरीक्षक, २०७३ पुस १३ गते प्रहरी उपरीक्षक, २०७७ वैशाख १७ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०८० वैशाख ६ गते प्रहरी नायव महानिरीक्षक र २०८२ वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको थियो । मास्टर अफ आर्ट ईन जेन्डर स्टडिजमा स्नातकोत्तर गर्नुभएका प्रहरी महानिरीक्षक खापुङ्गले उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम, प्रोग्राम अन क्यापासिटी बिल्डिङ फर क्राइम प्रिभेन्सन् स्ट्राटेजी डेभलपमेन्ट, एसिया रिजन ल इन्फोर्समेन्ट मेनेजमेन्ट प्रोग्राम, एड्भान्स्ड कोर्ष अन मेनेजमेन्ट एण्ड डेभलपमेन्ट, स्ट्याबिलिटी पुलिस युनिट हाई लेभल कोर्ष, बेसिक इन्टेलिजेन्स ट्रेनिङ, ईन्भेस्टिगेटिभ ईन्टरभ्यु ट्रेनिङ कोर्ष, वर्कसप अन चिल्ड्रेन ईन आर्म्ड कन्फ्लिक्ट, अपराध अनुसन्धान लगायत विभिन्न १४ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुभएको छ । प्रहरी महानिरीक्षक खापुङ्ग प्रवल जनसेवा श्री र गद्दी आरोहण रजत पदक लगायतका विभूषणबाट विभूषित हुनुहुन्छ । यसैगरी उहाँले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत ग्रेड थप तथा विभिन्न समयमा नगद पुरस्कार प्राप्त गर्नुको साथै विभिन्न प्रशंसापत्रद्वारा सम्मानित हुनुभएको छ ।  अब्बल एवम् कुशल नेतृत्त्वदायी भूमिकामा रहने प्रहरी महानिरीक्षक खापुङ्गले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा जिल्ला प्रहरी कार्यालय म्याग्दी, सशस्त्र प्रहरी गण नम्बर २, जिल्ला प्रहरी कार्यालय सिन्धुली, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय बेलबारी, महानगरीय प्रहरी परिसर काठमाडौं, सशस्त्र प्रहरी गण मुख्यालय नेपालगंज बाँके, उपत्यका अपराध अनुसन्धान समूह काठमाडौं, अञ्चल प्रहरी कार्यालय धौलागिरी, महानगरीय प्रहरी वृत चापागाउँ ललितपुर, प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालय, इलाका प्रहरी कार्यालय धरान सुनसरी, महानगरीय प्रहरी वृत्त दरबारमार्ग, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबार, महानगरीय प्रहरी पहरा गण मुख्यालय सामाखुसी काठमाडौं, प्रहरी प्रधान कार्यालय प्रशासन विभाग लगायतका युनिटमा खटिएर जिम्मेवारी पूरा गर्नुभएको थियो । प्रहरी उपरीक्षक भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौं अन्वेषण योजना तथा विकास शाखा, जिल्ला प्रहरी कार्यालय बागलुङ, प्रहरी प्रधान कार्यालय प्रशासन विभाग तथा प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक भएपछि उहाँले प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना छनौट महाशाखा, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेमा जिम्मेवारी निर्वाह गर्नुभएको   थियो । प्रहरी नायव महानिरीक्षकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल र कोशी प्रदेश प्रहरी कार्यालयको कमाण्ड  गर्नुभएका खापुङ्ग २०८२ वैशाख ११ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । प्रहरी अतिरिक्त महानिरीक्षकमा उहाँले केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटको कमाण्ड समेत गर्नुभएको थियो ।

प्रथम महिला प्रहरी सम्मेलन सम्पन्न
२०८२-०५-०६

काठमाडौं, गृहसचिव गोकर्णमणि दुवाडीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा 'साझा जिम्मेवारी समान प्रतिबद्धता : प्रहरी सेवामा सशक्त भूमिका' भन्ने मूल नाराका साथ संचालित दुई दिवसीय “प्रथम महिला प्रहरी सम्मेलन, २०८२” शुक्रबार आयोजित विशेष समारोहबीच सम्पन्न भएको छ । समारोहमा गृहसचिव दुवाडीले विभिन्न विधामा उत्कृष्ट भूमिका निर्वाह गर्ने महिला प्रहरी कर्मचारीहरू, सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्‍याउनु हुने महानुभाव तथा विभिन्न संघसंस्थाहरूलाई कदरपत्र, पुरस्कार एवम् प्रशंसापत्र प्रदान गर्नुभयो ।  समारोहलाई सम्बोधन गर्दै गृहसचिव दुवाडीले सम्मेलनले नेपाल प्रहरीको इतिहासमा लैङ्गिक समावेशीकरण र सशक्तिकरणको यात्रामा नयाँ अध्यायको सुरूवात गरेको चर्चा गर्दै नेपाल प्रहरीमा पहिलो पटक देश भरका महिला प्रहरी कर्मचारीहरू, अवकाश प्राप्त महिला प्रहरी अधिकृतहरू, महिला सशक्तिकरण र लैङ्गिक समानताको क्षेत्रमा काम गर्ने समाजका महानुभावहरूलाई एकै मञ्चमा ल्याएर छलफल, अनुभव आदान प्रदान र भविष्यको अवसर तथा नेतृत्वको विषयबारे विचार गर्न यो सम्मेलनले अत्यन्तै महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गर्नुभयो । सम्मेलनमा सहभागी विषय विज्ञहरूको विज्ञता, विभिन्न अनुसन्धानको प्रतिवेदन प्रस्तुती, सहभागीहरूको विचार एवम् अनुभवको आदान प्रदान, अन्तर्क्रिया र छलफलबाट नेपाल प्रहरीलाई महत्वपूर्ण पृष्ठपोषण, सल्लाह एवम् सुझाव प्राप्त भएको र लैङ्गिक संवेदनशील प्रहरी सेवाको सुदृढिकरणको लागि प्रभावकारी रणनीति तर्जुमा गर्नको लागि समेत यो सम्मेलन अत्यन्तै महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो । गृहसचिव दुवाडीले सम्मेलनबाट जारी भएको घोषणापत्र तथा प्रतिवेदन अत्यन्तै गहन एवम् महत्वपूर्ण रहेको र यसको कार्यान्वयनको लागि विशेष आग्रह गर्नुका साथै सम्मेलनबाट प्राप्त विचार तथा निष्कर्षहरू आगामी दिनमा नीति निर्माण र संस्थागत सुधारका लागि मार्गदर्शक सिद्धान्तको रूपमा अबलम्वन गर्न आवश्यक रहेको बताउनुभयो । सम्मेलनबाट प्राप्त ज्ञान र अनुभवले महिला प्रहरी कर्मचारीहरूको सशक्तिकरणमा मात्रै नभई नागरिक सेवा प्रवाहमा क्षमता अभिवृद्धि, समुदायमा विश्वास, संस्थागत सबलीकरण र सुदृढिकरणका साथै प्रहरी संगठनलाई थप न्यायिक, उत्तरदायी एवम् समाजमैत्री बनाउन समेत उल्लेखनीय योगदान पुर्‍याउने उहाँले बताउनुभयो । नेपाल प्रहरी संगठन सहित महिला प्रहरी कर्मचारीहरूको क्षमता विकास तथा दक्षता अभिवृद्धि, सक्रिय सहभागीता, प्रभावकारी नेतृत्व तथा समग्र वृत्तिविकासमा गृहमन्त्रालयले निरन्तर अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै सम्मेलनमा व्यक्त भएका विचारहरू, विभिन्न विषयमा विज्ञहरूको विश्लेषण, अनुसन्धान प्रतिवेदनका प्रस्तुतीहरू, सहभागीहरूको अनुभवको आदान प्रदान र अन्तर्क्रिया मार्फत नेपाल प्रहरीलाई महत्वपूर्ण पृष्ठपोषण तथा सुझावहरू प्राप्त भएको बताउँदै सम्मेलनबाट प्राप्त भएका सुझाव एवम निष्कर्षहरूलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।   प्रहरी महानिरीक्षक थापाले शान्ति सुव्यवस्था कायम गर्ने, अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने, ट्राफिक व्यवस्थापन लगायतका क्षेत्रमा समेत महिला प्रहरी कर्मचारीहरूले उल्लेखनीय कार्य गरेको चर्चा गर्दै आगामी दिनमा समेत उच्च मनोबल र थप जोश जाँगरका साथ नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । नेपाल प्रहरीमा महिला प्रहरीका लागि अझ उत्कृष्ट अवसर र वातावरण सृजना गर्न संगठन सदैव गतिशील रहेको बताउँदै महिला प्रहरी कर्मचारीहरूको सशक्त भूमिका निर्माणका लागि मार्गनिर्देशन गर्न र प्रहरी सेवालाई समावेशी, व्यावसायिक एवम् जनमुखी बनाउन यस सम्मेलन कोशेढुंगा सावित भएको विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रहरी अतिरिक्त महानिरीक्षक राजन आधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्रहरी उपरीक्षक बसुन्धरा खड्काले सम्मेलनबाट पारित गरिएको घोषणापत्र बारे जानकारी दिनुभएको थियो । सो अवसरमा त्रिभुवन विश्व विद्यालयका Department of Gender Studies का प्रा.डा. विन्दु पोखरेलले सम्मेलनको गहनता, आवश्यकता र औचित्यता सहितको मन्तव्य तथा सम्मेलनमा सहभागीहरूको तर्फबाट प्रहरी नायव निरीक्षक संगीता रसाइलीले आफ्नो अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न संघसंस्थाका पदाधिकारीहरू, सञ्चारकर्मीहरू लगायत आमन्त्रित महानुभावहरूको उपस्थितिका साथै सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रदेशस्थित सम्पूर्ण महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत महिला प्रहरी कर्मचारीहरूको भर्चुअल उपस्थिति रहेको थियो ।   लैङ्गिक समानता र लैंङ्गिक न्यायलाई मूलप्रवाहिकरण गर्ने लक्ष्यका साथ नेपाल प्रहरीको लैङ्गिक नीति, २०८१ को कार्यनीतिको कार्य योजनामा केन्द्रीय स्तरमा उक्त सम्मेलनको आयोजना गरिएको थियो । 

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा “प्रथम महिला प्रहरी सम्मेलन, २०८२” शुभारम्भ
२०८२-०५-०५

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बिहीबार आयोजित विशेष समारोहबीच 'साझा जिम्मेवारी समान प्रतिबद्धता : प्रहरी सेवामा सशक्त भूमिका' भन्ने मुल नाराका साथ दुई दिवसीय “प्रथम महिला प्रहरी सम्मेलन, २०८२” शुभारम्भ भएको छ । गृहमन्त्री लेखकले पानसमा दीप प्रज्वलन गरी उक्त सम्मेलनको उद्‍घाटन गर्नुभएको हो ।समारोहमा गृहमन्त्री लेखकले नेपाल प्रहरी संगठनमा आवद्ध भई संगठनलाई अझ गौरवान्वित बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने प्रथम महिला प्रहरी चैतमाया डंगोल, अवकाश प्राप्त प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. दुर्गा थापा, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंह, प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा र प्रहरी नायव निरीक्षक जुनी राईलाई सम्मानपत्र प्रदान गर्नुभयो । सो अवसरमा उहाँले सम्मेलन विशेषाङ्कको विमोचन गर्नुका साथै सम्मेलनको ब्यानरमा हस्ताक्षर तथा महिला प्रहरी सम्बन्धी गीतको शुभारम्भ समेत गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले यस सम्मेलनको शुभारम्भले लामो इतिहास बोकेको नेपाल प्रहरी संगठनको लागि आजको दिन ऐतिहासिक तथा उपलब्धिमूलक बनेको चर्चा गर्दै यस सम्मेलनको पूर्ण सफलताको कामना समेत गर्नुभयो । साथै समारोहमा सम्मानीत हुने व्यक्तित्वहरूले निर्वाह गरेको भूमिकाको चर्चा गर्दै त्यस्ता प्रदर्शित भूमिकाहरूले संगठनमा कार्यरत महिला प्रहरी कर्मचारीहरूको लागि प्रेरणा, उत्साह एवम् मार्गनिर्देशन समेत प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । गृहमन्त्री लेखकले समाजले महिला र पुरूषलाई हेर्ने दृष्टिकोण फरक रहेको बताउँदै आजका दिनमा महिला दिदी बहिनीहरूले गरेका साहसिक तथा प्रेरणादायी कार्यहरूले अन्धविश्वास तथा परम्परालाई तोड्दै महिला पनि पुरूष भन्दा अगाडि छन् भन्ने कुरा स्थापित गर्न सफल भएको उल्लेख गर्नुभयो । सुरक्षित समाज निर्माणमा महिलाहरूको भूमिका विशिष्ट हुने चर्चा गर्दै नेपाल प्रहरीमा पनि महिला प्रहरी कर्मचारीहरूले प्राप्त गरेका जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आइरहेको बताउनुभयो । समानता, सशक्तिकरण एवम् सम्भावनाका विषयहरूमा महिला प्रहरी कर्मचारीहरूलाई विशेष ढंगले प्रोत्साहित गर्ने तथा अवसरहरू प्रदान गर्ने कुरामा विशेष ध्यान दिई अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । गृहमन्त्री लेखकले समाजमा यौनजन्य घटनाहरू अत्यन्तै तीव्र रूपमा बढि राखेको तथा लागूऔषध, सवारी दुर्घटना, आत्महत्या र साइबर अपराध चुनौतिका रूपमा देखा पर्नुका साथै यस्ता अपराधहरूबाट सबै भन्दा बढि महिला तथा बालबालिका पीडित हुने बताउँदै यस्ता अपराधहरूको न्यूनीकरण तथा नियन्त्रणमा महिला प्रहरीको उपस्थिति अझ बढि प्रभावकारी हुने बताउनुभयो । देश भरी महिला बालबालिका तथा जेष्ठ नागरिकका विरूद्ध हुने अपराध जन्य घटनाहरूको सम्बोधनका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरूलाई थप क्रियाशील गरी  महिला बालबालिका तथा जेष्ठ नागरिकका सुरक्षाका निम्ति थप संवेदनशील भएर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।  गृहमन्त्री लेखकले गत आर्थिक वर्षमा गृह मन्त्रालयको समग्र कार्यसम्पादनमा प्राप्त उपलब्धीमा नेपाल प्रहरीले निर्वाह गरेका कार्यहरू महत्वपूर्ण रहेको चर्चा गर्दै यस आर्थिक वर्षमा पनि गत आर्थिक वर्षको जस्तै उपलब्धीहरू प्राप्त गर्न थप व्यावसायिकता प्रदर्शन गर्दै उच्च मनोबलका साथ नागरिकका प्रति अत्यन्तै विनम्र भएर तथा अपराधी प्रति अत्यन्तै निर्मम भएर जिम्मेवारी वहन गर्न कटिवद्ध हुनुपर्ने बताउनुभयो । समारोहमा न्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, महान्यायाधिवक्ता रमेश वडाल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेत एवं British Embassy, Kathmandu का Acting Deputy Head of Mission, Ms. Camilla Sugden ले सम्मेलनको महत्व र औचित्यबारे चर्चा गर्दै आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै लैङ्गिक समानता र लैङ्गिक न्यायलाई  मूलप्रवाहिकरण गर्ने उद्देश्य राखी नेपाल प्रहरीले शुभारम्भ गरेको यस सम्मेलन ऐतिहासिक रहेको उल्लेख गर्नुभयो । नेपाल प्रहरीमा आवद्ध पूर्व महिला प्रहरी कर्मचारीहरूले गरेको योगदान अतुलनीय रहेको चर्चा गर्दै संगठनमा महिला प्रहरी कर्मचारीहरूको सहभागिता बढ्दै गइरहेको वर्तमान अवस्थामा यस सम्मेलनले अवकाश प्राप्त महिला प्रहरी कर्मचारीहरूको अनुभवको आदान प्रदानका साथै आगामी दिनमा महिला प्रहरी कर्मचारीहरूलाई आवश्यक मार्गनिर्देशन गर्न कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरीमा महिला प्रहरीको उपस्थितिलाई केवल संख्या र तथ्याङ्कमा मात्र प्रस्तुत गर्ने भन्दा पनि महिला प्रहरीको प्रभावकारी, गुणात्मक र नेतृत्वदायी सहभागितालाई विशेष जोड दिइएको बताउँदै महिला प्रहरीको सशक्तिकरणमा केन्द्रीत यस ऐतिहासिक सम्मेलन ज्ञान, प्रेरणा र परिवर्तनको संवाहक हुने विश्वास व्यक्त गर्नुभयो ।समारोहमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा महिला प्रहरीको इतिहास र नेपाल प्रहरीको लैङ्गिक नीति, २०८१ सम्बन्धी वृत्तचित्र समेत प्रदर्शनी गरिएको थियो ।समारोहमा गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, विभिन्न संघसंस्थाका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू लगायत आमन्त्रित महानुभवहरूको उपस्थितिका साथै सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रदेशस्थित सम्पूर्ण महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत महिला प्रहरी कर्मचारीहरूको भर्चुअल उपस्थिति रहेको थियो ।लैङ्गिक समानता र लैंङ्गिक न्यायलाई मूलप्रवाहिकरण गर्ने लक्ष्यका साथ नेपाल प्रहरीको लैङ्गिक नीति, २०८१ को कार्यनीतिको कार्य योजनामा केन्द्रीय स्तरमा उक्त सम्मेलनको आयोजना गरिएको हो । 

गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दिपक थापाबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न
२०८२-०५-०१

काठमाडौं, गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दिपक थापाबीच आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । गृहमन्त्री रमेश लेखकको उपस्थितिमा गृह मन्त्रालयमा आइतबार आयोजित समारोहमा गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दिपक थापाले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्नुको साथै उक्त सम्झौता आदान प्रदान समेत गर्नुभयो । कार्यक्रममा गृहमन्त्री रमेश लेखकले शान्ति सुव्यवस्था कायम राख्न नेपाल प्रहरीले निर्वाह गर्दै आइरहेको भूमिकाको चर्चा गर्दै आगामी दिनमा चुनौतिको रूपमा देखा परेको लागूऔषध, साइबर अपराध, सवारी दुर्घटना एवम् आत्महत्या न्यूनीकरणमा अझ क्रियाशील भई परिणाममुखी ढंगले कार्य गर्नुपर्ने बताउनुभयो । कार्यसम्पादन सम्झौताको कार्यान्वयन गर्ने क्रममा परम्परागत शैली भन्दा पनि नविनतम् ढंगले नागरिकको समस्या समाधान गर्नुपर्ने उल्लेख गर्दै उपलब्ध स्रोतसाधन र जनशक्तिको व्यवस्थित परिचालन गरी सामूहिक भावनाका साथ जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो । उक्त अवसरमा गृहसचिव दुवाडीले अहिले प्राप्त गरेको कार्यसम्पादनको प्रगति एवम् नतिजालाई आधार मानेर आगामी दिनमा अझ बढि प्रभावकारिता हासिल गर्न तथा सेवा भावका साथ आम नागरिकले अनुभूति गर्न सक्ने किसिमको सेवा प्रवाह गर्नको लागि उच्च स्तरको कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । सम्झौता कार्यान्वयन गर्ने क्रममा गृहमन्त्रालयको नेतृत्वको तर्फबाट हुने सहजीकरण, नीतिगत मार्गनिर्देशनका साथै आवश्यक पर्ने स्रोत साधनको परिचालनमा समेत मन्त्रालयको साथ सहयोग र उच्च स्तरको समन्वय हुने उहाँले उल्लेख गर्नुभयो । नेपाल सरकार गृहमन्त्रालयको कार्यक्षेत्र बमोजिमको कार्य सम्पादन गर्न सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १९ तथा सुशासन (व्यवस्थापन तथा संचालन) नियमावली, २०६५ को नियम ११ बमोजिम गृहसचिव दुवाडी र प्रहरी महानिरीक्षक थापाबीच उक्त सम्झौता भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित कार्यालय भवन उद्‍घाटन
२०८२-०४-३०

धनुषा, प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको नवनिर्मित प्रशासनिक कार्यालय भवनको शुक्रबार आयोजित समारोहबीच उद्‍घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले नवनिर्मित भवनको अवलोकन समेत गर्नुभयो ।  समारोहमा प्रधानमन्त्री ओलीले भवन निर्माण कार्यमा उल्लेखनीय योगदान पुर्‍याउने महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।   समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस नवनिर्मित भवन समयमै निर्माण सम्पन्न गर्न योगदान पुर्‍याउने मधेश प्रदेश सरकार लगायत भवन निर्माण कार्यमा योगदान पुर्‍याउने महानुभावहरू प्रशंसाको पात्र भएको चर्चा गर्दै यस नवनिर्मित कार्यालयबाट आउँदा दिनमा सेवाग्राहीलाई प्रहरीले दिने सुविधा अझ छिटो, छरितो एवम् व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो ।  प्रधानमन्त्री ओलीले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवम् अनुसन्धानका साथै जनतालाई प्रारम्भिक सेवा तथा न्याय दिन प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउँदै नेपाल सरकारले लिएको उद्देश्य प्राप्तीका लागि सबै सरोकारवाला निकायहरूले नयाँ तरिका, नयाँ ढंग र संकल्पका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । आफूलाई ठूलो दर्जाको व्यक्ति भन्दा पनि जनताको सेवक हुँ भन्ने भावनाका साथ काम गर्न उहाँले उपस्थित सबैमा आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले मधेश प्रदेशमा चुनौतिको रूपमा देखा परेका लागूऔषधको कारोबार, खुल्ला सीमानाको गलत फाइदा उठाउँदै हुने आपराधिक क्रियाकलाप एवम् अराजक गतिविधि नियन्त्रणमा अझ बढि क्रियाशील भई त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरेर कानूनी दायरामा ल्याउन उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । राजस्व चुहावट एवम् तस्करी नियन्त्रणमा समेत अझ बढि सक्रिय भई कार्यसम्पादन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नेपाल प्रहरीले आपराधिक क्रियाकलाप रोकथाम तथा नियन्त्रणमा निर्वाह गर्दै आइरहेको भूमिकाको चर्चा गर्दै नवनिर्मित भवनले आमनागरिकहरूमा प्रहरी सेवा प्रवाह गर्न थप सहज हुने बताउनुभयो । समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले धन्यवाद ज्ञापन व्यक्त गर्दै प्रचलित कानूनको अधिनमा रही शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धानका साथै प्रभावकारी सेवा प्रवाह गर्न नेपाल प्रहरी सदैव कटिबद्ध रहेको   बताउनुभयो । नवनिर्मित भवनले प्रहरी कर्मचारीहरूमा थप मनोबल र उत्प्रेरणा वृद्धि हुने बताउँदै सीमा अपराध, चोरी निकासी, लागूऔषधको कारोबार लगायतका अपराध नियन्त्रण तथा वस्तुनिष्ठ अनुसन्धानमा सबै सरोकारवाला पक्षहरूसँग सहकार्य गरी दत्तचित्त भएर कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।  कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उमा प्रसाद चतुर्वेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । मधेश प्रदेश सरकार, गृह संचार तथा कानून मन्त्रालय जनकपुरधामको बजेटबाट कुल २३ करोड ५४ लाख ८८ हजार ९ सय ११ रूपैयाँ ४१ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । समारोहमा मधेश प्रदेशका सभामुख, प्रदेशका मन्त्रीहरू, प्रतिनिधि सभा तथा प्रदेश सभाका सदस्यहरू, मधेश प्रदेशका प्रमुख सचिव, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, संचारकर्मीहरू एवम् आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो ।  

गृहमन्त्री रमेश लेखकद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन
२०८२-०४-२३

काठमाडौं, गृहमन्त्री रमेश लेखकले शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निरीक्षण भम्रण गर्नुका साथै जिल्ला प्रहरी परिसर काठमाडौंस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचालन कक्षको अवलोकन समेत गर्नुभयो । सो अवसरमा गृहमन्त्री लेखकले उक्त परिचालन कक्ष सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो ।निरीक्षण पश्चात जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौं उपत्यका प्रहरी कार्यालय एवम् मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।कार्यक्रममा गृहमन्त्री लेखकले उपत्यकामा शान्ति सुव्यवस्था कायम गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको चर्चा गर्दै नागरिकलाई सरल एवम् सुलभ ढंगले प्रहरी सेवा प्रवाह गर्न र नागरिकले सुरक्षाको अनुभूति प्राप्त गर्ने गरी उत्कृष्ट कार्यसम्पदान गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । प्रहरी कार्यालयले दिने सेवालाई सर्वसुलभ र झन्झट रहित बनाउनुपर्नेमा जोड दिँदै शिष्ट आचरण एवम् व्यवहारका साथ सेवाग्राहीको समस्या एवम् गुनासोलाई सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो । गृहमन्त्री लेखकले प्रहरीले निर्वाह गरेको काम कारवाही जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने उल्लेख गर्दै मानव अधिकारको संरक्षण एवम् सम्वर्द्धनमा थप सजग भई महिला हिंसा, घरेलु हिंसा, बालबालिका एवम् ज्येष्ठ नागरिक विरूद्ध हुने गतिविधि प्रति थप संवेदनशील हुनुपर्ने बताउनुभयो । लागूऔषध, आत्महत्या, साइबर अपराध, अनलाइन ठगी, आर्थिक अपराध, सवारी दुर्घटना चुनौतिको रूपमा देखा परेकोले यस्ता चुनौतिको समाधान गर्न प्रविधिको उच्चतम प्रयोग गर्दै अझ बढी क्रियाशील हुनुपर्ने बताउनुभयो । कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले शान्ति सुरक्षा कायम गर्न, कानूनको पालना, अपराध नियन्त्रण एवम् अनुसन्धान लगायतका कार्यहरूमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । नागरिक सँग प्रत्यक्ष सम्बन्ध राखि नागरिकका समस्यालाई सम्बोधन तथा समाधान गरी सुरक्षाको प्रत्याभूति दिलाउन अझ बढि क्रियाशील भई कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले आग्रह गर्नुभयो । आफ्नो व्यवहार र आचरणलाई शिष्ट बनाई व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर नागरिकलाई केन्द्रमा राखेर उत्कृष्ट प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो । प्रहरीलाई आवश्यक स्रोतसाधन, सुविधा सहितको पूर्वाधारहरू र प्रविधियुक्त बनाउनेतर्फ गृहमन्त्रालय सदैव क्रियाशील रहेको बताउनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले उपत्यकामा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवम् अनुसन्धान, ट्राफिक व्यवस्थापनका साथसाथै विपद् व्यवस्थापनमा समेत काठमाडौं उपत्यका प्रहरी कार्यालयले सीमित जनशक्ति, स्रोतसाधान एवम् प्रविधिका बाबजूद पनि प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गर्दै आइरहेको बताउनुभयो । सूचना संकलनलाई अझ प्रभावकारी बनाउँदै शान्ति सुरक्षालाई थप मजबुद बनाउन उपत्यका प्रहरी कार्यालय सदैव क्रियाशील रहेको समेत उहाँले बताउनुभयो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचय, कार्यरत जनशक्ति तथा उपलब्ध साधन स्रोतको विवरण, कार्यहरू, समस्या एवम् चुनौति लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको  थियो । कार्यक्रममा गृहमन्त्रालयका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

गृहमन्त्री रमेश लेखकद्वारा केन्द्रीय अनुसन्धान ब्यूरोको निरीक्षण तथा निर्देशन
२०८२-०४-१८

काठमाडौं, गृहमन्त्री रमेश लेखकले आइतबार केन्द्रीय अनुसन्धान ब्यूरोको निरीक्षण भम्रण गर्नुका साथै उक्त ब्यूरोमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लेखकले ब्यूरोस्थित विभिन्न शाखाहरूको अनुगमन एवम् अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो ।निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सीमित स्रोतसाधनको बाबजूद केन्द्रीय अनुसन्धान ब्यूरोले निर्वाह गरेको महत्वपूर्ण कार्यहरू प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा ब्यूरोलाई थप प्रभावशाली, क्रियाशील एवम् प्रविधियुक्त बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । नयाँ प्रहरी युनिटहरूको माग दिनानुदिन बढिरहेको र यसले प्रहरी प्रति जनताको धारणा सकारात्मक रहेको चर्चा गर्दै जनताको धारणा कायम राख्न सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिक भएर कार्यसम्पादन गर्नुपर्ने उहाँले बताउनुभयो । बस्तुनिष्ठ एवम् प्रमाणमुखी अनुसन्धानमा केन्द्रीत रहेर पूर्ण इमानदारिता एवम् लगनशीलताका साथ कार्य गर्न उहाँले उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन समेत दिनुभयो । गृहमन्त्री लेखकले उपलब्ध सीमित प्रविधि र कानूनी जटिलताका कारण घेरै अपराधहरूको अनुसन्धानमा बाधा पुगेको उल्लेख गर्दै देखिएका कानूनी जटिलता समाधान गर्न र केन्द्रीय अनुसन्धान ब्यूरोको विकास एवम् ब्यूरोलाई स्रोतसाधन सम्पन्न बनाउन मन्त्रालय सदैव कटिबद्ध रहेको बताउनुभयो । पुराना मुद्दाहरूको अनुसन्धानमा समेत थप सक्रिय हुन उहाँले उपस्थित प्रहरी अधिकृतहरूलाई आग्रह गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै जटिल र गहन प्रकृतिका अपराधको अनुसन्धान गर्ने जिम्मेवारी बोकेको ब्यूरोले सीमित स्रोतसाधनका बाबजूद पनि प्रभावकारी रूपमा जिम्मेवारी वहन गर्दै आइरहेको बताउनुभयो । ब्यूरोलाई भौतिक पूर्वाधारको साथसाथै आधुनिक प्रविधियुक्त बनाउँदै लैजानुपर्नेमा जोड दिँदै अपराध अनुसन्धानमा देखिएका जटिलताहरूको सामना गर्दै थप प्रभावकारी एवम् प्रमाणमुखी अनुसन्धानमा ब्यूरो सदैव प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले केन्द्रीय अनुसन्धान ब्यूरोको परिचय, कार्यरत जनशक्ति तथा उपलब्ध साधन स्रोतको विवरण, ब्यूरोबाट गरिएका कार्यहरू, समस्या एवम् चुनौति लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुबेर खापुङ, प्रहरी नायव महानिरीक्षकहरू, गृहमन्त्रालयका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

लागूऔषध विरूद्ध निर्मम रूपमा प्रस्तुत हुनुपर्ने - गृहमन्त्री रमेश लेखक
२०८२-०४-१६

काठमाडौं, गृहमन्त्री रमेश लेखकले लागूऔषधको उत्पादन, ओसारपसार, भण्डारण एवम् सेवन अत्यन्तै चुनौतिको रूपमा देखा परेको उल्लेख गर्दै यस्ता चुनौतिको सामना गर्न एवम् लागूऔषध विरूद्ध प्रहरी कर्मचारीहरू निर्मम रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।  लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको शुक्रबार निरीक्षण भ्रमण पश्चात आयोजित कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा गृहमन्त्री लेखकले उक्त कुरा बताउनुभएको हो । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लेखकले ब्यूरोस्थित विभिन्न शाखाहरूको अनुगमन एवम् अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो ।निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले लागूऔषधको कारोबार एवम् सेवनले समाजको साथसाथै युवापुस्तालाई समेत नकारात्मक असर गरिरहेको उल्लेख गर्दै लागूऔषध रोकथाम एवम् न्यूनीकरणको लागि थप सचेतना फैलाउनु आवश्यक रहेको बताउनुभयो । नेपाल प्रहरीले संचालन गरेको लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत अन्य सचेतनामूलक कार्यक्रमहरूले लागूऔषध नियन्त्रण, रोकथाम तथा न्यूनीकरणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो ।  गृहमन्त्री लेखकले सीमित स्रोत साधनका बाबजुद ब्यूरोले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै आगामी दिनमा अझ बढि सक्रिय, लगनशील एवम् प्रभावकारी ढंगले कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । ब्यूरोको विकास एवम् स्तरोन्नतिको लागि गृहमन्त्रालय सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो ।    कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै राज्यले अख्तियार गरेका नीति तथा प्रचलित ऐन कानुनको प्रभावकारी कार्यान्वयनका साथसाथै समाजमा घटित हुने हर तरहका अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानको प्रमुख जिम्मेवारी प्राप्त निकाय नेपाल प्रहरीले लागूऔषध नियन्त्रण, रोकथाम एवम् न्यूनीकरणमा अन्तर्राष्ट्रिय निकायहरूको समन्वयमा समेत योजनावद्ध रूपमा कार्यसम्पादन गर्दै आइरहेको बताउनुभयो । सुरक्षित, स्वस्थ एवम् लागूऔषध रहित समाज निर्माणमा नेपाल प्रहरी सदैव कटिवद्ध रहँदै आएको चर्चा गर्दै आगामी दिनमा समेत यसको निरन्तरतामा ह्रास आउन नदिने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।प्रहरी महानिरीक्षक थापाले लागूऔषध नियन्त्रण र रोकथाम कुनै एक मात्र निकायबाट सम्भव नहुने हुँदा समाजका हरेक वर्ग, तह र तप्काका सरोकारवाला निकायहरूको सामूहिक सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै लागूऔषध रोकथाम तथा नियन्त्रणमा स्थानीय तह, विद्यालय र हरेक परिवारसँगै समाजका अन्य सरोकारवाला निकायहरू समेतको निरन्तर साथ र सहयोगको अपेक्षा रहेको बताउनुभयो ।केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुबेर खापुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण प्रसाद कोइरालाले लागूऔषध नियन्त्रण ब्यूरोको परिचय, कार्यरत जनशक्ति तथा उपलब्ध साधन स्रोतको विवरण, नेपालमा लागूऔषध अपराधको वर्तमान अवस्था, लागूऔषध अपराधको विश्लेषण, ब्यूरोबाट गरिएका प्रहरी कारवाहीहरू, समस्या एवम् चुनौति लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।कार्यक्रममा गृहमन्त्रालयका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरू एवम् संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।

