प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
कार्य विभाग - परिचय


    प्रहरी समुदायको साधारण संरक्षक मात्र नभएर नैतिक र सामाजिक सुव्यवस्थाको निर्माण र पुनर्निर्माणमा निरन्तर र सक्रिय रूपमा संलग्न रहने राज्यको संवेदनशील संस्था हो ।  प्रहरी प्रतिको आमधारणा   प्रहरीले नागरिकहरुप्रति गर्ने सम्मान, मर्यादा, निष्पक्षता र सामाजिक जीवन उपरको प्राथमिकतासँग सम्बन्धित हुन्छ । प्रहरीको वास्तबिक पहिचान र प्रतिष्ठा यसले कायम राख्ने सामाजिक सुव्यवस्था, सामाजिक ऐक्यबद्धता, सार्वजनिक विश्वास, तथा सामाजिक न्यायमा निहीत हुन्छ भने सामाजिक न्यायको आधारशीला भनेको कानून कार्यान्वयनको क्रममा अबलम्बन गर्ने कार्यबिधिगत न्याय, कानूनको शासन तथा संवैधानिक आदेश अनुरूप वैधानिक रुपमा प्रयोग हुने प्रहरि स्वविवेक र परिणाममुखी पुलिसिङ हो जसको जग प्रभावकारी प्रहरी परिचालनमा अडेको हुन्छ ।


    यहि मान्यतालाई हृदयांगम गर्दै प्रहरी जनशक्ति र उपलव्ध श्रोत साधनको बैज्ञानिक र प्रभावकारी परिचालन गरी देशभर शान्ति सुब्यबस्था तथा अमन चयन कायम राख्ने मूल उद्देश्यका साथ प्रहरी प्रधान कार्यालयले आफू मातहत रहने गरि कार्य बिभागको स्थापना गरेको पाईन्छ । यस बिभागबाट देशभरीको शान्ति सुरक्षाको ब्यबस्था, दैवि प्रकोप उद्दार, भीड नियन्त्रण, दंगा नियन्त्रण, बिशिष्ट ब्यक्तित्वहरुलाई सुरक्षा प्रदान, ट्राफिक व्यवस्थापन, संचार ब्यबस्थापन, हात-हतियार मर्मत तथा व्यवस्थापन, देशभरीका दैनिक घटना अवलोकन तथा निर्देशन, आतंककारी गतिविधि उपर  निग्रानी तथा नियन्त्रण लगायतका कार्य सम्पादन हुने गर्दछन् । देशभरका सार्वजनिक महत्वका प्रतिष्ठानहरु, धार्मिक स्थलहरु, राजनैतिक, सामाजिक, सास्कृतिक, सभा सम्मेलन तथा अन्य कार्यक्रममा सुरक्षा प्रदान गर्न योजना बनाई प्रहरी परिचालन गर्ने कार्य पनि यस बिभागले गर्दछ । नेपाल राज्य भित्र हुने सशस्त्र, निशस्त्र वा अन्य कुनैपनि प्रकारको अबान्छित गतिबिधिमाथि निग्रानी राख्ने र शान्ति सुरक्षामा खलल आउने अबस्थाको पूर्ब मुल्याङकन गरी  प्रहरी योजना तथा परिचालन गर्ने कार्यका साथै प्रहरी जनशक्तिलाई दक्ष बनाई, उपलब्ध साधन श्रोतको उच्चतम प्रयोग गरी प्रभावकारी र परिणाममुखी प्रहरी कार्य मार्फत अपराधको रोकथाम तथा न्यूनीकरण गरी जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति दिने कार्यमा यस बिभागको महत्वपूर्ण भूमिका रहेको छ ।

 

    यस बिभाग अन्तर्गत रहेका निर्देशनालय, महाशाखा, शाखा, केन्द्रिय परिचालन कक्ष, स्मारक गुठी, गण, बिशेष कार्यदल लगायत मातहतका अन्य प्रहरी कार्यालयहरुमा समेत प्रभावकारी प्रहरी परिचालनको निम्ति निर्देशन, नियन्त्रण, सुपरिवेक्षण तथा अनुगमन गर्नुका साथै देशभर आवश्यकताको पहिचान गरी नयाँ प्रहरी इकाई स्थापना गर्न र परिचालित प्रहरी इकाईहरुलाई आवश्यक हातहतियार तथा उपकरणहरु उपलव्ध गराउन तथा भौतिक पूर्वाधारको ब्यबस्था गर्न समेत यो बिभागले समन्वयकारी भूमिका निर्बाहा गर्दछ । देशभर हुने विभिन्न खालका प्रहरी कारबाहिहरुमा बल प्रयोगको नीति (Use of Force Policy) अनुसार मानव जीवन र मर्यादाको सम्मान गरे नगरेको चेकजाँच, निग्रानी, अवलोकन, अनुगमन र नियन्त्रण गर्नुका साथै, आचार मापदण्ड (Standards of Conduct) अनुसार कार्य भए नभएको एकीन गरी आबश्यक कारबाहि गर्ने काम पनि यो बिभागले गर्दछ ।

 

    दिगो शान्ति तथा सुरक्षा प्रदान गर्न प्रहरी जनशक्ति तथा उपलव्ध श्रोत साधनको  अधिकतम उपयोग गरी मानव अधिकारको संरक्षण तथा कानूनी राज्य स्थापना गर्न तालिम, समन्वय र सामाग्रीको मद्दतले क्षमता अभिवृद्धि गर्ने  यस बिभागको कार्यनीति रहेको छ । उपयुक्त कानुनी र सुरक्षाको आधारमा (Appropriate legal & Safety foundation) मानव जीवनको पवित्रता कायम राख्न र जोखिमबाट जोगाउन विभागीय योजनाहरूलाई दैनिक कार्यमा अनुकूलित (Adapt) गरि लागू गर्न आबश्यकपर्ने प्रशिक्षणको लागि  बिभागले बिशेष पहल गर्दछ । यसका साथै नागरिकको जीउधनको सुरक्षा प्रति विशेष चनाखो भई प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि नियमित प्रहरी परिचालन, ट्राफिक चेकजाँच, जनचेतनामूलक कार्यक्रम, CCTV लगायत अन्य वैज्ञानिक उपकरणहरु सहितको सुरक्षा योजना बमोजिम प्रहरी कारबाही तथा निग्रानीलाई प्रभावकारी बनाई परिचालन गरी विपद व्यवस्थापनमा समेत क्षति न्यूनीकरण, उद्धार र पुर्नस्थापनाको कार्य यस बिभागबाट भईरहेको छ ।