गृहमन्त्री रमेश लेखकबाट अनलाइन ट्राफिक सचेतना कक्षा शुभारम्भ
२०८२-०३-२९

काठमाडौं, गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोह बिच अनलाइन ट्राफिक सचेतना कक्षाको शुभारम्भ गर्नुभएको छ ।  सो अवसरमा गृहमन्त्री लेखकले ट्राफिक प्रहरी सेवालाई प्रविधिमैत्री रूपमा संचालन गर्न योगदान पुर्‍याएका Trileaf Technology प्रालि र ज्ञानबजार प्रालिलाई प्रशंसापत्र प्रदान गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरीले आफ्नो कार्य एवम् क्षेत्राधिकार भित्र नयाँ प्रविधिको प्रयोग गरेको कार्य अत्यन्तै सराहनीय भएको चर्चा गर्दै यस प्रविधिको प्रभावकारी रूपमा निरन्तरताको शुभकामना समेत व्यक्त गर्नुभयो । ट्राफिक नियम उल्लङ्घन गर्दा भौतिक रूपले ट्राफिक कार्यालयमा पुगि सचेतना कार्यक्रम लिनुपर्ने अवस्था रहेकोमा प्रविधिको प्रयोग गरी नागरिक एप मार्फत अनलाइन ट्राफिक सचेतना कक्षा लिन सकिने व्यवस्था भएको र यो नेपाल प्रहरीमा प्रविधिको प्रयोगमा नयाँ आयम थप भएको समेत उहाँले उल्लेख गर्नुभयो । गृहमन्त्री लेखकले नेपाल प्रहरी जनताका बिचमा लोकप्रिय बन्दै गएको तथा नागरिकको प्रहरी प्रतिको विश्वास एवम् भरोसा बढेको चर्चा गर्दै नागरिकालाई केन्द्रविन्दुमा राखेर शिष्ट व्यवहार एवम् आचरणका साथ आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो । शान्ति सुव्यवस्था, अपराध अनुसन्धान एवम् रोकथाम लगायतका कार्यमा सीमित साधन स्रोतमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका सराहनीय रहेको उल्लेख गर्दै नेपाल प्रहरी एक पछि अर्को प्रविधिमा प्रवेश गरी राखेको र प्रहरीलाई निरन्तर प्रविधियुक्त बनाई राख्न नेपाल सरकार सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो । प्रविधिको प्रयोगले कहिले काँही जोखिम र जटिलता निम्त्याउन सक्ने हुनाले प्रविधिको प्रयोग गर्दा थप सचेत भई आगामी दिनमा अझ सक्रिय भएर ट्राफिक व्यवस्थापन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले आजको दिनमा नागरिकको सेवा र सुरक्षाको विविध क्षेत्रमा प्रविधिको प्रयोग नजर अन्दाज गर्न नसकिने र नेपाल प्रहरीले सामाजको गतिलाई हृदयगमन गर्दै आफ्नो सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई सदैव संगठनको प्रमुख प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको बताउनुभयो । नेपाल प्रहरीले दिने सेवाहरू प्रविधिमैत्री बनाउँदै लैजाने चरणको अर्को अध्याय स्वरूप नै यो अनलाइन ट्राफिक सचेतना कक्षाको शुरू गरिएको उहाँले बताउनुभयो । आगामी दिनमा पनि नागरिकको सेवा र सुरक्षाका विविध विषयहरूको पहिचान र डिजिटल प्रणालीको विकास गरी सेवा प्रवाहलाई विस्तार गर्दै लगिने उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक थापाले ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीले पछिल्लो समयमा अनुशरण गरेका प्रविधिहरूले सडक दुर्घटना रोकथाम र न्यूनीकरणमा प्रभावकारीता ल्याउनुका साथै कार्यक्षमतामा अभिवृद्धि र सेवा प्रवाहमा सुधार भएको बताउनुभयो । अनलाइन ट्राफिक सचेतना कक्षा सेवाग्राहीलाई सहज हुने भएकोले सेवाग्राहीहरूको पनि पर्‍याप्त सहयोग हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । अनलाइन माध्यमबाट हुने यस किसिमका कक्षाहरूमा सेवा प्रयोग कर्ताबाट हुन सक्ने लापर्वाहीलाई नकार्न नसकिने हुँदा त्यसतर्फ पनि पर्‍याप्त सजगता अपनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।  नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि विक्रम शाहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा ज्ञान बजार प्रालिका कार्यकारी निर्देशक ऋतिक बाबु श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।    कार्यक्रममा प्रतिनिधि सभा सदस्य अन्जनी श्रेष्ठ, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रधानमन्त्रीज्यूका सूचना प्रविधि विज्ञ, गृहमन्त्रालयका सहसचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू, प्रहरी अधिकृत एवम् जवानहरूको उपस्थितिका साथै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो । 

११ बुँदे घोषणापत्र जारी गर्दै प्रहरी र सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन २०८२ सम्पन्न
२०८२-०२-३१

काठमाडौं, अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको शुक्रबारदेखि काठमाडौंमा सुरू भएको दुई दिवसीय तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ शनिबार ११ बुँदे घोषणापत्र जारी गरी समाप्त भएको छ ।सम्मेलन समापनका अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गृहमन्त्री रमेश लेखकले सम्मेलनले फौजदारी न्यायको विषयमा सहभागीहरूबीच सार्थक र साझा निष्कर्षमा पुग्न सहयोग गर्नुका साथै आगामी दिनहरूका लागि महत्वपूर्ण प्रतिबद्धता सहित मार्गनिर्देशन गर्न सफल भएको बताउनुभयो । समय र प्रविधिको विकाससँगै नयाँ-नयाँ चुनौति र फरक शैलीका अपराधहरू वृद्धि भइरहेको सन्दर्भमा त्यसलाई सामना गर्न नयाँ पद्दतिको अवलम्बन गरी बयानमूखी अनुसन्धान भन्दा वैज्ञानिक अनुसन्धान तथा अभियोजनमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । गृहमन्त्री लेखकले प्रहरीको अनुसन्धान क्षेत्रको व्यापकता बढ्दै गएको तथा सीमित स्रोत र साधनबीच निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै प्रहरी सेवालाई वर्गीकृत र विशिष्टिकृत गरी विशेष खालका तालिम, ज्ञान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भएका उदाहरणहरूको अवलम्बन गरी विज्ञ अनुसन्धानकर्ता तयार गर्नुपर्ने जरूरी रहेको बताउनुभयो ।   समारोहमा सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलले कार्यसम्पादनका क्रममा आइपरेका समस्याहरूलाई सम्बोधन गर्न र भावी कार्यदिशा कोर्न तथा फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउन सम्मेलन सफल भएको विचार व्यक्त गर्नुभयो । सो अवसरमा महान्यायाधिवक्ता रमेश बडालले फौजदारी न्याय प्रणालीको क्षेत्रमा भइरहेका अभ्यासहरूलाई समायानुकुल परिवर्तन गर्न सम्मेलन प्रभावकारी भएको बताउनुभयो । विधिविज्ञान प्रयोगशालाबाट हुने परीक्षणमा सुधार, विकास र विस्तार गर्नुपर्ने जोड दिँदै उहाँले थप लगानी आवश्यक रहेको बताउनुभयो । समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै अपराध अनुसन्धानमा नयाँ प्रविधिको प्रयोग, नयाँ कानूनी व्यवस्था र अभ्यासका बारेमा अनुसन्धानकर्ता, अभियोजनकर्ता र सम्बन्धित विज्ञ तथा विशेषज्ञहरूबीच गहन अन्तर्क्रिया, ज्ञान र अनुभव आदानप्रदानका विषयमा सम्मेलन प्रभावकारी भएको बताउनुभयो । सम्मेलनमा भएका गहन छलफल र विषयगत मन्थन पश्चात पारित घोषणापत्रले आगामी दिनमा अनुसन्धानकर्ता र अभियोजनकर्ताको लागि थप पेशागत मार्ग प्रशस्त हुनुका साथै फौजदारी न्याय प्रणाली अझ सुदृढ हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।प्रहरी महानिरीक्षक थापाले फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनको विद्यमान अवस्थाको समीक्षा गर्दै समस्याहरूको पहिचान गर्न, सुधारका क्षेत्रहरू पहिल्याउन, एकआपसमा समन्वय र सहकार्यको संस्कृतीको निर्माण हुनुका साथै   अनुसन्धान र अभियोजनमा देखिएका समस्या र चुनौतिहरू सम्बोधन गर्न सम्मेलन कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।   नेपाल बार एशोसियसनका महासचिव केदार प्रसाद कोइरालाले सम्मेलनको महत्व र प्रभावकारिताबारे आफ्नो मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा सहन्यायाधिवक्ता सूर्यराज दाहाल र प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले सम्मेलनमा पारित घोषणापत्रको बारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा सम्मेलनमा भएका छलफलका विषयको महत्व र प्रभावकारिताबारे सहभागी अभियोजनकर्ता सरकारी वकीलकोतर्फबाट उपन्यायाधिवक्ता मुना पौडेल र अनुसन्धानकर्ता प्रहरीकोतर्फबाट प्रहरी नायव उपरीक्षक हिमा थोकरले मन्तव्य व्यक्त गर्नुभएको थियो । ‘प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान, विश्वासिलो अभियोजन पीडितको सम्मान’, भन्ने अवधारणा सहित २ दिनसम्म संचालन भएको उक्त सम्मेलनमा सरकारवादी फौजदारी मुद्दाको अनुसन्धानकर्ता नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरू, अभियोजनकर्ता सरकारी वकीलहरू, विधिविज्ञान विज्ञ समेतका सरोकारवाला निकायका प्रतिनिधिहरू तथा महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयबाट तोकिएका प्रतिनिधिहरूको सहभागिता रहनुका साथै सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, मुद्दा चल्ने इकाईका प्रमुखहरू तथा सरकारी वकीलहरूको भर्चुअल सहभागिता रहेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको तेस्रो राष्ट्रिय सम्मेलन शुभारम्भ
२०८२-०२-३०

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित विशेष समारोहबीच अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको तेस्रो राष्ट्रिय सम्मेलन २०८२ को शुभारम्भ भएको छ । सो अवसरमा प्रमुख अतिथि ज्यूले सम्मेलन विशेषाङ्कको विमोचन समेत गर्नुभयो ।समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धानको क्षेत्रलाई प्रविधिको प्रयोग सहित प्रभावकारी बनाई अभियोजनलाई प्रमाणका आधारमा अकाट्य ढंगले प्रस्तुत गरी अपराधीलाई कानुन बमोजिम कारवाही र पीडितलाई न्याय दिलाउन तथा सुशासन र सुव्यवस्था प्रभावकारी बनाउन यो सम्मेलन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले विभिन्न प्रविधिको प्रयोगबाट सिर्जित अपराधहरू चुनौतिको रूपमा देखिएको उल्लेख गर्दै  प्रहरीलाई यस्ता समस्याहरूसँग जुध्न आधुनिक प्रविधि जडित उपकरण उपलब्ध गराउन, स्रोत साधन सम्पन्न गराउन, उचित तालिमको व्यवस्था गरी क्षमतावान बनाउन र समयानुकुल पारिश्रमिकको व्यवस्था गरी प्रहरी सेवालाई निष्पक्ष बनाउन सरकार गम्भीर रहेको बताउनुभयो ।समारोहमा गृहमन्त्री रमेश लेखकले अनुसन्धान र अभियोजन फौजदारी न्याय प्रणालीको महत्वपूर्ण आयाम रहेको चर्चा गर्दै व्यवहारिक र कानूनी जटिलताहरूलाई सम्बोधन गर्न यस सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । लोककल्याणकारी राज्यको पूर्वसर्त भनेको न्याय रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले फौजदारी न्यायको केन्द्रमा पीडित रहने हुँदा पीडितलाई न्यायको अनुभूति गराउन थप क्रियाशील भई अगाडि बढ्नुपर्ने बताउनुभयो । अपराधमा विज्ञान तथा प्रविधिको प्रयोग बढिरहेको उल्लेख गर्दै प्रविधिको सहि प्रयोग गरी प्रमाणमुखि अनुसन्धान एवम् अभियोजन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले फौजदारी न्यायप्रणालीको सान्दर्भिकता र प्रभावकारीताका सन्दर्भमा नेपाल प्रहरी र महान्यायाधिवक्ता कार्यालयबीचको गहन तथा रचनात्मक सहकार्यले मात्र न्यायको प्रत्याभूति र कानुनी शासनको प्रत्याभूति हुने उल्लेख गर्नुभयो । साथै यस सम्मेलनबाट प्राप्त हुने निष्कर्षले आगामी दिनहरूमा अनुसन्धानकर्ता र अभियोजनकर्ताहरूका लागि थप पेशागत दक्षता अभिवृद्धि गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । महान्यायाधिवक्ता रमेश बडालले धन्यवाद तथा समापन मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्र राज ढकाल, नेपाल बार एशोसियसनका अध्यक्ष प्रा.डा विजय मिश्रले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । अनुसन्धानकर्ता र अभियोजनकर्ताहरू एकै स्थानमा जम्मा भई अपराध अनुसन्धान र अभियोजनको विद्यमान अवस्थाको समीक्षा गरी सुधारका लागि साझा दृष्टिकोण विकास गर्न तथा नयाँ कानुनहरूको प्रभावकारीरूपमा कार्यान्वयन गर्नका लागि महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयद्वारा संयुक्त रुपमा उक्त सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधि संहिताको संशोधन सम्बन्धी प्रस्तावित विधयेक तथा यसको सान्दर्भिकता, सरकारीवादी फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनको वर्तमान अवस्था तथा सुधारका क्षेत्रहरू, नेपालमा साइबर अपराध, अनलाइन स्क्यामिङ लगायतका अपराधको प्रवृत्ति तथा देखिएका चुनौतिहरू, सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान, अपराध अनुसन्धानमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग, सरकारीवादी फौजदारी मुद्दामा न्यायिक दृष्टिकोण एवम् सुधारका क्षेत्र लगायतका विविध विषयमा सम्मेलनमा विस्तृत छलफल हुनेछ ।‘प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान, विश्वासिलो अभियोजन पीडितको सम्मान, भन्ने अवधारणा सहित २ दिनसम्म संचालन हुने उक्त सम्मेलनमा सरकारवादी फौजदारी मुद्दाको अनुसन्धानकर्ता नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरू, अभियोजनकर्ता सरकारी वकिलहरू, विधिविज्ञान विज्ञ समेतका सरोकारवाला निकायका प्रतिनिधिहरू तथा महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयबाट तोकिएका प्रतिनिधिहरूको सहभागिता रहनुका साथै सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, मुद्दा चल्ने इकाईका प्रमुखहरू तथा सरकारी वकीलहरूको भर्चुअल सहभागिता रहेको छ ।

गृहमन्त्री रमेश लेखकद्वारा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयको निरीक्षण तथा निर्देशन
२०८२-०२-२१

काठमाडौं, गृहमन्त्री रमेश लेखकले बुधबार नेपाल प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लेखकले विपद् सम्बन्धी कृत्रिम घटना उद्दार अभ्यास प्रदर्शन एवम् विपद् उद्दार सामाग्री भण्डार, Police Disaster Response Team र विशिष्टिकृत उद्दारकर्ता समूहको अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो । निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले नेपालको भूगोल अत्यन्त जोखिमपूर्ण रहेको र हरहमेसा विपद्को सम्भावना रहेको हुँदा नेपाल प्रहरी जुनसुकै बेला पनि तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । देशमा शान्ति सुरक्षा अमन चयन कायम राख्‍ने, अपराधको नियन्त्रण तथा अनुसन्धानका साथै विपद् व्यवस्थापन पनि प्रहरीको महत्वपूर्ण जिम्मेवारी रहेको चर्चा गर्दै विपद्को समयमा कुनै पनि गुनासो नआउने गरी नागरिकको उद्दारमा अत्यन्त क्रियाशीलताका साथ खटिन उहाँले निर्देशन दिनुभयो ।  कार्यक्रममा निमित्त गृहसचिव जयनारायण आचार्यले नेपाल प्रहरी विपद्को समयमा पहिलो पंक्तिमा रहेर उद्दारमा खटिने उल्लेख गर्दै विपद्‍मा आम नागरिकको उद्दार तथा राहतका लागि स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरेर नागरिकको विश्वास जित्ने गरी उच्च मनोबलका साथ खटिनुपर्ने बताउनुभयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक दिपक थापाले विपद्का सम्भावित चुनौतिहरूको सामना गर्न नेपाल प्रहरी चौकी स्तरसम्म अन्य सुरक्षा निकायहरूसँगको समन्वयमा तत्काल परिचालन हुन सक्ने अवस्थामा रहेको बताउनुभयो । विपद्का घटनामा उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम प्रयोग गरी थप व्यावसायिकता प्रदर्शन गर्दै प्रभावकारी ढंगले प्रहरी परिचालन गरी उद्दारमा खटिन उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक तारादेवी थापाले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै मनसुन पूर्वतयारी तथा विपद् प्रतिकार्य सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, गृहमन्त्रालयका पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षक एवम् वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

विपद् व्यवस्थापनमा थप क्रियाशील भई कार्यसम्पादन गर्नुपर्ने - गृहमन्त्री रमेश लेखक
२०८२-०२-२०

काठमाडौं, गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीले सूचना संकलन एवम् पूर्वानुमानलाई संवेदनशील रूपमा लिएर विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न थप क्रियाशील भई कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।  नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित नेपाल प्रहरीको विपद् व्यवस्थापन पूर्व तयारीको निरीक्षण र निर्देशन सम्बोधन कार्यक्रममा गृहमन्त्री लेखकले उक्त कुरा बताउनुभएको हो । सो अवसरमा उहाँले विपद् व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन एवम् विपद् उद्दार सामाग्रीहरूको अवलोकन समेत गर्नुभयो । कार्यक्रममा गृहमन्त्री लेखकले विपद् व्यवस्थापनमा विगतमा भएका कमी कमजोरीहरूको विश्लेषण गरी आगामी दिनमा त्रुटिरहित ढंगबाट कार्यसम्पदान गर्न प्रहरी कर्मचारीहरू सक्रिय हुनुपर्ने बताउनुभयो । विपद् व्यवस्थापनमा स्थानीय तह एवम् अन्य सरोकारवाला निकायसँग समन्वय गरी जनताले महसुस गर्न सक्ने गरी उत्कृष्ट कार्य गर्न समेत उपस्थित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो ।  कार्यक्रममा निमित्त गृहसचिव जयनारायण आचार्यले विपद् व्यवस्थापनमा सूचना संकलन र आपसी समन्वय महत्वपूर्ण हुने चर्चा गर्दै नेपाल प्रहरीले अन्य सुरक्षा निकायहरूसँग आपसी समन्वय र सहकार्य गर्दै विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । आम नागरिकले संकटको बेला सुरक्षा निकायहरूलाई आशाको केन्द्रको रूपमा लिने हुनाले त्यस्तो परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहमा थप संवेदनशील भई उच्च मनोबलका साथ कार्यसम्पदान गर्नुपर्ने उहाँले बताउनुभयो । विगतका अनुभवहरूलाई विश्लेषण गरी विपद् व्यवस्थापनमा थप प्रभावकारी रूपमा परिचालित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवम् अनुसन्धान गर्न, ट्राफिक व्यवस्थापन र विपद् व्यवस्थापनमा नेपाल प्रहरीले आफ्नो क्षमता र उपलब्ध स्रोतसाधनको समुचित प्रयोग गरी कुशलतापूर्वक जिम्मेवारी वहन गर्दै आएको बताउनुभयो । सबै किसिमका आपतकालिन घटनामा अग्रपंक्तिमा रहेर प्रहरीले बहुआयामिक भूमिका निर्वाह गर्दै आएको र निरन्तर गरिरहने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक थापाले विपद् व्यवस्थापनमा परिकल्पना भन्दा बाहिरका परिस्थिति र सुरक्षा चुनौति देखा पर्न सक्ने हुनाले पूर्व तयारीलाई पहिलो प्राथमिकतामा राखेर विपद्का सम्भावित चुनौतिहरूको पूर्व आकलन र ती चुनौतिहरूको सामना गर्न उपलब्ध जनशक्ति र स्रोतसाधनलाई तयारी हालतमा राखिएको बताउनुभयो । साथै विपद् व्यवस्थापनमा स्थानीय तह एवम् अन्य सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य गरी उच्च मनोबलका साथ तयारी हालतमा रहन प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो ।  कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशी, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले विपद् व्यवस्थापन पूर्व तयारी सम्बन्धी आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।  कार्यक्रममा निमित्त सशस्त्र प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका सहसचिवहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिका साथै ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरू एवम् जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो । 

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०२-०९

धनुषा, गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा शुक्रबार आयोजित कार्यक्रमबीच मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठी, २०८२ धनुषामा सम्पन्न भएको छ । नेपाल सरकार गृहमन्त्रालय र गृह, संचार तथा कानून मन्त्रालय मधेश प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो । उक्त अवसरमा गृहमन्त्री लेखकले प्रदेश अन्तर्गतका जिल्लाहरूको शान्ति सुरक्षा प्रभावकारी बनाउन र देखिएका समस्या एवम् चुनौतिलाई समाधान गर्न यस गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । देशको आन्तरिक सुरक्षा मजबुद भए मात्रै विकास र समृद्धि सम्भव हुने उल्लेख गर्दै सुरक्षा व्यवस्था मजबुद बनाउन सबै सुरक्षा निकायहरूले विशेष ध्यान दिई कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो । लागूऔषध दुर्व्यसन, सवारी दुर्घटना, आत्महत्या र साईबर अपराधका घटनाहरूलाई नियन्त्रण गर्न सबै सरोकारवाला निकायहरू सक्रिय भएर अगाडि बढ्नुपर्ने बताउँदै सीमा क्षेत्रमा हुने चोरी निकासी पैठारी एवम् सीमावर्ती अपराधहरू नियन्त्रणमा थप सचेत भई काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि भावी रणनीति बनाएर काम गर्नुपर्ने बताउँदै विपद्‍ व्यवस्थापनका लागि उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गरी कार्यसम्पदान गर्नुपर्ने उहाँले बताउनुभयो ।सो अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, मधेश प्रदेशका गृह, संचार तथा कानून मन्त्री राज कुमार लेखी, मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबारका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।गोष्ठीमा प्रहरी महानिरीक्षक दिपक थापाले खुला सीमाना भएको यस प्रदेशमा सीमा अपराध, तस्करी, लागूऔषध दुर्व्यसन तथा ओसारपसार, सवारी दुर्घटना र साईबर अपराध मुख्य चुनौतिको रूपमा रहेको उल्लेख गर्दै उपलब्ध स्रोत साधन, जनशक्ति तथा प्रविधिको अधिकतम प्रयोग गरी कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । प्रदेशमा शान्ति सुव्यवस्था कायम राख्न, अपराध नियन्त्रण एवम् अपराधको वस्तुनिष्ठ अनुसन्धान गर्न आवश्यक रणनीति तयार गरी सुरक्षा चुनौतिहरूको विश्लेषण गर्दै सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय एवम् सहकार्य गरी अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । महिला, बालबालिका, ज्येष्ठ नागरिक, सिमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्गका समस्यालाई प्राथमिकतामा राखी नागरिक केन्द्रित सेवा प्रवाहमा थप सक्रिय भई कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो ।  सो अवसरमा नेपाली सेनाका रथी निर्मल कुमार थापा, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, मधेश प्रदेशका गृह, संचार तथा कानून मन्त्रालयका सचिव विमल प्रसाद बराल लगायतले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा मधेश प्रदेश अन्तर्गतका ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौति, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा मधेश प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव गोकर्णमणी दुवाडीले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा मधेश प्रदेश अन्तर्गतका ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०१-३०

मोरङ, ३१ वैशाख गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा बुधबार आयोजित कार्यक्रम बीच कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठी, २०८२ विराटनगरमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो । उक्त अवसरमा गृहमन्त्री लेखकले जिल्लाहरूको शान्ति सुरक्षा प्रभावकारी बनाउन र देखिएका समस्या एवम् चुनौतिलाई समाधान गर्न यस गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । देशको आन्तरिक सुरक्षा मजबुद भए मात्रै विकास र समृद्धि सम्भव हुने उल्लेख गर्दै सुरक्षा व्यवस्था तथा आर्थिक अवस्था मजबुद बनाउन भन्सार चोरी निकासी, कालोबजारी, गुण्डागर्दी, भ्रष्टाचार, लागूऔषध दुर्व्यसन, सवारी दुर्घटना, आत्महत्या र साईबर अपराधका घटनाहरूलाई नियन्त्रण तथा निरूत्साहित गर्न सबै सरोकारवाला निकायहरू एकजुट भएर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । संविधानको विरूद्धमा हुने कुनै पनि गतिविधि मान्य नहुने र शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि भावी रणनीति बनाएर काम गर्नुपर्ने बताउँदै विपद्‍ व्यवस्थापनका लागि उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गरी कार्यसम्पदान गर्नुपर्ने उहाँले बताउनुभयो ।सो अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारी र कोशी प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेलले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।गोष्ठीमा प्रहरी महानिरीक्षक दिपक थापाले राज्यको आर्थिक, सामाजिक सुशासन, भौतिक पूर्वाधार र साँस्कृतिक विकास एवम् समृद्धिका निम्ति महत्वपूर्ण एवम् आधारभूत क्षेत्रको रूपमा रहेको सुरक्षा क्षेत्रलाई सक्षम, अब्बल र व्यावसायिक रूपमा विकसित गर्दै लैजान आवश्यक रहेको बताउनुभयो । केन्द्रीय र प्रदेश स्तरबाट प्रभावकारी एवम् कुशल समन्वय र सहकार्य गरी कोशी प्रदेशको शान्ति सुरक्षा थप मजबुद बनाई व्यावसायिक तथा सक्षम प्रहरी सेवा प्रवाह गराउन र कानूनको निष्पक्ष कार्यान्वयन गरी विकासमैत्री वातावरण सृजना गर्न प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।प्रहरी महानिरीक्षक थापाले विधिको शासनलाई अझ सशक्त बनाउन, आम नागरिकलाई न्यायको प्रत्याभूति दिलाउन, राज्यले प्रदत्त गर्ने सेवाहरूमा सबैको पहुँच सुनिश्‍चित गर्न एवम् देश र समाजको दिगो विकास प्राप्तिमा नेपाल प्रहरी सदैव कटिबद्ध रहेको उल्लेख गर्नुभयो । प्रदेशमा शान्ति सुव्यवस्था कायम राख्न थप सक्रियता एवम् रचनात्मक ढंगले आ-आफ्नो कार्यक्षेत्रमा अग्रसर रहि कार्य सम्पादन गर्न प्रदेश तथा जिल्ला प्रहरी प्रमुखहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।सो अवसरमा नेपाली सेनाका रथी निर्मल कुमार थापा, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव रामचन्द्र तिवारी, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राम प्रसाद आचार्य लगायतले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको   थियो । गोष्ठीमा कोशी प्रदेश अन्तर्गतका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौति, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा कोशी प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव गोकर्णमणी दुवाडीले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा कोशी प्रदेश अन्तर्गतका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०१-०५

कास्की, गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा शुक्रबार आयोजित कार्यक्रम बीच गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठी, २०८२ पोखरामा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो । उक्त अवसरमा गृहमन्त्री लेखकले वर्तमान संविधान ठूलो संघर्षबाट प्राप्त भएको तथा यसको रक्षाका लागि प्रत्येक निकायहरू सदैव तयार हुनुपर्ने उल्लेख गर्दै संविधान विरोधी गतिविधि तथा अस्थिरता निम्त्याउने काम कुनैपनि हालतमा क्षम्य नहुने बताउनुभयो । गृहमन्त्री लेखकले लागूऔषधको बढ्दो प्रयोग, आत्महत्या, सवारी दुर्घटना, साइबर अपराध र प्राकृतिक विपद् चुनौतिका रूपमा देखा परेको उल्लेख गर्दै त्यस्ता चुनौतिको समाधान गर्ने तर्फ सरकार निरन्तर क्रियाशील रहेको बताउनुभयो । प्रभावकारी सेवा प्रवाह अपरिहार्य भएको बताउँदै उहाँले संघ, प्रदेश र स्थानीय तह बीच आपसी समन्वय गर्दै सेवा प्रवाहलाई नागरिकमैत्री तथा प्रविधिमैत्री बनाउन थप क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम बिष्टले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।गोष्ठीमा प्रहरी महानिरीक्षक दिपक थापाले न्यूनतम जनशक्ति एवम् साधनस्रोतका वावजुद प्रहरीले उच्च कार्यसम्पादन गरिरहेको बताउनुभयो । सुरक्षा र विकास योजना सँगसँगै लैजानुपर्ने आवश्यकता रहेको पहिल्याउँदै बदलिँदो समयमा हुने गरेका प्रविधियुक्त अपराधको अनुसन्धान गर्न प्रहरीमा पनि समयानुकुल प्रविधिको विकास, स्रोतसाधन र क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।सो अवसरमा नेपाली सेनाका रथी निर्मल कुमार थापा, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव रामचन्द्र तिवारी लगायतले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौति, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा गण्डकी प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव गोकर्णमणी दुवाडीले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

गृह मन्त्रालयद्वारा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको बिदाइ
२०८१-१२-०४

काठमाडौं, गृहमन्त्री रमेश लेखकले सोमबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रममा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई शुभकामना सहित बिदाइ गर्नुभयो । साथै उहाँले प्रहरी महानिरीक्षक कुँवरलाई मायाको चिनो समेत प्रदान गर्नुभयो । उक्त अवसरमा गृहमन्त्री लेखकले आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक कुँवरलाई बधाई दिँदै सेवा निवृत्त पछिको व्यवासायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक कुँवरले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक एवम् इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै उहाँले आगामी दिनमा पनि आवश्यकता अनुरूप राष्ट्रको लागि थप काम गर्ने अवसर प्राप्त गर्नुहुनेछ भन्ने शुभकामना समेत  दिनुभयो ।कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले मुलुकको शान्ति, सुरक्षाको सुनिश्‍चितता गर्ने प्रहरी संगठनको प्रमुखको महत्वपूर्ण र गरिमामय पदमा कार्यरत भएर मुलुकका लागि पुर्‍याएको योगदान अतुलनीय रहेको बताउँदै सेवा निवृत्त पछि अझ बढि प्रगतिको लागि शुभकामना समेत दिनुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षक पद सम्मको लामोयात्रा सम्पन्न गरी आज बिदाइ हुँदै गरेको क्षणलाई सम्मान र गौरवको रूपमा लिएको बताउनुभयो । आफ्नो कार्यकालको अवधिमा नेपाल प्रहरीको समायानुकुल आधुनिकिकरण, सांगठनिक सुदृढिकरण, विकास र स्तरउन्नतीको लागि नेपाल सरकार, गृहमन्त्रालयबाट प्राप्त भएको अभिभावकत्व, हौसला र मार्गनिर्देशनको लागि कृतज्ञता समेत व्यक्त गर्नुभयो । आगामी दिनमा समेत नेपाल प्रहरी संगठनको श्रीवृद्धि एवम् प्रहरी कर्मचारीहरूको हित र उत्प्रेणाको लागि निरन्तर मार्गदर्शन र सकारात्मक पहलकदमी भइरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा लागूऔषध विरूद्धको महाअभियान शुभारम्भ
२०८१-११-१७

काठमाडौं, गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा शनिबार आयोजित समारोहबीच लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम शुभारम्भ भएको छ । गृहमन्त्री लेखकले पानसमा दीप प्रज्जवलन गरी उक्त महाअभियानको शुभारम्भ गर्नुभएको हो ।   समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले विभिन्न महत्वपूर्ण व्यक्तित्वहरू, युवा तथा विद्यार्थीहरू, चलचित्रकर्मीहरू, कला र संगीतक्षेत्रका विशिष्ट व्यक्तिहरूलाई जोडेर शुभारम्भ भएको यो महाअभियान अत्यन्तै प्रशंसनीय रहेको बताउनुभयो । लागूऔषध समाजमा घातक चुनौतिको रूपमा देखा परेको र लागूऔषध दुर्व्यवसनले व्यक्तिलाई मात्र नभई समग्र परिवार तथा समाजलाई नै खोक्रो पारी आत्महत्या, साइबर अपराध, यौन जन्य अपराध, घरेलु हिंसा, सवारी दुर्घटना जस्ता अपराधहरूमा समेत वृद्धि भइरहेकोले यसको न्यूनिकरण र नियन्त्रणमा सरकार र प्रहरीको प्रयासको साथै समाजका विभिन्न व्यक्तित्वहरूलाई जोड्दै महाअभियानको रूपमा लागूऔषध विरूद्ध लड्न जरूरी रहेको उहाँले बताउनुभयो ।  सो अवसरमा गृहसचिव गोकर्णमणि दुवाडीले लागूऔषध समाजमा अत्यन्तै पेचिलो बन्दै गएको प्रमुख समस्याको रूपमा रहेको उल्लेख गर्दै यसको समाधानका लागि नेपाल सरकार र मातहतका निकायहरूको प्रयासले मात्र सम्भव नहुने हुँदा सबै सरोकारवाला पक्षहरूको साथ, सहयोग, सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो । लागूऔषध दुर्व्यवसनले सामाजिक अपराधलाई समेत बढावा दिने हुँदा यसको नियन्त्रणमा सबै सरोकारवाला पक्षहरूको सक्रिय सहभागीता, समन्वय, साझेदारी र सहयोग हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।   कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद मन्तव्य व्यक्त गर्दै विश्वव्यापी रूपमै जटिल समस्याको रूपमा देखा परेको लागूऔषधको उत्पादन, ओसारपसार, बिक्री वितरण एवम् सेवनको असर र प्रभाव हाल नेपालमा समेत बढ्दै गईरहेकोले यसको न्यूनिकरण र रोकथाम समेत संवेदनशील विषयको रूपमा देखापर्दै आएको बताउनुभयो । व्यक्ति, परिवार र समाज मात्र नभई समग्र राष्ट्रलाई नै असर पर्ने गम्भीर चुनौतिको रूपमा रहेको लागूऔषधको नियन्त्रण र निराकरणमा समयमै एकजुट हुन नसकेको खण्डमा उत्पादनशील तथा सिर्जनशील युवा जनशक्ति गुमाउनुको साथै आपराधिक गतिविधि वृद्धि हुन जाने हुँदा यसको विरूद्ध सामुहिक प्रतिवद्धता आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । सुरक्षित, स्वच्छ र लागूऔषध रहित समाज निर्माणमा नेपाल प्रहरी सदैव कटिवद्ध रहँदै आएको र आगामी दिनमा समेत यसको निरन्तरता हुने उहाँले प्रतिवद्धता व्यक्त   गर्नुभयो ।प्रहरी महानिरीक्षक कुँवरले लागूऔषध विरूद्ध जनचेतना फैलाउँदै यसको न्यूनिकरण तथा नियन्त्रणका लागि सामाजका सबै तह र तप्कालाई सम्मिलित गराई विशेष प्रकृतिको परिणाममुखी अभियान संचालनको आवश्यकता रहेको बताउँदै समाजको नेतृत्वदायी भूमिकामा रहेका राजनैतिक दल र युवा समुहहरू एवम् सामाजिक आदर्शका रूपमा समाजसँग नजिक रहेका अभिभावक, शिक्षक, कलाकार तथा सञ्चारकर्मीहरू समेतको सहभागीताले यस महाअभियानको प्रभावकारीता र गुणस्तरीयता बढ्न गई परिणाममुखी हुने अपेक्षा रहेको बताउनुभयो । लागूऔषध नियन्त्रण र रोकथाम कुनै एक निकायको प्रयासबाट मात्र सम्भव नहुने हुँदा यसको लागि सरोकारवाला सबै पक्षहरूको संयुक्त सहकार्य, साथ, सहयोग र समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले लागूऔषध कारोबार तथा दुर्व्यवसनीका घटना न्यूनिकरण र नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय गर्दै नेपाल प्रहरीबाट चालिनुपर्ने कदममा खरो ढंगबाट प्रस्तुत हुन उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।  काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषध सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।सो अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र  चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सि., अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक वडाल, अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष मदन ढकाल तथा ने.वि.सं. केन्द्रीय सभापति दुजाङ शेर्पाबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सि., वरिष्ठ कलाकार सरोज खनाल, सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपाने, ने.वि.सं. केन्द्रीय सभापति दुजाङ शेर्पा, अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक वडाल, अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष मदन ढकाल, पत्रकार महासंघका उपाध्यक्ष नितु पण्डित लगायतले आ-आफ्नो प्रतिवद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयबाट गिती नाटक सम्बन्धी भिडियो प्रस्तुत गरिएको थियो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा आयोजित उक्त महाअभियान कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू, जिल्ला न्यायाधिवक्ताहरू, गृहमन्त्रालयका प्रतिनिधिहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल स्काउटका प्रमुख आयुक्त, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, नागरिक समाज, संचारकर्मीहरू, कलाकारहरू, स्थानीय जनप्रतिनिधिहरू एवम् आमन्त्रित महानुभावहरूको समेत उपस्थिति रहेको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपाल पुलिस क्लबको नवनिर्मित भवन उद्‍घाटन
२०८१-१०-२६

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पुलिस क्लब परिसरमा नवनिर्मित नेपाल पुलिस क्लब ‘The Blue Pavilion’ भवनको शनिबार आयोजित समारोहबीच उद्‍घाटन गर्नुभएको छ ।  सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको विकासक्रमसँग सम्बद्ध विभिन्न ऐतिहासिक तथ्य, दस्तावेज एवम् घटनाक्रमहरूको संकलन, अध्ययन एवम् विश्लेषण गरी तयार पारिएको ‘नेपाल प्रहरीको इतिहास भाग २’ पुस्तकको विमोचन गर्नुभयो ।  समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल प्रहरीको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लागि ७४ लाख रूपैयाँको चेक प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हस्तान्तरण गर्नुभयो । समारोहमा प्रधानमन्त्री ओलीले पुस्तक लेखनमा योगदान पुर्‍याउनुहुने प्रा.डा. द्वय शंकर थापा र धनश्याम भट्टराई तथा भवन निर्माणमा योगदान पुर्‍याउनुहुने प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा, प्रहरी वरिष्ठ उपरीक्षक ई. राम कुमार चौधरी लगायतलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।   समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवनिर्मित भवनले प्रहरीलाई शारीरिक र मानिसक हिसाबले स्वस्थ्य र सबल बनाउँदै प्रहरीले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रहरी सबल र सक्षम हुनुपर्ने बताउँदै नेपाल प्रहरीले जनताको अपेक्षा अनुरूप सेवा प्रवाह गर्नुपर्ने तथा कुनै प्रभाव, भनसुन र दबाबमा नपरी संविधान एवम् कानून बमोजिम प्रमाण र तथ्यमा आधारित भई न्यायसंगत ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो । समारोहमा गृहमन्त्री रमेश लेखकले प्रहरी संगठन केवल कानून कार्यान्वयन गर्ने निकाय मात्र नभई मुलुकको स्थायित्व र शान्ति, सुरक्षा कायम राख्ने महत्वपूर्ण संगठन भएको चर्चा गर्दै प्रहरी कर्मचारीको शारीरिक, मानसिक, बौद्धिक र सामाजिक क्रियाकलापहरू अभिवृद्धिका लागि नेपाल पुलिस क्लबले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो । क्लबले प्रहरी संगठनका सदस्यहरूका लागि मात्र नभई आम नागरिकहरूलाई समेत खेलकुद र स्वास्थ्य सेवाका माध्यमबाट लाभान्वित गर्दै आएको बताउँदै नयाँ भवनबाट प्रहरी परिवार तथा सर्वसाधारणहरूलाई अझ स्तरीय सुविधा उपलब्ध हुने र प्रहरी संगठनभित्र सहकार्य, आत्मविश्वास र अनुशासन कायम गराउने विश्वास व्यक्त गर्नुभयो । गृहमन्त्री लेखकले लागूऔषध दुर्व्यसन, सडक दुर्घटना, आत्महत्या र साइबर अपराध मुख्य चुनौतिको रूपमा देखिएको बताउँदै यसको न्यूनिकरण एवम् नियन्त्रणमा प्रहरी कर्मचारीहरू थप उर्जाशील, व्यवसायिक, मेहनती र परिश्रमी भई कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।   सो अवसरमा गृहसचिव गोकर्णमणि दुवाडीले मुलुकको आन्तरिक सुरक्षा एवम् कानूनको परिपालना र शान्ति सुव्यवस्था कायम गर्ने राज्यको प्रमुख जिम्मेवारी वहन गर्ने नेपाल प्रहरी नागरिकको सुरक्षा, सेवा र भरोसाको महत्वपूर्ण केन्द्र रहेको उल्लेख गर्नुभयो । नेपाल प्रहरी संगठनले आफ्नो स्थापनाकाल देखिनै कानूनी राज्यको अवधारणालाई सर्वपरी रूपमा अंगिकार गर्दै समायानुकूल रूपमा आफूलाई परिस्कृत र परिमार्जन समेत गर्दै शान्ति सुव्यवस्था र सामाजिक सदभाव कायम राख्ने एवम् अपराध नियन्त्रण, रोकथाम तथा अनुसन्धान गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको बताउनुभयो । प्रहरीबाट प्रवाह हुने सेवाको प्रभावकारिता तथा कार्यसम्पादनको स्तरलाई प्रत्यक्ष रूपमा साधन स्रोत, सुविधा र संरचनाहरूले प्रभाव पर्ने भएकोले नेपाल प्रहरीको समग्र विकासको लागि संगठन आफैमा व्यवस्थित र पूर्वाधारले सुसज्जित हुनु अपरिहार्य रहेको र यसका लागि गृहमन्त्रालय सदैव चिन्तनशील र संवेदनशील रहेको उहाँले बताउनुभयो । समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद ज्ञापन व्यक्त गर्दै नेपाल प्रहरीले आफ्नो स्थापनकालदेखि नै राज्यले सुम्पेको जिम्मेवारीका साथै मुलुकको आन्तरिक सुरक्षा व्यवस्था कायम राख्ने, कानूनको प्रभावकारी कार्यान्वयन गर्ने, शान्ति सुव्यवस्था कायम राखी सामाजिक सद्भाव र एकता कायम राख्दै अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धान गर्ने महत्वपूर्ण जिम्मेवारी निष्ठापूर्वक वहन गर्दै आएको उल्लेख गर्नुभयो । हालको विश्वव्यापी परिवेश, प्रविधिको उच्चतम विकास र प्रयोगसँगै हुने गरेको दुरूपयोग, बहिर्क्षेत्रीय सुरक्षा चुनौतिहरू साम्प्रदायिक अतिवाद लगायतका गतिविधिहरूलाई सम्बोधन गर्न नेपाल प्रहरी दृढतापूर्वक कटिवद्ध रहेको उहाँले बताउनुभयो । साथै नवनिर्मित भवनले अत्यन्त चुनौतिपूर्ण जिम्मेवारी वहन गर्नुपर्ने प्रहरी कर्मचारीहरूलाई शारीरिक तन्दुरूस्ती एवम् मानसिक स्वास्थ्य कायम राख्न सहयोग पुग्ने समेत उहाँले बताउनुभयो । नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक ई. राम कुमार चौधरीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कुल ७५ करोड ८७ लाख २९ हजार ८ सय ३० रूपैयाँ ४५ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । समारोहमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक/ विकास सल्लाहकार युवराज खतिवडा, प्रतिनिधि सभा सदस्य तथा नेपाल सरकारका पूर्व मन्त्री एवम् अवकाश प्राप्त प्रहरी महानिरीक्षक ध्रुब बहादुर प्रधान, नेपाल सरकारका सचिवहरू, नायव महान्यायाधिवक्ता, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, काठमाडौं महानगरपालिकाका उपप्रमुख, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सहसचिवहरू, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधिश, जिल्ला न्यायाधिवक्ता, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, संचारकर्मीहरू एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८१-०९-०२

काठमाडौं, गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा मंगलबार आयोजित कार्यक्रमबीच एक दिवसीय लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८१ रूपन्देहीको भैरहवामा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।उक्त अवसरमा गृहमन्त्री लेखकले गोष्ठी परिणाममुखी हुनुपर्नेमा जोड दिँदै गोष्ठीबाट प्रदेशको शान्ति सुरक्षाको स्थिति विश्लेषण गरेर प्रत्येक जिल्लामा शान्ति सुरक्षामा देखा परेका चुनौतीहरू र ती चुनौतीहरूलाई सम्बोधन गर्दै प्रदेशमा शान्ति सुरक्षाको स्थितिलाई पूर्णरूपले सुनिश्चित गर्नुपर्ने बताउनुभयो । राजश्व चुहावट, तस्करी नियन्त्रण एवम् सीमा नाकामा हुने अपराधजन्य गतिविधि नियन्त्रणमा परिणाममुखी ढंगले देखिने गरी कार्यसम्पादन गर्न समेत उहाँले निर्देशन दिनुभयो । साथै प्रदेशमा चुनौतीको रूपमा देखिएका आर्थिक अपराध, साइबर अपराध, ठगी, लागूऔषध, आत्महत्या, सवारी दुर्घटना जस्ता समस्यालाई नियन्त्रण तथा न्यूनीकरण गर्न विशेष सक्रियताका साथ कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । गृहमन्त्री लेखकले शान्ति सुरक्षा नै लोकतन्त्रको पूर्व सर्त भएको उल्लेख गर्दै शान्ति सुरक्षा मार्फत देशमा आर्थिक विकास एवम् विकास निर्माणका काम अगाडि बढ्ने बताउनुभयो । शान्ति सुरक्षा नागरिकले प्राप्त गर्नुपर्ने पहिलो आधारभूत अधिकार भएको र संविधानको रक्षाको सर्त पनि भएको बताउँदै शान्ति सुरक्षाको सुनिश्चितताले नागरिकले आफ्नो हक अधिकारहरू निर्वाद रूपले उपभोग गर्न पाउने समेत भएकोले यसलाई गम्भीरतापूर्वक बुझ्न जरूरी रहेको उहाँले उल्लेख गर्नुभयो । सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री आदेश कुमार अग्रवाल र लुम्बिनी प्रदेशका प्रमुख सचिव माहादेव पन्थले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभयो ।गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रदेशमा देखिएका सुरक्षा र अपराध सम्बन्धी समस्या तथा चुनौतीहरूको पहिचान तथा विश्लेषण गर्न एकिकृत र समन्वयात्मक रूपमा आयोजना गरिएको यस गोष्ठी निकै महत्वपूर्ण र उपलब्धिमूलक भएको बताउनुभयो । सुरक्षा सम्बन्धी मुद्दाहरूमा छलफल, सबै आवश्यक सुरक्षा उपायहरू र जोखिम मूल्याङ्कन, विभिन्न अपराध, घटना प्रतिक्रिया र प्रतिकार्य योजनाहरूको समीक्षा र सो वस्तुस्थितलाई अद्यावधिक गर्दै परिमार्जित रणनीतिको रूपरेखा निर्माण गरी प्रदेशको सुरक्षा व्यवस्थापन गर्ने संवेदनशील विषयमा राज्यका सबै अंगहरूबीच समन्वय र सहकार्य अपरिहार्य हुने हुँदा यस गोष्ठीद्वारा एकिकृत कार्यप्रणालीको सुदृढिकरणमा नयाँ आयाम थप हुनेमा विश्वस्त रहेको उहाँले उल्लेख गर्नुभयो ।  सो अवसरमा नेपाली सेनाका रथी प्रदीप जंग केसी, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव ऋषिराम तिवारी र लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रेखा कंडेलले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा लुम्बिनी प्रदेश अन्तर्गत १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा लुम्बिनी प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव गोकर्णमणी दुवाडीले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा लुम्बिनी प्रदेश अन्तर्गत १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८१-०८-२४

काठमाडौं, गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा सोमबार आयोजित कार्यक्रमबीच एक दिवसीय कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८१ सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।उक्त अवसरमा गृहमन्त्री लेखकले गोष्ठी परिणाममूखि हुनुपर्नेमा जोड दिँदै चुनौतीका रूपमा रहेका साइबर अपराध, सीमा सुरक्षा, सीमा नाकामा हुने राजस्व चुहावट, लागूऔषध, आत्महत्या, सवारी दुर्घटना र विपद् जस्ता समस्यालाई नियन्त्रण तथा न्यूनीकरण गर्न विशेष सक्रियताका साथ कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो । प्रदेशमा शान्ति सुरक्षा कायम गर्न सबै सरोकारवाला निकायहरूबीच आपसी समन्वय र सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सो अवसरमा कर्णाली प्रदेशका मुख्य मन्त्री तथा आन्तरिक मामिला तथा कानुन मन्त्री यामलाल कडेल र कर्णाली प्रदेशका प्रमुख सचिव चूडामणि पौडेलले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभयो ।गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रदेशमा देखिएका समस्या तथा चुनौतीहरूको पहिचान तथा विश्लेषण गरी प्रदेशको प्रयास र केन्द्रको अपेक्षा बुझ्न एकीकृत र समन्वयात्मक रूपमा आयोजना गरिएको यस गोष्ठी निकै महत्वपूर्ण र उपलब्धीमूलक भएको बताउनुभयो । प्रदेशमा शान्ति सुरक्षा बहाल राख्ने कार्यमा सम्पूर्ण सरोकारवाला निकाय र सुरक्षा निकायबीचको आपसी समन्वय र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै यस गोष्ठीले कर्णाली प्रदेशमा शान्ति सुरक्षाको अवस्था अझ सुदृढ बनाउनेमा अहम भूमिका खेल्ने विश्वास लिएको उहाँले बताउनुभयो । महिला तथा बालबालिकाविरुद्ध हुने अपराधका घटना अनुसन्धानमा शून्य सहनशिलता तथा हिंसा न्यूनीकरणलाई प्राथमिकताका साथ विशेष योजना बनाई प्रभावकारी रूपमा पहल गर्नुहुन समेत उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो ।    सो अवसरमा सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारी, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव ऋषिराम तिवारी र कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पुष्प राज शाहीले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा कर्णाली प्रदेश अन्तर्गत १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा कर्णाली प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव गोकर्णमणी दुवाडीले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा कर्णाली प्रदेश अन्तर्गत १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८१-०८-०४

काठमाडौं, गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा मंगलबार आयोजित कार्यक्रमबीच एक दिवसीय सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी कैलालीको धनगढीमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालय तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।उक्त अवसरमा गृहमन्त्री लेखकले गोष्ठी परिणाममूखि हुनुपर्नेमा जोड दिँदै चुनौतीका रूपमा रहेका साइबर अपराध, सीमा सुरक्षा, सीमा नाकामा हुने राजस्व चुहावट, लागूऔषध, आत्महत्या, सवारी दुर्घटना र विपद् जस्ता समस्यालाई नियन्त्रण तथा न्यूनीकरण गर्न सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायहरू चुस्त दुरूस्त हुनुपर्ने बताउनुभयो । साथै आसन्न उपनिर्वाचनलाई शान्तिपूर्वक, निष्पक्ष र स्वतन्त्र रूपले सम्पन्न गर्न उहाँले निर्देशन समेत दिनुभयो । सो अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाह, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की र प्रमुख सचिव डा. कमल प्रसाद पोखरेलले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभयो ।गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शान्ति सुरक्षाको स्थिति थप मजबुत बनाउन, व्यावसायिक तथा सहज प्रहरी सेवा सुनिश्चित गराउन, कानुनको निष्पक्ष कार्यान्वयन गर्न, न्यायको प्रत्याभूति दिलाउन र विकासमैत्री वातावरण सिर्जना गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो । गोष्ठीबाट प्राप्त निर्देशनलाई अक्षरस पालना गरी समग्र प्रदेशमा शान्ति सुरक्षा तथा सुशासन कायम गर्न थप सक्रियताका साथ काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । स्थानीय तहको उप-निर्वाचनमा विगतमा सामना गरिएका सुरक्षा चुनौतिहरू तथा जोखिमहरूको बिश्लेषण गरी सुरक्षा योजना निर्माण तथा कार्यान्वयनको निम्ति तयारी अवस्थामा रहन प्रदेशस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।  सो अवसरमा सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका उपरथी प्रकाश देउजा, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव छवि रिजाल र सुदूरपश्चिम आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुशिल वैद्यले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा सुदूरपश्चिम प्रदेश अन्तर्गत ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा सुदूरपश्चिम प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव गोकर्णमणी दुवाडीले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा सुदूरपश्चिम प्रदेश अन्तर्गत ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

गृहमन्त्री रमेश लेखकबाट ई-चलान (डिजिटल चिट) को शुभारम्भ
२०८१-०७-०४

काठमाडौं, गृहमन्त्री रमेश लेखकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित समारोह बिच Traffic Violation Record System (TVRS), ई-चलान (डिजिटल चिट) को शुभारम्भ गर्नुभएको छ । साथै उहाँले ई-चलानको प्रयोग सम्बन्धी स्थलगत अवलोकन समेत गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले राज्यको तर्फबाट सबै सेवाग्राहीलाई सरल, सुलभ, पारदर्शी, झन्झटिलो र जटिलता रहित सेवा प्रवाह गर्नु सरकारको मुख्य उद्देश्य रहेको चर्चा गर्दै आज शुभारम्भ भएको प्रविधिले सबै सेवाग्राहीलाई सरल एवम् सुलभ रूपमा सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै ट्राफिक प्रहरीले यस प्रविधिको सफल प्रयोग गर्दै उदाहरणीय कार्यसम्पादनको लागि उहाँले शुभकामना समेत दिनुभयो । सबै सेवाप्रदायक प्रशासनलाई प्रविधियुक्त बनाउँदै लैजाने र सुशासन स्थापना गर्ने विषयमा सरकार अगाडी बढेको उहाँले बताउनुभयो ।गृहमन्त्री लेखकले सरकारसँग नागरिकलाई जोड्ने पहिलो अंग प्रहरी भएको उल्लेख गर्दै सबै प्रहरी कर्मचारीहरूले थप संयमित एवम् इमानदार भएर नागरिकलाई सेवा प्रदान गर्न अग्रसर हुनुपर्ने बताउनुभयो । सवारी दुर्घटना ठूलो चुनौतिको रूपमा देखा परेको बताउँदै उहाँले त्यसको न्यूनिकरण गर्न सरोकारवाला सबै निकायहरूले आ-आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक बोध गरेर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । दुर्घटना न्यूनिकरण, ट्राफिक नियमको पालना लगायतका विषयमा अझ बढि सचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले ई-चलानको शुभारम्भ स्वागत योग्य रहेको चर्चा सहित आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सडक सुरक्षा एवम् ट्राफिक व्यवस्थापन सम्बन्धमा नविनतम प्रविधिको माध्यमबाट आम नागरिकमा सहज, सरल, पारदर्शी र गुनासो रहित ढंगको सेवा प्रवाहलाई प्रवर्द्धन गर्ने हेतुले यस प्रविधिको शुभारम्भ भएको बताउनुभयो । त्रुटिरहित तवरबाट यसको कार्यान्वयनका लागि नेपाल प्रहरी सदैव कटिवद्ध रहने उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले सडक सुरक्षा एवम् ट्राफिक व्यवस्थापन नेपाल प्रहरीको जिम्मेवारी अन्तर्गत रहेको विशिष्टिकृत कार्य रहेको उल्लेख गर्दै यसको समयानुकूल आधुनिकीकरण र परिमार्जनमा नेपाल प्रहरीले आफ्नो स्रोत साधनले भ्याएसम्म आफ्ना प्रयासहरू निरन्तर राखेको बताउनुभयो । आज शुभारम्भ भएको ई-चलान प्रविधिको प्रयोग गरी ट्राफिक कारवाहीलाई प्रविधिमैत्री बनाउन सहयोग सिद्ध हुने अपेक्षा लिएको उल्लेख गर्दै यो सेवा कम झन्झटिलो र गुनासो रहित हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।   काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक दिपेन्द्र प्रसाद साहले TVRS को विकासक्रम, TVRS र नागरिक एप Integration, ई-चलान कार्यान्वयनको अवस्था, कारवाहीको प्रकृया, अन्य नागरिकमैत्री एप्लिकेसन लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उक्त अवसरमा ई-चलान सम्बन्धी संक्षिप्त श्रब्यदृश्य प्रदर्शनका साथै ई-चलान सम्बन्धमा अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा गृह सचिव गोकर्णमणि दुवाडी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक, प्रधानमन्त्रीज्यूका सूचना प्रविधि विज्ञ, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी, वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू, ट्राफिक व्यवस्थापन एवम् सडक सुरक्षासँग आवद्ध सरोकारवाला निकाय एवम् संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो । 

गृहसचिव गोकर्णमणि दुवाडीबाट नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
२०८१-०५-२६

काठमाडौं, गृहसचिव गोकर्णमणि दुवाडीले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । गृहसचिव गोकर्णमणि दुवाडीलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसर स्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो । निरीक्षण भ्रमणका क्रममा गृहसचिव दुवाडीले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित संग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्यावको निरीक्षण गर्नुभयो ।  कार्यक्रममा गृहसचिव दुवाडीले नेपाल प्रहरी गृह प्रशासन अन्तर्गतको महत्वपूर्ण अंग भएको चर्चा गर्दै विभिन्न समस्या, सीमितता र चुनौतीहरूको बावजुद पनि नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम, अपराध नियन्त्रण तथा अनुसन्धान एवम् कानून कार्यान्वयनमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो । नेपाल प्रहरीले परम्परागत पुलिसिङ मात्र नभई सामुदायिक प्रहरी सेवा र अन्य चेतनामूलक कार्यक्रमहरूमा जोड दिई अझ बढी व्यवस्थित, नागरिकमैत्री र जनताले अनुभूति गर्न सक्ने गरी कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । गृहसचिव दुवाडीले नेपाल प्रहरी व्यावसायिक संगठन भएको हुँदा यसमा आबद्ध हरेक कर्मचारीहरू इमानदार, व्यावासियक, दक्ष र कुशल हुनुपर्ने बताउनुहुँदै प्रहरी संगठनले गरेको अपेक्षा र प्रहरी कर्मचारीको दक्षता वृद्धिका लागि आवश्यक पर्ने स्रोत साधनको व्यवस्था साथै अन्य मन्त्रालयसँगको समन्वयको लागि गृह मन्त्रालयले अभिभावकीय भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा गृहसचिव दुवाडी समक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीको कार्ययोजना २०८०, प्रहरी कर्मचारीको सरूवा सम्बन्धी मापदण्ड २०७९ (प्रथम संशोधन,२०८०), आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना २०८१, लागूऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८०/०८१, नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको संग्रह भाग-१ सम्बन्धी पुस्तक प्रदान गर्नुभयो ।  सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपालको संविधान, प्रहरी ऐन, नियम, अन्य प्रचलित कानुन र मानव अधिकारको अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको आफ्नो काम कारवाही र उत्तरदायित्वप्रति निष्ठावान रही प्रहरी सेवालाई समय सापेक्ष, जनमुखी, परिष्कृत, उत्तरदायी, समावेशी, विश्वसनीय, सर्वस्वीकार्य र भरोसायोग्य बनाउन नेपाल प्रहरी प्रधान कार्यालय सदैव प्रतिबद्ध रहेको बताउनुभयो । नेपाल प्रहरीको समयानुकूल आधुनिकीकरण, विकास र स्तरोन्नतिका सन्दर्भमा मन्त्रालयबाट निरन्तर मार्गनिर्देशन प्राप्त भइरहने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।  निरीक्षण भ्रमणको क्रममा गृहसचिव दुवाडी समक्ष नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, उपलब्धी, चुनौती, भावी योजना र प्रहरी संगठनले मन्त्रालयसँग गरेको अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री रमेश लेखक
२०८१-०५-२२

काठमाडौं, गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न कानून कार्यान्वयन गर्ने निकायहरूबीच अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताउनुभएको छ । इन्टरपोल स्थापनाको शताव्दी दिवसको अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस मनाउने घोषणा गरिए अनुरूप नेपाल प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले उक्त कुरा बताउनुभएको हो । सो अवसरमा गृहमन्त्री लेखकले समारोहलाई दिप प्रज्वलन गरी विधिवत रूपमा उद्‍घाटन गरी नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित ‘CID Magazine’ को विमोचन गर्नुभयो । सो अवसरमा उहाँले नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीद्वारा लिखित ‘नेपाल प्रहरी’ गीत सार्वजनिक समेत गर्नुभयो । गृहमन्त्री लेखकले दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस, २०२४ को अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने ग्लोबल कलेज अफ म्यानेजमेन्टका रूचि खरेल, द्वितीय हुने जेभियर एकेडेमीका प्रत्युश महर्जन र तृतीय हुने विश्वनिकेतन माविका निर्मल विक तथा उक्त प्रतियोगिताका मुल्याङकन कर्ताहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । साथै इन्टरपोलको १००औं बार्षिकोत्सवको अवसरमा इन्टरपोल महासचिवालयद्वारा सन् २०२३ मा आयोजित Global Video Contest प्रतियोगितामा नेपाल प्रहरीद्वारा निर्माण गरिएको “Let’s Save the Planet” विषयक भिडियो सर्वोत्कृष्ट घोषित भएको हुँदा उक्त भिडियो निर्माण गर्नुहुने प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरूङ श्रेष्ठलाई समेत उहाँले सम्मानपत्र प्रदान गर्नुभयो । गृहमन्त्री लेखकले अपराधिक क्रियाकलापहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्त्व हुने बताउनुहुँदै यस्ता अपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरमा विशेषज्ञताहरू, असल अभ्यास एवम् आपसी सूचना आदान प्रदान हुनुपर्ने बताउनुभयो । समाजलाई शान्त, सुरक्षित एवम् भयरहित बनाउन सबैको संयुक्त प्रयास हुनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीले कानून कार्यान्वयन गर्दै शान्ति सुव्यवस्था कायम राख्न निर्वाह गरेको भूमिका प्रंशसनीय रहेको उल्लेख गर्नुहुँदै यस कार्यक्रमले कानून कार्यान्वयन गर्ने निकायहरूबीच अन्तर्राष्ट्रिय स्तरमा समन्वय र सहयोगको संयुक्त प्रतिबद्धता प्रतिबिम्बित गरेको बताउनुभयो । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय स्तरमा गरेको समन्वय र सहयोग उल्लेखनीय रहेको चर्चा गर्दै अपराधको चुनौतिहरूलाई सम्बोधन गर्न आगामी दिनमा सुरक्षा निकायलाई थप मजबुद बनाउँदै लैजानेमा गृहमन्त्रालय क्रियाशील रहेको बताउनुभयो । सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका अपराध नियन्त्रण गर्न एवम् शान्ति सुव्यवस्था बलियो बनाउन कानून कार्यान्वयन गर्ने निकायहरूबीच संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद ज्ञापन गर्नुहुँदै संगठित अपराध, साइबर अपराध, आतंकवाद, आर्थिक अपराध लगायतका अपराध विरुद्ध लड्न एवम् त्यसता अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याउन अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो । कानून कार्यान्वयन गर्ने निकायबीच संयुक्त सहकार्य, स्रोत र रणनीतिहरू आदान प्रदान गर्दै जटिल अपराधहरू र अन्य सुरक्षा चुनौतिलाई प्रभावकारी रूपमा सामना गर्न सकिने उहाँले बताउनुभयो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले स्वागत मन्तव्य व्यक्त तथा कार्यक्रम सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको उक्त समारोहमा अन्तर्राष्ट्रिय समन्वयमा प्रहरीको भूमिका र महत्वका बारेमा तयार पारिएको डकुमेन्ट्री भिडियोसमेत प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडाल, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष एवम् पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, सञ्चारकर्मीहरू, अन्य विशिष्ट आमन्त्रित महानुभावहरू लगायतको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूको, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, तालिम केन्द्रका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो ।

गृहमन्त्री रमेश लेखकबाट नवनिर्मित भवनहरू उद्‍घाटन
२०८१-०५-२०

कैलाली, गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीको नवनिर्मित कार्यालय भवन, ब्यारेक भवन, मेश तथा क्वाटर गार्डको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुको साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।कार्यक्रममा गृहमन्त्री लेखकले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र समेत प्रदान गर्नुभयो । उक्त अवसरमा गृहमन्त्री लेखकले नेपाल प्रहरीले सीमित स्रोत साधनका वावजूद पनि उल्लेखनीय कार्य गर्दै आइरहेको चर्चा गर्दै नवर्निमित संरचनाहरूले प्रहरी काम कारवाहीलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । शान्ति सुव्यवस्था कायम गर्नु एवम् अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रण प्रहरीको प्रमुख कर्तव्य रहेको उल्लेख गर्दै नागरिकका समस्यालाई प्राथमिकतामा राखेर उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरीको कामकारवाही जनमुखी, पारदर्शी, पक्षपात रहित र जवाफदेही हुनुपर्ने उल्लेख गर्दै समयसापेक्ष परिवर्तित समाजको गति र आम नागरिकको चाहनालाई आत्मसाथ गर्दै नेपाल प्रहरीबाट प्रवाहित सेवा पनि थप परिष्कृत, उत्तरदायी र सेवामुखी बनाउन नेपाल प्रहरी प्रधान कार्यालय प्रतिवद्ध रहेको बताउनुभयो । नवनिर्मित भवनले प्रहरी कर्मचारीको स्वास्थ्य र मनोबलमा सकारात्मक प्रभाव पर्ने तथा स्वच्छ र सहज कार्यमैत्री वातावरण निर्माण हुने अपेक्षा रहेको बताउँदै व्यवस्थित र सुविधा सम्पन्न भौतिक संरचनाबाट प्रवाहित सेवा थप गुणस्तरीय, नागरिकमैत्री एवम् प्रभावकारी हुनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. चिरन्जिवी महत्तोले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको बिनियोजित बजेटबाट कुल १३ करोड ४० लाख ८ हजार २ सय ३२ रूपैयाँ लागतमा उक्त भवनहरूको निर्माण कार्य सम्पन्न भएको हो । सो अवसरमा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवर र मायामेट्रो हस्पिटल प्रालि धनगढी कैलालीका निर्देशक डा. मोहन साउँदबीच सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत रहेका बहालवाला प्रहरी कर्मचारी, अवकाश प्राप्त प्रहरी कर्मचारी र आश्रित परिवार तथा वीरगती प्राप्त प्रहरीका आश्रित परिवारको औषधि उपचारमा २५% छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर समेत भएको थियो ।कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सभामुख भिम बहादुर भण्डारी, विपद व्यवस्थापन प्राधिकरणका सिईओ अनिल पोख्रेल, सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव डा. हरी प्रसाद लम्साल, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष लगायत पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पूर्व प्रहरी संगठनका पदाधिकारीहरू, सञ्चारकर्मीहरू, स्थानीय बुद्धिजीविहरू, अमर प्रहरी परिवार, समाज सेवी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।यसैगरी गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको हाताभित्र नवनिर्मित नेपाल प्रहरी कल्याण कोष पेट्रोल पम्प धनगढीको भवन तथा पूर्वाधारहरूको समेत बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित पेट्रोल पम्प तथा भवनको अवलोकन समेत गर्नुभयो । नेपाल प्रहरी कल्याण कोषको कुल ५ करोड ८७ लाख ७८ हजार ४ सय ४५ रूपैयाँ लागतमा उक्त पेट्रोल पम्प तथा पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न भएको हो ।  

गृहमन्त्री रमेश लेखकबाट नवनिर्मित भवनहरू उद्‍घाटन
२०८१-०५-१९

कञ्चनपुर, गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको नवनिर्मित कार्यालय भवन, ब्यारेक भवन तथा भान्साघरको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन तथा कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।कार्यक्रममा गृहमन्त्री लेखकले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र समेत प्रदान गर्नुभयो । उक्त अवसरमा गृहमन्त्री लेखकले शान्ति सुरक्षा, अमन चयन कायम गर्नु एवम् अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रण नेपाल प्रहरीको प्रमुख कर्तव्य रहेको उल्लेख गर्दै नागरिकले प्राप्त गर्ने प्रहरी सेवामा नवर्निमित भवनले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । नेपाल प्रहरीले सीमित स्रोत साधनका वावजूद पनि उल्लेखनीय कार्य गर्दै आइरहेको चर्चा गर्दै उहाँले नागरिकका समस्यालाई प्राथमिकतामा राखेर उच्च मनोबलका साथ काम गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कानून कार्यान्वयन गर्ने प्रमुख निकायको रूपमा रहेको नेपाल प्रहरीका अधिकांश भौतिक संरचनाहरूलाई समय सापेक्ष परिवर्तन र विकास गर्दै लैजाने योजना बमोजिम भवन निर्माणका कार्यहरूलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । सम्पूर्ण नागरिकहरूले गुणस्तरीय एवम् व्यावसायिक प्रहरी सेवा प्राप्त गर्न पाउन् भन्ने मुख्य उद्देश्यका साथ नेपाल प्रहरीको पूर्वाधारहरू विकसित गर्दै लैजानेमा उहाँले जोड दिनुभयो ।   कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की, भिमदत्त नगरपालिकाका प्रमुख पदम बोगटी र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. चिरन्जिवी महत्तोले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको बिनियोजित बजेटबाट कुल १३ करोड २६ लाख ६५ हजार ३ सय ३६ रूपैयाँ लागतमा उक्त भवनहरूको निर्माण कार्य सम्पन्न भएको हो । कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष, सुरक्षा निकायका प्रमुखहरू, नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष लगायत पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पूर्व प्रहरी संगठनका पदाधिकारीहरू, सञ्चारकर्मीहरू, स्थानीय बुद्धिजिवि, अमर प्रहरी परिवार, समाज सेवी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । यसैगरी गृहमन्त्री रमेश लेखकले इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक तथा भान्साघर लगायतका भवनहरूको समेत बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन समेत गर्नुभयो ।नेपाल सरकारको बिनियोजित बजेटबाट कुल ४ करोड ५२ लाख ८९ हजार ४ रूपैयाँ ३७ पैसा लागतमा इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित भवनहरूको निर्माण कार्य सम्पन्न भएको हो । 

जनतालाई गुणस्तरीय, आत्मीयतापूर्ण र परोपकारी भावका साथ सेवा उपलब्ध गराउनुपर्ने- प्रधानमन्त्री केपी शर्मा ओली
२०८१-०५-१०

काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आधुनिक र सुविधा सम्पन्न कार्यालय भवन निर्माण गर्न सफल भएकोमा बधाई दिँदै यस कार्यालयबाट जनतालाई गुणस्तरीय, आत्मीयतापूर्ण र परोपकारी भावका साथ सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताउनुभएको  छ ।   जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकालीको नवनिर्मित कार्यालय भवन तथा भौतिक पूर्वाधारहरूको उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनुभएको हो ।  सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको लामो इतिहास र अनुभव रहेको चर्चा गर्दै नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्न एवम् अपराध अनुसन्धान तथा रोकथाममा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । आधुनिक प्रविधिको प्रयोग गर्दै आफ्ना कार्यहरू दक्षताका साथ सम्पन्न गर्न समेत नेपाल प्रहरी सक्षम रहेको उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले राज्यको शक्तिको दुरूपयोग गरेर निर्दोषलाई दोषी करार गर्ने जस्ता क्रियाकलापहरू आपराधिक क्रियाकलाप भएको बताउँदै संविधान र कानून बमोजिम नेपाल प्रहरी आफ्नो कर्तव्य पालना गर्न ढुक्क साथ आगडि बढ्नुपर्ने बताउनुभयो । समाजमा अपराध हुन नदिन र आपराधिक मानसिकता फैलिन नदिन कसैले अपराध गराउन खोजेको छ भने त्यसलाई पहिलेनै पत्ता लगाएर नियन्त्रण एवम् अनुसन्धान गर्न धैरै महत्वपूर्ण भएको उल्लेख गर्दै अपराध रोकथाममा पुरानो तरिकाले मात्र नभई नयाँ कार्यशैलीको विकास गर्दै सुसज्जित बनाई अनुसन्धान भन्दा अगाडिको अनुसन्धान गर्न जरूरी रहेको उहाँले बताउनुभयो । समाजमा शान्ति सुरक्षा खलबलाउने एवम् देशलाई अझ अराजकता तर्फ लैजान खोज्ने विरूद्ध नेपाल प्रहरीले सतर्कता अपनाई काम गर्नुपर्ने बताउँदै आधुनिक प्रविधिको दुरूप्रयोगबाट हुने अपराध नियन्त्रणमा समेत अझ सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो ।  समारोहमा गृहमन्त्री रमेश लेखकले सरकारले नागरिकलाई सेवा प्रदान गर्ने क्रममा संविधान र कानूनको कार्यान्वयन गर्ने अंग मध्येको नेपाल प्रहरी प्रमुख अंग रहेको बताउँदै मुलुकमा प्रचलित कानून कार्यान्वयन एवम् नागरिकले प्राप्त गर्ने प्रहरी सेवामा नवनिर्मित भवनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । मुलुकमा दिगो शान्ति, सुशासन, विकास र सम्वृद्धिको लक्ष्यसम्म देशलाई पुर्‍याउनको लागि सरकार अगाडि बढेको चर्चा गर्दै सरकारले जनतालाई प्रदान गर्ने सेवामा कुनै किसिमको कमी कमजोरी नहोस् एवम् जनताले विधिको शासन तथा शान्ति सुव्यवस्थाको अनुभूतिका साथै सरकारको लक्ष्य एवम् उद्देश्य अनुरूप नेपाल प्रहरीले कार्य गर्नुपर्ने बताउनुभयो । नेपाल प्रहरीले सीमित स्रोतसाधनका वावजूद पनि उल्लेखनीय कार्य गर्दै आइरहेको चर्चा गर्दै जनताका मुद्दालाई प्राथमिकतामा राखेर उच्च मनोबलका साथ काम गर्न सबै प्रहरी कर्मचारीहरूलाई उहाँले अग्रह समेत गर्नुभयो ।  सो अवसरमा गृहसचिव एकनारायण अर्यालले नवनिर्मित भवनबाट अझ प्रभावकारी सेवा प्रवाह हुने र सेवाग्राही लाभान्वित हुने अपेक्षा रहेको बताउनुभयो । नेपाल प्रहरीलाई समयानुकुल व्यवसायिक एवम् गतिशिल बनाउँदै लैजाने सरकारको नीति अनुरूप नवनिर्मित भवनलाई महत्वपूर्ण उपलब्धीको रूपमा लिएको बताउँदै यसले प्रहरी कर्मचारीको उत्प्रेरणा र मनोबलमात्र अभिवृद्धि नगरी नेपाल प्रहरीका काम कारवाहीलाई नागरिकमैत्री, व्यवसायिक एवम् परिष्कृत बनाउँदै सेवाग्राहीले समेत शान्ति सुरक्षा र अमन चयनको महसुस गरी प्रत्यक्ष रूपमा नागरिकलाई सहज, सुलभ र पारदर्शी सेवा दिनसक्ने विश्वास व्यक्त गर्नुभयो ।  समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद ज्ञापन व्यक्त गर्दै नेपाल प्रहरी स्थापनकालदेखि नै समाजमा हुने हर तरहका अपराधका घटना रोकथाम, नियन्त्रण र अनुसन्धान एवम् शान्ति सुरक्षा कायम राख्ने सन्दर्भमा राज्यको प्रमुख अंगको रूपमा कार्यसम्पादन गर्दै आइरहेको बताउनुभयो । समाजको परिवर्तनको गति र नागरिकको चाहनालाई आत्मसाथ गर्दै प्रहरीको सेवा पनि थप जनमुखी, परिष्कृत, उत्तरदायी, सेवामुखी र सर्वस्वीकार्य बनाउन नेपाल प्रहरी प्रधान कार्यालय कटिवद्ध रहेको र समयसापेक्ष सांगठनिक विकास तथा प्रहरी सेवामा प्रभावकारीता वृद्धि गर्दै आन्तरिक सुदृढिकरण र शुद्धिकरण गर्ने उद्देश्य कार्यान्वयनलाई प्रमुख प्राथमिकतामा राखिएको उहाँले उल्लेख गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको भौतिक संरचनाहरू व्यवस्थित र गुणस्तरीय हुँदा यसले कर्मचारीको स्वास्थ्य र मनोबलमा सकारात्मक प्रभाव पर्ने तथा स्वच्छ कार्यमैत्री वातावरण निर्माण भई आम नागरिकमा हुने सेवा प्रवाह थप गुणस्तरीय एवम् प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो । नवनिर्मित सुविधा सम्पन्न भवनले राज्यको प्रमुख सुरक्षा निकायको दरिलो भौतिक उपस्थिति मात्र होइन, नेपाल प्रहरीका काम कारवाहीलाई थप नागरिकमैत्री एवम् परिष्कृत बनाउन समेत महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । नयाँ भवनबाट सम्पादन हुने प्रहरी सेवा प्रवाह पनि थप उर्जामय, नागरिकमैत्री, नविन सोंच र उच्चस्तरको हुनुपर्ने र सम्पादन हुने कार्यशैलीले सेवा प्रवाहमा स्तरवृद्धिको सांगठनिक प्रतिबिम्बित  गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक कृष्णहरि शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक ई. राम कुमार चौधरीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल १ अर्ब २६ करोड ७४ लाख ९६ हजार ९९ रूपैयाँ ८१ पैसाको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।  कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक/ विकास सल्लाहकार युवराज खतिवडा, महान्यायाधिवक्ता रमेश वडाल, प्रतिनिधि सभा सदस्य, नेपाल सरकारका पूर्व मन्त्री एवम् अवकाश प्राप्त प्रहरी महानिरीक्षक ध्रुब बहादुर प्रधान, मुख्य सचिव लिलादेवी गड्तौला, कायममुकायम प्रधानसेनापति अशोकराज सिग्देल, प्रधानमन्त्रीज्यूको प्रमुख स्वकीय सचिव, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सहसचिवहरू, जिल्ला न्यायाधिश, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधिवक्ता, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, संचारकर्मीहरू एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

निर्माणाधिन प्रतिष्ठानको समयमै गुणस्तरका साथ सम्पन्न गर्न क्रियाशील हुनुपर्ने : गृहमन्त्री रमेश लेखक
२०८१-०४-३२

काभ्रे, गृहमन्त्री रमेश लेखकले काभ्रेको पनौतीमा निर्माणाधिन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भवन एवम् संरचनाहरू समयमै गुणस्तरका साथ सम्पन्न गर्न निर्माणमा संलग्न सबै सरोकारवाला निकायहरू क्रियाशील हुनुपर्ने बताउनुभएको छ ।भारत सरकारको अनुदान सहयोगमा काभ्रेको पनौती नगरपालिका-६ दलिन्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणाधिन भवन तथा संरचनाहरूको शुक्रबार अनुमगन तथा निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लेखकले उक्त कुरा बताउनुभएको हो । सो क्रममा उहाँले यस परियोजना महत्वपूर्ण भएको चर्चा गर्दै निर्माण कार्यमा देखिएका समस्या समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उक्त अवसरमा गृहमन्त्री रमेश लेखकले निर्माणाधिन प्रतिष्ठान परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले निर्माण कार्यलाई समयमै सम्पन्न गराउने लक्ष्यका साथ काम भइरहेको चर्चा गर्नुभयो । निर्माणको क्रममा देखा परेका विविध समस्याहरूलाई सम्बोधन गर्न नेपाल सरकार, स्थानीय तह लगायत अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्दै आइरहेको उहाँले उल्लेख गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, भारतीय राजदूतावास नेपालका प्रथम सचिव अबिनाश कुमार सिंह, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, प्रहरी नायव महानिरीक्षकहरू, पनौती नगरपालिकाका प्रमुख लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले समेत अनुगमन तथा निरीक्षण गर्नुभयो ।नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक ई. राम कुमार चौधरीले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रम सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको उक्त कार्यक्रममा Central Public Works Department (CPWD)  का परामर्शदाता ई. राजेश कुमारले निर्माणाधिन प्रतिष्ठान सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

मानव बेचबिखन विरूद्ध निर्मम भएर अगाडि बढ्नुपर्ने - गृहमन्त्री रमेश लेखक
२०८१-०४-१५

काठमाडौं, गृहमन्त्री रमेश लेखकले मानव बेचबिखन तथा ओसारपसार अन्तर्राष्ट्रिय अपराधको रूपमा फैलिएको र यसको दुष्प्रभाव निश्चित देश समाजमा मात्र सीमित नभएको हुँदा यस विरूद्ध शून्य सहनशीलता अपनाई निर्मम भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोको आयोजना तथा अनाहत नेपाल, UNODC र Society for Integrated aligned Nepal को सहकार्यमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा मानव बेचबिखन विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले उक्त कुरा बताउनुभएको हो । गृहमन्त्री रमेश लेखकले सीमित स्रोत साधनको वावजूद पनि मानव बेचबिखन अनुसन्धान ब्यूरोले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । मानव बेचबिखन तथा ओसारपसार विरूद्धको लडाइँमा प्रहरी मात्र नभएर सम्पूर्ण सरोकारवाला निकाय, स्थानीय तह, शिक्षक, संचारकर्मी लगायतको सहकार्य जरूरी रहेको उहाँले बताउनुभयो । चेतनाको कमीले यस्ता अपराध बढ्ने हुँदा सरोकारवाला निकायहरूले आपसी समन्वय गरी जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले वर्तमान अवस्थामा मानव बेचबिखन तथा ओसारपसार चुनौतिपूर्ण रहेको उल्लेख गर्दै यसको न्यूनीकरण एवम् रोकथामको लागि सबै सरोकारवाला निकायहरू सचेत भएर आपसी सहयोग एवम् समन्वय गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण एवम् रोकथामको लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको प्रयासको प्रशंसा गर्दै ब्यूरोको लक्ष्य प्रति गृहमन्त्रालय सदैव सहयोग र समन्वय गर्न प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । गृह सचिव अर्यालले मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण एवम् रोकथामको लागि ब्यूरोले संचालन गरेको विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आगामी दिनमा अपराधमा फस्न सक्ने तथा अपराधबाट पीडित हुन सक्ने क्षेत्र एवम् समुदाय नजिक पुगेर अझ प्रभावकारी रूपमा संचालन गर्नुपर्ने उल्लेख गर्नुभयो । साथै संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याई पीडितलाई अनुभूति हुने गरी न्याय सम्पादन गर्न ब्यूरो अझ सक्रिय भई कार्य गर्ने विश्वास लिएको उहाँले बताउनुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी सीमित साधन स्रोतका वावजूद पनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण एवम् रोकथामको लागि सदैव क्रियाशील रहेको बताउनुभयो । मानव बेचबिखन तथा ओसारपसार विश्वव्यापी चुनौतिको रूपमा देखिएको उल्लेख गर्दै यसको नियन्त्रण, न्यूनीकरण र रोकथामको लागि सम्पूर्ण सरोकारवाला निकाय, विभिन्न संघसंस्था लगायतको संयुक्त समन्वय तथा सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा नायव महान्यायाधिवक्ता डा. टेक बहादुर घिमिरे, ललितपुर महानगरपालिकाका उपप्रमुख मन्जली शाक्य, UNODC का क्षेत्रीय प्रतिनिधि Marco Teixeria, अनाहत नेपालका अध्यक्ष अशोक कुमार खाँड, Society for Integrated aligned Nepal का अध्यक्ष डिल्ली गिरीले कार्यक्रमको महत्व बारे आ-आफ्नो धारणा सहितको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ओम बहादुर रानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक गौतम मिश्रले मानव बेचबिखन अनुसन्धान ब्यूरोको गतिविधि सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा मानव बेचबिखन तथा ओसारपसार विरूद्ध चेतनामूलक नृत्य, कविता वाचन एवम् श्रब्यदृश्य सामग्री समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक, काठमाडौं/ललितपुर/ भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू, संचारकर्मीहरू, शिक्षक, विद्यार्थीहरू लगायत अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो । 

गृहमन्त्री रमेश लेखकद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा निर्देशन
२०८१-०४-०२

काठमाडौं, गृहमन्त्री रमेश लेखकले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । गृहमन्त्री लेखकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो ।निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लेखकले नेपाल प्रहरी प्रधान कार्यालयमा रहेका सङ्ग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्यावको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो ।निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गर्नुभयो । सो क्रममा उहाँले कानूनी व्यवस्था कायम गर्न, शान्ति सुरक्षा तथा अपराध अनुसन्धान एवम् नियन्त्रण गरी मुलुक वा समाजलाई न्याय दिने र सशस्त्र द्वन्द्वको क्रममा जीवनको पर्वाह नगरी निर्भिकतापूर्वक आफ्नो कर्तव्य पालना गर्ने सवालमा नेपाल प्रहरीले उत्कृष्ट कार्य गरेको चर्चा गर्नुभयो । गृहमन्त्री लेखकले नेपाल प्रहरीको इतिहास गर्व गर्न लायक रहेको उल्लेख गर्दै सीमित साधन स्रोतका वावजूद पनि शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान एवम् विपद्को समयमा उद्दार गर्न, जोखिमबाट बचाउन नेपाल प्रहरीले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । लोकतन्त्रको आधारभूत मान्यता विधिको शासनलाई लागू गर्नु नेपाल प्रहरीको पहिलो काम रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले भन्नुभयो, ‘तपाईहरूले गर्नुभएको काम जनताले अनुभूति गर्ने विषयसँग जोडिन्छ । त्यसतर्फ यथेष्ट ध्यान रहनेछ भन्ने आग्रह गर्न चाहन्छु । निष्पक्षता, पारदर्शिता र व्यावसायिकतामा कुनै हालतले कमि हुनु भएन र यससँग सम्झौता हुन सक्दैन ।’ प्रहरी कर्मचारीहरूले उच्च मनोबलका साथ काम गर्नुपर्ने बताउँदै उहाँले यसका लागि जे जति प्रेरणादायी काम गर्नुपर्छ मन्त्रालय सदैव प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । गृहमन्त्री लेखकले मानिसलाई कुनै पनि विपद् वा समस्या परेको बेला सबै भन्दा पहिला प्रहरीकोमा पुग्ने चर्चा गर्दै  पीडामा भएका व्यक्तिहरूको समस्या सम्बोधनका लागि प्रहरी थप सक्रिय हुन निर्देशन दिनुभयो । प्रहरी संगठनलाई थप व्यवस्थित, क्रियाशील र सुदृढ बनाउनका लागि प्रहरीसँग सम्बन्धित ऐनको समसामयिक संशोधन र परिमार्जनलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गर्ने उहाँले बताउनुभयो ।  सो अवसरमा गृहसचिव एकनारायण अर्यालले प्रहरीले सीमित स्रोत र साधनका वावजूद अपराध नियन्त्रण, अनुसन्धान तथा विभिन्न प्राकृतिक प्रकोपका घटनाहरूमा अग्रपंक्तिमा रही निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै प्रहरीले कर्तव्य पालनाको सिलसिलामा भोग्नुपरेका समस्याहरूको समाधानका लागि सरोकारवाला मन्त्रालयहरूसँग समन्वय गरिरहेको र प्रहरी ऐनमा समेत समयसापेक्ष परिमार्जन गर्न मन्त्रालय कटिवद्ध रहेको बताउनुभयो । नेपाल प्रहरीको विकल्प भनेको सुधारिएको नेपाल प्रहरी नै रहेको बताउँदै गृहसचिव अर्यालले भन्नुभयो, ‘प्रहरी भनेको राज्य हो, राज्यले भेदभाव गर्न पाइँदैन । प्रहरीले स्वतन्त्र हिसाबले काम गरे मात्र संगठन अझ मजबुत हुन्छ ।’ प्रहरीको सक्रियताले अपराध नियन्त्रण तथा अनुसन्धान थप प्रभावकारी र राजस्व संकलनमा समेत उल्लेख्य वृद्धि भएको चर्चा गर्दै सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई प्रविधिको प्रयोग गरी उच्च मनोबलका साथ व्यावसायिक ढंगले कार्यसम्पादन गर्न निर्देशन समेत दिनुभयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गृहमन्त्रीज्यू एवम् गृहसचिबज्यूबाट व्यक्त भएको सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशन कार्यान्वयनका लागि संगठन पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्ने, अपराधको नियन्त्रण तथा अनुसन्धान र जनधनको सुरक्षा गर्ने मूलभूत दायित्व वहन गर्ने जिम्मेवारीलाई विषम परिस्थितिहरूमा समेत संगठनका सदस्यहरूले सफलतापूर्वक निर्वाह गर्दै आएको उहाँले बताउनुभयो । आगामी दिनहरूमा उत्पन्न हुन सक्ने चुनौतिपूर्ण र असहज परिस्थितिहरूको सामना गर्न र आम नागरिकलाई शान्ति सुरक्षा र अमनचयनको प्रत्याभूति दिलाउन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम तथा प्रतिवद्ध रहेको उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले नविनतम चुनौतिका रूपमा देखा परेका संगठित अपराध, लागूऔषध, मानवबेचबिखन, साइबर एवं विद्युतीय कसूर, अवैध हातहतियार ओसारपसार, बहुमूल्य सामग्रीहरूको ओसारपसार, आर्थिक अपराधलाई निर्ममतापूर्वक कानूनी दायरामा ल्याउन नेपाल प्रहरी कटिवद्ध रहेको बताउनुभयो । अपराधका नयाँ प्रवृत्तिहरूको पहिचान गर्दै तिनलाई निस्तेज गर्न नेपाल प्रहरीले आफ्नो क्षमता विस्तारका साथै अन्तर्राष्ट्रिय प्रहरी निकायहरू सँगको समन्वयलाई पनि प्राथमिकतामा राखेर कार्य गर्दै आएको उहाँले बताउनुभयो ।निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लेखक समक्ष नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी मनोबल, उत्प्रेरणा र सुपरिवेक्षण, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, उपलब्धि, भावी योजना, चुनौति, अपेक्षा र प्रहरी समायोजन लगायतका विषयमा नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

लागूऔषध दुरूपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मूल समारोह कार्यक्रम सम्पन्न
२०८१-०३-१२

काठमाडौं, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा लागूऔषध दुरूपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मूल समारोह कार्यक्रम २६ जुन २०२४ नेपाली सेनाको मुख्यालय जंगी अड्डाको रिपुमर्दिनी सभामण्डपमा बुधबार सम्पन्न भएको छ । गृह मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रमको सुरूमा गृहमन्त्री लामिछाने, गृह मन्त्रालय तथा विभिन्न मन्त्रालयका पदाधिकारीहरू, सुरक्षा निकायका अधिकारीहरू, स्काउट, विभिन्न क्याम्पस तथा विद्यालयका विद्यार्थीहरू एवम् सरोकारवाला निकायहरूका प्रतिनिधिहरूको सहभागितामा लागूऔषध सम्बन्धी विभिन्न चेतनामूलक पर्चा, पम्प्लेट सहितको प्रभातफेरि र्‍याली भृकुटीमण्डप, भद्रकाली हुँदै उक्त सभामण्डपमा पुगेर मूल समारोह कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले गृह मन्त्रालयद्वारा प्रकाशित ‘सुरक्षित जीवन’ नामक जर्नल २१औँ संस्करणको लोकार्पण गर्नुभयो । उहाँले दिवसलाई सफल पार्न सहयोग गर्ने नेपाली सेना, नेपाल प्रहरी संगीत विद्यालय, सशस्त्र प्रहरी बल सांगितिक बाद्यबाधन गुल्म, नेपाल स्काउट, प्याब्सन लगायतका विभिन्न संघसंस्थालाई प्रशंसापत्र वितरण गर्नुको साथै  आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट हुन सफल नयाँ जीवन पुनर्स्थापना केन्द्र बागलुङ र सियान रिह्‍याबिलेशन हेटौंडालाई प्रमाणपत्र प्रदान गर्नुभयो ।  कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री लामिछानेले लागूऔषध प्रयोग तथा बेचबिखन आजको समाजको प्रमुख समस्या रहेको उल्लेख गर्दै यसको समाधानमा सरोकारवाला चार वटै मन्त्रालय एकै ठाउँमा उभिएर देशको युवा बचाउन लागि पर्ने बताउनुभयो । उहाँले सीमित स्रोतका बावजुद धेरै जिम्मेवारी बोकेको प्रहरीलाई कर्तब्यनिष्ठ भएर लागूऔषध कारोबारीलाई कानूनको दायरामा ल्याउन निर्देशन दिनुभयो । दुर्व्यसनीलाई समाजमा पुनर्स्थापित गराउन सबैले मदत गर्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।  उक्त अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले आ-आफ्नो विचार व्यक्त गर्दै लागूऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रणमा आफू र आफ्नो मन्त्रालय कटिबद्ध रहेको उल्लेख गर्नुभयो ।  उक्त अवसरमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका अध्यक्ष तथा गृह मन्त्रालयका निमित्त गृह सचिव झक्क प्रसाद आचार्यले देशको चिन्ताको रूपमा रहेको लागूऔषध नियन्त्रण र नियमनको मुख्य जिम्मेवारी बोकेको गृहमन्त्रालयले जिम्मेवारी निर्वाह गर्न गैरसरकारी संघसंस्था, नागरिक समाज लगायत विभिन्न सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी समाजको साझा उद्देश्य प्राप्ती र सुखी समाज निर्माणमा आफ्ना गतिविधिहरू निर्देशित र केन्द्रीकृत गर्ने बताउनुभयो । गृह मन्त्रालयका सह-सचिव ई. गोगन बहादुर हमालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेसफाडा नेपाल, रिकभरिङ नेपाल, एफडिडिआरका प्रतिनिधिहरूले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । ‘लागूऔषध दुरूपयोग विरुद्ध लडौं रोकथाममा जोड दिऔं’ भन्ने मूल नाराकासाथ सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीले सङ्गीत प्रस्तुती गरेको थियो भने लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो समेत प्रदर्शनी गरिएको थियो । साथै विभिन्न विद्यालयका विद्यार्थीहरूले लागूऔषध सम्बन्धी सचेतनामूलक कार्यक्रम तथा नृत्य प्रस्तुती गरेका थिए ।   गृह मन्त्रालयका निमित्त गृह सचिव झक्क प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा, निमित्त सशस्त्र प्रहरी महानिरीक्षक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेल, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न मन्त्रालयका प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, नागरिक समाज, संचारकर्मीहरू, विद्यार्थी, अभिभावक एवम् आमन्त्रित महानुभावहरूको समेत उपस्थिति रहेको थियो ।  

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा योग विज्ञान शिविर कार्यक्रम सम्पन्न
२०८१-०३-०५

काठमाडौं, दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा पतंजली योग समिति नेपालसँगको सहकार्यमा नेपाल प्रहरीद्वारा आयोजित एक दिवसीय योग विज्ञान शिविर, २०८१ कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार सम्पन्न भएको छ ।   कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले तन्दुरूस्त शरीर र स्वस्थ मानसिकता एवम्   व्यायामले निर्णय क्षमतामा प्रभाव पार्ने हुँदा योगलाई निरन्तरता दिन सामूहिक प्रतिवद्धताको आवश्यकता रहेको बताउनुभयो । स्वस्थ शरीर र स्वस्थ मानसिकताले गर्ने निर्णय सबै भन्दा महत्वपूर्ण हुने चर्चा गर्दै गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘योग, ध्यान र अभ्यासले जसरी स्वस्थ रहन्छौं हाम्रो सोच्ने क्षमतालाई पनि त्यसले प्रभाव पार्छ । हामीले गहन जिम्मेवारी लिएका छौं, हाम्रो एकाग्रता, सोंच, चुस्तता, मानसिक र शरीरिक स्वास्थ्य देश र सामाजको लागि महत्वपूर्ण हुन्छ । स्वस्थ मानिसकताका साथ आगाडि बढ्न सक्यौं भने हाम्रो निर्णयले समाजले सुरक्षित रहेको महसुस गर्दछ ।’ गृहमन्त्री लामिछानेले युनिफर्म लगाएको प्रहरी देखेर हरेक नागरिकले सुरक्षित महसुस गर्नुपर्ने चर्चा गर्दै त्यसका लागि शरीरिक र मानसिक हर हिसाबले चुस्त दुरूस्त हुन जरूरी रहेको बताउनुभयो । संगठनको प्रत्येक व्यक्तिको निर्णय महत्वपूर्ण हुने बताउनुहुँदै कानूनले दिएको अधिकारलाई सदुपयोग गर्दै नागरिकका पक्षमा इमानदारिताका साथ काम गरेमा समाज परिवर्तन हुने विचार उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले योगले आत्मा र शरीरको सम्बन्ध सुधार गर्ने बताउँदै मस्तिष्कको असीमित क्षमतालाई उजागर गर्न योग विज्ञान महत्वपुर्ण हुने उल्लेख गर्नुभयो । देश र जनाताको सेवामा दिन रात खटिने नेपाल प्रहरीका सदस्यहरूलाई व्यस्त, चुनौतिपूर्ण र कठिन जीवनशैलीमा योग अभ्यासले शारीरिक र मानसिक रूपले थप स्वस्थ, संवेदनशील र सचेत बन्न मद्दत पुर्‍याई सेवा प्रवाहमा समेत प्रभावकारिता ल्याउने विचार उहाँले व्यक्त गर्नुभयो ।  कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शिविरको माध्यमबाट योगको महत्व र योगाभ्यासका बारेमा सकल दर्जा माझ सचेतना अभिबृद्धि भई प्रत्यक्ष रूपमा लाभान्वित भएको विश्वास व्यक्त गर्नुभयो । एकै दिनमा योग सम्बन्धी सम्पूर्ण जानकारी हासिल गर्न सम्भव नहुने बताउँदै उहाँले योगको सही अभ्यास र निरन्तरताका लागि यो कार्यक्रम सहायकसिद्ध हुने अपेक्षा गरिएको उल्लेख गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले निश्चित आसन, विधि र पद्धतिको अवलम्बनद्वारा गरिने योगाभ्यासबाट शरीरमा स्फूर्ति बढ्ने, रोग प्रतिरोधात्मक क्षमताको विकास हुने तथा सकारात्मक सोंचतर्फ व्यक्तिलाई उत्प्रेरित गर्नुका साथै स्वअनुशासन र आध्यात्मिक अनुशासनतर्फ डोर्‍याउन समेत मद्दत पुग्ने बताउनुभयो । मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गरी शारीरिक, मानसिक र आध्यात्मिक अनुभूतिलाई सन्तुलनमा राखी मानव जीवनलाई शान्त, रचानात्मक र उत्पादनमूलक बनाउन योग प्रभावकारी सिद्ध भएको र यसले समाजमा अपराधका घटनाहरू समेत न्यूनिकरण हुने अपेक्षा लिएको उहाँले बताउनुभयो । शान्त, धैर्यवान भई विवेकपूर्ण निर्णय गर्नुपर्ने प्रहरी अधिकृत तथा जवानहरूको मन एवम् मस्तिष्क स्थिर हुन जरूरी रहेको उल्लेख गर्दै उहाँले नेपाल प्रहरीमा नियमित योगसँग अभ्यस्त गराउने उद्देश्यका साथ तालिम प्रदायक निकायहरूमा संचालित तालिम कार्यक्रममा योगलाई अनिवार्य समावेश गराउँदै आएको बताउनुभयो ।  सो अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी वरिष्ठ योग गुरू लभदेव मिश्र, पतंजली युवा नेपाल समितिका केन्द्रीय संयोजक लोकनाथ खनाल र महिला पतंजली योग समिति नेपालका सह केन्द्रीय प्रभारी अर्चना घिमिरेलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । साथै सोही अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई पतंजली योग समिति नेपालका संरक्षक तथा कार्यक्रम संयोजक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र बिक्रम महतले कृतज्ञताको चिनो प्रदान गर्नुभएको थियो ।  नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा पतंजली योग समिति नेपालका संरक्षक तथा कार्यक्रम संयोजक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र बिक्रम महतले योग शिक्षाका बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी वरिष्ठ योग गुरू लभदेव मिश्रले योगाभ्यास गराउनु भएको थियो ।   कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अवकाश प्राप्त प्रहरी महानिरीक्षक, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लगायत पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका सहसचिवहरू, पतंजली योग समिति नेपालका पदाधिकारी एवम् योग गुरूहरू, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरू समेतको सहभागिता रहेको थियो ।

ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउनुपर्ने : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने
२०८१-०३-०१

काठमाडौं, ३२ जेठ उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन र नागरिकले महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताउनुभएको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको शुक्रबार निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछानेले उक्त कुरा बताउनुभएको हो । सो क्रममा उहाँले उक्त कार्यालयमा रहेको सहायता कक्ष, गुनासो शाखा, ब्यारेक, कन्ट्रोल रूम लगायत विभिन्न शाखाहरूको निरीक्षण गर्दै सो सम्बन्धी काम र अवस्थाकाबारे जानकारी समेत लिनुभयो । निरीक्षण पश्‍चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले विभिन्न समस्या र अभावका वावजूद ट्राफिक प्रहरीले उत्कृष्ट कार्यसम्पादन गर्दै आएको र ती समस्याहरू समाधान गर्न गृहमन्त्रालय कटिवद्ध रहेको बताउनुभयो । युनिफर्म लगाएको प्रत्येक प्रहरी कर्मचारीहरूले आफ्नो कामप्रति जवाफदेही हुनुपर्ने चर्चा गर्दै गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘युनिफर्म लगाएको प्रहरीलाई देखेर नागरिकलाई लागोस् कि यो मेरो मान्छे हो । यसको लागि प्रत्येक प्रहरी कर्मचारीले नागरिकसँग गर्ने व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ ।’ ट्राफिक प्रहरीले प्रचलित कानून कार्यान्वयनमा कडा रूपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै  गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘ट्राफिक नियम मिच्नेलाई छुट दिन हुँदैन, एउटाले नियम मिच्दा अर्काको ज्यान जान सक्छ, त्यसैले चेकिङलाई अझ प्रभावकारी बनाई लापसे, मापसे र लेन अनुशासनमा कसैलाई छुट नदिनुहोस् ।’ फरक क्षमता भएका व्यक्तिहरू, वृद्धवृद्धा एवम् बालबालिकालाई विशेष ध्यान दिएर ट्राफिक प्रहरीले उत्कृष्ट रूपमा कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रतिकूल अवस्थाका वावजूद सडकमा खटिँदा ट्राफिक प्रहरीले भोग्नुपरेका शारीरिक र मानसिक समस्या सम्बोधनको लागि गृहमन्त्रालय सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो । कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले ट्राफिकले भोग्नुपरेको समास्या निराकरणको लागि मन्त्रालय सदैव कटिवद्ध रहेको बताउँदै ट्राफिक प्रहरीले सडकमा खटिँदा घाम पानी नभनि विभिन्न समस्या झेल्दै कार्य गर्दै आइरहेकोमा प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापनमा थप सहजता ल्याउन सकिने बताउनुभयो । ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि र प्रविधिको प्रयोगले दुर्घटना न्यूनिकरण र मानवीय क्षति कम गर्न सहयोग पुग्ने हुँदा ट्राफिक प्रहरीलाई प्राविधिक रूपमा सुसम्पन्न गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो । ट्राफिक व्यवस्थापनमा सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय गरी प्रभावकारी सेवा प्रवाह गर्न उहाँले निर्देशन दिनुभयो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले ट्राफिक प्रहरीको काम कारबाही, जनशक्ति परिचालन, ट्राफिक व्यवस्थापनका लागि चालिएका कदमहरू, दुर्घटनाको अवस्था, दुर्घटना न्यूनिकरणको लागि चालिएका कदमहरू, सेवा प्रवाहका क्रममा भोग्नुपरेका समस्याहरू र सुधार गर्नुपर्ने पक्षहरूको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, गृहमन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायण प्रसाद भट्टराई, वरिष्ठ प्रहरी अधिकृतहरू, उपत्यकास्थित ट्राफिक प्रहरी युनिटका कार्यालय प्रमुखहरू लगायत प्रहरी अधिकृत एवम् जवानहरूको उपस्थिति रहेको थियो । 

कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८१ सम्पन्न
२०८१-०२-२८

मोरङ, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यमा सोमबार आयोजित कार्यक्रमबीच दुई दिवसीय  कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी,२०८१ मोरङको विराटनगरमा सम्पन्न भएको छ । नेपाल सरकार गृहमन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतका विषयमा उक्त गोष्ठी आइतबारबाट शुरू भएको थियो । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले समाजमा सुशासन, समृद्धि र अमन चयन कायम गर्नको लागि गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, भन्सार छलि, राजस्व चुहावट जस्ता गतिविधि नियन्त्रण गर्न सबै जिम्मवार निकायहरूले आ-आफ्नो स्थानबाट सक्रिय रूपमा जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । वर्दी लगाएको प्रहरी जहाँ उभिन्छ त्यहाँ सरकारको प्रतिनिधित्व भइरहेको हुने चर्चा गर्दै उहाँले नागरिकलाई समस्या परेको बेला सबै भन्दा पहिला प्रहरी समक्ष पुग्ने र उनीहरूको गुनासो सुनुवाई प्रहरीले गर्नुपर्ने बताउनुभयो । लागू पदार्थ दुर्व्यसन तथा कारोबार नियन्त्रणमा विशेष अभियान, सचेतानमूलक कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो ।सो अवसरमा गृह सचिव एकनारायण अर्यालले गोष्ठीमा भएको प्रस्तुतीकरण एवम् छलफलले एक आपसमा भएका असल अभ्यासको आदान प्रदानमा महत्वपूर्ण भूमिका निर्वाह भएको उल्लेख गर्नुभयो । प्रदेशमा देखिएका सुरक्षा चुनौतिको निराकरण र समाधान गर्न जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले  आफ्नो अधिकारको प्रयोग गर्न कुनै बाधा व्यावधान नपर्ने उहाँले बताउनुभयो । मानब बेचबिखन, लागूऔषध ओसारपसार जस्ता गतिविधि नियन्त्रणमा सबै सरोकारवाला निकायहरूले मन, वचन र कर्मले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । राष्ट्र सेवक कर्मचारीले सेवाग्राहीको समस्या, गुनासोलाई सुनुवाई गरी समयमै सामाधान गर्न समेत उहाँले निर्देशन दिनुभयो ।  उक्त अवसरमा कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री लिला बल्लभ अधिकारी र कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले आ-आफ्नो विचार व्यक्त गर्नुभयो ।गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राज्यको आर्थिक, सामाजिक सुशासन, भौतिक पूर्वाधार र साँस्कृतिक विकास एवम् समृद्धिका निम्ति महत्वपूर्ण एवम् आधारभूत क्षेत्रको रूपमा रहेको सुरक्षा क्षेत्रलाई सक्षम, अब्बल र व्यावसायिक रूपमा विकसित गर्दै लैजान आवश्यक रहेको बताउनुभयो । केन्द्रीय र प्रदेश स्तरबाट प्रभावकारी एवम् कुशल समन्वय र सहकार्य गरी कोशी प्रदेशको शान्ति सुरक्षा थप मजबुत बनाई व्यावसायिक तथा सक्षम प्रहरी सेवा प्रवाह गराउन र कानूनको निष्पक्ष कार्यान्वयन गरी विकासमैत्री वातावरण सृजना गर्न प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले कानूनी राज्यको सुनिश्‍चितता गर्न प्रहरी सेवा अपरिहार्य रहेको चर्चा गर्दै विद्यमान कानूनी क्षेत्रहरूमा समयानुकूल परिमार्जन गर्दै लैजान र प्रहरीलाई कानूनी अधिकारहरूले सुसज्जित गर्न समय सान्दर्भिक रहने बताउनुभयो । विधिको शासनलाई अझ सशक्त बनाउने, आम नागरिकलाई न्यायको प्रत्याभूति दिलाउने, राज्यले प्रदत्त गर्ने सेवाहरूमा सबैको पहुँच सुनिश्‍चित गर्ने एवम् देश र समाजको दिगो विकास प्राप्तिमा नेपाल प्रहरी सदैव कटिवद्ध रहेको उहाँले उल्लेख गर्नुभयो । गोष्ठीबाट प्राप्त निर्देशनलाई अक्षरस पालना गर्दै समग्र प्रदेशमा शान्ति सुव्यवस्था कायम राख्न थप सक्रियता एवम् रचनात्मक ढंगले आ-आफ्नो कार्यक्षेत्रमा अग्रसर रहि कार्य सम्पादन गर्न प्रदेश तथा जिल्ला प्रहरी प्रमुखहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । सो अवसरमा नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देल क्षेत्री, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सह-सचिवहरू नारायण प्रसाद भट्टराई, डा. भीष्म कुमार भूसाल र थानेश्‍वर गौतम तथा कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेलले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतिकरण गर्नुभएको थियो । साथै कोशी प्रदेश अन्तर्गतका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा कोशी प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती र अगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीमा गृह मन्त्रालयका पदाधिकारीहरू, कोशी प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरू, कोशी प्रदेश अन्तर्गतका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठी सम्पन्न
२०८१-०२-२७

मोरङ, उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा आइतबार आयोजित कार्यक्रमबीच राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठी-२०८१ मोरङको विराटनगरमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र अर्थ मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।उक्त अवसरमा गृहमन्त्री लामिछानेले राजस्व वृद्धि भएमा राज्य बलियो हुने उल्लेख गर्दै राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणका लागि सवै सरोकारवाला निकायले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । राजस्व चुहावट लगायतका समस्या समाधान गर्न संयुक्त रूपमा अगाडि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।गोष्ठीमा गृह सचिव एकनारायण अर्याल र राजस्व सचिव डा. राम प्रसाद घिमिरेले गोष्ठीको महत्वबारेमा आ-आफ्नो मन्तव्य व्यक्त गर्दै सीमा नाकामा आधूनिक प्रविधिको प्रयोगलाई प्रभावकारी कार्यान्वयन गरिने बताउनुभयो । गोष्ठीमा गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।  उक्त अवसरमा भन्सार विभाग, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान कार्यालय, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख र कोशी प्रदेश सशस्त्र प्रहरी बल नेपालका प्रमुख तथा प्रतिनिधिहरूले आ-आफ्नो कार्यालयको तर्फबाट प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा कोशी प्रदेश केन्द्रित राजस्व अभिवृद्धि तथा चुहावट सम्बन्धी छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।गृह सचिव एकनारायण अर्यालको अध्यक्षता आजै बिहान शुरू भएको उक्त गोष्ठीमा कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, कोशी प्रदेश अन्तर्गतका सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरू, भन्सार कार्यालय तथा आन्तरिक राजस्व कार्यालयका प्रमुखहरू एवम् पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुरू
२०८१-०२-२७

मोरङ, नेपाल सरकार गृहमन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतका विषयमा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८१ शुरू भएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले विराटनगरमा आइतबार आयोजित समारोह बीच उक्त गोष्ठीको उद्‌घाटन गर्नुभयो ।उक्त अवसरमा गृहमन्त्री लामिछानेले विपद जोखिम न्यूनीकरणका लागि पूर्व तयारी, सरोकारवाला निकाय सँगको समन्वय र  समयमै स्रोत साधन उपलब्ध गराउन प्रदेश र स्थानीय तहसँग समन्वय गर्नुपर्ने बताउनुभयो । नीति नियमको अधिनमा रहेर कानून पालना गर्दै उत्कृष्ट काम गर्न उहाँले निर्देशन दिनुभयो ।गृहसचिव एकनारायण अर्यालको अध्यक्षतामा संचालित उद्‍घाटन सत्रमा कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेलले स्वागत मन्तव्य तथा गोष्ठीको उद्देश्यबारे जानकारी दिनुभएको थियो ।गोष्ठीको उद्‍घाटन सत्रमा कोशी प्रदेश अन्तर्गतका १४ जिल्लामध्ये ५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभयो ।गोष्ठीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, नेपाली सेनाका रथी अशोकराज सिग्देल क्षेत्री, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका पदाधिकारीहरू, कोशी प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरू, प्रदेश अन्तर्गतका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ । दुई दिवसीय उक्त गोष्ठी सोमबार सम्पन्न हुने कार्यक्रम रहेको छ ।

निर्माणाधिन प्रतिष्ठानका चुनौति सामना गर्न नेपाल सरकार प्रतिवद्ध : गृहमन्त्री रवि लामिछाने
२०८१-०२-२०

काभ्रे, उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले काभ्रेको पनौतीमा निर्माणाधिन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भवन एवम् संरचनाहरूमा देखिएका समस्या समाधान एवम् चुनौतिको सामना गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । भारत सरकारको अनुदान सहयोगमा काभ्रेको पनौती नगरपालिका-६ दलिन्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणाधिन भवन तथा संरचनाहरूको आइतबार अनुमगन तथा निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछानेले उक्त कुरा बताउनुभएको हो । सो क्रममा उहाँले समयमै निर्माण कार्य सम्पन्न गर्न निर्माणमा संलग्न सबै सरोकारवालाहरूसँग समन्वयको आवश्यकतामा जोड दिनुभयो ।नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले निर्माणको क्रममा देखा परेका विविध समस्याहरूलाई सम्बोधन गर्न नेपाल प्रहरीसँग समन्वय गर्दै आइरहेको चर्चा गर्नुभयो । निर्माण कार्य समयमै सम्पन्न गराउन सबैको साथ, समन्वय र सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।सो अवसरमा गृहमन्त्री रवि लामिछाने लगायत सहभागी उच्च पदाधिकारीहरू एवम् निर्माणमा संलग्न सरोकारवालाहरू बिच निर्माणमा देखा परेका समस्याहरू समाधान तथा चुनौति लगायतका विषयमा छलफल समेत भएको थियो ।उक्त अवसरमा गृहमन्त्री रवि लामिछाने, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, गृह सचिव एक नारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, भारतीय राजदूतावास नेपालका प्रथम सचिव अबिनाश कुमार सिंह तथा SS (Admin & DP) प्रशान्त कुमार सोना, गृहमन्त्रालयका सहसचिवद्वय कृष्ण नेपाल तथा थानेश्‍वर गौतम, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मा, प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले समेत अनुगमन तथा निरीक्षण गर्नुभयो । साथै उहाँहरूले निर्माणाधिन प्रतिष्ठान परिसरमा रूद्राक्ष र कपुर वृक्षरोपण समेत गर्नुभयो ।नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक ई. राम कुमार चौधरीले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रम सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको उक्त अवसरमा Central Public Works Department (CPWD)  का परामर्शदाता ई. राजेश कुमारले निर्माणाधिन प्रतिष्ठानको अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८१-०२-०९

काठमाडौं, उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा बुधबार आयोजित कार्यक्रम बिच दुई दिवसीय बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८१ मकवानपुरको हेटौंडामा सम्पन्न भएको छ ।नेपाल सरकार गृहमन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतका विषयमा मंगलबार उक्त गोष्ठी शुरू भएको थियो । गोष्ठीको समापन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले सबै सुरक्षा निकायहरूले आम नागरिकको सुरक्षा संवेदनशीलता, सामिप्यतालाई प्रभावकारी हुने किसिमको कामहरू गर्नुपर्ने बताउनुभयो । गोष्ठीमा राखिएका विषयवस्तु एवम् छलफलहरू लाभदायी भएको चर्चा गर्दै गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘गोष्ठीलाई गृह मन्त्रालय र प्रदेश सरकार बिच पुलको रूपमा व्याख्या गर्न चाहन्छु ।’ गृहमन्त्री लामिछानेले निमार्ण भएका वा हुने अल्पकालीन एवं दीर्घकालीन योजनाहरूमा छलफल हुनुपर्ने र सेवा प्रदायक अंगहरूले आम नागरिक एवम् पहुँच नपुगेका समुदायलाई भरोसा दिलाउने किसिमका कार्यहरू गर्नुपर्ने उल्लेख गर्दै विद्यमान केही ऐन कानूनहरू संशोधन तथा थप निर्माण गर्नुपर्नेमा गृह मन्त्रालय संवेदनशील रहेको बताउनुभयो । कार्यसम्पादन सूचकको आधारमा मूल्याङ्कन हुने उल्लेख गर्दै उहाँले अपराध न्यूनीकरणमा प्रहरी साझेदारी एवम् सूचनामूलक कार्यक्रमहरूबाट थप प्रभावकारी बनाउँदै सर्वसाधरण जनताले महशुस हुने गरी चुस्त दुरूस्त एवम् पारदर्शी रूपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेल, बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ र बागमती प्रदेशका का.मु. प्रमुख सचिव गोविन्द बहादुर कार्कीले गोष्ठीको महत्व एवम् आवश्यकताबारे आ-आफ्नो विचार व्यक्त गर्दै प्रहरी समायोजन हुनुपर्ने धारणा राख्नुभएको थियो ।सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रदेशको समग्र हित, दिगो विकास र शान्तिका लागि सम्पूर्ण सरोकारवालाहरू बिचको प्रतिवद्धता प्रवर्द्धन तथा साझेदारहरू बिचको सहकार्य अभिवृद्धिमा गोष्ठी साझा प्लेटफर्मको रूपमा साबित हुने विश्‍वास व्यक्त गर्नुभयो । शान्ति सुरक्षा राज्यको उच्च प्राथमिकताको क्षेत्र रहेको र यसको अभावमा राज्यको सुशासन एवम् समृद्धितर्फको गति समेत प्रभावित हुने भएकोले यसतर्फ गम्भीर र संवेदनशील रही निर्दिष्ट जिम्मेवारी इमानदारीपूर्वक बहन गर्न नेपाल प्रहरी प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले शान्ति सुरक्षा तथा अपराध रोकथाम र नियन्त्रणका क्षेत्रमा निर्वाह गरेको भूमिकाको चर्चा गर्दै आगामी दिनमा समेत नेपाल प्रहरी अझ व्यावसायिक र लगनशील भई थप उर्जाका साथ जिम्मेवारी बहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । गोष्ठीबाट प्राप्त निर्देशनलाई अक्षरस पालना गरी प्रभावकारी जनचेतनामूलक कार्यक्रम र योजनाबद्ध प्रहरी परिचालन मार्फत समग्र प्रदेशमा शान्ति सुव्यवस्था बहाल राख्न थप सक्रियता एवम् रचनात्मक ढंगले हरदम प्रयासरत रहँदै स्पष्ट जिम्मेवारी बोध र निर्भिकतापूर्वक कानूनको कार्यान्वयन गर्न गराउन प्रदेश तथा मातहत जिल्ला प्रहरी प्रमुखहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । गोष्ठीमा नेपाली सेनाका रथी अशोकराज सिग्देल, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सह-सचिवहरू नारायण प्रसाद भट्टराई, थानेश्‍वर गौतम र स्किम श्रेष्ठ तथा बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूर्ण बहादुर दर्जीले आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । साथै बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवं आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा बागमती प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती र अगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल समेत भएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव एकनारायण अर्यालले मन्तव्यसहित गोष्ठी समापन गर्नुभयो । गोष्ठीमा गृह मन्त्रालयका पदाधिकारीहरू, बागमती प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरू, बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो । 

निर्वाचन आयुक्त रामप्रसाद भण्डारी समेतको उच्च पदस्थ अधिकारीहरूको टोलीद्वारा अनुगमन
२०८१-०१-०६

इलाम, निर्वाचन आयुक्त रामप्रसाद भण्डारी समेतको उच्च पदस्थ अधिकारीहरूको टोलीले आसन्न प्रतिनिधिसभा सदस्य उप-निर्वाचन इलाम क्षेत्र नम्बर २ को बिहीबार अनुगमन गरेको छ । उप-निर्वाचनलाई स्वच्छ, शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षाको ताजा अवस्थाका सम्बन्धमा जानकारी लिने क्रममा निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, गृह सचिव एक नारायण अर्याल, रक्षा सचिव किरण राज शर्मा, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक हुतराज थापा, नेपाली सेना युद्ध कार्य महानिर्देशनालय उपरथी प्रेमध्वज अधिकारी र प्रमुख सेनानी मणिराम थापा समेतको टोलीले अनुगमन गरेको हो । उच्च पदस्थ अधिकारीहरूको उक्त टोलीले जिल्ला प्रशासन कार्यालय इलाम पुगेर जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, निर्वाचन व्यवस्थापनको तयारी, दल तथा उम्मेदवारहरूको चुनावी कार्यक्रम र जिल्लाको वस्तुस्थिति बारेमा जिल्ला सुरक्षा समितिसँग छलफल तथा अन्तरक्रिया समेत गरेको थियो । उक्त अवसरमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र गृह सचिव एक नारायण अर्याल समेतबाट निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न गराउन, सम्पूर्ण दलहरूको इलाम केन्द्रीत गतिविधिका कारण उत्पन्न हुने सम्भावित सुरक्षा चुनौतीलाई रोक्न निरन्तर समन्वय, सहकार्य गरी उपनिर्वाचनलाई शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन समेत भएको थियो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबाट ट्राफिक सचेतना विशेष अभियान-२०८१ उद्‍घाटन
२०८१-०१-०२

काठमाडौं, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय सभागृह भृकुटीमण्डपमा आइतबार आयोजित विशेष समारोहबीच ‘ट्राफिक सचेतना विशेष अभियान-२०८१’ को पानसमा दीप प्रज्वलन गरी उद्‌घाटन गर्नुभयो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा आयोजित उक्त कार्यक्रमको शुरूमा गृहमन्त्री रवि लामिछाने, गृहसचिव एकनारायण अर्याल, प्रहरी महानरीक्षक बसन्त बहादुर कुँवर, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम् सुरक्षा तथा अन्य सरोकारवाला निकायहरूका प्रतिनिधिहरूको सहभागितामा सडक सुरक्षा सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट सहितको प्रभातफेरि र्‍याली नेपाल वायुसेवा निगम प्राङ्गण सुन्धाराबाट शुरू भई वीर अस्पताल, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर मूल समारोह कार्यक्रममा परिणत भएको थियो ।कार्यक्रमलाई सम्बोधनको क्रममा गृहमन्त्री लामिछानेले ट्राफिक व्यवस्थापनमा सम्पूर्ण सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै सरकारले ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखेर ऐन, नियमलाई समयानुकूल परिमार्जित, परिवर्तन तथा नयाँ कायम गर्नका लागि सक्रियताका साथ लागेको बताउनुभयो । दुर्घटना न्यूनीकण गरी नागरिकको ज्यान बचाउनु राज्यको प्राथमिकता रहेको उल्लेख गर्दै रोड टेस्ट नगरिकन लाईसेन्स दिने परिपाटीले धेरै सवारी दुर्घटनाहरू भएको बताउँदै यसलाई नियन्त्रण गर्न लाईसेन्स परीक्षाको विद्यमान प्रक्रियामा सुधार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।      उक्त अवसरमा गृहमन्त्री लामिछानेले सरकारका कामहरूमध्ये ट्राफिक व्यवस्थापन पनि एक महत्वपूर्ण काम रहेको चर्चा गर्दै हाल सम्मको काम सह्रानीय रहेको र आगामी दिनमा समेत ट्राफिक नियमलाई थप कडाईका साथ पालन गर्न/गराउन निर्देशन दिनुभयो । ट्राफिक प्रहरीलाई छल्नलाई होइन आफू सुरक्षित हुनका लागि गम्भिर तथा सचेत भएर सार्वसाधारणले ट्रफिक नियम तथा लेन अनुशासनको पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिँदै ट्राफिक प्रहरीको बोली, वचन तथा व्यवहार नरम तर कारबाही कडा हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।समारोहका प्रमुख अतिथि गृहमन्त्री रवि लामिछानेलाई सोही समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कँवरले कृतज्ञताको चिनो हस्तान्तरण गर्नुभयो । समारोहमा काठमाडौं महानगरपालिकाकी उप-प्रमुख सुनिता डंगोलले स्वागत मन्तव्य व्यक्त गर्दै सचेतना अभियान महत्वपूर्ण रहेको र यसले एउटा जम्मेवार नागरिक बन्न सघाउँने बताउनुभयो । साथै पद्‍म कन्या क्याम्पसकी उप-प्राध्यापक भगवती सेढाईं र नेपाल यतायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँरले सडक सुरक्षा बारेमा आ-आफ्नो धारणासहित कार्यक्रमको लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त विशेष अभियान अन्तर्गत एक हप्तासम्म यात्रुमैत्री विशेष अभियान, पैदल यात्रीसँग १ मिनेट कार्यक्रम, मोटरसाइकल चालकसँग २ मिनेट कार्यक्रम, जिरो ट्राफिक भायोलेशन, किप क्लियर, यात्रुबाहक सवारी साधन परीक्षण, प्रहरी बैंण्ड डिस्प्ले र ट्राफिक एफएममा ट्राफिक सचेतना विशेष सम्वाद कार्यक्रम संचालन गरिने उक्त अवसरमा जानकारी दिइयो ।  कार्यक्रममा गृह सचिव एकनारायण अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका प्रवक्ता सह-सचिव नारायण प्रसाद भट्टराई, काठमाडौं जिल्ला प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, विभिन्न विभागका महानिर्देशकहरू, प्रहरी नायब महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृत तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीज्यूहरु, विभिन्न यातायात व्यवसायी संघसंस्थामा आवद्ध प्रतिनिधिहरू, हिसान, प्याव्सन तथा एन प्याव्सनका अध्यक्ष तथा प्रतिनिधिहरु र विद्यार्थी तथा संचारकर्मीहरू एवम् आमनत्रित महानुभावहरूको उपस्थिति रहेको थियो । 

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठी सम्पन्न
२०८०-१२-२९

पर्सा, उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा बिहीबार आयोजित कार्यक्रमबीच राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठी-२०८० पर्साको वीरगंजमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र अर्थ मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो । उक्त अवसरमा गृहमन्त्री लामिछानेले प्रचलित नियम कानूनको अधिनमा रहेर आम नागरिकले व्यापार व्यवसाय गर्न सक्ने वातावरण निर्माणमा सबै लाग्नुपर्ने चर्चा गर्दै राजस्व चुहावट नियन्त्रण, प्रतिबन्धित सामान, अखाद्य बस्तु नियन्त्रणमा सबै सरोकारवाला निकायहरूले आ-आफ्नो जिम्मेवारीमा विशेष सक्रिय भएर कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । गलत क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन र आम नागरिकले सुरक्षित महसुस गर्ने गरी भयरहित समाज निर्माणमा सबै मिलेर जानुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो । गोष्ठीमा गृह सचिव एकनारायण अर्याल र अर्थ सचिव डा. कृष्ण हरि पुष्करले गोष्ठीको महत्वबारेमा आ-आफ्नो मन्तव्य व्यक्त गर्दै राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण कुनै एक मात्र निकायको एकल प्रयासबाट मात्र सम्भव नहुने हुँदा यसमा सम्बन्धित सरोकारवाला निकायहरूको एकिकृत समन्वय तथा सहकार्यको अपरिहार्यता रहेको महसुस गरी संयुक्त रूपमा गोष्ठीको आयोजना गरिएको बताउनुभयो । गोष्ठीमा गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।   उक्त अवसरमा भन्सार विभाग, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान कार्यालय, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक, मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख र मधेश प्रदेश सशस्त्र प्रहरी बल नेपालका प्रमुख तथा प्रतिनिधिहरूले आ-आफ्नो कार्यालयको तर्फबाट प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा मधेस प्रदेश केन्द्रित राजस्व अभिवृद्धि तथा चुहावट सम्बन्धी छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।  गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव एकनारायण अर्यालले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, मधेस प्रदेश अन्तर्गत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरू, भन्सार कार्यालय तथा आन्तरिक राजस्व कार्यालयका प्रमुखहरू एवम् पदाधिकारीहरूको सहभागिता रहेको थियो । गोष्ठी समापन पश्‍चात गृहमन्त्री रवि लामिछाने, गृह सचिव एकनारायण अर्याल, अर्थ सचिव डा. कृष्ण हरि पुष्कर, सुरक्षा निकायका प्रमुखहरू समेतले बीरगंजस्थित एकीकृत जाँच चौकी (आइसिपी) र सुख्खा बन्दरगाह (ड्राइपोर्ट)को निरीक्षण भ्रमण समेत गर्नुभयो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८०-१२-२८

धनुषा, उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा बुधबार आयोजित कार्यक्रमबीच एक दिवसीय  मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनुषाको जनकपुरधाममा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र मधेस प्रदेश गृह, संचार तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो । उक्त अवसरमा गृहमन्त्री लामिछानेले समस्याको पहिचान भएपछि समाधानको उपाय निस्कने उल्लेख गर्दै उपलब्ध साधनस्रोतमा टेकेर गर्न सक्ने काम गरेका छौं वा छैनौं मनन गरी संगठनको मर्यादा कायम राखेर काम गर्न निर्देशन दिनुभयो । कानुन कार्यान्वयनमा समन्वय गर्दै तोकिएको जिम्मेवारी पूर्ण रूपमा पूरा गर्नुपर्ने उहाँले बताउनुभयो । सीमा क्षेत्रमा खटिएकाहरूको स्रोत र साधनको व्यवस्थापन गरिने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले सीमा क्षेत्रमा अनुगमन गर्ने  र निगरानीमा राख्ने लगायतका काम गरी तस्करी नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।  मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादवले मधेस प्रदेशमा सुरक्षा गोष्ठी गरेकोमा गृह मन्त्रालयलाई धन्यवाद दिँदै यसबाट समग्र प्रदेशको शान्ति सुरक्षा सुदृढ हुने विचार व्यक्त गर्नुभयो ।  उक्त अवसरमा मधेश प्रदेशका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखी, अर्थ सचिव कृष्णहरि पुस्कर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत लगायतले आ-आफ्नो विचार व्यक्त गर्नुभयो । गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले अपराध नियन्त्रण तथा अनुसन्धानको क्षेत्रमा गुणात्मक परिणाम दिने हिसाबले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गोष्ठीबाट प्राप्त निर्देशनलाई अक्षरस पालना गरी समग्र प्रदेशमा शान्ति सुरक्षा तथा सुशासन कायम गर्न थप सक्रियताका साथ काम गर्न प्रदेशस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो ।  सो अवसरमा सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका उपरथी प्रेम ध्वज अधिकारी, गृह मन्त्रालयका सह-सचिव राजेन्द्र देव पाण्डे र श्री नारायण प्रसाद भट्टराईले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतिकरण गर्नुभएको थियो । साथै मधेस प्रदेश गृह, संचार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादवले स्वागत मन्तव्य व्यक्त गर्दै गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । गोष्ठीमा मधेस प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती र अगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो ।  गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव एकनारायण अर्यालले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा मधेस प्रदेश अन्तर्गत आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश सुरक्षा निकायका प्रमुखहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

गृहसचिव एकनारायण अर्यालबाट नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
२०८०-१२-०५

काठमाडौं, गृहसचिव एकनारायण अर्यालले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । गृहसचिव एकनारायण अर्याललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो । निरीक्षण भ्रमणका क्रममा गृहसचिव अर्यालले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित संग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्यावको निरीक्षण गर्नुका साथै उहाँले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित “भौतिक सबुद संकलन र संरक्षण सम्बन्धी दिग्दर्शन” पुस्तक विमोचन गर्नुभयो । कार्यक्रममा गृहसचिव अर्यालले समाजमा शान्ति सुव्यवस्था कायम गर्ने, अपराध अनुसन्धान एवम् नियन्त्रणमा नेपाल प्रहरीले कुशलतापूर्वक कार्य गरिरहेको चर्चा गर्दै वर्तमान अवस्थामा देखिएका चुनौतिहरूको समाधानका लागि सबै प्रहरी कर्मचारीहरूको पूर्ण सहयोगको अपेक्षा रहेको उल्लेख गर्नुभयो । नेपाल प्रहरीको विकल्प भनेको सुधारिएको नेपाल प्रहरी नै रहेको बताउनुहुँदै गृहसचिव अर्यालले भन्नुभयो, “समग्र गृह प्रशासनलाई समसामाहिक हिसाबमा रूपान्तरण गर्नुपर्ने छ । अहिले भएका कार्यसम्पादनबाट हामी आफै पनि सन्तुष्टि छैनौं । जनताहरू पनि सन्तुष्टि भएका अवस्था छैनन् । हाम्रा कार्यशैलीमा परिवर्तन गर्नुपर्ने छ र अबका दिनहरूमा गृह प्रशासनमा नयाँ ढंगले काम गर्नुपर्छ भन्ने आफ्नो मन र मस्तिष्कमा राख्नुहोला ।”  गृहसचिव अर्यालले मुलुकको आन्तिरक सुरक्षा र व्यवस्थालाई सबल र प्रभावकारी बनाएको खण्डमा नागरिकहरूले स्वतन्त्रता पूर्वक आफ्नो व्यक्तित्व निर्माण गर्नका लागि शान्तिपूर्ण वातावरण सिर्जना भई आम नागरिकमा सुरक्षाको अनुभूति हुने बताउँदै विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो । प्रहरी कर्मचारीहरूको सरूवा, बढुवा तथा वृत्ति विकासमा सांगठनीक प्रणाली अन्तर्गत हुनुपर्ने उल्लेख गर्दै प्रहरी कर्मचारीहरूको पिरमर्का, गुनासोहरूको सम्बोधनको लागि सम्बन्धित कार्यालय प्रमुखहरू क्रियाशील हुनुपर्ने उहाँले बताउनुभयो । नागरिकसँग सम्बन्धित ऐन, कानूनको अध्ययन गरी सेवाग्राहीलाई सोही अनुरूपमा सेवा प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । गृहसचिव अर्यालले शून्य सहनशिलताको नीतिलाई अबलम्बन गर्नुपर्ने, चेन अफ कामण्डको उचित कार्यान्वयन गर्नुपर्ने बताउनुहुँदै तस्करी नियन्त्रण एवम् राजश्व चुहावट नियन्त्रणमा अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्दै थप सक्रिय भएर कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । नैतिकवान् र प्रविधियुक्त प्रहरी आवश्यक रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “राम्रो काम गर्नलाई डराउनुपर्दैन । व्यावसायिक, उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुहोस् ।” कार्यक्रममा गृहसचिव एकनारायण अर्याल समक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीको कार्ययोजना, २०८०, लागूऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना, २०८०/०८१, प्रहरी कर्मचारीको सरूवा सम्बन्धी मापदण्ड २०७९ (प्रथम संशोधन,२०८०), नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको संग्रह भाग-१ र भौतिक सबुद संकलन र संरक्षण सम्बन्धी दिग्दर्शन पुस्तक प्रदान गर्नुभयो । सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राज्यका प्रचलित ऐन कानूनको कार्यान्वयन, नागरिकको जीउ, धन र संवैधानिक हक अधिकारको संरक्षण र आम नागरिकमा कानुनको सर्वोच्चता र शान्ति सुरक्षाको प्रत्याभूति गराउँदै न्यायपूर्ण व्यवस्था कायम गर्न तालुक गृह मन्त्रालयको प्रत्यक्ष सुपरिवेक्षणमा रही समृद्ध, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणमा, समग्र नेपाल प्रहरी संगठन र आबद्ध सकल दर्जा कटिबद्ध रहेको बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सेवालाई समयसापेक्ष, जनमुखी, परिष्कृत, उत्तरदायी, समावेशी, विश्वसनीय, सर्वस्वीकार्य र भरोसायोग्य बनाउन नेपाल प्रहरी प्रधान कार्यालय सदैव प्रतिबद्ध रहेको छ र नेपाल प्रहरीको समयानुकूल आधुनिकीकरण, विकास र स्तरोन्नतिका सन्दर्भमा गृह सचिवज्यूबाट निरन्तर मार्गनिर्देशन प्राप्त भइरहने विश्वास समेत व्यक्त गर्नुभयो ।  निरीक्षण भ्रमणको क्रममा गृहसचिव अर्याल समक्ष प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, चुनौति, भावी योजना, अपेक्षा र प्रहरी समायोजन लगायतका विषयमा नेपाल प्रहरीको सांगठनिक प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
२०८०-११-२७

काठमाडौं, उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो ।निरीक्षण भ्रमणका क्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित संग्रहालयको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो ।निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री लामिछानेले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गर्नुभयो । सो क्रममा उहाँले संगठनको निर्माण र उच्च छवि बनाउन योगदान दिनु हुने सम्पूर्ण पूर्व प्रहरी अधिकृतहरू र बहालवाला प्रहरी अधिकृत तथा जवानहरू प्रति सम्मान समेत प्रकट गर्नुभयो ।  कर्मचारीहरूले आफूलाई सुम्पिएको जिम्मेवारी कानूनी परिधिमा रही निर्वाह गर्नुपर्ने तथा उनीहरूको वृत्तिविकासको सुनिश्चितता संगठनले गर्नुपर्ने चर्चा गर्दै गृहमन्त्री लामिछानेले भन्नुभयो, “कर्मचारीहरूको सरूवा, बढुवा तथा वृत्तिविकासका लागि आवश्यक पर्ने नीति र योजना बनाएर ल्याउनुहोस् । त्यसको कार्यान्वयनको लागि के कसरी गर्नुपर्ने हो सहजीकरण गर्न तयार छु ।” निर्धक्क भएर नीति र विधिको परिधिमा रहेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ठूलो जनशक्ति तल्लो तहका कर्मचारीहरूको भएको र उनीहरूको गुनासो सम्बोधन गर्न प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । हरेक नागरिकले सुरक्षाको अनुभूति हुने गरी सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले भन्नुभयो, “कुनै पनि घटना तथा अपराधको छानविन र अनुसन्धान हुँदै गर्दा को प्रतिवादी हुने वा नहुने निर्धारण आदेशले होइन प्रमाणले गर्नुस् । अनुसन्धान प्रमाणमुखी हुनुपर्दछ र कानूनको नजरमा सबै बराबर हुनुपर्दछ ।” कानूनको नजरमा अनुहार, पद, प्रतिष्ठा हरेर होइन प्रमाणको आधारमा निष्पक्ष भएर अनुसन्धान तथा कारवाही गर्न आग्रह गर्दै त्यसबाट उब्जने चुनौतिको डटेर सामना गर्दा र सुरक्षा कवच भएर आफै उभिने उहाँले बताउनुभयो । प्रहरी कर्मचारी चुस्त, फुर्तिलो, अनुशासित, चनाखो, दह्रो, खरो प्रहरी आफूले हेर्न चाहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जसलाई देख्दा बद्‍मासहरूलाई डर होस् र आम सर्वसाधरणलाई भर होस् ।” गृहमन्त्री लामिछानेले वैज्ञानिक प्रविधिको प्रयोगबाट हुने अपराधको अनुसन्धानमा प्रविधिको प्रयोग सँगसँगै लिएर वैज्ञानिक उपकरणहरू र दक्ष जनशक्तिको विकास आवश्यक रहेको उल्लेख गर्नुभयो । पीडित महिला तथा बालबालिका, वृद्धवृद्धा, असहाय, गरिब, फरक क्षमता भएका वर्गको न्यायका लागि अझ बढि सजग र सचेत भई विशेष प्राथमिकताका साथ सम्बोधन गर्न उहाँले निर्देशन दिनुभयो । मिटरब्याज पीडित, सहकारी पीडितहरूको समस्या ठूलो चुनौतिको रूपमा रहेको उल्लेख गर्दै आर्थिक अपराध, ठगी, साइबर क्राइम लागूऔषध कारोबार लगायतका आपराधिक गतिविधि नियन्त्रण तथा अनुसन्धानमा जनचेतना अभिवृद्धिको साथै मन, वचन र कर्मले  सेवाभावका साथ जनअपेक्षा अनुरूप काम गर्न उत्प्रेरित भई उत्कृष्ट नतिजा ल्याउन उच्च मनोबलका साथ काम गर्नुपर्नेमा उहाँले जोड   दिनुभयो । सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गृहमन्त्रीज्यूबाट भएको अत्यन्त सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशन कार्यान्वयनका लागि संगठन पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । समयको गतिशीलता र परिवर्तनमुखी सामाजिक परिवेश सँगै श्रृजित चुनौतिहरूलाई निस्तेज तुल्याउँदै, समाजको परिवर्तनको गति र दिशा अनि आम नागरिकको चाहना बमोजिम प्रहरी सेवालाई समयसापेक्ष थप जनमुखी, परिष्कृत, उत्तरदायी, समावेशी, विश्वसनीय, सर्वस्वीकार्य र भरोसा योग्य बनाउन नेपाल प्रहरी प्रधान कार्यालय सदैव प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।  राज्यले अंगिकार गरेको नीति र दिएको निर्देशन, कुनै गुनासो र स्वार्थ बिना कार्यान्वयन गर्ने आफ्नो मूलभूत दायित्वबाट कहिल्यै विमुख नभएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “नेपाल प्रहरीको संस्थागत विकास, यसमा आवद्ध सकल दर्जाका प्रहरी कर्मचारीहरूको व्यावसायिक मनोबल र समग्र सांगठनिक हितको लागि तालुक गृह मन्त्रालयबाट अभिभावकीय भूमिका निर्वाह हुनेमा नेपाल प्रहरी विश्वस्त रहेको छ ।”  कानूनले प्रदान गरेको पद र त्यसमा निहित अधिकारको दुरूपयोग गरी गैह व्यावसायिक क्रियाकलाप र आर्थिक अनियमिततामा संलग्न रहने प्रवृत्ति उपर नेपाल प्रहरीले निर्मम प्रहार गर्दै प्रहरी संगठनमा आन्तरिक शुद्धिकरण मार्फत सांगठनिक सुदृढिकरणलाई अर्जुन दृष्टि मान्दै सोही अनुरूप संगठन क्रियाशील रहेको उहाँले चर्चा गर्नुभयो । निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछाने समक्ष प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, चुनौति, भावी योजना, अपेक्षा र प्रहरी समायोजन लगायतका विषयमा नेपाल प्रहरीको सांगठनिक प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा गृहसचिव दिनेश भट्टराई, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

सुशासन र समृद्धिको अभियानमा उच्च समर्पणसहित योजनाबद्ध रूपमा कार्य गर्नुपर्ने : उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ
२०८०-११-११

बाँके, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, समृद्धि हासिल गर्ने, शान्ति प्रकियाका बाँकी काम सम्पन्न गरी दिगो शान्ति स्थापना गर्ने कार्य वर्तमान सरकारको मुख्य कार्यभार रहेको उल्लेख गर्दै सुशासन र समृद्धिको अभियानमा सबैले उच्च समर्पणसहित योजनाबद्ध रूपमा कार्य गर्नुपर्ने बताउनुभएको छ । नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालयको संयुक्त आयोजनमा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतका विषयमा बिहीबारदेखि नेपालगंजमा सुरू भएको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८० को समापन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो । उक्त अवसरमा गृहमन्त्री श्रेष्ठले राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक रूपमा हुने विभेद न्यूनिकरण, नागरिकका अपेक्षा सम्बोधन र समस्या सामाधानका लागि स्थानीय प्रशासनले अग्रगामी सोच सहित कार्य गर्नुपर्ने बताउनुभयो । गोष्ठीमा भएका छलफलका विषयहरू कार्यान्वयन हुने र यसले मुलुकको शान्ति सुव्यवस्था र नागरिकको समृद्धि तथा अमनचयनमा दखिने गरी सुधार हुने अपेक्षा रहेको उहाँले बताउनुभयो । समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयका गृहमन्त्री सन्तोष कुमार पाण्डेय र लुम्बिनी प्रदेशका प्रमुख सचिव राधिका अर्यालले गोष्ठीको महत्वबारे आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । समारोहमा गृहसचिव दिनेश भट्टराईले धन्यवाद ज्ञापन व्यक्त गर्दै सबै सुरक्षा निकायहरूले आपसी समन्वय गरी सफलतापूर्वक काम गर्नुपर्ने उल्लेख गर्दै कानून विपरितका गतिविधि नियन्त्रण गर्न गोष्ठीको निष्कर्ष फलदायी हुने उल्लेख    गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर समग्र प्रदेशमा देखिएका समस्या तथा चुनौतिहरूको पहिचान तथा विश्लेषण गरी प्रदेशको प्रयास र केन्द्रको अपेक्षा बुझ्न एकिकृत र समन्वयात्मक रूपमा आयोजित गोष्ठी उपलब्धीमूलक भएको चर्चा गर्नुभयो । प्रदेशमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा सम्पूर्ण सरोकारवाला निकाय र सुरक्षा निकाय बिचको आपसी समन्वय र सहकार्य अपरिहार्य रहेको उहाँले उल्लेख गर्नुभयो । प्रदेशगत अपराधको तथ्याङक विश्लेषण गरी योजनाबद्ध प्रहरी परिचालन मार्फत समग्र प्रदेशमा शान्ति सुव्यवस्था कायम गर्न अराजक, अवाञ्छित तथा आपराधिक गतिविधि नियन्त्रणका लागि स्पष्ट जिम्मेवारी बोध र निर्भिकतापूर्वक कानूनको कार्यान्वयन गर्न गराउन उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन उहाँले दिनुभयो ।गोष्ठीमा लुम्बिनी प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो । गोष्ठीमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेना युद्दकार्य विभागका उपरथी प्रेमध्वज अधिकारी, राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, गृह मन्त्रालयका पदाधिकारीहरू, नेपाली सेनाका प्रतिनिधि, लम्बिनी प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, प्रदेश अन्तर्गतका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

सामूहिक एवम् व्यक्तिगत जवाफदेहिताको संस्कृति निर्माण गरी नागरिक पहिलो भन्ने सिद्धान्त अनुकूल कार्य गर्नुपर्ने : उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ
२०८०-११-१०

बाँके, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधान र कानुनले व्यवस्था गरे बमोजिम आफ्ना कार्यहरूलाई निर्देशित गर्ने, संस्थागत एवम् व्यवसायिक समन्वय र सहकार्यलाई प्रवर्धन गर्ने, सामूहिक एवम् व्यक्तिगत जवाफदेहिताको संस्कृति निर्माण गरी नागरिक पहिलो भन्ने सिद्धान्त अनुकूल कार्य गर्नुपर्ने बताउनुभएको छ ।  नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालयको संयुक्त आयोजनमा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतका विषयमा बिहीबारदेखि नेपालगंजमा सुरू भएको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८० को उद्‍घाटन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो ।  गृहमन्त्री श्रेष्ठले संघीय व्यवस्थाको कार्यान्वयन सँगै नयाँ नयाँ अवसर तथा चुनौतीहरू देखा परेको उल्लेख गर्दै नीति, कार्यक्रम, आन्तरिक क्षमता समेत सोही अनुरूप निरन्तर समायोजन गर्दै जानुपर्ने आवश्यक रहेको बताउनुभयो । तहगत सरकारका निकायहरू बीचको समन्वय बढाउँदै स्थानीय प्रशासन थप प्रभावकारी बनाउन यस प्रकारका अन्तरक्रियात्मक कार्याशाला गोष्ठीले विशेष महत्व राख्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  नेपाल सरकारले लिएको “सुशासन, सामाजिक न्याय र समृद्धि” को लक्ष्य हासिल गर्न स्थानीय प्रशासन र सुरक्षा संयन्त्रको प्रभावकारी परिचालन महत्वपूर्ण आधार भएको चर्चा गर्दै मुलुकको आर्थिक सम्वृद्धिको लागि वातावरण निर्माण गर्ने र ऐतिहासिक परिवर्तनले ल्याएका लाभहरू जनताले उपभोग गर्ने वातावरण निर्माण गर्न तथा व्यवस्थाप्रति जनताको भरोसा अझ उचो बनाउन सुरक्षा र विकासलाई सँगसँगै लैजानुपर्ने आवश्यक रहेको बताउनुभयो । सुशासन, स्थिरता र विकासका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय सरकारको सहकार्यमा निरन्तर कार्य गरिरहेको समेत उहाँले बताउनुभयो ।  गृहमन्त्री श्रेष्ठले लागू औषध दुरुपयोग नियन्त्रण, प्राकृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण साना हातहतियारको अवैध ओसारपसार नियन्त्रण गैर व्यावसायिक कृयाकलापको नियन्त्रण गरी उपभोक्ता र सर्वसाधारणको हित संरक्षण समेत उत्तिकै महत्वपूर्ण विषय भएकोले यो क्षेत्रहरूमा समेत योजनावद्व रुपमा कार्ययोजना बनाई कार्य गर्न आग्रह गर्नुभयो । लुम्बिनी प्रदेशस्तरिय सुरक्षा गोष्ठीबाट यस प्रदेशको विषयमा केन्द्रित भई राष्ट्रियस्तरमा समेत शान्ति, सुशासन र स्थिरताको लागि उपयोगी हुने सुझाव, रणनीति र कार्ययोजना निर्माण हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।गृह सचिव दिनेश भट्टराई, लुम्बिनी प्रदेश सरकार र गृह मन्त्रालयका मन्त्री सन्तोष कुमार पाण्डेयले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालयका सचिव लालबाबु कवारीले स्वागत मन्तव्य तथा गोष्ठीको उदेश्य सम्बन्धी जानकारी दिनुभएको थियो ।  गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, लुम्बिनी प्रदेश अन्तर्गत विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू एवम् प्रदेश अन्तर्गत प्रहरी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको छ । दुई दिवसीय उक्त गोष्ठी शुक्रबार सम्पन्न हुनेछ ।

आपराधिक गतिविधिलाई निस्तेज पार्न सुरक्षा निकायहरुको सक्रियता अझै बढाउनुपर्ने : उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ
२०८०-१०-२०

कास्की, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबै प्रकारका आपराधिक गतिविधिलाई निस्तेज पार्न सुरक्षा निकायहरुको सक्रियता अझै बढाउनु पर्ने र जुनसुकै परिस्थितिको सामना गर्न सुरक्षाकर्मीहरू सदैव तयार रहनुपर्ने बताउनुभएको छ ।नेपाल सरकार गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको आयोजनमा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतका विषयमा शुक्रबारदेखि पोखरामा सुरु भएको गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८० को समापन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो । उक्त अवसरमा गृहमन्त्री श्रेष्ठले मुलुकमा शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा विभिन्न कानूनहरूको निर्माण गर्दै शान्ति भंग गर्ने र संविधान विरूद्ध काम गर्नेहरु प्रति कडा रूपले प्रस्तुत हुने नीति अवलम्बन गरिएको बताउनुभयो ।  समारोहमा गृहसचिव दिनेश भट्टराईले सबै सुरक्षा निकायहरूले आपसी समन्वय गरी सफलतापूर्वक काम गर्नुपर्ने उल्लेख गर्दै कानून विपरितका गतिविधि नियन्त्रण गर्न गोष्ठीको निष्कर्ष फलदायी हुने विचार व्यक्त गर्नुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको शान्ति सुरक्षा सम्बन्धी मन्तव्य व्यक्त गर्दै अपराध नियन्त्रण लगायत शान्ति सुरक्षा कायम गर्ने काममा प्रदेशले प्रहरीलाई आवश्यक सहयोग गर्ने बताउनुभयो । गोष्ठीमा गण्डकी प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो । गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेना युद्दकार्य विभागका उपरथी प्रेमध्वज अधिकारी, गृह मन्त्रालयका पदाधिकारीहरू, नेपाली सेनाका प्रतिनिधि, गण्डकी प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, प्रदेश अन्तर्गतका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

शान्ति सुरक्षालाई थप मजबुद र विश्वसनीय बनाई जनमैत्री र नागरिक केन्द्रित प्रहरी सेवा प्रदान गर्नुपर्ने : उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ
२०८०-१०-२०

कास्की, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदेशको समग्र शान्ति सुरक्षालाई थप मजबुद र विश्वसनीय बनाई जनमैत्री र नागरिक केन्द्रित प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरू कटिबद्ध हुनुपर्ने बताउनुभएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयको शनिबार निरीक्षण पश्चात आयोजित कार्यक्रममा प्रदेश मातहत कार्यालयका प्रमुखहरू र गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो । साथै उहाँले प्रदेश प्रहरी कार्यालयको परिसर, संरचना, सवारी साधन, शाखाहरूको निरीक्षण तथा अनुगमन, कार्यालयको बस्तुस्थिती एवम् संक्षिप्त प्रस्तुतिकरणमा सहभागी हुनु भई गण्डकी प्रदेशको समग्र शान्ति सुरक्षा सम्बन्धमा जानकारी समेत लिनुभयो । सो अवसरमा गृहमन्त्री श्रेष्ठले भरपर्दो सुरक्षा व्यवस्था मिलाउन र नेपाल सरकार तथा विभागीय नीति निर्देशन समेतलाई मध्यनजर राखी आ-आफ्नो जिम्मेवारी त्रुटिरहित तवरबाट सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । आत्महत्या, महिला तथा बालबालिका विरूद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनिकरणको लागि गम्भीरतापूर्वक लिन समेत उहाँले उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गृहमन्त्री ज्यूबाट प्राप्त निर्देशनले आगामी दिनमा प्रहरी थप व्यावसायिक र उर्जावान हुने विश्वास व्यक्त गर्नुभयो ।सो अवसरमा धन्यवाद ज्ञापन गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बिकासराज खनालले सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशन कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताउनुभयो । 

प्रविधिको दुरूपयोगबाट हुन सक्ने अपराधहरू प्रति सतर्कता अपनाई पूर्वतयारी गर्नु आजको अपरिहार्य आवश्यकता - उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ
२०८०-१०-०८

काठमाडौं, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आधुनिक प्रविधिको दुरूपयोगबाट हुन सक्ने अपराधहरू प्रति सतर्कता अपनाई नियन्त्रण र अनुसन्धानमा पूर्वतयारी गर्नु आजको अपरिहार्य आवश्यकता रहेको बताउनुभएको छ । साथै उहाँले अत्याधुनिक प्रविधिलाई अपराध नियन्त्रण र अनुसन्धानको प्रयोजनको लागि प्रयोग गर्न पर्याप्त स्रोत साधन व्यवस्था गर्ने र त्यसको प्रयोग गर्न सक्ने दक्ष जनशक्ति तयार गर्नेतर्फ सबैको प्रयास समेत हुनु जरूरी रहेको उल्लेख गर्नुभयो ।  नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार संचालित एक दिवसीय ‘अपराध अनुसन्धान समीक्षा गोष्ठी,२०८०’ को उद्‌घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो ।उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले अपराध अनुसन्धान कार्यलाई थप व्यवसायिक तथा विशिष्टिकृत बनाउनु गृह प्रशासन कार्ययोजनाको एउटा प्रमुख क्रियाकलाप रहेको चर्चा गर्दै अपराध अनुसन्धान सम्बन्धी वर्तमान अवस्था, चुनौतीहरू तथा भावी कार्ययोजनाको बारेमा विश्लेषण र छलफल गर्न यस गोष्ठी महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरीले यस प्रकारको गोष्ठी सातै प्रदेशमा आयोजना गरी हाल केन्द्रीयस्तरमा आयोजना गरेकोले गोष्ठीले देशभरी भएका गोष्ठीहरूबाट आएका विषयहरूको विश्लेषण गरी अपराध अनुसन्धानको भावी कार्यदिशा तय गर्ने तथा अपराध अनुसन्धानको विभिन्न आयामहरूमा विचार विमर्श गर्न, अन्तरदृष्टि आदानप्रदान गर्न र रणनीति निर्माण गर्न समेत उपयुक्त कार्यदिशा प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । आन्तरिक शान्ति सुरक्षा कायम गर्न र अपराध अनुसन्धान गर्नको लागि नेपाल प्रहरी प्रमुख निकाय भएको र व्यवसायिक अपराध अनुसन्धानको र जनताको सुरक्षाको प्रत्याभुतिसँग प्रत्यक्ष सम्बन्ध रहेको बताउँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘सही अनुसन्धानले अपराधीलाई कानूनको कठघरामा मात्र ल्याउँदैन, हुन सक्ने अपराधलाई रोक्ने र गलत प्रवृति भए‌का व्यक्तिहरूलाई निरुत्साहित गर्ने कार्य समेत गर्दछ । पीडितलाई न्यायको अनुभव गराउनुमा पनि अपराध अनुसन्धानको प्रमुख भुमिका रहेको हुन्छ ।’ अपराध अनुसन्धान एक बहुआयामिक प्रयास भएको र अनुसन्धान गर्ने निकायको एकल प्रयासले यो महत्वपूर्ण कार्यलाई सम्पन्न गर्न कठिन हुने उल्लेख गर्दै उहाँले यसमा अन्य सरकारी निकायहरू, विभिन्न सेवा प्रदायक संस्थाहरू र नागरिकहरू समेतको समन्वय, सहयोग र सहकार्यको आवश्यकता रहनेमा जोड दिनुभयो । सो अवसरमा महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलले अपराध अनुसन्धानलाई त्रुटिरहित, विश्वसनियतता र प्रमाणको आधारमा गरिने अभियोजना गर्ने अवस्थालाई उच्चतम बिन्दुमा पुर्‍याउन सबै सरोकारवाला निकायहरू दृढ संकल्पित हुनुपर्ने  बताउनुभयो । अपराध अनुसन्धानमा भएका त्रृटि र कमि कमजोरीलाई समयमा नै पहिचान गर्न समेत यस गोष्ठीबाट आउने निष्कर्षले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले फौजदारी न्याय प्रणालीको आधारशिलाको रूपमा रहेको यस संगठनका सकल दर्जाले कानूनी राज्यको प्रत्याभूति दिलाउन आ-आफ्नो कर्तव्य र जिम्मेवारी गम्भीरतापूर्वक सम्पादन गर्दै आएको चर्चा गर्नुभयो । पीडितलाई न्याय, अपराधीलाई सजाय र मानव अधिकारको सम्मान गर्दै विधिको शासन कायम गराइ दण्डहिनताको अन्त्य गराउन सरोकारवाला निकायहरूका बीचको व्यावसायिक सम्बन्ध र सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले आर्थिक अपराधले आम नागरिकका व्यक्तिगत जीवनस्तरमा मात्र नभई सिंगो राष्ट्रिय अर्थतन्त्रमा समेत प्रत्यक्ष असर पुर्‍याएको बताउँदै आर्थिक अपराध सँग सम्बन्धित अपराधहरूको अनुसन्धानको लागि नेपाल प्रहरीले विशिष्टकृत ब्यूरो स्थापनाको लागि समेत गृहकार्य थालनी गरेको उल्लेख गर्नुभयो । वैज्ञानिक, प्रमाणमुखी र प्रविधिमैत्री अनुसन्धानको अभ्यासलाई कार्यान्वयन गराउन उपस्थित प्रहरी अधिकृतहरूको ध्यान आकृष्ट गराउँदै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘संविधानका पाना र ऐन कानुनका दफामा जतिनै शब्दहरू प्रयोग भएता पनि, राज्यले अधिकार सुम्पिएका र सो कार्यान्वयनको जिम्मेवारीमा रहेका हामी र हाम्रा मातहतका कर्मचारीले आफ्नो कार्यशैलीको काँचुली नफेरेसम्म संविधान र कानुनका शब्दहरूको मर्म प्राप्ति हुँदैन र सर्वसाधारणले साँचो अर्थमा न्याय पाएको अनुभूत गर्न सक्दैनन् ।’  कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, नेपाल बार एसोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले अपराधको वर्तमान अवस्था र अपराध न्यूनिकरणका लागि तयार गर्नुपर्ने योजना लगायतका बिषयमा आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभयो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका सहसचिव, सहन्यायाधिवक्ता, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू, जिल्ला न्यायाधिवक्ताहरू, संचारकर्मी लगायतको उपस्थिति एवम् प्रदेश प्रहरी प्रमुखहरूको भर्चुएल उपस्थिति रहेको थियो ।   

आफूलाई चिन्न, बदल्न, असल तथा स्वच्छ बन्न ध्यान विज्ञान आवश्यक - उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ
२०८०-०९-२१

काठमाडौं, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ध्यानलाई धर्मसँग नभएर विज्ञानको रूपमा जोडेर हेर्नुपर्ने धारणा व्यक्त गर्दै आफूलाई चिन्न, बदल्न, असल तथा स्वच्छ बन्न ध्यान विज्ञान आवश्यक रहेको बताउनुभएको छ ।नेपाल सरकार गृह मन्त्रालयको समन्वय तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र जीवन विज्ञान संस्थाको संयुक्त आयोजनामा ध्यान विज्ञान ध्यानद्वारा उर्जा जागरणको एक दिवसीय कार्यशालाको सोही प्रतिष्ठानमा शनिबार उद्‍घाटन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो ।उक्त अवसरमा गृहमन्त्री श्रेष्ठले ध्यान विज्ञानले सुरक्षा अंगका कर्मचारीलाई असल, स्वच्छ एवम् शुद्ध बन्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने चर्चा गर्दै नेपाल सरकारले अंगिकार गरेको सुशासनको अभियानलाई समेत प्रभावकारी रूपमा सम्पादन गर्न  कार्यशालाले थप मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । ध्यानको माध्यमबाट हरेक कर्मचारीहरूलाई तनावमुक्त, एकाग्रता, स्वजागरण एवम् स्वअनुशासित बनाउन सहयोग हुने तथा उनीहरूबाट सम्पादन हुने कार्यमा समेत सकारात्मक प्रभाव पर्ने हुँदा निष्ठा एवम् समर्पणभावका साथ ध्यान विज्ञानलाई आत्मसाथ गर्न उहाँले जोड दिनुभयो ।योगले शारीरिक अभ्यासको साथै जीवनशैलीलाई राम्रो बनाई आफूलाई रूपान्तरण गर्ने प्रकृयामा योगदान पुर्‍याउने उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले समाजलाई राम्रो बनाउन र विश्वमा नै मानवताको प्रवर्द्धन गर्न समेत ध्यान विज्ञान फलदायी हुने बताउनुभयो । मन्त्रालय र सुरक्षा संयन्त्रको नेतृत्वले ध्यान विज्ञानको अभियानको मर्म र महत्वलाई गम्भीर रूपमा आत्मसाथ गरेको चर्चा गर्दै आगामी दिनमा समेत सुरक्षा निकायमा ध्यान विज्ञानको प्रशिक्षणलाई थप विस्तार गर्दै लैजाने उहाँले बताउनुभयो । उक्त अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्दै शारीरिक व्यायाम सँगसँगै योगाभ्यासलाई समेत विशेष महत्वका साथ प्रयोगमा लैजान सकियो भने व्यक्तिगत र व्यावसायिक जीवनलाई थप सकारात्मक सोचका साथ अगाडि बढाउन सकिने विचार व्यक्त गर्नुभयो ।कार्यशालामा जीवन विज्ञान संस्थाका संस्थापक एवम् जीवन विज्ञान विशेषज्ञ रमेश नेपालद्वारा प्रहरी कर्मचारीहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो ।कार्यशालामा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, जीवन विज्ञान विशेषज्ञ एल.पि. भानु शर्मा, गृह मन्त्रालयका सहसचिव, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रशिक्षार्थीहरू, जीवन विज्ञान संस्थाका स्वयंसेवक तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

समाजमा शान्ति सुरक्षा, सामाजिक सद्‍भाव, एकता र सहिष्णुता कायम गर्न सबै सुरक्षा निकायहरूले व्यावसायिक समन्वयकासाथ कर्तव्य निर्वाह गर्नुपर्ने - उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ
२०८०-०६-१७

महोत्तरी, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले समाजमा शान्ति सुरक्षा, सामाजिक सद्‍भाव, एकता र सहिष्णुता कायम गर्न सबै सुरक्षा निकायहरूले आफूलाई दिइएको जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसाथ गर्दै व्यावसायिक समन्वयका साथ कर्तव्य निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।महोत्तरीको बर्दिवासस्थित गौतम होटलमा बुधबार आयोजित समसामयिक सुरक्षा सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो । साथै उहाँले सबै सुरक्षा निकायहरू एकातावद्ध भएर निर्दिष्ट जिम्मेवारी पूरा गर्न यस अन्तरक्रियाले स्पष्टता र उर्जा प्रदान गरेकोले सोही अनुरूप सुरक्षा निकाय क्रियाशील हुने विश्वास व्यक्त गर्नुभयो । चाडपर्वलाई लक्षित गरेर शान्ति सुरक्षाको अवस्था मजबुद, यातायात तथा दैनिक उपभोग्य वस्तुहरूको उपलब्धतामा सहज पहुँच गराउन ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री मोहम्मद समिम,  मधेश प्रदेश शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादव र मधेश प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादव तथा मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधाम धनुषाका प्रमुख सचिव दिनेश घिमिरेले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै शान्ति सुरक्षा कायम राखी आम नागरिकहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउन सबै सुरक्षा निकायबीच प्रभावकारी समन्वय र सहकार्य जरूरी रहेको बताउनुभयो । उक्त अवसरमा गृह सचिव दिनेश भट्टराईले पछिल्लो समयमा देखिएका नवीनतम् सुरक्षा चुनौतिहरूलाई मध्यनजर गरी भरपर्दो सुरक्षा योजना अनुसार सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउन सबैको समन्वय र सहकार्य जरूरी रहेको बताउनुभयो । साथै उहाँले शान्ति सुरक्षा कायम राख्न सबै सुरक्षा निकायहरूले थप सतर्कता अपनाई कार्य गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कानून कार्यान्वयन, शान्तिसुरक्षा र अमन चयन कायम राख्न आजको अन्तरक्रिया कार्यक्रम फलदायी हुनुका साथै भावी रणनीति एवम् कार्यदिशा तय गर्न समेत उपलब्धिमूलक हुने विश्वास व्यक्त      गर्नुभयो । सीमावर्ती क्षेत्रमा संगठित रूपमा हुने अपहरण, लागूऔषध ओसारपसार, हातहतियार तस्करी, सुनको अवैध ओसार पसार, तस्करी, नक्कली मुद्राको कारोबार जस्ता गतिविधिले समग्र राज्यको आर्थिक विकासलाई प्रत्यक्ष असर पारेको बताउनुहुँदै यस्ता गतिविधिलाई पूर्णरूपमा निरुत्साहित र नियन्त्रणको लागि शून्य सहनशीलताका साथ सरोकारवाला निकायबीच परिणाममुखी समन्वय गरी सक्रिय रूपमा काम गर्न प्रहरी संगठन क्रियाशील रहेको उहाँले उल्लेख गर्नुभयो । अन्तरक्रियाको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओम प्रकाश जोशी एवम् गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेश जनकपुरधामका निमित्त सचिव उत्तम खेरलले समेत सुरक्षा सम्बन्धी आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।  सो अवसरमा गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रदेश प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखहरुले समग्र प्रदेशको वर्तमान सुरक्षा अवस्थाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो भने धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सप्तरी, सर्लाही र सिरहाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र वस्तुस्थिति बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा सुरक्षा निकायका प्रदेश प्रमुखहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रदेशस्तरका अध्यक्ष एवम् प्रतिनिधिहरू, प्रदेश नागरिक समाजका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।   

प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायहरूले दत्तचित्त भई कार्य सम्पादन गर्नुपर्ने - उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ
२०८०-०६-०८

मोरङ, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रभावकारी सीमा सुरक्षा व्यवस्था मिलाउन र शून्य शहनशीलताको नीति अनुरुप भ्रष्टाचार नियन्त्रणका लागि सबै सुरक्षा निकायहरू एक आपसमा समन्वय गर्दै कार्य सम्पादन गर्नुपर्ने बताउनुभएको छ । विराटनगरको बिग होटलमा सोमबार आयोजित सुरक्षा सम्बन्धी समसामयिक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो । साथै उहाँले सुरक्षा निकायहरूले एक आपसमा समन्वय एवम् सहकार्य गर्दै शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा देखिएका विभिन्न समस्याहरूको समाधानको लागि थप सक्रिय हुनुपर्नेमा जोड   दिनुभयो । कार्यक्रममा गृह सचिव दिनेश भट्टराईले हालको सुरक्षा चुनौतिहरूलाई मध्यनजर गरी भरपर्दो सुरक्षा योजना अनुसार सुरक्षा व्यवस्था मिलाउन र आम नागरिकहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउन सबैको समन्वय र सहकार्य जरूरी रहेको बताउनुभयो । प्रदेशको शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन नागरिकहरूमा सेवा प्रवाहको लागि सहजिकरण गर्दै विकास निर्माणलाई गति दिन र सु-शासन कायम गर्न सुरक्षा निकायलाई उहाँले निर्देशन दिनुभयो । सो अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव डा. दिपक काफ्लेले प्रदेशको सुरक्षा व्यवस्थामा सबै सुरक्षा निकायको निरन्तर सहकार्य र समन्वय भइरहेको साथै चाडपर्व समेत नजिकिँदै गरेको अवस्थामा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नागरिकको मौलिक हक र अधिकारको संरक्षण गर्न नेपाल प्रहरी सदैव गम्भीर रहेको उल्लेख गर्दै समाजमा शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरी अहोरात्र सक्रियताका साथ खटिएको बताउनुभयो । खुल्ला सिमानाका कारण हुन सक्ने चोरी तस्करी नियन्त्रणमा सम्पूर्ण सुरक्षा निकायहरूले आपसी समन्वय गरी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।  कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले समेत सुरक्षा सम्बन्धी आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।  कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रदेश प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखहरुले समग्र प्रदेशको वर्तमान सुरक्षा अवस्थाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो भने झापा, मोरङ, सुनसरी, ईलाम, धनकुटा र उदयपुरका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र वस्तुस्थिति बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा सुरक्षा निकायका प्रदेश प्रमुखहरू, झापा, मोरङ, सुनसरी, ईलाम, धनकुटा र उदयपुर जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो भने पहाडी ८ जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले भर्चुअल माध्यमद्वारा सहभागिता जनाएका थिए । 

गृह सचिव भट्टराई र प्रहरी महानिरीक्षक कुँवरबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न
२०८०-०४-१९

काठमाडौं, गृह सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।  गृह मन्त्रालयमा शुक्रबार आयोजित समारोहमा गृह सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्नुको साथै उक्त सम्झौता आदान प्रदान समेत गर्नुभयो । उक्त अवसरमा गृह सचिव भट्टराईले कार्यसम्पादन सम्झौताका विषयहरू समग्रमा शान्ति सुरक्षा, सेवा प्रवाह, विकास निर्माण र सुशासन लगायत गृहमन्त्रालयका सम्पूर्ण जिम्मेवारीहरू प्रतिबिम्बित गरेको उल्लेख गर्नुभयो । सम्झौता कार्यान्वयन गर्ने क्रममा गृहमन्त्रालयको नेतृत्वको तर्फबाट हुने सहजीकरण, नीतिगत मार्गनिर्देशनका साथै आवश्यक पर्ने स्रोत साधनको परिचालनमा समेत मन्त्रालयको साथ सहयोग र उच्च स्तरको समन्वय हुने उहाँले उल्लेख गर्नुभयो । सम्झौतामा उल्लेख भएका विषयहरू र सम्पादन गर्नुपर्ने कार्यहरू उचित तरिकाले सम्पादन गर्नेतर्फ सबैको आ-आफ्नो सम्पूर्ण प्रयास, चिन्तन, क्रियाशीलता एवम् लगन उच्च हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  नेपाल सरकार गृह मन्त्रालयको कार्यक्षेत्र बमोजिमको कार्य सम्पादन गर्न सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १९ तथा सुशासन (व्यवस्थापन तथा संचालन) नियमावली, २०६५ को नियम ११ बमोजिम गृह सचिव भट्टराई र प्रहरी महानिरीक्षक कुँवरबीच उक्त सम्झौता भएको हो । 

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबाट नेपाल प्रहरी शिक्षालय भरतपुरको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
२०८०-०३-२१

काठमाडौं, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार नेपाल प्रहरी शिक्षालय भरतपुरको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको छ । सोही अवसरमा उहाँले नेपाल प्रहरी शिक्षालय भरतपुर परिसरमा वृक्षारोपणसमेत गर्नुभएको थियो ।निरीक्षण पश्चात उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले सरकारको प्रतिनिधिको रुपमा सर्वप्रथम जनतामाझ पुग्ने र नागरिकसँग प्रथम सम्पर्क हुन जाने राज्यको निकाय नै प्रहरी भएकोले जनताले सरकारको अनुभूति गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो । ‘सत्य सेवा सुरक्षणम्’ को मुल मन्त्रलाई आत्मसात गरी सेवाभावबाट ओतप्रोत भई नागरिकको जिउधनको सुरक्षा र अमनचयन कायम गर्न अहोरात्र खटिएर जनमुखी प्रहरी सेवा प्रदान गर्नको लागि दक्ष प्रहरी जनशक्ति उत्पादन गर्न नेपाल प्रहरी शिक्षालयले गरेको प्रयास अत्यन्तै सराहनिय रहेको उहाँले उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले आम नागरिकलाई न्याय र आत्मसम्मानको अनुभूति गराउन ऐन-कानूनले निर्दिष्ट गरेका जिम्मेवारीहरुलाई पूर्ण पालना गरि कानूनी राज्यको प्रत्याभूति दिन सक्ने प्रहरी जनशक्ति उत्पादन गर्न निर्देशन दिनुभयो । ‘प्रहरी जागिर मात्र होईन सेवा पनि हो’ भन्ने भावनालाई आत्मसाथ गरी प्रहरी संगठनको गौरव र गरिमालाई नयाँ उचाईमा पुर्‍याउने गरी काम गर्ने सिप सहितको प्रशिक्षण नवप्रवेशी प्रहरी अधिकृत तथा जवानहरुलाई प्रदान गर्न शिक्षालयलाई आग्रह गर्नुभयो । शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा लगायत प्रहरी अधिकृत तथा जवानहरूको समेत उपस्थिति रहेको थियो । 

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मूल समारोह कार्यक्रम सम्पन्न
२०८०-०३-११

काठमाडौं, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मूल समारोह कार्यक्रम, २६ जुन २०२३ राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा सोमबार सम्पन्न भएको छ । गृह मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रमको सुरुमा गृह मन्त्रालय तथा विभिन्न मन्त्रालयहरु, सुरक्षा निकायहरु, काठमाडौं ललितपुर भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु एवम् सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा लागूऔषध सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट सहितको प्रभातफेरि र्‍याली भृकुटीमण्डप, भद्रकाली हुँदै राष्ट्रिय सभागृहमा आएर मूल समारोह कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले लागूऔषधसँग सम्बन्धित लेखरचना समेटिएको गृह मन्त्रालयद्वारा प्रकाशित ‘सुरक्षित जीवन’ नामक जर्नल २०औँ संस्करणको विमोचन गर्नुका साथै दिवसलाई सफल पार्न सहयोग गर्ने नेपाल प्रहरी  संगीत विद्यालय, सेभ द चिल्ड्रेन, रिकभरि नेपाल लगायतका विभिन्न संघसंस्थालाई प्रशंसापत्र वितरण गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले लागूऔषध दुरूपयोग रोकथाम र नियन्त्रणका विषय बहुसरोकारको विषय भएकोले सम्वद्ध निकायहरूको समन्वय र सहकार्यबाट लागूऔषध उत्पादन, विक्री वितरण, संचय  र ओसारपसार नियन्त्रणको साथै उपचार तथा पुनस्थापना, जोखिम न्यूनीकरण, जनचेतनालाई अभियानको रूपमा संचालन गरी तीनै तहको सरकारको नीति कार्यक्रममा मूलप्रवाहीकरण गरी संचालन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । लागूऔषध अपराध विरूद्ध राष्ट्रिय एक्यवद्धता जुटाउन सबै पक्षबाट इमान्दार प्रयास आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो ।  उक्त अवसरमा धन्यवाद ज्ञापन गर्दै गृह सचिव दिनेश भट्टराईले लागूऔषध नियन्त्रण र नियमनको मुख्य जिम्मेवारी रहेको गृहमन्त्रालयले जिम्मेवारी निर्वाह गर्न गैरसरकारी संघसंस्था, नागरिक समाज लगायत विभिन्न सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै समाजको साझा उद्देश्य प्राप्ती गर्न आफ्ना गतिविधिहरू निर्देशित र केन्द्रीकृत गर्दै आएको बताउनुभयो ।   सहसचिव तथा मुख्य औषध नियन्त्रण अधिकारी रूद्रादेवी शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र वस्नेत, एफडिडिआरको तर्फबाट प्रशान्त शर्मा, रिकभरिङ नेपालको तर्फबाट विष्णु फुँयाल र नेसफाडाको तर्फबाट ऋषि ओझाले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । ‘लागूऔषध दुरूपयोग विरुद्धको ऐक्यबद्धता: व्यक्ति समाज र राष्ट्रको प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीले सङ्गीत प्रस्तुती गरेको थियो भने लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो समेत प्रदर्शनी गरिएको थियो । साथै विभिन्न विद्यालयका विद्यार्थीहरूले कविता वाचन तथा नृत्य प्रस्तुती गरेका थिए ।   गृह सचिव दिनेश भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, गृहमन्त्रालयका महाशाखा प्रमुखहरु तथा अन्य कर्मचारीहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरु, विभिन्न मन्त्रालयका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, नागरिक समाज, संचारकर्मीहरु, विद्यार्थी एवम् आमन्त्रित महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।  

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा योग विज्ञान शिविर तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
२०८०-०३-०४

काठमाडौं, नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार एक दिवसीय योग विज्ञान शिविर २०८० तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले हाम्रा प्राचीन चिन्तक, दार्शनिक र योगीहरूले योग अभ्यासलाई जीवनको अभिन्न अंगको रूपमा लिँदै आएको चर्चा गर्नुभयो । योग अभ्यासलाई जीवनको अभिन्न अंग र वैज्ञानिक अभ्यासको रूपमा अनुशरण गर्न सकेमा व्यक्तिलाई स्वच्छ एवम् समाजलाई पनि अगाडि बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  योग भनेको योग अभ्यास मात्र नभई यसको महत्वलाई आत्मसात गर्दै आफू र समाजलाई समेत अभ्यास गराउनुपर्ने बताउँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “योग अभ्यास एवम् ध्यानले शरीरिक एवम् मानसिक रूपले स्वच्छ बनाउन, जागरूक, संतुलित बनाउन र आफूलाई रूपान्तरण गर्ने प्रकृयामा योगदान पुर्‍याउँछ ।” सरकारको नीति तथा कार्यक्रममा योग र ध्यानलाई संस्थागत रूपमा नै अगाडि बनाउन प्रोत्साहित गर्न आफूले पहल गरेको चर्चा गर्दै उहाँले गृहमन्त्रालय मार्फत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, प्रशासनिक क्षेत्र एवम् कारागार समेतमा योग शिविर संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।  उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरीले गर्दै आएका कामप्रति गर्व गर्दै आगामी दिनमा अझ बढी गर्व एवम् प्रतिष्ठा स्थापित गर्न सम्पूर्ण प्रहरी कर्माचारीहरूले कर्तव्यबोधका साथ कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।  कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शिविरको माध्यमबाट योगको महत्व र योगाभ्यासका बारेमा सकल दर्जा माझ सचेतना अभिबृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । एकै दिनमा योग सम्बन्धी सम्पूर्ण जानकारी हासिल गर्न सम्भव नहुने बताउँदै उहाँले योगको सही अभ्यास र निरन्तरता एवम् यसबाट लाभग्राही हुने अवसरको लागि यो कार्यक्रम सहायकसिद्ध हुने अपेक्षा गरिएको उल्लेख गर्नुभयो ।  निश्चित अनुशासन र पद्धतिमा बाँधिएर अवलम्बन गरिने योगाभ्यासबाट शरीरमा स्फूर्ति बढ्ने, रोग प्रतिरोधात्मक क्षमताको विकास हुने तथा सकारात्मक सोचतर्फ व्यक्तिलाई उत्प्रेरित गर्न सकिने उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “योग व्यक्तिको शरीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास भएकोले स्वस्थ व्यक्ति र सुखी समाजको निर्माण योगबाट सम्भव छ । योग गर्ने व्यक्तिमा सकारात्मक सोच विकास भई नकारात्मकतालाई न्यूनीकरण गर्ने र सकारात्मक सोचले रिस द्वेष एवम् प्रतिशोधको भावनालाई समेत कम गर्दछ, फलस्वरूप यसको प्रभावबाट समाजमा हुने अपराधहरूमा पनि कमी ल्याउन मद्दत गर्दछ ।” शान्त, धैर्यवान भई निर्णय गर्नुपर्ने प्रहरी अधिकृत तथा जवानहरूको मन एवम् मस्तिष्क स्थिर हुन जरूरी रहेको उल्लेख गर्दै उहाँले नेपाल प्रहरीमा नियमित योगाभ्यास गराउने र तालिम प्रदायक निकायहरूमा संचालित तालिमका प्रशिक्षार्थीहरूलाई योगाभ्यास गराउने लक्ष्यसहित नेपाल प्रहरी प्रधान कार्यालय र पतंजलि योग समिति नेपालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी दिनुभयो ।  सो अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र, युवा केन्द्रीय संयोजक लोकनाथ खनाल र सह-केन्द्रीय प्रभारी अर्चना घिमिरेलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो भने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई पतंजली योग समिति नेपालका संरक्षक तथा कार्यक्रम संयोजक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र बिक्रम महतले कृतज्ञताको चिनो प्रदान गर्नुभएको थियो ।  पतंजली योग समिति नेपालका संरक्षक तथा कार्यक्रम संयोजक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र बिक्रम महतले योग शिक्षा बारेमा मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लभदेव मिश्रले योगाभ्यास गराउनु भएको थियो ।   संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा विश्वभर मनाउन थालिएपछि यस वर्ष पतंजली योग समिति नेपालको तत्वावधान र नेपाल प्रहरीको आयोजनामा उक्त शिविर संचालन गरिएको हो ।  कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लगायत पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका सहसचिवहरू, पतंजली योग समिति नेपालका पदाधिकारी एवम् योग गुरूहरू, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरू समेतको सहभागिता रहेको थियो ।

सर्वोच्च शिखर सगरमाथाको सफल आरोही नेपाल प्रहरीका कर्मचारी सम्मानित
२०८०-०२-१९

काठमाडौं, अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी राष्ट्रिय झण्डा, नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा सगरमाथाको चुचुरोमा फहराउन सफल आरोही प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली, सहयोगी व्यक्त र सम्बद्ध संस्थालाई सम्मान गरिएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहमा प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली, आरोहणमा सहयोगी भूमिका निर्वाह गर्ने विवस शेर्पा र एलिट हिमालयन एडभेन्चरका डाईरेक्टर मिङ्‍मा डेविड शेर्पालाई दोसल्ला ओढाई सम्मानपत्र सहित सम्मान गर्नुभयो । साथै आरोही नेपालीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठलाई झण्डा तथा आरोहणका सामग्री हस्तान्तरण गर्नुभयो । उक्त झण्डा प्रहरी महानिरीक्षकमार्फत इन्टरपोल हेड अफ एनसिबिको आगामी बैठकमा इन्टरपोल प्रमुखलाई हस्तान्तरण गरिने छ भने अन्य सामग्री नेपाल प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय प्रहरी संग्राहलयमा राखिने छ ।  समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकोमा हार्दिक बधाई दिँदै आगामी दिनमा पनि प्रहरी सेवामा रहेर यसै प्रकारले राष्ट्र र संगठनको गौरव स्थापना गर्ने कार्यमा सफलता प्राप्तिको लागि शुभकामना व्यक्त गर्नुभयो । समाजमा शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान तथा नियन्त्रण, तस्करी नियन्त्रण लगायत हरेक क्षेत्रमा राष्ट्रले दिएको जिम्मेवारी नेपाल प्रहरीले सफलता पूर्वक गौरवका साथ पूरा गर्दै आएको चर्चा गर्दै उहाँले नेपाल सरकार सदैव नेपाल प्रहरीको भूमिकाप्रति अत्यन्तै प्रसन्नताका साथ प्रोत्साहित गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।  सरकारको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीले देश र जनताको सेवालाई केन्द्रबिन्दुमा राखेर आफ्नो गौरव र प्रतिष्ठा कायम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा समेत आफ्नो कार्यसम्पादनलाई गम्भीरतापूर्वक वहन गरी आफूलाई रूपान्तरण गर्ने संकल्प गर्न उहाँले अनुरोध गर्नुभयो ।   सो अवसरमा आभार सहितको मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले यस आरोहणमार्फत इन्टरपोलका सदस्य राष्ट्रहरू आपराधिक क्रियाकलापहरू विरुद्ध ऐक्यवद्ध रहेको सकारात्मक सन्देश दिन सफल भएको चर्चा गर्नुभयो । साथै उहाँले समयको विकासक्रमसँगै सिर्जित अपराधका नौलो आयामहरूले प्रहरी समक्ष ल्याएका थप चुनौतीहरूको नियन्त्रणका लागि प्रहरीलाई विभिन्न तरिकाले सक्षम बनाउन इन्टरपोलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख    गर्नुभयो । नेपाल प्रहरीको उपस्थितिले विश्वभरिका पर्वतारोही पर्यटकहरूमा थप सुरक्षाको अनुभूति वृद्धि हुनुका साथै नेपालको पर्यटन प्रवर्द्धन एवम् अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । आरोहणको लागि सहयोग पुर्‍याउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागलगायत अन्य संघ संस्था तथा सरोकारवाला निकायप्रति उहाँले कृतज्ञता व्यक्त गर्नुभयो । प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले स्वागत मन्तव्य तथा इन्टरपोल र सम्मान कार्यक्रमका बारेमा जानकारी दिनुभएको उक्त समारोहमा वि.सं. २०३३ सालमा नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै टुकुचे हिमाल सफलतापूर्वक आरोहण गर्ने ९ सदस्यीय टोलीमध्येका अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक कमल भण्डारी र सर्वोच्च शिखर सगरमाथा आरोही प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले आरोहण गर्दाको आ-आफ्नो अनुभवसहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा आरोहण सम्बन्धी वृत्तचित्र प्रस्तुत गरिएको थियो ।  सम्मान समारोहमा प्रधान सेनापति महारथी प्रभुराम शर्मा, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, राष्ट्रिय अनुसन्धान बिभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृहमन्त्रालयका सहसचिवहरू, पर्यटन विभागका महानिर्देशक, विभिन्न मन्त्रालय एवम् पर्यटन तथा आरोहणसँग सम्बन्धित संघ संस्थाका आमान्त्रित अतिथिहरू लगायत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

गृहसचिव दिनेश भट्टराईबाट नेपाल प्रहरी प्रधान कार्यालय निरीक्षण तथा निर्देशन सम्बोधन
२०८०-०२-०२

काठमाडौं,  गृहसचिव दिनेश भट्टराईले मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले गृहसचिव दिनेश भट्टराईलाई हार्दिक स्वागत गर्नुभएको थियो । सो क्रममा गृहसचिव भट्टराईले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभएको थियो । निरीक्षण भ्रमणका क्रममा गृह सचिव भट्टराईले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलिग्राफ शाखा र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यहाँबाट हुने काम र गतिविधिबारे जानकारी लिनुभयो । निरीक्षण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहसचिव भट्टराईले गृह प्रशासन मातहत कार्यरत सबैले आफू ‘शासक होइन सेवक हो’ भन्ने भावका साथ नागरिक सेवामा समर्पित भएर आर्थिक सामाजिक रूपान्तरणको अभियानलाई सार्थक बनाई सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने कार्यमा एकजुट हुनुपर्ने बताउनुभयो । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता, स्वाभिमान र राष्ट्रिय सुरक्षाको कार्यभारलाई आत्मसाथ गर्दै देशमा शान्ति सुव्यवस्थाको समुचित प्रबन्ध मिलाउन नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै गृहसचिव भट्टराईले भन्नुभयो, ‘मन्त्रालय नेतृत्वले अगाडि सारेको दृष्टिकोण, मूल्यमान्यता, निष्ठा र आदर्शलाई नेपाल प्रहरीले गम्भीरतापूर्वक मनन गरी जनताको लोकतान्त्रिक अधिकार उपभोगको अवस्थालाई सुनिश्चित गर्दै नागरिकमैत्री व्यवहार अवलम्बन गरी राष्ट्र र जनतालाई केन्द्रभागमा राखेर तोकिएको जिम्मेवारी व्यावसायिक ढंगले उच्च मनोबलका साथ वहन गर्ने कुरामा म विश्वस्त छु ।’ प्रहरीले नागरिक समक्ष गर्ने कार्यव्यवहारबाट सरकारको छवि उजागर हुने उल्लेख गर्दै उहाँले प्रहरी प्रशासनले गरिब, निमुखा, शोषित पीडित, कमजोर एवं पहुँचबिहिन नागरिकको सारथी बनी उजुरी, गुनासो तथा समस्यालाई सम्बोधन गर्न अग्रसरता एवम् थप क्रियाशिलता हुनुपर्नेमा जोड दिनुभयो ।  गृहसचिव भट्टराईले विभिन्न स्वरूपमा हुने आपराधिक गतिविधि समयमै अनुसन्धान एवं नियन्त्रण गरी प्रहरी संगठनको छवि उच्च राख्न विशेष आग्रह गर्दै  नागरिकको मौलिक एवं लोकतान्त्रिक अधिकारलाई सुरक्षित गरी भरपर्दो र त्रुटिरहित सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभयो । प्रहरी संगठन आफैमा अनुशासनको पर्याय भएको उल्लेख गर्दै गृहसचिव भट्टराईले भन्नुभयो, ‘कुनै पनि सुरक्षाकर्मीलाई पेशागत आचरण विपरीत काम गर्न छुट छैन । तसर्थ सदाचारलाई मूलमन्त्र मानेर आदेशको श्रृङ्खला अनुरूप कार्य गर्न सकल दर्जालाई म निर्देशन गर्न चाहान्छु ।’ मातहतका प्रहरी कार्यालयहरूले आफ्नो कार्यालयबाट प्रदान गरिने सेवाको गुणस्तर र बितरण प्रक्रियामा आमूल सुधार गरी सेवा प्रवाहलाई थप चुस्त, दुरूस्त र प्रभावकारी बनाउन कार्ययोजनाका साथ काम गर्न जरूरी रहेको उहाँले बताउनुभयो ।  साथै उहाँले सरूवा, बढुवा, पदस्थापना लगायतका वृत्ति विकासका अवसरलाई न्यायोचित र अनुमानयोग्य बनाउने र अनावश्यक दवाव सिर्जना गर्ने जस्ता गैर व्यावसायिक प्रवृत्तिलाई निरूत्साहित गरिने बताउँदै संगठनमा स्थापित आदेशको श्रृङ्खला अनुरूप आगामी दिनमा वृत्ति विकासका अवसरलाई न्यायोचित तवरबाट अगाडि बढाइने बताउनुभयो । महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति थप चनाखो एवं संवेदनशील हुन उहाँले उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै सार्वजनिक सम्पत्तिको तोडफोड लगायत अवाञ्छित, अराजक र उच्छृङ्खल गतिविधिलाई निरूत्साहित गर्दै अनुसन्धान र तहकीकातका माध्यमबाट संलग्नलाई कानूनी दायरामा ल्याउन समेत निर्देशन दिनुभयो । सो अवसरमा आभार सहितको मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गृहसचिव ज्यूबाट प्राप्त अत्यन्तै महत्वपूर्ण, समसामयिक र सान्दर्भिक निर्देशनलाई संगठनले पूर्णरूपमा ऐक्यबद्ध भई अक्षरस पालना गरी नतिजा दिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले संगठन सुदृढिकरणका लागि आन्तरिक शुद्धिकरणलाई प्रस्थानविन्दू बनाउँदै जनमैत्री एवं प्रविधिमैत्री प्रहरी विकास र प्रहरी कार्यसम्पादन गुणस्तर अभिवृद्धि एवं प्रहरी कर्मचारीको मनोबल उच्च राख्दै संगठनको समग्र छवि उचो राख्ने लगायतका विषयलाई प्राथमिकतामा राखी संगठनको दुई वर्षीय कार्ययोजना निर्माणको प्रक्रियामा रहेको बताउनुभयो । प्रणालीगत व्यवस्थापन साँगठनिक विकासको आधारशिला भएको चर्चा गर्दै संगठनको प्रत्येक सदस्यले व्यावसायिक क्षमता प्रदर्शन गर्नसक्ने वातावरणको निर्माण गर्दै योग्यता र कार्यसम्पादन लक्षित कार्य पद्दती निर्माण गर्न संगठन पूर्ण दृढ रहेको उहाँले बताउनुभयो । अपराध रोकथाम एवं घटित अपराधको प्रभावकारी अनुसन्धान, सामाजिक विकृतिको नियन्त्रण र सेवा प्रवाहमा जनअपेक्षा अनुरूपको कार्य सम्पादनको लागि सुदृढ प्रहरी संयन्त्र आजको आवश्यकता रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले नागरिक सुरक्षाको प्राथमिक दायित्व बोकेको नेपाल प्रहरीलाई सुदृढ कार्य सम्पादनको लागि उपयुक्त रणनीतिसहित प्रविधि एवं साधनयुक्त बनाउन नेपाल सरकार र तालुक मन्त्रालयबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । निर्देशन सम्बोधन कार्यक्रम अघि नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण कार्यक्रममा गृहसचिव दिनेश भट्टराई समक्ष नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा, निर्वाचन सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी मनोबल, उत्प्रेरणा र सुपरिवेक्षण, अन्तर्राष्ट्रिय समन्वय र सहायता, प्रहरी कार्यमा प्रविधिको प्रयोग, नीति तथा योजना कार्यान्वयनको अवस्था, चुनौति, भावी योजना र अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । निर्देशन सम्बोधन कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृहमन्त्रालयका सहसचिवद्वय केदारनाथ शर्मा र जितेन्द्र बस्नेत, प्रहरी नायव महानिरीक्षकहरु एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति एवम् भर्चुअल रूपमा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, गण प्रमुखहरू, तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी प्रमुखहरुको उपस्थिति रहेको थियो ।

माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
२०७९-१२-२०

काठमाडौं, माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभएको   थियो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभएको   थियो ।निरीक्षण भ्रमणका क्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलीग्राफ सेक्सन, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याबको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो ।निरीक्षण पश्चात आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् भिडियो कन्फेरेन्समार्फत ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, गण प्रमुखहरू,  तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू तथा सबै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन सम्बोधन गर्नुभयो । सो क्रममा उहाँले ‘सत्य सेवा सुरक्षणम्’ को मुल मन्त्रलाई आत्मसात गरी सेवाभावबाट ओतप्रोत भई नागरिकको जिउधनको सुरक्षा र अमनचयन कायम गर्न अहोरात्र खटिएर प्रहरी सेवा प्रदान गर्न गरिएका प्रयास अत्यन्तै सराहनीय रहेको चर्चा गर्नुभयो । सरकारको प्रतिनिधिको रुपमा सर्वप्रथम जनतामाझ पुग्ने नै प्रहरी भएको र सरकारको प्रतिनिधिको रुपमा नागरिकसँग प्रथम सम्पर्क हुने हुँदा कार्यस्थलमा सुरक्षाकर्मीले गर्ने व्यवहारबाट नागरिकको सरकारप्रतिको धारणा निर्माण हुने उल्लेख गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘तपाईहरुले शरीरमा लगाएको बर्दी र काँधमा लगाएको फुलीमा सर्वसाधरणको भरोसा र विश्वास लुकेको छ । स्वच्छ, निष्पक्ष र छिटोछरितो सेवा प्रवाहमार्फत नागरिकको भरोसा र विश्वासलाई कायम राख्न अझ मेहनत गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’ तस्करी र राजश्व चुहावट नियन्त्रणमा नेपाल प्रहरीको भूमिका स्मरणीय र उल्लेखनीय रहेको बताउँदै उहाँले यसको गुणात्मक वृद्धिका लागि दृढ भई कारवाही गर्न समेत निर्देशन दिनुभयो ।  उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले मुलुकमा शान्ति-सुरक्षा स्थापना गर्न, नागरिकको जनधनको सुरक्षा सुनिश्‍चित गर्न, महिला बालबालिका, ज्येष्ठ नागरिकको पूर्ण सुरक्षा प्रत्याभूति गर्ने क्रममा तथा आमनागरिकलाई न्याय र आत्मसम्मानको अनुभूति गराउन ऐन-कानूनले निर्दिष्ट गरेका जिम्मेवारीहरुलाई पूर्ण पालना गरी कानूनी राज्यको प्रत्याभूति दिन निर्देशन दिनुभयो । कुनै पनि अवाञ्छित दबाब र चलखेलमा नपरी संगठनको उद्देश्यलाई केन्द्रमा राखेर सम्पूर्ण प्रहरी कर्माचारीहरू ऐक्यबद्ध भई कार्य गर्नुपर्ने बताउनुहुँदै उहाँले पेशागत मर्यादा र प्रतिष्ठालाई कायम गर्दै संबिधान र कानूनले संगठनलाई दिएको जिम्मेवारी पूरा गर्न निर्भिकता पूर्वक सिर्जनात्मक ढंगले दायित्व निर्वाह गर्न समेत बताउनुभयो । पदस्थापना बढुवा, सरूवालाई अधिकतम प्रणालीगत र संस्थागत ढंगले आगाडि बढाउन गृहमन्त्रालयले आवश्यक पहल गर्ने उहाँले उल्लेख गर्नुभयो ।  उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले सीमित स्रोत साधन, न्यून जनशक्ति र अपर्याप्त भौतिक पूर्वाधारका बावजुद पनि नेपाल प्रहरीले शान्ति सुरक्षा, अपराध नियन्त्रण, महामारी नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, खोज उद्धार तथा राहत लगायतका प्रतिकार्यमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै विपद्‍ जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि सदैव तयारी अवस्थामा रहन आवश्यक रहेको बताउनुभयो । साथै मिटरब्याजबाट पीडितहरुको उजुरी समयमा नै अनुसन्धान गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन र पीडितलाई उचित न्याय दिलाउने कार्यलाई उच्च प्राथमिकताका राखी कार्यसम्पादन गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो ।सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले माननीय उपप्रधानमन्त्रीज्यूबाट नेपाल प्रहरीको सांगठनिक अभिवृद्धि तथा प्रहरी कर्मचारीहरुको वृत्ति विकासलगायतका विषयहरुमा प्राप्त निर्देशनका लागि कृतज्ञता व्यक्त गर्नुभयो । तालुक मन्त्रालयबाट नेपाल प्रहरीको वृत्ति विकास, संरचनागत सुधार र हालसम्म प्राप्त सहयोगको लागि धन्यवाद व्यक्त गर्दै उपप्रधानमन्त्रीज्यूको नेतृत्व एवं अभिभावकत्वमा प्रहरी कर्मचारीको वृति विकास र क्षमता अभिवृद्धिमा ठोस कदम चालिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले आर्थिक अनियमितता एवं गैरव्यावसायिक आचरण विरुद्ध शून्य सहनशीलताको नीति आवलम्बन गर्दै आन्तरिक शुद्धीकरण अभियानलाई कठोरतापूर्वक लागू गर्न संगठन पूर्णरूपमा प्रतिवद्ध रहेको बताउँदै तालुक मन्त्रालयको सदिक्षा र सहयोगबाट आन्तरिक शुद्धिकरणको यो अभियानले सार्थकता पाउने बताउनुभयो । लागूऔषधको सेवन, बिक्री-वितरण तथा ओसारपसार र सञ्चय गर्ने जस्ता अवैध गतिविधिलाई निस्तेज गर्न नेपाल प्रहरीले प्रवर्द्धनात्मक, नियन्त्रणात्मक र दण्डात्मक नीति अवलम्बन गर्दै आएको र लागूऔषध नियन्त्रण तथा रोकथाम कार्यलाई उच्च प्राथमिकतामा राखी निर्ममतापूर्वक कारवाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  नेपाल प्रहरीले मानव अधिकारको सम्मान तथा संरक्षण, कानूनको निष्पक्ष कार्यान्वयन र सूचनामा आधारित एवम् प्रमाणमुखी अनुसन्धानलाई उच्च महत्व दिँदै आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले अपराधको संजाल र आवाञ्छित गतिविधि निस्तेज गर्न संगठन दृढ संकल्पित रहेको तथा हुण्डी, क्रिप्टोकरेन्सी कारोबार, विदेशी मुद्रा तथा गैरकानूनी सुन ओसारपसार उपर नेपाल प्रहरीले कठोर भई कारवाही र अनुसन्धान गर्दै आएको बताउनुभयो ।  निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री श्रेष्ठ समक्ष नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक रबिन्द्र केसीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङक तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी मनोबल, उत्प्रेरणा र क्षमता अभिवृद्धि, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, चुनौति, भावी योजना र अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा गृहसचिव विनोद प्रकाश सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृहमन्त्रालयका प्रवक्ता, प्रहरी नायव महानिरीक्षकहरु एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, गण प्रमुखहरू, तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो ।

माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
२०७९-०९-१५

माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभएको   थियो । निरीक्षण भ्रमणका क्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलीग्राफ सेक्सन र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो ।निरीक्षण पश्चात आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयले तयार पारेको ‘सेवा प्रतिको सन्तुष्टि र कार्य सम्पादनमा प्रभाव पार्ने तत्वहरू: नेपाल प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतहरूको मामला अध्ययन’ र ‘नेपाल प्रहरीमा युवाको आकर्षण र विकर्षणको अवस्था विषयक’ २ वटा छुट्टाछुट्टै अध्ययन प्रतिवेदन सार्वजनिकिकरण गर्नुभयो ।  नेपाल प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतहरूको कार्य सम्पादनमा प्रभाव पर्ने तत्वहरूको पहिचान गर्ने र सुधारका क्षेत्रहरू पहिल्याउने उद्देश्यले गरिएको अध्ययनले कार्य वातावरण, कार्य सन्तुष्टि, कार्य उत्प्रेरणा र कार्य सम्पादनलाई एक अर्काको परिपूरकको रूपमा अन्तर सम्बन्धीत रहेको देखिएको उक्त प्रतिवेदनमा देशभरबाट विभिन्न जिल्लामा कार्यरत १ हजार ३ सय ८६ जना नेपाल प्रहरीका जुनियर प्रहरी अधिकृतहरूमा सर्वेक्षण, गहन अन्तरवार्ता तथा सुपरिवेक्षक तहका प्रहरी कर्मचारीहरूसँग लक्षित छलफलको माध्यमबाट परिमाणात्मक र गुणात्मक दुवै किसिमका तथ्याङक विश्लेषण गरी प्रतिवेदन तयार पारिएको छ । यसैगरी नेपाल प्रहरीमा युवाको आकर्षण र विकर्षणको अवस्था विषयक अध्ययन प्रतिवेदनमा देशभरबाट कक्षा १० देखि स्नातक तह सम्म अध्ययनरत १ हजार ३ सय ६१ जनालाई सहभागी गराई प्रहरीको काम कर्तव्यप्रति युवाको धारणा र सेवाप्रति युवाहरूको आकर्षणका सम्बन्धमा सर्वेक्षण गरी प्रतिवेदन तयार पारिएको थियो । कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् भिडियो कन्फेरेन्समार्फत ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, गण प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू तथा सबै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन सम्बोधन गर्नुभयो । सो क्रममा उहाँले जस्तो सुकै विषम परिस्थितिमा पनि किन्चित विचलित नभई अहोरात्र जनताको सेवामा खटिई देशको आन्तरिक शान्ति सुब्यवस्था कायम गर्नुको साथै अपराधको रोकथाम तथा नियन्त्रण र अपराध अनुसन्धानमा उल्लेखनीय भुमिका निर्वाह गर्दै आईरहेको चर्चा गर्नुभयो ।  संगठनको निर्माण र उच्च छवि बनाउन योगदान दिनु हुने सम्पूर्ण पूर्व प्रहरी अधिकृतहरु र बहालवाला प्रहरी अधिकृत तथा जवानहरु प्रति समेत उहाँले सम्मान प्रकट गर्नुभयो । संगठनको बिकास र बिस्तार तथा प्रहरी कर्मचारीहरुको बृत्ति विकास गर्ने कार्यलाई प्राथमिकता दिईने बताउँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘आवश्यकतानुसारको प्रहरी कार्यलयहरुको भौतिक संरचनाहरु छैनन, तल्लो तहका प्रहरी कर्मचारीहरु  ब्यारेकमा कष्ट पुर्ण तरिकाले सुत्नु परेको अवस्था छ, प्रहरी प्रधान कार्यलयमा कार्यरत कर्मचारीहरुको लागि आवास गृह छैन, स्केलमा पाउनु पर्ने सामानहरु समयमा तोकिए बमोजिम पाउन नसकेको अवस्था छ र महङ्गी अनुसारको राशनको व्यवस्था नहुने अवस्थाको अव अन्त गरिनु पर्छ ।’ प्रविधिको विकास संगै त्यसको दुरुपयोगबाट श्रृजित अपराधको अनुसन्धानको चुनौतिको सामना गर्न नेपाल प्रहरीलाई मजबुद बनाउन आवश्यक प्रविधिको विकास प्राथमिकता रहेको उहाँले बताउनुहुँदै प्रहरी कर्मचारीको मनोबल उच्च पारी नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्ने वातावरणको श्रृजना गराउन तालुक मन्त्रालयबाट सहयोग र सहजिकरण गर्न सदैव तत्पर रहेको समेत बताउनुभयो ।  नागरिकको अपेक्षा अनुरुपको चुस्त दुरुस्त सेवा प्रवाह गर्न गराउन उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले सर्वसाधरणको प्रहरी सेवामा सहज पहुँचको व्यवस्था र दण्डदहिनताको अन्त्यको साथै भ्रष्ट्राचारमा शून्य सहनशिलताको नीति व्यवहारमा लागू गर्न समेत निर्देशन दिनुभयो । विभिन्न राजनीतिक दलका आवरणमा संरक्षित गुण्डागर्दी बिरुद्ध निर्मम भएर प्रहरी कारवाही गर्न विशेष निर्देशन दिँदै उहाँले सीमा क्षेत्रमा हुने भन्सार छलि, तस्करी तथा अन्य अनियमितता, लागूऔषध बिक्री वितरण र सेवनलाई पुर्णत निस्तेज पार्न विषेश कार्ययोजना बनाई कार्यसम्पादन गर्न समेत उहाँले निर्देशन दिनुभयो । महिला, बालबालिका र जेष्ठ नागरिकहरुको सन्दर्भमा अझ बढी संबेदनशिल भएर सोही अनुसार सेवा प्रवाह गर्न समेत उहाँले उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले कानून कार्यान्वयनको शिलसिलामा कसैको दवाव र प्रभावमा नपरी निष्पक्ष र पारदर्शी भई कानूनले दिएको अधिकार निश्चिन्त भइ प्रयोग गर्न सवै प्रहरी कर्मचारीहरू दत्त चित्त भइ आ-आफ्नो ठाउँबाट इमान्दार भई कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो । सरुवा, बढुवा र बृत्ति विकासको लागि मापदण्ड तयार गरी लागु गरिने र मापदण्ड र कार्य सम्पादनको मुल्यांकनको आधारमा बढुवा र सरुवा गर्ने गराउने व्यवस्था कडाइका साथ पालना गरिने समेत उहाँले उल्लेख  गर्नुभयो ।  सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले गृहमन्त्रीज्यूबाट भएको अत्यन्त सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशन कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताउनुभयो । संगठनले प्राप्त गरेको तालुक गृह मन्त्रालयको वर्तमान नेतृत्वबाट आगामी दिनमा नेपाल प्रहरी संगठन थप व्यावसायिक र उर्जावान हुने विश्वास व्यक्त गर्दै  संगठनको नीति अनुरूप कार्य सम्पादनको मूल्याङकनको आधारमा सरूवा, बढुवा पारदर्शी रूपमा हुने एवम् प्रहरी अधिकृतहरूको सरूवा उनीहरूको व्यावसायिकता तथा दक्षताको आधारमा गरिएको बताउनुभयो । निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछाने समक्ष प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङक तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा, निर्वाचन सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, चुनौति, भावी योजना र अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । सोही अवसरमा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले निर्मला पन्तको जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा सम्बन्धी अनुसन्धानको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालय, गण प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको   थियो ।

नेपाल र कोरियाबीच दुई छुट्टाछुट्टै सम्झौता-पत्रमा हस्ताक्षर
२०७९-०६-०७

काठमाडौं,  नेपाल सरकारकोतर्फबाट अर्थ मन्त्रालय र गणतन्त्र कोरिया सरकारकोतर्फबाट गणतन्त्र कोरियाको राजदूतावासबीच “नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर व्यूरो स्थापना” र “कोरियाबाट नेपाल फर्कने आप्रवासीहरूको स्थिर पुनर्मिलनका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने” दुई आयोजना कार्यान्वयन सम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर भएको छ ।  प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह एवं नेपाल प्रहरी साइबर ब्यूरोका अधिकृतको समेत उपस्थितिमा अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल सरकारकोतर्फबाट अर्थ सचिव कृष्णहरि पुष्कर र गणतन्त्र कोरियाकोतर्फबाट नेपालका लागि गणतन्त्र कोरियाका राजदूत चोड-सुक पार्कले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रममा अर्थ सचिव पुष्करले साइबर अपराधका बढ्दो घटनालाई नियन्त्रण गर्न साइबर व्यूरोलाई सक्षम र सुसज्जित बनाउनका साथै कोरियाबाट फर्केका आप्रवासी कामदारहरूलाई समाजमा पुन:स्थापित गर्न र नेपालमा रोजगारी बढाउनका लागि दुई परियोजना महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा गणतन्त्र कोरियाका राजदूत पार्कले विश्वभर र नेपालमा पनि व्यापक रूपमा बढ्दै गएको साइबर अपराधको दरप्रति चिन्ता व्यक्त गर्दै साईबर अपराध नियन्त्रण गर्न नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्ने साइबर अपराध नियन्त्रण आयोजनाबाट महत्वपूर्ण सहयोग हुने बताउनुभयो ।  नेपाल प्रहरीको साइबर अपराध विरूद्धको क्षमतालाई सुदृढ गर्नुका साथै साइबर व्यूरोको अत्याधुनिक भवन निर्माण, साइबर अपराध अनुसन्धानसँग सम्बन्धित उपकरण तथा डिजिटल फरेन्सिक ल्याब उपलब्ध गराउने र नेपाल प्रहरीको सम्बन्धित जनशक्तिको क्षमता अभिवृद्धि गर्ने आयोजनाको मुख्य उद्देश्य रहेको छ । प्रत्येक आयोजनाका लागि ८० लाख अमेरिकी डलरका दरले कोरिया सरकारले नेपाललाई कुल १ करोड ६० लाख अमेरिकी डलर (लगभग २ अर्ब रुपैयाँ) अनुदान सहायता उपलब्ध गराउने छ ।  कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (KOICA) ले सम्बन्धित मन्त्रालय र अन्य सरकारी निकायहरूसँगको सहकार्य र समन्यवमा आयोजनाहरू कार्यान्वयन गर्नेछ ।

आपराधिक कार्यहरूलाई रोकथाम र नियन्त्रण गर्न प्रहरी कर्मचारीहरूलाई नियमित एवम् विशिष्टिकृत तालिमहरू प्रदान गर्न आवश्यक - गृहमन्त्री बालकृष्ण खाण
२०७९-०६-०७

काभ्रेपलाञ्चोक, गृहमन्त्री बालकृष्ण खाणले समाजमा नयाँ-नयाँ अपराध र आपराधिक प्रकृतिहरूको विकास भइरहेको र शान्ति सुरक्षा तथा अपराध अनुसन्धानको दायरा समेत फराकिलो हुँदै गईरहेको अवस्थामा यस्तो परिवेश र परिस्थितिसँग जोडिएर आउने सुरक्षा र आपराधिक कार्यहरूलाई रोकथाम र नियन्त्रण गर्न प्रहरी कर्मचारीहरूलाई नियमित एवम् विशिष्टिकृत तालिमहरू प्रदान गर्न आवश्यक रहेको बताउनुभएको छ ।  भारत सरकारको आर्थिक अनुदानमा काभ्रेपलाञ्चोक पनौतिस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना निर्माण कार्य शुरूवातको लागि शुक्रबार आयोजित भूमि पूजन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले उक्त कुरा बताउनुभएको हो । समारोहमा गृहमन्त्री बालकृष्ण खाण तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना काभ्रेको भूमि पूजन गर्नुभएको थियो ।  सम्बोधनको क्रममा गृहमन्त्री खाणले समाजमा हुने विभिन्न प्रकारका अपराधहरूको रोकथाम, नियन्त्रण तथा अनुसन्धान गर्ने र देशको आन्तरिक शान्ति सुरक्षा कायम गर्ने महत्वपूर्ण र जटिल जिम्मेवारी पूरा गर्न नेपाल प्रहरीका कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न गुणस्तरीय प्रशिक्षण महत्वपूर्ण हुने उल्लेख गर्दै प्रशिक्षणको माध्यमद्वारा प्रहरी  कर्मचारीहरूको  दक्षता अभिवृद्धि गरी समग्र प्रहरी संगठनको क्षमता विकास हुने र समष्टिगत रुपमा सिंगो संगठनको उत्पादकत्व वृद्धि हुने बताउनुभयो । भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने उक्त प्रतिष्ठानले दक्ष र सक्षम प्रहरी जनशक्ति उत्पादन गरी जनअपेक्षा बमोजिम गुणस्तरीय र भरपर्दो प्रहरी सेवा प्रदान गर्न निकै महत्वपूर्ण भूमिका खेल्ने बताउँदै नेपाल प्रहरीको तालिमको गुणस्तर वृद्धि गरी नेपाल प्रहरीका अधिकृतहरूलाई अन्तर्राष्ट्रिय, अत्याधुनिक र गुणस्तरीय बनाउन मद्दत गर्नुका साथै नेपाल प्रहरीमा सकारात्मक परिवर्तनको लागि महत्वपूर्ण सावित हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  गृहमन्त्री खाणले नेपाल र भारतबीचको सम्बन्ध सदियौंदेखि निरन्तर सौहार्द र सुमधुर रहेको, दुवै राष्ट्रबीच राजनीतिक, व्यापारिक, आर्थिक, सामाजिक, साँस्कृतिकलगायत हेरक क्षेत्रमा साथ र सहयोग रहेको चर्चा गर्दै नेपाल र भारतबीचको सम्बन्धलाई थप मजबुत बनाउने कार्यमा भारतीय सहयोगमा निर्माण हुन गइरहेको परियोजनाले इँटा थप्ने कार्य गरेको उल्लेख गर्नुभयो । यस परियोजना नेपाल प्रहरीको लागि एक गौरवशाली र महत्वपूर्ण परियोजनाको रूपमा रहेको बताउँदै उहाँले परियोजना सम्पूर्ण निर्माण कार्य समय सीमाभित्रै सम्पन्न होस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो । साथै यस परियोजना निर्माणमा सहयोगको लागि भारत सरकार, भारतीय दूतावास काठमाडौं, स्थानीय सरकार, सम्बद्ध अन्य निकाय तथा पदाधिकारीहरू र स्थानीयबासीलाई धन्यवाद दिँदै परियोजनामा आवद्ध निर्माण व्यवसायी कम्पनीलाई कार्य सफलताको शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतबीच राम्रो सम्बन्ध रहेको चर्चा गर्दै नेपाल र भारतबीच भौतिक संरचना निर्माण लगायत शिक्षा तथा स्वास्थ्य क्षेत्रमा समेत आपसी सहयोग हुँदै आएको बताउनुभयो । यस परियोजना निर्माण पनि भारत र नेपालबीचको आपसी सहयोग र सम्बन्धको उदाहरण रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट संचालन हुने विभिन्न तालिमहरू तथा आवश्यक प्रविधिको सहयोगको लागि भारतीय दूतावास सदैव तयार रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।   सो अवसरमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले धन्यवाद मन्तव्य व्यक्त गर्दै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना निर्माण कार्य नेपाल प्रहरीको ड्रिम प्रोजेक्टको रूपमा रहेको बताउनुभयो । साथै उहाँले आधुनिक भौतिक संरचनाको अभावले अन्तर्राष्ट्रिय स्तरको तालिमहरू संचालन गर्न नसकिएको उल्लेख गर्दै यस परियोजना निर्माण पश्चात अन्तर्राष्ट्रिय स्तरको तालिमहरू समेत संचालन गर्नमा यस परियोजना कोसेढुंगो सावित हुने विश्वास व्यक्त गर्नुभयो ।  २५ नोभम्बर २०१४ मा तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण गर्ने सम्बन्धमा भएको MOU र भर्चुअल माध्यमबाट गरिएको शिलान्यास कार्यक्रम विभिन्न चरणमा हुँदै कार्यान्वयनको अवस्थामा आइपुगेको हो । Central Public Works Department (CPWD) Govt. of India सल्लाहकार रहेको उक्त परियोजना सन् १२ जुलाई २०२५ सम्ममा अनुमानित १० अर्ब १ करोड ५१ लाख १ रूपैयाँ लगातमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको कार्यक्रममा जानकारी दिइयो ।  कार्यक्रममा गृहसचिव विनोद प्रकाश सिंह, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख, धुलिखेल नगरपालिकाका प्रमुख, पनौति नगरपालिकाका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, धुलिखेल, बनेपा तथा पनौति नगरपालिकाका उपप्रमुखहरू, प्रहरी नायव महानिरीक्षकहरू, भारतीय राजदूतावासका पदाधिकारीहरू,काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू, सञ्चारकर्मीहरु लगायत आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।  

गृहसचिव विनोद प्रकाश सिंहबाट नेपाल प्रहरी प्रधान कार्यालय निरीक्षण तथा निर्देशन सम्बोधन
२०७९-०६-०६

काठमाडौं,  गृहसचिव विनोद प्रकाश सिंहले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण तथा निरीक्षण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । निरीक्षण भ्रमणका क्रममा गृह सचिवले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलिग्राफ शाखा र कमाण्ड सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो ।   निरीक्षण पश्चात गृहसचिव सिंहले उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा संगठनको हीत र सुधारको लागि प्राप्त हुने सुझावलाई आफूले गम्भीरतापूर्वक लिई कार्यान्वयनको लागि प्रयास गर्ने बताउँदै संगठनको उद्देश्य र लक्ष्य हासिल गर्न सबै प्रहरी कर्मचारीहरू ऐक्यबद्ध भई प्रतिवद्ध र लगनशील हुन आग्रह गर्नुभयो । आत्महत्या, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनिकरणको लागि थप प्रभावकारी भूमिका निर्वाह गर्न उहाँले उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । गृहसचिव सिंहले प्रहरी कर्मचारीहरुले उच्चआचरण एवम् ईमानदारिपूर्वक सांगठनिक प्रतिवद्धतामा अविचलित भई जिम्मेवारी वहन गर्न निर्देशन दिँदै नेपाल प्रहरी संगठनको सुदृढिकरण र शुद्धिकरणमा गृह मन्त्रालय सदैव दृढ संकल्पित रहेको  बताउनुभयो । नेपाल सरकारबाट हुने निर्णयहरू र गर्नुपर्ने सहजीकरणमा समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रहरी कर्मचारीको मनोबल वृद्धिका लागि सरूवा, बढुवा र वृत्ति विकास जस्ता विषयलाई स्वच्छ, निष्पक्ष, पूर्वानुमान योग्य बनाउन जरूरी रहेको उहाँले बताउनुभयो ।   गृहसचिव सिंहले प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, समाजमा शान्ति स्थापना र मानव अधिकार संरक्षणमा प्रतिवद्ध रहनु र राष्ट्रप्रति समर्पित स्वच्छ प्रहरीको मर्म अनुसार सीमित स्रोत साधनको वावजूद पनि प्रहरी संगठनले अहोरात्र निभाएको भूमिकाको प्रशंसा गर्दै सत्य सेवा सुरक्षणम्‍को मूल नारा सहित प्रहरी संगठनले आफ्नो विशिष्ट योगदान इतिहासका हरेक कालखण्डमा स्थापित गर्दै आएकोमा नेपाल प्रहरीमा आवद्ध सबै कर्मचारीको लागि गौरवको विषय भएको उल्लेख गर्नुभयो । इतिहासको हरेक असजिलो अवस्थामा पनि आफूलाई संयमित राखेर राष्ट्रको सेवा र जनताको सुरक्षामा नेपाल प्रहरीले खेलेको भूमिका अत्यन्तै  सराहनीय रहेको उहाँले उल्लेख गर्नुभयो ।   गृहसचिव सिंहले हरेक विपद्को घटनादेखि लिएर समाजमा हुने विभिन्न क्रियाकलापमा नेपाल प्रहरीले पहिलो पंक्तिमा रही भूमिका निर्वाह गरेको चर्चा गर्दै प्रहरीको क्रियाकलापहरू सहजीकरण एवम् अपराध अनुसन्धान नियन्त्रण तथा रोकथाममा समाज र नागरिकको सहयोग आवश्यक रहेकोले नागरिकसँगको प्रहरी सम्बन्धलाई अझ बढी सुदृढ, सबल र प्रगाढ बनाएर आगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । विज्ञान र प्रविधिको तीव्र विकाससँगै अपराधका नयाँ नयाँ प्रवृत्ति र शैलीप्रति नेपाल प्रहरी चनाखो रहेको उल्लेख गर्दै प्रहरी संगठनको सुधारका कार्यहरूलाई अगाडि बढाएर प्रहरीको संस्थागत विकासमार्फत प्रभावकारी सेवा प्रदान गर्न विशेष आग्रह गर्नुभयो । आउँदो निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र भयरहित तवरले सम्पन्न गराउन सबै प्रहरी कर्मचारीहरूले अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी जिम्मेवारी वहन गर्न अग्रह गर्दै नजिकिँदै गरेको चाडपर्वमा समेत आवश्यक अनुगमन तथा कारवाही प्रकृयालाई अगाडि बढाउन सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।   सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले गृहसचिव ज्यूबाट प्राप्त अत्यन्तै महत्वपूर्ण, समसामयिक र सान्दर्भिक निर्देशनलाई संगठनले पूर्णरूपमा ऐक्यबद्ध भई अक्षरस पालना गरी नतिजा दिने प्रतिवद्धता व्यक्त   गर्नुभयो । स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीले उत्कृष्ट रूपमा जिम्मेवारी वहन गरी सरकारबाट प्रशंसा पाएको स्मरण गर्दै प्रहरी महानिरीक्षक सिंहले आउँदो निर्वाचनलाई स्वच्छ, भयरहित र नागरिकले आफ्नो अधिकार प्रयोग गर्ने वातावरण बनाई सुरक्षा योजना अनुरूप सबै प्रहरी कर्मचारीहरूले मन, वचन र कर्मले ऐक्यबद्ध भई जिम्मेवारी बहन गर्ने उल्लेख गर्नुभयो ।   निर्देशन सम्बोधन कार्यक्रम अघि नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण कार्यक्रममा गृहसचिव विनोद प्रकाश सिंह समक्ष प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, चुनौति, भावी योजना र अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गृहसचिव सिंह नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा उहाँलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभएको थियो । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृह मन्त्रालयका प्रवक्ता सह सचिव फणिन्द्रमणी पोखरेल, प्रहरी नायव महानिरीक्षकहरु एवम् प्रहरी वरिष्ठ अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो ।

अपराध अनुसन्धान एवम् न्याय निरूपणमा प्रदेश, संघीय र स्थानीय तहको भूमिका उत्तिकै महत्वपूर्ण - गृह मन्त्री बालकृष्ण खाण
२०७९-०५-०८

   गृह मन्त्री बालकृष्ण खाणले अपराध अनुसन्धान एवम् न्याय निरूपणमा संवैधानिक कानूनी व्यवस्था अनुरुप प्रदेश, संघीय र स्थानीय तहको उत्तिकै महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संयुक्त रूपमा बुधबार आयोजित उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ को उद्‌घाटन गर्दै गृह मन्त्री खाणले उक्त कुरा बताउनुभएको हो ।   गृहमन्त्री खाणले पानसमा दीप प्रज्वलन गरी बिधिवत रूपमा समीक्षा गोष्ठीको उद्‌घाटन गर्दै बद्लिदो अपराधको स्वरूपलाई  नियन्त्रण गर्न नेपाल प्रहरीले थप सतर्कता, सजगता र कर्तव्यनिष्ठ भई सक्रिय भइरहेको चर्चा गर्नुभयो । जनताको जीउ धनको रक्षा, सामाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण राज्यको प्रमुख दायित्व रहेको बताउँदै गृहमन्त्री खाणले उक्त दायित्व पुरा गर्न सुरक्षा निकायलाई अझै सवल तथ सुदृढ गर्नुका साथै स्रोत साधन एवम् क्षमता अभिवृद्धि गर्न नेपाल सरकार सदैव तयार रहेको उल्लेख गर्नुभयो ।  अपराध अनुसन्धान तथा नियन्त्रणको साथै अपराधीलाई कानूनी दायरामा ल्याउन देखिएका जटिलतालाई छिटो छरितो र निष्पक्ष रूपमा सम्बोधन गर्न समीक्षा गोष्ठीमा हुने छलफल महत्वपूर्ण रहने बताउँदै गृहमन्त्री खाणले मुलुकमा शान्ति स्थापनाको कार्य गर्न तथा जनतामा नयाँ उत्साह भर्न र अपराधमा संलग्न व्यक्तिहरूलाई अपराधिक क्रियाकलापबाट पछि हट्ने अवस्था सिर्जना गर्न समेत गोष्ठीले महत्वपूर्ण निचोड एवम् निष्कर्ष निकाल्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले कोभिड-१९ को महामारी नियन्त्रणको साथै प्राकृतिक विपद्को समयमा पीडितहरूको उद्दार लगायतका गतिविधिमा नेपाल प्रहरीले अग्रपंक्तिमा खटिई निभाएको भूमिकाको प्रशंसा समेत गर्नुभयो ।  कार्यक्रममा महान्यायाधिवक्ता खम्म बहादुर खातीले अपराध अनुसन्धान, अभियोजन एवम् न्याय निरूपणको साथै पीडितलाई न्याय दिलाउने सन्दर्भमा यस गोष्ठीमा हुने छलफल, विश्लेषण महत्वपूर्ण हुने चर्चा गर्दै गोष्ठीको प्रतिवेदनलाई कार्यान्वयन गर्न महान्यायाधिवक्ताको कार्यालय तत्पर रहेको बताउनुभयो । अपराध अनुसन्धान तथा नियन्त्रणमा नेपाल प्रहरीले उत्कृष्ट कार्य गर्दै आईरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि अपराध अनुसन्धनामा सरोकारवाला निकाय एवम् स्थानीय तहसँग सहकार्य तथा समन्वय गर्दै जानुपर्नेमा जोड दिनुभयो । गोष्ठीमा गृह सचिव टेक नारायण पाण्डेले अपराध नियन्त्रणमा देखिएका चुनौतिहरूलाई यस गोष्ठीबाट आउनु निचोड तथा विश्लेषणहरूले आगामी दिनमा नीति निर्माण गर्न आवश्यक राय सुझाव प्राप्त हुने बताउनुभयो । बदलिदो अपराधको स्वरूपका घटनाहरूको बिश्लेषण गोष्ठीमा हुने उल्लेख गर्दै उहाँले अपराध नियन्त्रणमा सबै सुरक्षा निकायसँग सहकार्य र समन्वय हुनु पर्ने तथा अनुसन्धान गर्ने निकायको क्षमता अभिवृद्धि गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । विमानस्थल सुरक्षालाई थप प्रभावकारी बनाउन कार्गो र विमानबाट निस्कने फोहोर मैलालाई स्क्यानर मार्फत चेकजाँच गर्न प्रहरीले समन्वयकारी भूमिका निर्वाह गर्ने उहाँले उल्लेख गर्नुभयो ।    गोष्ठीमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले अपराध अनुसन्धान एवम् नियन्त्रणका लागि महानगरभित्र सिसिटिभि क्यामेरा जडानमा नेपाल प्रहरीसँग सहकार्य गर्दै जाने बताउँदै यसले काठमाडौंमा अनाधिकृत रूपमा फालिने फोहोर मैलाको नियन्त्रणमा समेत प्रभावकारी हुने बताउनुभयो । बढ्दो साईबर क्राइम तथा अन्य अपराधका घटनाहरूलाई न्यूनिकरण गर्न सम्बन्धित निकायहरूले ईमान्दारीता पूर्वक भूमिका वहन गरेमा थप सहजता हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले वर्तमान अवस्थामा अपराध अनुसन्धानको शिलशिलामा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीले भोग्नुपरेका समस्याहरू, अनुसन्धान अधिकृतको भूमिका एवम् अधिकारको प्रयोग सम्बन्धी वृहत रुपमा यस गोष्ठीमा छलफल हुने र यस छलफलबाट आउने निष्कर्ष महत्वपूर्ण हुने बताउँदै प्राप्त निष्कर्षलाई प्रतिवेदनको रूपमा तालुक गृह मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयमा पेश गरिने बताउनुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले पीडितलाई न्याय दिलाउन तथा अपराध अनुसन्धान एवम् नियन्त्रणमा निष्पक्ष, निर्भय, निडर र निर्धक्क रूपमा प्रमाणमुखी अनुसन्धानमा संलग्न हुन अनुसन्धान अधिकृतलाई निर्देशन दिनुभयो । प्रविधिको प्रयोगमार्फत् हुने आर्थिक एवम् साइबर अपराधहरू बढिरहेको र हाल यस सम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतबाट मात्र सुनुवाई हुँदै आएको बताउँदै प्रहरी महानिरीक्षक सिंहले कम्तिमा प्रादेशिक स्तरमा सुनुवाईको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । फौजदारी न्यायप्रणालीका तीन पिलर अनुसन्धान, अभियोजन र न्याय निरुपणबीच आपसमा समन्वय र सहकार्य भएमा मात्र पीडितले न्याय र वास्तविक पिडकले सजाय पाउने उहाँले उल्लेख गर्नुभयो ।  गोष्ठीमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले महिला बालबालिका विरूद्ध हुने अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाका हरेक वडामा महिला सेलको स्थापनाको लागि आवश्यक कार्य बिधि तयार गरिएको उल्लेख गर्दै गोष्ठीबाट आउने निचोडहरूले अपराध नियन्त्रणमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र धानुकले धन्यवाद ज्ञापन गर्दै काठमाडौं उपत्यका मातहतका कार्यालयलाई अपराध नियन्त्रण र अनुसन्धानको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमै  स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गर्दै गोष्ठीको उद्देश्य बारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा अधिकांश वक्ताले बढ्दो साइबर क्राइमका घटनाहरूलाई नियन्त्रण गर्न विभिन्न्न जनचेतनामूलक कार्यक्रमहरू गर्नुपर्नेमा जोड दिनुभयो ।  अपराध अनुसन्धानमा बढेका चुनौतिहरू समाधानका लागि नयाँ-नयाँ प्रविधिको प्रयोग गर्ने, अपराध अनुसन्धान गर्ने ईकाइहरूको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरूबीचको अधिकतम परिचालन एवं अन्तर कार्यालय समन्वयको विकास लगायतका विषयमा गोष्ठीमा छलफल तथा अन्तर्क्रिया हुनेछ ।  

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मूल समारोह कार्यक्रम सम्पन्न
२०७९-०३-१२

काठमाडौं, गृह मन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मूल समारोह कार्यक्रम, २६ जुन २०२२ राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा आइतबार सम्पन्न भएको छ । गृह मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रमको सुरुमा गृह मन्त्रालय तथा विभिन्न मन्त्रालयहरु, सुरक्षा निकायहरु, काठमाडौं ललितपुर भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु एवम् सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा लागूऔषध सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट, झाँकी सहितको प्रभातफेरि र्‍याली भृकुटीमण्डप, टुँडिखेल, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा आएर मूल समारोह कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा गृह मन्त्री खाणले लागूऔषधसँग सम्बन्धित लेखरचना समेटिएको ‘सुरक्षित जीवन’ नामक जर्नलको विमोचन गर्नुका साथै नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरो, नेपाल प्रहरी सङ्गीत विद्यालय तथा आसरा सुधार केन्द्र लगायत अन्य उत्कृष्ट उपचार तथा पुनर्स्थापना केन्द्रहरु र दिवसलाई सफल पार्न सहयोग गर्ने विभिन्न संघसंस्थालाई प्रशंसापत्र वितरण गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै गृह मन्त्री खाणले लागूऔषधको अवैध उत्पादन, ओसारपसार, विक्री वितरण, संचय, प्रयोग र दुरुपयोगलाई विश्वव्यापी चुनौतीका माझ समयमै रोकथाम र नियन्त्रणका लागि सबैलाई हातेमालो गर्न आह्वान गर्नुभयो । साथै उहाँले सीमित स्रोतका बावजुद लागू औषध नियन्त्रण व्यूरोले ठूलाठूला अपरेशन चलाएर प्रशंसनीय ढंगले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको उल्लेख गर्दै लागूऔषध दुरुपयोगको कारण उत्पन्न हुने जोखिम नियन्त्रणका लागि नेपाल सरकार र सुरक्षा निकायले अझ प्राथमिकतासाथ ध्यान दिनुपर्ने बताउनुभयो ।  उक्त अवसरमा धन्यवाद ज्ञापन गर्दै गृह सचिव टेकनारायण पाण्डेले लागूऔषध नियन्त्रणका लागि सरोकारवाला निकायहरुका साथै विभिन्न संघसंस्था, नागरिक समाजसँग समन्वय गरी संगठित रुपमा काम गर्नुपर्ने बताउनुभयो । नेपाल प्रहरीले पछिल्लो समय लागूऔषध नियन्त्रणमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उहाँले चर्चा गर्नुभयो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले लागूऔषधको समस्यालाई निर्मूल पार्नका लागि नेपाल प्रहरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्थानीय तहसँग समन्वय गरी लागूऔषधसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको उल्लेख गर्नुभयो । दुर्व्यसनमुक्त समाज निर्माणका लागि सम्बद्ध सबै निकायहरु हातेमालो गरी अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  साथै एफडिडिआरको तर्फबाट प्रशान्त शर्मा र रिकभरिङ नेपालको तर्फबाट विष्णु फुँयालले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै लागूऔषध नियन्त्रणमा नेपाल सरकार र सम्वद्ध सबै निकाय एवम् संघसंस्थाबीच हातेमालो गरी अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।   मुख्य औषध नियन्त्रण अधिकारी डा.भीष्मकुमार भूसालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश सहित स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा गृहमन्त्रालय लागू औषध नियन्त्रण शाखाका प्रमुख गोकर्णप्रसाद उपाध्यायले शाखाको संक्षिप्त वार्षिक गतिविधि प्रस्तुत गर्नुका साथै उत्कृष्ट ५ नारा वाचन गर्नुभएको थियो । ‘मानवीय, स्वास्थ्य संकटको बेला झन्, लागूऔषध चुनौतीको गरौं सम्बोधन’ भन्ने मूल नाराकासाथ सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रहरीको टोलीले सङ्गीत प्रस्तुती गरेको थियो भने लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो समेत प्रदर्शनी गरिएको थियो ।  गृह सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, गृहमन्त्रालयका महाशाखा प्रमुखहरु तथा अन्य कर्मचारीहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरु, विभिन्न मन्त्रालयका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, नागरिक समाज, संचारकर्मीहरु, विद्यार्थी एवम् आमन्त्रित महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।  

गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा शिविर तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
२०७९-०३-०६

काठमाडौं, आठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित शिविर तथा उत्प्रेरणा कार्यक्रम (योगा) सम्पन्न भएको छ ।  कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले ‘मानवताको लागि योग’ भन्ने नारालाई आत्मसात् गरी कुनै पनि द्वेषभाव र मन मुटाव नराखी एक आपसमा सदभाव, सौहार्दता, मेलमिलाप र हार्दिकताको सम्बन्ध कायम गरी पवित्र मनोभावका साथ समाज र राष्ट्रको हित र विकासमा आफूलाई समर्पित गर्नुपर्ने बताउनुभयो । साथै उहाँले योग र प्राणायामको नियमित अभ्यासले मानव शरीर र मस्तिष्कलाई सन्तुलित र स्वस्थ राखी सकारात्मक सोच विकास गर्ने चर्चा गर्नुभयो ।  गृहमन्त्री खाणले विविध कारणले मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गरी मानिसको भौतिक शरीर, मानसिक अनुभूति र शारीरिक अवस्थालाई सन्तुलनमा राखी तनाव कम गर्न, जीवनलाई शान्त, फलदायी र उत्पादन मुलक बनाउन योग प्रभावकरी सिद्ध भएको उल्लेख गर्नुभयो ।  गृहमन्त्री खाणले समाजमा हुने विभिन्न प्रकारका घटना, दुर्घटना र अपराधहरूको प्रभावकारी रोकथाम तथा नियन्त्रण गरी समाज र नागरिकलाई सुरक्षित राख्ने जटिल प्रकृतिको जिम्मेवारी वहन गर्ने सन्दर्भमा प्रहरी कर्मचारीहरूको तनाव व्यवस्थापनमा योग अभ्यासको अधिक महत्व रहने विचार व्यक्त गर्नुभयो । योग अभ्यासलाई प्रशिक्षणमा सीमित नराखी आफ्नो व्यक्तिगत एवं व्यावसायिक जीवनमा समेत नियमित अभ्यास गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, ‘योग एवम् आसन, प्रणायम मात्र होइन एक अनुशासित जीवन शैली पनि हो ।’  कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नियमित योग अभ्यासले शरीर र मस्तिष्कलाई चुस्त, स्फूर्त राखी मानिसक तथा शारीरिक विकारहरूबाट मुक्ति दिलाउन मद्धत गर्ने बताउनुभयो । योग गर्ने व्यक्तिमा सकारात्मक सोचको विकास हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘सकारात्मक सोँचले रिस द्वेष, बद्लाको भावनालाई समेत कम गर्छ । जसले समाजमा शान्ति र समृद्धि ल्याउन मद्दत गर्छ ।’   ‘मानवताको लागि योग’ भन्ने नाराका साथ जुन २१ मा विश्वभर आठौं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा योगको बारेमा चेतना अभिवृद्धि गर्न कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रहरी पेशामा योगको महत्वलाई मध्यनजर गरी नेपाल प्रहरीका विभिन्न तालिम पाठ्यक्रममा योगलाई समेत समावेश गरिएको बताउनुभयो ।   कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले गृहमन्त्री बालकृष्ण खाणलाई कृतज्ञताको चिनो प्रदान गर्नुभएको थियो । साथै उहाँले पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र र समितिका युवा संयोजक लोक नाथ खनाललाई समेत कृतज्ञताको चिनो प्रदान गर्नुभयो ।  पतंजली योग समिति नेपालका संरक्षक तथा कार्यक्रम संयोजक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र बिक्रम महतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा पतंजली योग पिठका ट्रष्टि शालिक राम सिंहले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लभदेव मिश्रले योगाभ्यास गराउनुका साथै पतंजली सेवा श्रमका बालबालिकाहरूले विशेष प्रस्तुती गरेका थिए ।  नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा पतंजली योग समिति नेपालले संचालन गरेको शिविर तथा उत्प्रेरणा कार्यक्रममा प्रमुख अतिथि लगायत गृह सचिव टेकनारायण पाण्डे, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष, गृहमन्त्रालयका सहसचिव, पतंजली योग समिति नेपालका पदाधिकारी एवम् योग गुरूहरू, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरू समेतको सहभागिता रहेको थियो ।

गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा २ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०७८-०७-२३

धनुषा, गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा सोमबार आयोजित कार्यक्रमबीच २ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनुषाको जनकपुरधाममा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र २ नम्बर प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा संयुक्त रुपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।उक्त अवसरमा गृहमन्त्री खाणले कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि जोखिमको प्रर्वाह नगरि सुरक्षा निकायले गरेको कामको प्रशंसा गर्दै अपराध नियन्त्रण तथा अनुसन्धान लगायत सुरक्षा सम्बन्धि सबै काम उत्कृष्ट रहेको बताउनुभयो । नागरिकलाई सेवा प्रदान गरी राहत दिन सुरक्षा निकाय सक्रिय रहेको उल्लेख गर्दै सीमामा हुने विभिन्न अपराध तथा अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न संवेदनशील हुन सुरक्षा निकायहरुलाई उहाँले निर्देशन दिनुभयो । गोष्ठीमा २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नागरिक केन्द्रित प्रहरी सेवा प्रदान गरी सुरक्षा निकायले सराहनीय काम गरेको उल्लेख गर्दै सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।२ नम्बर प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कुमारी कर्ण, गृहसचिव टेकनारायण पाण्डे र २ नम्बर प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव हरि प्रसाद मैनालीले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो प्रस्तुतीकरण गर्दै समग्र नेपाल प्रहरी र २ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत अपराध अनुसन्धान तथा रोकथाम, अपराधको समग्र तथ्याङ्क विश्लेषण, शान्ति सुरक्षाको अवस्था, मुख्य सुरक्षा चुनौती तथा समस्या र जनलक्षित सचेतनामूलक कार्यक्रम एवं त्यसको प्रभावकारिताको बारेमा जानकारी दिनुभयो । प्रहरी संगठन र प्रहरी सेवालाई थप राम्रो बनाई संगठनलाई उचाईमा लैजान नयाँ प्रविधिको प्रयोग लगायतका प्रयास गरिएको उहाँले बताउनुभयो । साथै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश प्रसाद अधिकारी, नेपाली सेना युद्धकार्य महानिर्देशनालय जंगी अड्डाका युद्धकार्य महानिर्देशक उपरथी पवनराज घिमिरे, गृह-मन्त्रालय अन्तर्गतका विभिन्न महाशाखा प्रमुखहरुबाट आ-आफ्नो क्षेत्रबाट भए गरेका सुरक्षा व्यवस्थापनका विविध विषयमा प्रस्तुतीकरण गरिएको थियो ।गृह मन्त्रालयका प्रवक्ता एवं सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख फडिन्द्रमणी पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त गोष्ठीमा २ नम्बर प्रदेश अन्तर्गतका ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आ-आफ्नो जिल्ला अन्तर्गत शान्ति सुरक्षाको अवस्था, भौतिक श्रोतसाधन, सम्भावित सुरक्षा चुनौतीहरु एवं सुरक्षा क्षेत्रका विविध गतिविधिहरुका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।गोष्ठीमा प्रदेश अन्तर्गतको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान लगायतका विषयमा हालसम्म भए गरेका विभिन्न गतिविधिहरु तथा प्रदेश अन्तर्गतको विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौती र आगामी कार्यभार लगायतका बिषयमा रणनीतिक योजना तय गर्न सहभागीहरुबीच छलफल तथा अन्तरक्रिया भएको थियो ।